(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।
यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)
कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।
यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।
राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच
कविता मानवीय अनुभूति हो
नरेन्द्रबहादुर श्रेष्ठ
कविता मानवीय अनुभूति हो । संवेदनशील हृदयबाट सम्प्रेषण हुने अभिव्यक्ति हो । कवि सामाजिक प्राणी भएकोले ऊ समाजबाट विमुक्त भएर रहन सक्देन । आफ्ना परिवेशबाट प्राप्त घात, प्रतिघात, संवेगद्वारा उद्धीपित भएर अभिव्यक्त गर्दछ । समाजमा भोगेका विवशता, लाचारी, कुसंस्कार र कुरीतिको अनुशरण गर्न सकिदैन । जसबाट कुण्ठाग्रस्त भई बाँच्न बाध्य हुनुपर्छ । आज सम्पूर्ण मूल्य खिइएर गइसकेका छन् । मान्यता त गन्हाएर फतफती सकिसकेका छन् । त्यसैले आज अर्को मूल्यकत्र खोज गरी नयाँ मान्यतालाई प्रतिस्थापित गर्न आतुर भएको छ ।
कविताले जुन भाव र संवेगहरूलाई उद्धीपित गर्छ ती कुरा कवितामा प्रयुक्त शब्दहरूद्वारा मात्रै सम्भव हुन्छ । ती शब्दहरू स्वयं विशेषता हुन्छन्, जुन मूल रूपमा सामाजिक र ऐतिहासिक कारणले वर्तमान हुन्छ । कवितामा शब्दको अर्थ शब्दकोशमा मात्र सीमित रहन सक्दैन बरू शब्दको अर्थ इन्द्रधनुषझैँ हुन्छ ।
त्यसैले जब अब मानवीय संस्कार र वातावरणले मन मस्तिष्कलाई आन्दोलित पार्छ, भित्र कताकता चस्स चस्स दुख्छ, निस्सासिन्छ, अतालिन्छ र अनायास कविता कोर्न थाल्छु । जहिले जहिले वातावरणबाट आन्दोलित हुन पुगेँ, केही कोरियो र थन्किन पुग्यो, आफ्नो मनभित्र उठेका ज्वारभाटालाई बाहिर ओकलेर आत्मसन्तुष्टि पाउने एक प्रकारको आत्म अनुभूति हो, जसको कुनै विकल्प छैन ।
यो मन मलाई बिझाउँछ
नरेन्द्रबहादुर श्रेष्ठ
भित्ता खोपेर अड्याइएका
चाँपका खम्बामाझ !
दुई/चार इँट्टा खप्टाएपछि
ढुसी परिसकेको
उपियाँको बस्तीलाई
घाममा अल्झाएर
अनन्त आकाशका
थुप्रै चाहना बोकी
अस्तित्वमा आएको
एउटा आधुनिक खटिया
४ बाई ६ को कोठामा
सम्पूर्ण भोगाइपछि
आगतमा
सुखशयलको
सपना खोज्ने म !
हुटिट्याउँले झैँ
सम्पूर्ण आकाश थाम्न खोज्ने
दलिन गन्दागन्दै
अनायास
मेरा आँखाहरू
ठोकिन्छन्
चिरा परेका
भित्ताहरूमा !
आरोह र अवरोहमा
आफ्नै आकृतिको खोजमा !
तल्लिन म
चलचित्रका पर्दामा
चरमराएका ती मेरा दलिनहरू
र ती भित्ताहरू
भइसकेका रहेछन्
सोमालिया र इथियोपिया !
ती चाँपका खम्बाहरूका
प्रत्येक रेशाहरू
रक्तहीन करङका अवेशष
भइसकेका रहेछन्
भर्खर टुसाएका कोपिलाहरू
जीवन खोज्न
भौँतारिइरहेका रहेछन् !
ती निरीह आमाहरू
ती ववश बाबुहरू
चुपचाप छन्
आफ्नै संघारमा
बलात्कृत हुँदा पनि !
बिस्तारै/बिस्तारै
गाँज्न खोजिरहेका छन्
मायावी बाजहरूले
चपाइरहेका छन्
रक्तविहीन करङ
र
झुसिलो डकार लिएर
मस्त निद्रामा
बरबराउँछ
यो मु्ठ्ठी मेरै हो !
यो विश्व मेरै हो !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।