१. महापण्डित राहुल साङ्कृत्यायनसँग रिसाएको रात लेखिएको कविता – पागल

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पागल भनेर राँची पुर्याएको कुरा हामीमध्ये धेरैले सुनेका पढेका छौँ । र, त्यही समयमा उनले बहुचर्चित कविता पागल लेखेका थिए । तर उनलाई राँची वास्तवमै लगिएको थियो ? उनले आवेशमा नै ‘पागल’ कविता लेखेका थिए ? पागल कविता लेखिनुको कारण के थियो ? – यहाँ उत्तर खोज्ने प्रयास गरिएको छ ।

अँ, देवकोटाले ‘पागल’ कविता वि.सं २०१० को वैशाखताका लेखेका हुन् । पागल कविता सर्वप्रथम ‘प्रगति’ द्वैमासिकको अङ्क एकमा वि.सं २०१० मा छापिएको थियो । देवकोटाले यो कविता आफैँले औधी मन पराएका कारण तीनपटकसम्म सम्पादन गरेका थिए । सम्पादनको क्रममा उनले पुराना शब्द हटाउने र नयाँ शब्द हाल्ने काम गरे ।

ती हटाइएका पुराना शब्द र थपिएका नयाँ शब्दहरू के के थिए ? हतार नगर्नुस् न ! बताइहाल्छु नि ।

भारतका महाकवि रवीन्द्रनाथ ठाकुरको जन्मजयन्तीको अवसरमा ‘आजकाल’ साहित्यिक हिन्दी मासिक पत्रिकामा महापण्डित राहुल साङ्कृत्यायनले ‘नेपाली महाकवि देवकोटा’ शीर्षकमा व्यक्ति-निबन्ध लेखेका थिए । बताइहाल्यौँ – देवकोटालाई महाकवि भन्ने पहिलो व्यक्ति हाम्रै ईश्वर बराल हुन्, र दोस्रो महापण्डित राहुल साङ्कृत्यायन । अँ, उक्त लेखमा महापण्डितले महाकवि देवकोटालाई राँचीको पागलखानामा राखिएको उल्लेख गरेका थिए जुन पढेपछि देवकोटा रनाहामा परे । रिसको रहनामा । पाठकवृन्द, तपाईँ आफैँ अलङ्कार बुझ्ने हुनुहुन्छ, कुरो बुझिहाल्नुभयो होला ।

कुरो के भने, देवकोटा रिसमा पनि बेजोड थिए । रिसाउँदा आँखा र कान राता हुन्थे । नाकको टुप्पाबाट पसिना आउँथ्यो । उनका गाला पनि राता राता हुन्थे । रिस त सबैको उस्तै उस्तै पो हुन्छ क्या ओ !

अँ, “आजकाल” पत्रिका सर्वप्रथम जनकलाल शर्माले हात पारेका थिए । उनले त्यो पत्रिका देवकोटालाई दिए । आफूलाई राँची राखेको खबर पढ्न नसकेर देवकोटाले जनकलाल शर्मासामु पनि राम्रो रिस पोखेका थिए । वा भनौँ, महापण्डितसँगको रिसको घानमा शर्मा पनि परेका थिए ।

अनि त के थियो, राहुलले लेखेको लेख पढेको रातमा नै देवकोटाले पागल कविता लेखेका थिए । उनले पागल कविता लेख्दै गर्दा जनकलाल शर्मालाई “तिम्रा” इङ्गित गरेर “तिम्रा महापण्डित राहुल मेरा महामुर्ख” लेखेका थिए । तर जनकलालले त्यसैबेला देवकोटालाई फकाएर राहुल शब्द झिक्न लगाए । यो कुरा विभिन्न पुस्तकहरूमा भेट्न सकिन्छ ।

‘देवकोटाको जीवनशैली’ पुस्तकका लेखक नरेन्द्रराज प्रसाईँ भन्छन्, “देवकोटाको ‘पागल’ कविताले नेपाली कविताको फाँटमा नयाँ तरङ्ग पैदा गर्यो । साथै, उक्त कविता उनको प्रतिनिधि कविताका रुपमा पनि स्थापित भयो । त्यतिबेला सो कविता उनी प्रायः सल्लाहकार सभाको चमेनागृहमा लगेर पनि पाठ गर्थे । उनी चमेनागृह गएका बेला उनका वरिपरि साथीहरू झुम्मिने हुनाले सभामा सांसद्हरूको कोरम नै पुग्दैनथ्यो । त्यति मात्र होइन, उनले ‘पागल’ कविता प्रायः महिनौँ दिनसम्म आफैँसँग बोकेर हिँडे र जहाँ एकै ठाउँ दुईचार जना मान्छे भेट्थे त्यहीँ सो कविता सुनाउने गर्थे । त्यतिबेला खास गरेर चियापसलहरूमा उनी आफ्ना कविताका श्रोता भेट्थे … ।”

यस कविताका विषयमा समालोचक कुमारबहादुर जोशीले लेखेका छन्, “पागल’चाहिँ वस्तुतः पागलपनको आरोपबाट उत्प्रेरित भनूँ उद्दीप्त महाकवि देवकोटाको उच्चतर स्तरको एक अतिशय सशक्त गद्यकविता हो । … उनका इष्टमित्र, साहित्यिक साथीहरू र राजनैतिक क्षेत्रका व्यक्तिहरूले पनि उनलाई बेलाबेलामा पागल भनेर तिरस्कार गरेको तथा काम पर्दा उनीबाट खुब फाइदा उठाइए । तापनि कुनै लाभको अवसर आउँदाखेरि भने उनलाई पागल भनेर पन्छाइएको जस्ता घटनाहरूका पृष्ठभूमिमा तिनैको प्रतिक्रिया स्वरूप तयार पारिएको प्रस्तुत कविता कविले पागलपनको आरोप सकारेजस्तो गरी पागल भन्ने लोकलाई नै वस्तुतः व्यङ्य गर्दै र पागल सिद्ध गर्दै आफूलाई अपागल प्रमाणित गर्ने उनको कवितात्मक प्रयासका रूपमा रहेको छ ।’’

अँ, युवाकवि निरज दाहालले कविताको कथाअन्तर्गत ‘भाञ्जा ! म पागल होइन, गरिबचाहिँ हुँ‘ शीर्षकमा ‘पागल’ कवितामाथि गज्जबको फिचर लेखेका छन् ।

===

२. जब सत्यमोहनले पैसाको बोको बोकी हिँडिरहेका देवकोटालाई भेटे

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा दानी थिए भन्ने सबैलाई थाहा छ । दानी त सबै हुन्छन्, उनी कतिसम्म दानी थिए ? शताब्दी पुरूष, संस्कृतिविद् सत्यमोहन जोशीलाई थाहा छ ।

२७ कात्तिक १९६६ (कृष्ण औंशी अर्थात् लक्ष्मीपूजाका दिन) मा काठमाडौंको डिल्लीबजारमा जन्मेका महाकवि देवकोटाको २९ भदौ ०१६ मा निधन भएको थियो । निधन हुनु चार दिनअघि जोशीले देवकोटालाई भेटेका थिए । जीवनको अन्तिम घडीमा रहेका देवकोटाको अनुहारमा छाला र हड्डी मात्रै देखिन्थ्यो । त्यो पनि निख्खुर कालो । उनी त्यसबेला पनि चुरोट भने खाइरहन्थे ।

तर कुरो त्यतिबेलाको होइन ।

साहित्यसँगै राजनीतिक सक्रियता, पारिवारिक वियोग र आर्थिक अभावमा पनि उनले एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य लेखेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठान स्थापनार्थ उनको योगदान कम थिएन । तर कुरा उल्लिखित विषयको पनि होइन ।

शताब्दी पुरूष सत्यमोहन जोशीका अनुसार थुप्रै महाकाव्य, खण्डकाव्य, कथा, कविता, निबन्ध, उपन्यास, नाटक, समालोचना र गीत लेखेका देवकोटा दानी थिए । उनको हातमा पैसा रहँदैनथ्यो । पैसा हुनासाथ उधारो खाएको तिर्नुपर्थ्यो उनलाई । र, उधारो तिर्दै तिर्दै घर पुग्दा उनको पैसाको पोको रित्तो हुन्थ्यो होला ।

अँ, कुरो देवकोटाले बहुचर्चित महाकाव्य शाकुन्तल लेखेपछिको हो । अझ भनौँ, नेपाली अर्थजगतमा नोटको प्रचलन सुरू हुनुभन्दा अगाडिको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धारका प्रवर्तक देवकोटालाई पैसाको पोको बोकी कतै हिँडिरहेको समयमा शताब्दी पुरूष सत्यमोहनले फेला पारे । उनले त्यो पैसा शाकुन्तल महाकाव्य लेखेबापत पारिश्रमिक (पुरस्कार) पाएका रहेछन् ।

फेरि पनि भनौँ – नोटको प्रचलन सुरू भएको थिएन । देवकोटाले बोकेको पोकोमा पाँच हजार रूपियाँ थियो । र, त्यस समयका लागि पाँच हजार सानो नगद थिएन । जोशीले देखे, पाँच हजार रूपियाँको पोको बोकी हिँडिरहेका देवकोटाको मुहारमा कान्ति थियो । मनमा शान्ति, सायद । देवकोटाले ‘शाकुन्तल महाकाव्य पूरा गरेबापत पाएको पैसा’ भनी पोको जोशीलाई देखाए ।

साहित्यमा देवकोटाका सिर्जना मानवताद र प्रकृतिप्रेमसँग नजिक छन् । उनले प्राप्त गर्ने पैसाहरू भने उनका नजिक सायदै भए होला । जोशीले विचारे – देवकोटाले बोकेको पैसा कस-कसलाई दिनुपर्ने होला । पानवाला, मासु पसल, चुरोट पसल … । पैसा हात परेपछि उधारो खाएको बुझाउँदै ठिक्क भएपछि घर पुग्दा एक पैसा नहुनु अस्वाभाविक होइन ।”

अँ, कुरो सकियो । पत्याउनु भयो ? सुन्नुहोस् – जोशीको देवकोटासँगको यो संस्मरणलाई हिमालखबरका लागि दीपेन्द्र राईले ‘जब देवकोटाले सत्यमोहन जोशीलाई देखाए ५ हजार रुपैयाँको पोको‘ शीर्षकमा लेखेका छन् ।

===

३. जसले लक्ष्मी पूजामा देवकोटाको जुत्तालाई पुजे

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका सबैभन्दा बृहत् ‘मिथकीय पात्र’ बनिसकेका छन् । तर स्तम्भकार यहाँ देवकोटालाई लिएर मिथकीय कुरा गर्दै छैन । यो वास्तविकताको कुरा हो । देवकोटाको जुत्ताको कुरा हो । ‘रचना’का सम्पादक रोचक घिमिरेसँग जोडिएको किस्सा हो ।

देवकोटाको जन्म जयन्ती (लक्ष्मी जयन्ती) मिति होइन, तिथिअनुसार प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन मनाइन्छ, यो तपाईंलाई पनि थाहा भएकै कुरो हो । तर म यहाँ देवकोटाको जुत्ताको कुरा गर्दैछु, जसलाई लक्ष्मी पूजाका दिन रोचक घिमिरेले पुज्ने गर्थे । यो तपाईंलाई थाहा नभएको पनि हुन सक्छ !

अब चुरो कुरोतिर लागौं –

देवकोटालगायत धेरै कवि–साहित्यकारहरुको मण्डली घिमिरे निवासमा जम्ने गथ्र्यो । एकपटक, मण्डलीमै आएका बेला देवकोटाको जुत्ताको तलुवा खुस्किएछ, र चप्पल बनेछ । त्यो अवस्थाको जुत्ता लगाएर महाकविलाई पठाउने कुरा भएन । रोचकका बुबा पण्डित सोमनाथ घिमिरे व्यासले नयाँ जुत्ता दिएर देवकोटालाई पठाएछन् । र, तलुवा फुस्किएको जुत्ताचाहिँ रोचकले सुरक्षित राखेछन् ।

कुरा जुत्ताको मात्र छैन, लक्ष्मी पूजामा पुजेको पनि छ । नबिर्सर्नु है !

अँ, त्यसको केही समयमा देवकोटाको देहान्त भए । देवकोटाका नाममा रोचकसँग उही तलुवा फुस्किएर जुत्ता रह्यो । उनलाई लाग्यो – राम वनवास गएपछि भरतले सिंहासनमा रामको खराउ राखेर राज्य चलाएका थिए, अब म देवकोटाको जुत्तालाई सिंहासनमा राखेर लक्ष्मी जयन्ती मनाउँछु ।

रोचकका भाइहरुले पनि उनलाई समर्थन गरे । कारण, रोचकको परिवारमा महाकविप्रति असिम श्रद्धा भाव थियो । र, उनले ६–७ वर्षसम्म निरन्तर देवकोटाको तलुवा फुस्किएको जुत्तालाई पुजेर लक्ष्मी पूजाका दिन ‘लक्ष्मी जयन्ती’ मनाए ।

देवकोटाको जुत्ताको कथा सकियो । तर, रोचकमाथि ‘चर्चा’ पाउनका लागि यसो गरेको भन्ने आरोप पनि लागेको छ । यो सम्पूर्ण प्रसङ्गको उल्लेख गर्दै अनलाइन खबरमा अश्विनी कोइरालासँगको एक अन्तर्वार्तामा रोचकले भनेका छन्, ‘उमेर सानो भएका कारण प्रचारका लागि यसो गरेको भन्नु चाहिँ अन्याय नै हो ।’

===

४. निर्मोही व्यासको भावुकताको सीमा

यदि ‘पत्याउनूस्–नपत्याउनूस्’ स्तम्भको नियमित पाठक हुनुहुन्छ भने निर्मोही व्यासको भावुकताबारे तपाईँलाई थाहै छ । त्यतातिर लागिनँ ।

मधेश आन्दोलनको समय थियो । बारा जिल्लास्थित कलैयामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक थियो । भावुक व्यास कलैयाकै स्थानीय, तर त्यस समय काठमाडौंमै थिए । आन्दोलनकै क्रममा आन्दोलनकारीले देवकोटाको सालिक फुटाए ।

भन्नु होला, सालिकहरु त कति तोडिए कति फोडिए – कुनै नौलो कुरा भयो र ! पख्नुहोस्, म नौलो कुरै भन्दैछु ।

निर्मोही व्यासले सालिक तोडिएको कुरा थाहा पाए । साथमा अमर त्यागीलगायतलाई लिएर उनी तुरुन्तै कलैया पुगे । सालिकको टाउकोलाई एउटा रुमालमा पोको पारे । व्यासले त्यहीँ सबैको अघि कसमै खाए – ‘‘मेरो घर–वास सबै यहीँ छ । तर जहाँ मेरो महाकविको टाउको छिनालिन्छ, त्यो ठाउँमा आजदेखि म बस्दिनँ ।’’

र, काठमाडौं फर्किए ।

देवकोटाको सालिकलाई लिएर निर्मोही व्यास संवेदनाको गहिराइमा डुबे । कलैयामा रहेको घर र जमिन त्यसैबेला बेचे, कैडीको भाउमा । र, स्थायी रूपमा काठमाडौं नै बस्न थाले ।

अँ, साहित्यकार निर्मोही व्यासभन्दा भावुक र संवेदनशील अर्को कुनै प्राणी यो जगत्मा देख्नु–भेट्नु भएको छ भने स्तम्भकारलाई अवश्यै खबर गर्नुहोला ।

===

५. जब शङ्कर लामिछानेले देवकोटाका लागि कहानी लेखे…

कुरो हाम्रा महाकवि देवकोटाकै । अझ भनौँ महानिबन्धकार शङ्कर लामिछानेको स्मृतिमा सजिएका देवकोटाको । अँ, कुरा कहानीको पनि हो । त्यो कहानीको जुन लामिछानेलाई बनारस पठाउनु थियो, देवकोटाबाट लेखाएर । तर रचना बोकेर जाने मान्छे तयार भइसक्दा पनि देवकोटाले कहानी तयार पारिसकेका थिएनन् ।

अँ, कुरा एक साँझको हो । लामिछानेले देवकोटा निवासमै पुगे, कहानीका खातिर । उनले थाहा पाए – कहानी तयार छैनन् । र भने, ‘भोलि मानिस बनारस जाँदै छ । भोलि पनि कहानी पठाउन पाइएन भने … ।’

लामिछानेले वाक्य पूरा गर्न सकेनन्, रोकिए । तर उनको कुराको चुरो देवकोटाले नबुझ्ने कुरो थिएन । उनले भने, ‘कति बज्यो हेर्नुस् त ?’

‘छ बज्न लाग्यो ।’, लामिछानेले करिब करिब ठिक समय बताए । र केहीछिन प्रश्नोत्तर चल्यो ।

‘भोलि कुन बेला मानिस जाँदै छ ?’

‘बिहान नौ बजेतिर ।’

‘तपाईंलाई कतिवटा कहानी चाहिने ?’

‘विभिन्न किसिमका १०/१२ वटा र १२ भयो भने छानेर १० वटा सङ्कलन गर्न सकिन्थ्यो ।’

‘१२ कहानी … १२ घन्टा …’ देवकोटा गम्न लागे । लामिछानेले कुरा बुझेनन्, आर्श्चय मानिरहे ।

केहीबेरको मौनता तोड्दै देवकोटा बोले, ‘यसो गरूँ, आज तपाईं यहीँ बस्नोस् । म बोल्दै जान्छु, तपाईं लेख्दै जानोस् । बिहान ६ बजेसम्म कसो नसकिएला ! थाक्नु त हुन्न हगि ? भोलि बिहान कहानी जम्मै पुर्‍याइदिनेछु ।’

अक्सर सरल कुराहरू बुझ्न सबैभन्दा गाह्रो हुन्छ । हो, देवकोटाले यो कुरा यति सरलसँग भने कि लामिछानेले कुराको चुरो बुझ्न सकेनन् । जब बुझे तब अक्मकिए । ‘रातभरि एक थलामा बसेर लेख्नु… न खानु न पिउनु … र फेरि घरमा भाइहरू बिरामी !’, कुरो अक्मकिने नै थियो । भने, ‘यसो त कसरी … ।’

तर फेरि पनि वाक्य पूरा गर्न भने सकेनन् । देवकोटाले नै भने, ‘मकहाँ बस्न तपाईँलाई केही आपत्ति छ ? यहीँ खानुहोला नमिठो भए पनि ।’

‘खान त केही छैन तर रातभरि … घरमा बिरामी छन् ।’, लामिछानेले आफ्नो मनोदशा र परिस्थिति एकैसाथ पोखे ।

‘उसो भए जुन बेलासम्म सक्नुहुन्छ लेखूँ अनि सकिएको कहानीचाहिँ लैजानुहोला ।’, देवकोटाको सहज प्रस्तावलाई लामिछानेले इन्कार गर्न सकेनन् । र, देवकोटाले धाराप्रवाह रूपमा भन्ने र लामिछानेले लेख्ने क्रम सुरू भयो ।

लेख्ने क्रम ६ बजेदेखि १० बजेसम्म चल्यो । उक्त ४ घन्टामा ५ कहानी लेखियो । महाकविको शक्तिको मेसो लामिछानेले त्यसैबेला थाहा पाए । हामीलाई आफ्नै जीवनमा घटेका घटनाहरू सुनाउँदा समेत बिच बिचमा रोकिनुपर्छ । देवकोटाले भने कल्पनाका आधारमा नयाँ प्लट, नयाँ शब्द र नयाँ कहानी नदोहोर्‍याई, काटकुट नगरी, नअक्मकाई कुनै पुस्तक पढेजस्तो भनेका थिए । लामिछानेलाई लाग्यो – सायद त्यसभन्दा पनि छिटो मैले सर्टह्यान्ड जानेको भए, या रेकर्डिङ गर्न मसिन भएको भए, मलाई आशा छ र विश्वास पनि, त्यस ४/५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ ।

त्यसबेला लामिछानेले लेखेका कहानीहरूमा ‘मधुराबोडसी’ र ‘चिनियाँ प्रेमी’ उल्लेखनीय छन् ।

१० बजेपछि भने घरका बिरामीलाई सम्झिएर लामिछाने र्फकने लर्खरमा लागे । त्यसै बेला कागजको एक मुठो अगाडि राखेर देवकोटाले भने, ‘मकहाँ हराउनेछन् । जो पनि आउँछ, लैजान्छ, हराइदिन्छ । यी अलिकति गद्य र कवितासङ्ग्रह छन्, आफूकहाँ सुरक्षित राखिदिनोस् । तपाईंकाँ भो भने हराउने छैनन् ।’

लामिछाने घर आए । पोको फुकाए । निद्रा माया मारेर देवकोटाले पोको पारी पठाएका कविताहरू पढ्न थाले । लामिछानेका अनुसार तिनमा ‘अन स्मोकिङ एक्जिस्टेन्स अफ गुड’, ‘इन्डियन समर क्लाउड’ तथा कवितामा लर्ड कृष्ण र गड इत्यादि उल्लेखिनीय छन् । ती सायद अहिले प्रकाशित भएका छैनन् तर जब प्रकाशित हुनेछन् अनि हामीले थाहा पाउनेछौँ – अंग्रेजी भाषामा पनि देवकोटाजीको कति प्रवाह छ ।

अँ, देवकोटासँगका आफ्ना विविध संस्मरणहरूलाई लामिछानेले आफ्नो परिचायत्म निबन्ध कृति ‘विम्ब प्रतिविम्ब’मा विस्तृतमा उल्लेख गरेका छन् ।