(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।
यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)
कविताको सन्दर्भमा आफ्ना केही मान्यताहरू
कवितालाई निश्चित परिभाषाभित्र बाँधेर म यसको स्वतन्त्रतालाई हनन् गर्ने पक्षमा छैन । कवितालाई म जहिले पनि निर्बन्ध देख्न यस कारण रूचाउँछु कि मलाई लाग्छ- स्वभावैले कविता बग्दो खोला हो- जम्दो पोखरी होइन ।
मेरो कविताको विषय, उद्देश्य र आग्रह पनि मान्छे हो । यस अर्थमा मान्छेसँग जोडिएर आउने प्रेम, घृणा, आक्रोश र वेदनाजस्तै सामाजिक, आर्थिक वा राजनैतिक पक्षहरू पनि स्वाभाविक रूपमा त्यत्तिखेर मेरा लागि ग्राह्य हुन्छन्- जतिखेर म कविता लेखिरहेकै हुन्छु ।
कवितामा सकेसम्म भाषाको सरल प्रयोगलाई म रूचाउँछु र त्यसै रूपमा कला पक्षलाई जोगाउन पनि सचेत रहने गर्छु । कारण, लेखन व्यक्तिगत कार्य भए तापनि सार्वजनिकता साहित्यको गुण हो भन्ने म ठान्दछु ।
मौलिकता, लेखनको सन्दर्भमा अपरिहार्य विषय हो । एउटै समय र एउटै विश्वको बासिन्दा हुनुको कारण विषयवस्तुमा समानता भेटिन पनि सक्दछ । यस अर्थमा, प्रस्तुतिको ढंगमा मौलिकता खोजिनु पर्दछ । यसलाई अझ कसरी पनि भन्न सकिन्छ भने- भात वा तरकारी सबैको घरमा पाक्छ तापनि स्वादमा विभिन्नता भेटिन्छ । स्वादको त्यो भिन्नता जसले अरूबाट आफूलाई छुट्याउँछ, त्यही निजी टेक्निक (शिल्प वा प्रविधि) नै लेखनको सन्दर्भमा मौलिकता हो । म यही टेक्निकलाई महत्त्व दिने गर्दछु ।
राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच
काव्य रचनाबारे निजी धारणा
सरूभक्त
कवितालाई परिभाषा दिन मलाई त्यति नै कठिन लाग्छ, जति मान्छेलाई परिभाषा दिन । समकालीन नेपाली कविताको सन्दर्भमा ‘कविता’ खोज्दा म असनको डबलीमा गन्तव्य अलमलिन्छु । मोहन कोइराला, वैरागी काइँलाजस्तो छैन, वैरागी काइँला भूपि शेरचनजस्तो छैन, भूपि शेरचन ईश्वर बल्लभजस्तो छैन । दिनेश अधिकारीलाई हेर्ने परिभाषित आँखाले विमल निभालाई हेर्न सकिँदैन । जुन परिभाषाले यस बिसौनीमा तीर्थ श्रेष्ठ भेटिन्छन्, त्यही ठाउँमा प्रकट पगेंनी ‘शिव’ भेटिदैनन् । कवितै हुन् तर केदारमान व्यथितका व्यथामा गौरीहरू जन्मदैनन्, माधव घिमिरेका छन्दहरूमा छोरीलाई मानचित्र पढाइँदैनन् । मेरो दृष्टिका कविताको सर्वमान्य परिभाषा अमान्य हुन अभिशप्त छ ।
समकालीन नेपाली कविता अतिवादी युद्धभूमिमा निहत्था उभिएको छ । छन्द र छन्दहीनताबीचको अतिवादी युद्ध जारी नै छ । एकातिर प्रयोगधर्मी अतिवाद छ, अर्कोतिर सरलतावादको नाममा ठूलो वर्णमालाहरू जन्मिरहेका छन् । कविता लेख्ने कलमले कविता लेख्न नसकेर अकविता लेखिरहेका छन् । यो अक्षमताको अतिवाद हो । कवितात्मक अतिवादको एउटा कोणमा माफी मागेर समालोचना गर्ने पद्धति (Excuse me Criticism) ले जरो गाडेको देखिन्छ । म कवितालाई यी ‘अतिहरू’को बीचमा अनुभव गर्छु । युद्धले जीवन अतिहरूको बीचमा हुन्छ भनेझैँ म कविता समकालीन अतिहरूको बीचमा हुन्छ भन्ने मान्यता राख्छु । कवितामा ‘मध्यमा प्रतिपद’ भनेको यही हो ।
काव्य रचना गर्दा म काव्यशास्त्रबारे विचार गर्दिनँ । विपत्तिमा मानिसहरूले ईश्वर सम्झेझैँ दुखेपछि म कविता सम्झन्छु । कहिले मलाई देश दुख्छ, कहिले मलाई प्रेम दुख्छ, कहिले मलाई मानवता दुख्छ । यो अहंयुक्त दुखाई हो । यसैले मेरो कविताको ‘म’ले मेरो सृजनात्मक क्षमता बराबरको स्वरूप धारण गर्दछ । कवितामा आँशु झरे पनि, कवितामा आगो बगे पनि वस्तुतः म कवितामा- चाहे त्यसले विश्वरूप धारण गरोस्, चाहे सूक्ष्मरूप धारण गरोस्- आफूले आफैँलाई सम्बोधन गरिरहेको हुन्छु । यसर्थ मेरो दृष्टिमा काव्य वा कविता भनेको सर्वोत्तम मानवीय आत्म-सम्बोधन हो ।
कोलाहलको तपोभूमि
सरूभक्त
मानचित्रभरि शीतयुद्धकालीन कोलाहलका हिमालै हिमाल छन्
मानचित्रभरि उष्ण जात्राकालीन कोलाहलका खाल्टैखाल्टा छन्
वसन्तको वन महोत्सव
देशमा हराएका वन जंगलहरू
मानचित्रभरि छन्
नजिकका र टाढाका छिमेकीहरू
त्यसलाई देश भन्दैनन्, तपोवन भन्छन्
जो जन्मन्छन् र मर्छन्, त्यहाँ, तपोवनबासी हुन्छन्
त्यहाँ जनता हुँदैनन्, ऋषिमुनि हुन्छन्
उनीहरू ब्रह्ममुहूर्तदेखि दिनचर्या प्रारम्भ गर्छन्
पवित्र नदीहरूमा स्नान गर्छन्
सूर्यलाई नमस्कार गर्छन्
अग्निहोत्रादि कर्म गर्छन्
अष्ठाङ्ग योग क्रमशः सोपानहरू उक्लिरहन्छन्
त्यहाँका युवकहरू व्रह्मचिन्तन गर्छन्
खेतमा काम गर्दैनन्
त्यहाँका युवतीहरू तत्त्वचिन्तन गर्छन्
पानी पँधेरो गर्दैनन्
त्यहाँका बालबालिकाहरू व्रह्मर्षि हुने खेल खेल्छन्
चिं मुसि चिं खेल्दैनन्
गुच्चा र च्याम्पटी खेल्दैनन्
उनीहरूमध्ये कोही विश्वामित्र हुन्छन्
र वशिष्ठहरूसित निहुँ खोज्छन्
उनीहरूमध्ये कोही अगस्त्य हुन्छन्
र सात समुद्रको पानी पिउँछन्
उनीहरूमध्ये कोही दुर्वाशा हुन्छन्
र कुरैपिच्छे श्राप दिन्छन्
त्यहाँका बूढा ऋषिहरू
दानमा प्राप्त गिठ्ठा भ्याकुर खान्छन्
अनि प्रत्येक श्वासप्रश्वासमा
देवताहरूको कुरा गर्छन्
आत्म उन्नतिका कुरा गर्छन्
मुक्ति-निर्वाणको कुरा गर्छन्
तपोवनबासीहरू यदाकदा महायज्ञ गर्छन्
वैदिक मन्त्रोच्चारण गरी यज्ञकुण्डमा घिउ हाल्छन्
घिउ फाल्छन्
जसको वास्ना सुँघेर
भोका राक्षसहरू यज्ञ विथोल्न आउँछन्
महर्षिहरू लाल लाल नेत्र गरी श्राप दिन्छन्
कमण्डलुबाट पानी छर्केर
तर मान्छेबाहेक राक्षस मर्दैनन्
क्रूर राक्षसहरू सबथोक खोस्छन्
ऋषिहरूको जघन्य हत्या गर्छन्
वज्रशक्तिविहीन ऋषि-हाडका पहाड निर्माण गर्छन्
मात्र केही विश्वामित्रहरू
राक्षसका चंगुलबाट भाग्छन्
र अयोध्या पुग्छन्
सधैँ तपोवनमा यज्ञ हुँदा
ऋषिमुनिहरू
नजिक वा टाढाका राम-लक्ष्मणहरू बोलाइरहन्छन्
यज्ञ गरिरहन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।