नेपालको साहित्य जगतका एक अद्वितीय नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित अत्यन्त सुन्दर र कालजयी कविता हो, ‘यात्री’ । २०१० मा प्रकाशित ‘भिखारी’ कवितासङ्ग्रहभित्र समेटिएको यो कविताले देवकोटालाई निकै विवादित पनि बनायो । साहित्यमा एउटा भनाइ छ – रचना र साहित्यकार जति धेरै विवादित हुन्छन्, त्यति नै चर्चित र लोकप्रिय हुन्छन् । यो कुरा कवि देवकोटामा शतप्रतिशत लागू भयो ।
‘यात्री’ कविताको प्रकाशन हुने बित्तिकै तत्कालीन समालोचकहरूले उनलाई ‘नास्तिक’को बिल्ला भिराइदिएका थिए । त्यो बिल्ला यति सशक्त थियो कि आजसम्म नास्तिक साहित्यकारकै रूपमा मानिन्छन् । यो त्यो बेलाको कुरा हो जतिखेर समाजमा कानून भनेको नै धर्म थियो अर्थात् राज्यमा धर्मकै बोलवाला हुने गर्थ्यो । त्यो समयमा कानून त्यति विकसित थिएन । अर्को शब्दमा भन्नुपर्दा कानूनको प्रादुर्भाव नै भएको थिएन ।
वास्तवमा आज हामीले जुन कानून शब्दको प्रयोग गर्छौं, त्यसलाई त्यतिबेला धर्म भन्ने गरिन्थ्यो । वैदिक सनातन संस्कृतिको मूल्य र मान्यता अनुरुप समाज, प्रभावकारी राज्य सञ्चालन एवं राज्य सञ्चालकका साथै जनतामा अनशासन कायम गर्ने र गराउने कार्य धर्मको थियो । समाज एवं राज्य व्यवस्था समेत धर्मद्वारा नै नियन्त्रित र सञ्चालित हुने गर्थे । कुनै कुरो दण्डनीय हो भनेर व्याख्या गर्न सहजीकरणका लागि ‘यो कार्य पाप हो । यी यी कार्य धर्म हुन् । यसो गरेमा जीव ईश्वरद्वारा पुरस्कृत हुन्छन् र यी यी कार्य गरेमा दण्डित हुन्छन’ भन्ने मनोविज्ञान थियो । यस्तो अवस्थामा भगवान, मन्दिर आदिको विरुद्धमा केही बोल्नु भनेको ठुलो पापकर्म मानिन्थ्यो भने लेख्ने हिम्मत गर्नु त भयङ्कर नस्तिकताको परिचायक ।
सत्ययुगका ऋषि एवं देवगुरु थिए – वृहस्पति । उनले प्रादुर्भाव गरेको दर्शन हो, लोकायत दर्शन अर्थात् चार्वाक जसलाई नास्तिक दर्शन भनिन्छ । तत्कालीन विद्वानहरुले लोकायता दर्शनको यति विरोध गरे कि त्यसलाई नष्ट नै गरिदिए । जब कि त्यो अत्यन्त महत्त्वपूर्ण दर्शन थियो । चार्वाक दर्शनको कारणले आज राज्य सञ्चालनमा कर लिने र राष्ट्र नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने धारणाको विकास भएको हो । यो लोकायत दर्शनका मूल पाटो हो |
त्यस्तो मनोवैज्ञानिक सामाजिक परिवेशमा एउटा व्राह्मण परिवारमा जन्मिएको अत्यन्त विद्वान् व्यक्ति, देशकै प्रसिद्ध साहित्यकारले ईश्वरको मन्दिर नजान भनेर अर्थात मन्दिर र मूर्तिपूजाको विरोध गर्नु भनेको ठुलो ईश्वरविरोधी, धर्मविरोधी, क्रान्तिकारी र नास्तिक कार्य थियो । त्यसैले उनको यो यात्री कवितालाई तत्कालीन अवस्थामा चरम नास्तिकको रूपमा लिइएको थियो । उनी भन्छन् –
कुन मन्दिरमा जान्छौ यात्री ?
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
मानिसहरुको काँध चढी कुन देवपुरीमा जाने हो ?
यी हरफहरूका कारण उनलाई मन्दिर र मूर्तिपूजाविरोधी मानियो । भारत प्रायद्वीपका केही राज्यमा सात सय वर्ष मुगल शासन थियो । त्यसपछि पालो आयो, इसाई ब्रिटिस शासनको । इस्ट इन्डिया कम्पनीले आफ्ना सामान बिक्री गर्न भारतका अनेक राज्यलाई गाँभ्दै गए र एउटा विशाल राष्ट्रको निर्माण गरे जसलाई उनीहरूले इन्डिया नामकरण गरे । यसरी एक हजार वर्षसम्म कहिले इस्लाम त कहिले इसाई धर्म र शासनबाट आक्रान्त भयो ।
यी सबै कारणले गर्दा भारतमा हिन्दू धर्मको विरोध व्यापकरूपमा भएको पाइन्छ । हिन्दू देवदेवीहरूलाई उपहासको रुपमा लिनु, मुर्तिपूजा, संस्कार आदिको विरोध गर्नु उनीहरूका नियोजित कार्य भएका थिए । त्यसैको परिणामस्वरूप मूर्तिपूजाको विरोधमा कवीरदास जस्ता साहित्यकारले समेत आफ्ना अभिव्यक्ति यसरी दिएका थिए –
पाथर पूजे हरि मिले तो मै पुजुं पहाड
ता ते से चक्की भली पिस खाए संसार ।
अर्थात् पत्थर भन्नाले मूर्तिपूजा गरेर हरि अर्थात् ईश्वर प्राप्त हुने भए मैले पहाडको पूजा गर्छु । त्योभन्दा त जाँतो राम्रो, जसमा मान्छेले अन्न पिसेर खाने गर्छन् । अर्थात् बढी महत्त्वपूर्ण छ ।
यी कुराको प्रभाव नेपाली साहित्यमा पनि पर्नु स्वाभाविक हो । त्यो बेला नेपालमा विद्यालय र शिक्षाको अवस्था के थियो भनिरहनु परेन । शिक्षाका लागि होस् वा शिक्षकका लागि होस्, नेपाललाई इन्डियाकै सहयोग लिनुपर्ने बाध्यता थियो । त्यहाँ जे पढाइ हुने गर्थ्यो, स्वाभाविक छ उनीहरूले त्यही सिकेर आउने गर्थे र सिकाउने गर्थे । यसप्रकार हामी भन्न सक्छौँ – देवकोटामा पनि इन्डियन साहित्यको प्रभाव परेको थियो जसबाट प्रभावित भएर उनले यो कविता लेखेर आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गरे ।
अब हामी उनका यी उद्धरणबारे मनन गरौँ । मानव शरीरलाई उनी मन्दिरसित तुलना गर्छन् –
हाडहरूका सुन्दर खम्बा
मांसपिण्डको दिवार
मस्तिष्कको सुनको छानो
इन्द्रियहरुको द्वार
नसा नदीका तरल तरङ्ग
मन्दिर आफू अपार ।
जीवको शरीर नै मन्दिर हो । मस्तिष्करुपी सुनको छानो छ । हाडहरू खम्बाका रूपमा अवस्थित छन् । मांसपिण्डलाई उनी देवाल अर्थात् पर्खालका रूपमा लिन्छन् । नसाहरू नदीको रूपमा प्रवाहित छन् तसर्थ मानव देह नै एक मन्दिर हो ।
अबको उद्धरणमा उनको ईश्वरबारेका धारणा पनि हेरौँ –
साथी यात्री बीच सडकमा
ईश्वर हिँड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले
सेवकहरूको माथ ।
कवि देवकोटा भन्छन् – दुःखी र पीडितहरूको सेवा गर्नु नै ईश्वर प्रसन्न पार्ने उपाय हो । मानवसेवा र मानवता नै धर्म हो । ईश्वर पूजा हो । ईश्वर व्रह्म हो । ऊ कहिले पनि भौतिक आँखामा सदृश हुन सक्दैन । त्यसैले मन्दिरमा वा तीर्थमा गएर ऊ भेटिँदैन न त ऊ मन्दिरमा नै निवास गर्छ । उसको निवास त प्रत्येक जीवमा छ । जीवको शरीर नै उनको मन्दिर हो । त्यसैले मानवसेवा एवं जीवसेवा नै ईश्वरको पूजा हो । उनी भन्छन् –
फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ
मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हँसाऊ ।

सडक किनार गाउँछ ईश्वर चराहरूको तानमा
भुल्दछ ईश्वर मानिसहरुको पीडा र दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन चरम चक्षुले कानमा ।
यो कवितामा उनी अद्वेतवादको पक्षधर भएको मैले पाएकी छु । अद्वेतवादका प्रणेता दत्तात्रेय थिए । उनी तत्कालीन आफ्ना मामा कपिलमुनिको द्वेतवादका चरम विरोधी थिए । त्यसपछि अष्टावक्र पनि दत्तात्रेयको अर्थात् अद्वेतवादका चरम समर्थक थिए जुन कुरा उनले राजा जनकलाई दिएको शिक्षा र अष्टावक्र गीतामा उल्लेख छ ।
आदिगुरु शंकराचार्य पनि अद्वेतवादी थिए । कवि देवकोटामा पनि अद्वेतवादको प्रभाव परेको कुरा यो कविताले साबित गर्छ । उनी जीव नै व्रह्म भएको कुराको समर्थक छन् । उनी ‘अहम् व्रह्मास्मि’ अर्थात् म नै व्रह्म हुँ भन्नाले जीव नै व्रह्म हो । ‘तत्त्व मसी’ अर्थात् तँ नै म हुँ । भनेको अर्थ जीव नै ईश्वर वा व्रह्म हो । दृश्य जीव मानवदेखि अन्य सबै प्राणी यहाँसम्म कि अदृश्य किटाणु समेत व्रह्म हो । प्राणी मात्र व्रह्म हो । व्रह्म नै प्राणी हो । आत्माले यो भौतिक शरीर त्याग गरेपछि उनी परमात्मामा अर्थात् ईश्वर वा व्रह्ममा लय हुन्छ ।
परमात्मा र आत्मा एक हुन् । यी कदापि अलग होइनन्, फरक छैनन् । यी दुईमा भेद छैन । उनको अनुसार ईश्वरलाई खुसी बनाउन प्राणीको सेवा गर्नु मानवको कर्तव्य हो । ईश्वरकै काँध चढेर ईश्वर खोज्दै तीर्थ-तीर्थ हिँड्नु भनेको नर कस्तूरीले आफ्नो नाभिमा रहेको बिनालाई वन-वनमा खोजेजस्तै हो ।
उनी अद्वेतवादका यिनै सिद्धान्तसित सम्बन्धित छन् । यसैमा आधारित भएर यो कविता लेखेका हुन् । निर्जीव मूर्तिमा ईश्वर वा व्रह्मको निवास हुँदैन अर्थात् जीवको शरीर नै मन्दिर हो भनेर उनी सबैलाई स्मरण गराउँछन् । बरु प्रत्येक जीवमा ईश्वरको निवास छ भनेर भन्छन् । ‘यात्री’ कवितामा देवकोटालाई कुनै कोणबाट पनि नास्तिक भन्न सकिन्न । तत्कालीन समालोचकहरूले केका आधारमा नास्तिकताको तक्मा भिराए, उनीहरू नै जानून् ।
अर्को कुरा- नास्तिक भनेको वेदविरोधीलाई भनिन्छ । देवकोटा न वेदविरोधी थिए, न त ईश्वरविरोधी । उनी त ईश्वरका चरम समर्थक थिए । त्यही कुरालाई उनले आफ्नो कवितामा लेखेका थिए –
न धर्म भो भक्ति न भो विवेक
आखिर श्री कृष्ण रहेछ एक ।