![](https://sahityapost.com/wp-content/uploads/2021/08/laxmi-prasad-devkota-e1703848387514.jpg)
स्वर्गबाट देवदूत झर्छन् पृथ्वीमा, धर्म र विश्वास सिकाउन, प्रौढ हामीहरुले दुवै गुमाइसकेका हुन्छौँ, तर जबसम्म स्वर्ग वर्षिन्छ धरातलमा आशा छ, त्यस मोतीको दानाले धर्ममा श्रद्धा लिएर आउँछ, त्यसको नाम बालक हो ।
त्यस्तो एक बालकको नाम थियो श्रीकृष्ण । आमाबाबुका आँखाभन्दा अरु आँखाले पनि यसको रुपलाई सरहनी गर्दथे । छ महिनासम्म सूर्य उत्तर लागेझैँ यो फस्टिँदै गएको थियो । ठूलाठूला आँखा, उज्यालो लालीदार मुहार, मोटो पिँडौला, कैलोलाई कालोले उछिन्न लागेको कपाल । पिँडौलालाई सप्रेको भन्टाको चिल्लो पुष्टतासँग तुलना गरौँ । संसारको औपन्यासिकतालाई सजीव आँखाले विचित्र चाखसँग पढिरहेको थियो । सिलिङका बुट्टासँग कुरा गरी हाँसी हाँसी उफ्रँदा विकास पाएर ऊ ताराबाजी र धुनमुन र वाँडोलाका प्रारम्भिक मनोरञ्जनमा संसारलाई रमाइलो मानी रमाइलो बनाइरहेको थियो । अपूत राजाहरु यसलाई एक अरबमा किन्ने थिए । सच्चा साधुहरु यसलाई हेर्न पाए ईश्वर चिन्ने थिए ।
तर उनकी आमा रमाले यसलाई चिनिनन् । तुरी गरे च्याँट्ठिन्थिन्, आची गरे भुतभुताउँथिन् । उनलाई च्यामेको धर्म नासिकी मातृत्वको विकास र स्वर्गको वास हुँदैन भन्नेसम्म पनि थाहा थिएन । शिशुत्वको देवत्वमा जातविरोधी नर्कप्रक्षालनको वेदको प्रथम अध्याय जो रहेको छ त्यही पढ्न पनि उनको राम्रो शील र धैर्य थिएन । उनी उनकी छोरी उमालाई यी सब पाठ करबलसँ सिक्ने भार लगाउँथिन्, त्यो दश वर्षकी ठिटी, जो खराब माटोमा बलसँग मर्दै, उम्रँदै हुर्केको बिरुवाजस्ती थिई, भाइको सब सुसार गर्दथी । ऊ नभएको बेलामा तर, दूधओठे वेद गुरुले थप्पड र गाली प्रशस्त खाने गर्दथ्यो ।
श्रीकृष्ण छ महिनाको भएपछि अर्का श्रीकृष्णका परमभक्त श्री १०८ गोपीकृष्णजी षड्मास वृन्दावन विहारबाट कुण्ठित इच्छासमूहका छद्मवेशिनी पट्ठीहरु र तिनका भँवराहरु अनुयायीवर्गका रुपमा ल्याएर, नेपाल खाल्डोलाई निरन्तर भ्रमर गुञ्जनले दोस्रो वृन्दावन बनाउन पाल्नुभयो । नेपाली पोथी समाजमा सुन्दर अतिमानवको सिद्धान्त अत्यन्त प्यारो हुनाले, घरघरमा हलचल मच्चियो । कहीँकहीँ त क्रुद्ध स्वामीहरुले दासीहरुलाई लातको प्रयोग पनि गरे । तर माकुरीको जातमा जस्तो पोथीको भालेलाई जितिछाडे । कन्तुरका पैसा सेता माहुरी भएर उडे । सेफ् (निर्भयकोष) का कित्ताहरु पतझडका हुरीमा परे । विचित्र बिरालो घरघरमा नाच्यो । दूधदही त्यसैले खाइदिन्थ्यो । विचित्र मुसाले धानचामल पनि चपाउन लागे । किनकि ‘श्रीकृष्ण’ ले फेरि साक्षात् अवतार लिनुभएको थियो । यस्तो हल्ला चल्यो कि श्रीकृष्णजी सदेह संसार त्याग गरेर एक दिन गोलोकमा सवारी हुनुहुन्थ्यो । वहाँ च्वाट्ट उम्कनुहोला भनेर उहाँका पादकमल तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस नेपाली युवतीले कोमल पुष्पित लताझैँ पाखुराले आलोपालो बाँधिरहेका थिए ।
यसपछि हाम्रो श्रीकृष्ण बालकले सौता पाएजत्तिकै भयो । उसको जीवाधार आमाको स्नेह आर्की फुच्ची भक्तिसभादेवीले एकलौटी ठेक्कामा लिई । रमादेवीलाई बिहान, दिउँसो, साँझ एकैधून सवार थियो । त्यसको नाम थियो कृष्णभक्ति, जो गाँजा या अफिसभन्दा कडा छ, किनकि यसको लागू लागेपछि छुट्न सक्तैन ।
यहाँ असल चीजको असली भक्तिउपर ज्यादा कटुतासँग बोलूँला कि भन्ने मलाई लाग्दछ । तर ईश्वर सर्वोत्तम चीज भए पनि, मानिसले कालभैरवजस्तो खप्पराधी राक्षसजस्तो बनाएको देख्दा घृणा लाग्दछ । भैरव छैन भन्दिनँ, तर उसको नियमित ध्यानले मानिस कति सुन्दर बन्न सक्ला ? ईश्वरलाई हाामी मानव कल्पनाले सिँगार्छौँ : विकृतिले बिगार्छौँ: इच्छाले खँगार्छौँ: स्वार्थले बटार्छौँ: त्यसकारणले धेरै मन्दिरमा प्रवेश गर्दा मलाई लास गह्नाउँछ । गठे पनि एक भक्त हो, तर त्यसको रुप हेरेर भक्त हुनु मलाई विकृतमणि दानवराज भएजस्तो लाग्दछ । त्यस्तै जब मनुष्य आफैँ श्रीकृष्ण हुन्छ, म पोथी भए पनि उसको भालेपनासिवाय अर्को आकर्षण पाउने थिइनँ जस्तो लाग्दछ । मानव गन्धले सम्पन्न ईश्वरमा हामी कल्पना र इच्छाका जाली डालेर प्रेममुग्ध बन्न चाहन्छौँ । अति सुन्दर अतिमानवको मूर्तिमा एक मोहनी थियो जसलाई मातृत्वसम्म परास्त गर्ने शक्ति दिइएको थियो ।
श्रीकृष्ण बेपवार्हका अगाध खाडीमा परेर मिल्किन लाग्यो, ऊ पहिले रोयो, च्याँठियो, बालहृदयका सारा ध्वनिद्वारा मातृभूमिको घोर विरोध गरेर हावाका आत्मा चिर्यो, अनि रालसिँगान, मलमूत्रद्धारा घरलाई सराप्यो । अनि निराशाले शिथिल भएर सुक्न थाल्यो, पेटमा कहिले भोकले दावानल जल्यो । कहिले कोचाकोचको तुम्बो अटेसमटेस भयो, पोषण विज्ञानले भक्तिको लात खाए, बसन विज्ञानले बेपवार्हको दण्ड पाए, अन्धो लगानमा बच्चाको जीवन स्वार्थलाई अरु स्वार्थकै नमिटान्न बनाउने भुसभुसे आगो थियो, पिँडौला भन्टाबाट कर्कला भए । हात्ती परेवा भयो । आँखा खाडल भए । गुलाफ र वसन्त उडेर गए । बाह्र महिनामा पतझडका पहेँला जर्जर शरद् पैदा भयो, अनि अमीबा नामको किटाणुले अन्तरामा गुँड बनायो, सडेको चिसो छिँडीमा घोप्टिएर रोइरहन्थ्यो, उता आमाचाहिँ स्वर्गमा सब सुनौला सिँढी उक्लिसकेर आखिरी, एकदुई खुड्किला बाँकीमा थिइन् । उनी बादलमाथि चढेर कृष्ण बिजुली बनिसकेकी थिइन् । संसारका टाकुरा नाघेपछि गर्जन र उत्पात तल मैदानका रोग मात्र हुन्छन् । माथितिर आशाको घामैघाम लागेको हुन्छ । एकान्तमा सुटुक्क आकाशको श्रीकृष्ण ओर्लन मात्र बाँकी रहन्छ । तर पृथ्वीको श्रीकृष्णजस्तो माटाको पुतला बन्छन्, आकारिन्छन्, विकारिन्छन्, बिग्रन्छन्, तिनका सांसारिक अवस्थान्तरल जुन माताको हृदय भक्तिबाट विचलित हुन्छ, त्यो माता पृथ्वीकी पशु हो । के गीतामा भनेको छैन
‘‘संगात् संजाजयते काम: कामात् क्रोधोपजायते’’ इत्यादि ।
तर सत्संग भनेको भाग्यवतिको पूर्वजन्मको तपस्याको सुवर्ण फल हो ।
रमा, सुषमा, उपमा, गरिमा, महिमा, लघिमा र अनेक इमा रुपिणी गोपिनीका दोस्रो अंगका साथमा रमिरहेकी थिइन् । रामको माने रमाउने चीज न रम्ने नरक, रम्नेको रमाइलो स्वर्ग, जो भावगत्का कृष्णभजनमा उपस्थित् छैनन् ती सब काकवत् नभए के छन् ? रमाले आफूभन्दा गोरो रोगन दुनियाँमा देख्दैनथिन् । सारा अरु दुनियाँमा पुरुष, स्त्री काकभन्दा काला थिए । तपाईँ उनलाई अनेक विशाल बैठक र कोठरीमा उभिरहेकी, झुलिरहेकी, नाचिरहेकी चित्रण गर्न सक्नुहुन्छ । तिनमध्ये एक यस्तो बैठकको कल्पना गर्नुहोस् । हावा अत्तरलो मुग्ध छ । दिउँसो काँचभरि फूलबत्ती बलेका छन् । वसन्त स्वर्गको झैँ अम्लान छ: खातका खात रंगीन फूलमा नेपाली बैँसका सारा सुन्दर हाँगा झकिझकाउ छन् । यहाँ तारा झल्कन्छन् । उता यारिन् चचहरी गरेर पंपीथा पाउडर पुछ्दछन्, सारीभरि सितारा झल्कन्छन् । हातमा रेशमी कार्चोपीदार रुमाल झल्कन्छन् । संसारको होस छुट्न लागेर सारामा समाजव्यापक उँग्छ । मृगलोचना लट्ठ छन् । कोही आँखा पुछ्दछन् । कोही घुक्क सुँक्क गर्दछन् । यस्ता परीका घेराबीचमा गुरुदेव श्रीकृष्ण पट्ठोराज रेशमी पीताम्बरधारी, हीराको टप लगाएर, मोरमुकुटमा मस्तसँग खटियाको मातमा जम्नुभएको छ, वहाँका साहिँली औँलाबाट चलेको वज्रखण्डले चिरिएका हृदयहरु पगल वेदनामा छन् । एउटी गाउँछिन्:
‘‘श्रीकृष्ण अँगालू, च्याँपू, च्याँपू, कैद गरुँ दुई करले ।
छातीमा लिप्सी, नाँचू जिस्की, चुम्बन गर्दै हरहरले ।।’’
यसबीचमा श्री १०८ कुन्नि के भन्नुहुन्छ, ‘‘ए अमिली ! के सुन्छ्यौ तिमी ? अलि बहुलाईजस्ती नभई के भक्त ? पागलपन नै भक्तको स्वरुप हो । जो सुनेर भावका भातल आधा पागल बन्दैन, त्यो मूढो हो, भित्तो हो, या सुधो हो ।’’
‘‘हो, हो’’ को ध्वनि सारा शिर झुकाएर निर्विरोध झाडपानसमा गएर दिनको बिजुलीसँग झल्कन्छ । अनि उठ्छिन्, रमा कोयलीदेवी, साधना बोसको तुच्छ नृत्यलाई तपाईँ धिक्कार्नुहुन्छ । तब न भाव ! लज्जालाई नजिती कोही नाच्नै सक्तैन । त्यसउपर सच्चा भक्तिनृत्य देखाउन आधा सारी बिर्सनै पर्दछ, आधा होश गुमाउनै पर्दछ । आखिर भावावेशमा रमा गुरुजीका काखमा पछारिएर घोप्टो परेर रुन थाल्छिन्, ‘‘ए पापी ! तैँले मलाई छोड्न पाउँदैनस् !’’
ठीक यो दृश्य अभिनीत हुँदा, श्रीकृष्ण माटाको मूर्तिलाई एक ढाडे बिरालोले आँखा तरेर हेर्यो । ऊ घनघोरसँग चिरिएर करायो, जस्तो तपाईँ अफ्रिकाको भीषण वनमा वास बसेर सिंहको मुख देखे तर्सेर प्राण त्याग्नुहुन्थ्यो । बिरालो कालो हुन्छ, अक्सर, र त्यस विशेषणबाट ओकार झिकिदिए, बच्चाको उसतरफको भावनाको ठीक अन्दाज गर्न सक्नुहुन्छ । सराहीन बच्चो घुप्लुक्क घोप्टियो–आमा गुरुको काखमा घोप्टिएझैँ, तर उसको निधार कोपरामा परेको थियो ।
……..
ग्यान्चा, लाटा अनुहार परेका, अट्ठाईसै वर्षमा पहेँलो वैलेको छालाजस्तो गालामा ठुटे रौँको बुरुसजस्तो दाढी भएका, खोपल आँखे, जर्रा र दाउरे दारका नाम मात्रको पण्डित, मखीबुट्टे मैलो टोपी, तेलका टाटा टल्किएको पुरानो बेन्सन्को कोट र कुरैत–चौडा गलबन्धी पहिरेर, सडकमा आत्ममहत्वको चेतको न्यूनताले अलि लुसे देखिए पनि घरको ढोकानेर मीठो प्रभुत्वको आत्मा–सम्मानले जुत्ता ठटाउँदै भित्र पसे । पस्नासाथ मालिक्याइँको खोर्याउँदो होशले चकित भएर सोध्यो, ‘‘भैँसी खै ?’’ उनले अनेक गाईको परीक्षा गरेका थिए, गाई फापेको थिएन ।
खलबल गराउन कुर्ले, ‘‘ए उमाकी आमा ! उमाकी आमा !!’ त्यो प्रश्न रमाले सुन्न, १० माइल चारौँतरफ शब्द थर्काएर स्पष्ट गराउने गोल स्पन्दन हावाको ताकतमा चाहिन्थ्यो ।
उनी तीन दिन झिल्टुङ पुगेर फर्केका थिए ।
पाडी पनि छैन ।
‘‘ए ग्वाँगे ! ग्वाँगे मोरा ! काँ मर्याछस् ? तेरो थाप्लो भैँसी खै ?’’
ग्वाँगे जुर्मुराउँदै हातमा कक्कडको चिलिम लिएर निस्क्यो । बाजेलाई देखेर चिलिम पेटीमा राख्यो, हात ठटायो र बोल्यो– ‘‘चोरी भयो हजूर ! ठहरै पो पार्यो हो, कुन मोराले ! उसका बाबुको कट्टो ! पाए, मोरा इ हात पनि पोलेर खान्थ्यो है मो त ?’’
‘‘हँ ? कहिले ?’’
‘‘मो घाँस काट्न गा थियो । ऊ पर, पर, धोबीखोलाको फाँटो पो ! ह्याँ औँछ क्यै छैना, कान्जी छैना ! बिछट्टै ! भूसो भा भे पो घराँ ! अनि, आच्या सानो बाबु ता कोपरामा टाउको हालेछ, लडेर पो बिहोस भाको, कठै ! पानीले धोयो, पखाल्यो, अनि जरो आएछ, सुतायो अनि खोज्न निस्क्यो भैँसीलाई । मुलुक खोज्यो, पाएन पनि पो कक्कड लियो, बस्यो नुन खा कुखुराझैँ झोक्रियो, काम छैन । दुई दिन भो भात खान पाएन । बज्यै छैन क्या ! त्यो बाबु पनि भोक्कै छ पो । जरो भुंग्रियो खान दिँदैन क्यारे ! तपाईँहरुको मैले पनि दिएना !’’
‘‘बज्यै काँ गई त ?’’
‘‘काँ काँ ! खै !’’
‘‘यहाँ जान्छु भनिन् ?’’
‘‘भनेन र ता !’’
‘‘आउली अब वेश्ये राँड ! खुट्टा नभाँचे त्यसका, यी कुक्कुरका पुच्छर, बुझिस् !’’ जुँघामा हात लगाएका लाललाल चाणक्यका नाता भित्र पसे ।
डिग्री हाल्दा श्रीकृष्णलाई रहेछ, एक सय पाँच ! भुतभुताए । कपाल मुसारे । डाक्टरकहाँ जान तीन बार जुत्ता लगाए, तीनपटक फर्के । चौथोपटक पादयन्त्र चल्यो, डाक्टर ल्याए, सापटी गरेर, साँचो थिएन ।
डाक्टरले भन्यो, ‘‘लडको साह्रै बिमार छ, यादसँग हेरविचार गर्नुहोला ।’’ पण्डितजी धुरुक्क रोए । तातो पानी ग्वाँगेले ततायो । त्यसको भन्दा उनको निधार, त्यसभन्दा हृदयमा डिग्री चढेको थियो ।
बज्यै हस्याङफस्याङसँग सुस्केरा हाल्दै आइपुगिन्, आठ बजे राति ।
‘‘काँ मर्या थिइन् ?’’
बज्यैले चेहेरा विश्लेषण गरिन् क्रोध ज्यादा छ । कहिले आइपुग्यो होला ठुटे ? हेर न आँखीभौँ बटार्या !
‘‘सानी आमाकाँसम्म पुगेर आ ! दुई घण्टा बसेर भात खाएर जान भन्नुभो, अबेर भयो !’’
‘‘कब रे ?’’ बाज्ये बुर्लुक उफ्रेर गालामा दाहिना हल्केलाको तागत चखाए !
‘‘मार्यो बाबा ! ठुटे मोराले !’’
‘‘अझ मसँग मुख लाग्छेस् राँडी ? के भनिस् ?’’ अर्को दनक बायाँ गालमा ।
‘‘मार्यो नि बाबा ! महाराजकी दुहाई ! मार्यो नि बाबा जँड्याहाले मार्यो ! महाराजकी दुहाई !’’ रमा झ्यालमा पुगेर कराउन थालिन् ।
पुड्के बाजेले चुल्ठो तानेर पछारे र लातले गोदन् लागे ।
विचित्र क्रोधले भकभके निकालेको थियो ।
‘‘तँ… तँ … तँ…. तँ… तँ… तँ….तँ… तँ रन्… रन्डी ! म्म.. म्म… म्म लल्लाई जँड्याहा रे ! फफ्फफ्फ फोर्दिऊँ तेरा ब.. ब्बंगारा !’’
उनी यत्तिका कहिल्यै भकभकाएका थिएनन् । यो विचित्र भकभक क्रोधको फूँफकारसँग सम्भालिनु हमालिनुको बीचको हिच्किचाहट मिसिएको मालूम हुन्थ्यो ।
त्यस दिन रमाले वास्तवमा पनौतीपारि कुन्नि के नामको गाउँमा सावित्री–सत्यवान्को कथा सुनेर भावावेशमा गजबको नृत्य गरेर आएकी थिइन् । वामनराज पौड्याल सत्यवान् जस्ता थिएनन् । उनी महीनाको १५ धार्नी चिनी किन्दथे, पाँच बट्टा चिया । महीनाको एक नयाँ सारी किनेर आफ्नी प्रियालाई टक्र्याउँथे । कपाल दुखे रातभर मुसार्न तयार थिए । पिँडौला गले मिच्न गाहारो मान्दैनथे । वैष्णवीदेवीले कान्तिपुरका अल्पसंख्यक महँगा फलमा पनि निक्कै कर असूल गर्दथिन् । औषधि र रसादिको हामी फिहरिस्त र बिल नबनाऊँ । त्यसको बदला उनले भक्ति नखोजे पनि सच्चाइ मात्र खोजेका थिए । पाएका थिए निरन्तर अवहेलनाको चेष्टा । दर्दको मर्दानापका युक्तियुक्ति दावाउपर अवज्ञा र पाद प्रहार गर्नै बाँधिएकी स्त्रीउपर एक मर्दाना अन्त:करणमा नबोल्ने भुसभुसे जलेर कहिले झुलुक्क बदल्छ र ज्वलन्त अनुहार लिन्छ । यो एक किसिमको सोझो, लाटो रिस हुन्छ, जसलाई मानिसहरु नराम्रो रिस भन्दछन्, र धेरै समयको दाउराबाट प्रज्वलन शक्ति हासिल गर्दछ ।
तर रमा चिच्याहटको चातुरोले छिमेकको सहायक जनाना पल्टन् चाँडै मौजूद भयो । पण्डितबाजे आफ्नो कोठामा ओर्ले र ग्वाँगेले भरेको तमाखु सोचेर टुर्याउन लागे ।
पण्डितजीका मनमा शंका उठ्यो । मेरो सुवासिनी के गर्दछे ? के यसको रामभक्ति बदमासी हो ? भक्तिविरुद्ध उनी च्याँट्ठिएका थिएनन् । रिस उठेको थियो मिथ्यावादिताको अन्त:करणहीनताले । के रामभक्तहरुले झूटो बोल्न सक्छन् ? या छकाएर झूटो बोलेर पनि भक्तिको बाटो राम्ररी पेलिराख्नू भन्ने केही लेखेको थियो । दुई दिनलाई दुई घण्टा बनाउनु बहीखातामा भए ठगी हुन्थ्यो । परीक्षामा भए बेइज्जत हुन्थ्यो । चौब्बीस दूना अठ्चालीस चौबीस गुना सत्यलाई घटाउनु मामूली कुरो होइन । यो बेइमानीको निशाना थियो । विश्वास भनेको साना कुरामा रहन्छ । पुराण सच्चा हृदयले सुन्ने नारी स्वामी देवलाई मोरा कहिल्यै भन्दैनन् । रामतोरिया चुल्सीले ‘‘बनाउनु’’ पर्यो भने स्त्रीको यही हो चाला ? काट्ने शब्द वैष्णवको शब्दकोशमै राख्न हुन्न रे वहाँ ! यिनका गुरुजी पनि गुण्डा भगवान् हुन असम्भव कुरा थिएन तर उनले जानेका थिएनन् । उनको हृदयले मजबूत एक नदेखिने आँसुको थोपाले बनायो । यो स्त्री उनलाई अन्तरले हेला गर्दथी । जोगी हुन पाए बेस हुन्थ्यो जस्तो लाग्यो उनलाई । सब नामर्द मर्दको घरेलु नाटकको अखिरी पंक्तिको भावना यही हुन्छ ।
रमा रोइरहेकै थिइन् । पातोको तमाखु सिद्धियो । पचास छिमेकी र छिमेकिनीलाई रमाले एकतर्फी फैसालाले प्रभाव गरिसकेकी थिइन् ।
पण्डितजी अब अलि सेलाए र पछुताए । उनीले कुरै नबुझी अलि ज्यादा बढ्ता गरेको हुनुपर्दछ । बिरामी छोराको सम्झना आयो । उनी माथि उक्ले, समजदारहरु बाहिर निस्के । रमाका पक्षका व्यक्तिहरु बहस गर्न आए । उनले भने, ‘‘तपाईँहरु सब नकराउनोस् ! नकाराउनोस् ! हेर्नोस् यो छोराको दशा ! अस्ति कोपरामा घोप्टिएर बेहोश भएको थियो रे !’’
‘‘कसले भन्यो ?’’ ग्वाँगेतरफ फर्केर रमा जागिन् ।
ग्वाँगेले कपाल कन्याएर भन्यो, ‘‘मैले देखेको !’’
रमा फेरि रुन लागिन्, ‘‘हे भगवान् ! सारा मेरा शत्रुहरुबीचमा मलाई राखी तमाशा बनाइरहेछौ नि ! हुँ.. हुँ… हु… ! ….. अरु नभएर यो ग्वाँगेले पनि मेरो कुरा लाउने .. हुँ …. हुँ …. हुँ !’’
‘‘हरे ! बज्यै ! भक्तले त्यसरी दु:ख मानेर रुन हुन्न । भगवान्लाई दिलमा दु:ख हुन्छ, बज्यै !’’ एक रामनामे अघि सरिन् । रुनलाई टप्प बन्द !
‘‘खै त्यो मेरो गीताको पुस्तक !’’
गीतालाई गाला लगाएर रमा भाव मुर्छा परिन् ।
दु:खले आठ पुट्ट पारेर श्रीकृष्णले भन्यो, ‘‘बुबा ! बुबू !’’ अनि रुन लाग्यो ।
पण्डितजी परे फसादमा, सोचे, साचे अनि रमाले आँखा खोलेको देखेर एक हजारको नोटको बिटो निकालेर रमाको काखमा फ्याँकिदिए ।
‘‘लौ मेरो भूलचूक भए माफ गर ! बच्चालाई दूध पिलाइदेऊ !’’
‘‘छातीमा मेरो रगत बाँकी छैन, बज्यै ! म के चुसाऊँ लाम्टा !’’ रमा रुन्चे स्वरले रामनामी बज्यैसँग दर्द पोख्न लागिन् ।
‘‘बच्चाकी दूधालु आमालाई भकुर्नु, अनि आउँछ दूध क्या !’’
उनले पण्डितलाई झटारो हानिन् ।
‘‘भैँसी खै ? कहाँ गयो भैँसी ?’’
‘‘बुझ्नुभो ? रामनामी बज्यै ! यही मोरो ग्वाँगेले बेचेर खायो । मैले चोरदोष लगाई भनेर बाजेलाई कुरा लाउन गा मोरो हेर्नोस् !’’
ग्वाँगेको प्रकृत वकालतलाई पनि भाषा थिएन । ऊ जिल्ल परेर मुर्मुरिएर बस्यो ।
पण्डितले भने, ‘‘जान्छु म हर्लिक्स किनेर ल्याउँछु ।’’ उनको जुत्ता भर्याङसँग रिस गरेर प्रत्येक खुड्किलाका प्रतिक्रियात्मक ध्वनि उँचा बनाएर फूर्तिसँग तल ओर्ल्र्यो… उनको हातको टर्चलाइट बारीमा घुमेर झ्यालमा झल्कियो ।
पन्ध्र मिनेटपछि बज्यै उठेर श्रीकृष्णतर्फ आँखा लगाइन् ।
उसका बलनजर पृथ्वी हेर्नदेखि वाक्क भएर माथितिर फर्कन लागेका रहेछन्, प्यासका वृद्धिमा आमाका मातृत्वका आशा उचित अनुपालसँग घटेर गइसकेको थियो मानो उसको निधारको ज्वररुपी पृथ्वीको अधर्मको आगो आकाशतरफ उडेर शून्यमा विलीन हुन लागेको थियो । उसले शान्तिको दूधालु घरतर्फ एक पखेटा उचालिसकेको थियो ।
ग्वाँगेले हेरेर भन्यो, ‘‘ज्या ! जान लागेछ ! दुई दिनसम्म मैले पनि पानी पिलाउन बिर्सेछु । छ्या रामनामे ! बज्यै !! हेर्नोस् ! हेर्नोस् के भएको यो ?’’
‘‘भक्तका आँखा जस्ता के हुन साँच्चि यी ?’’
‘‘लौ निधारमा चिटचिट पसिना छ । खै हातखुट्टा पनि चिसा भैसकेछन् नि ! एक मेरो प्राण, तिमीलाई के भयो ?’’
घरर आत्माको वायुयान आकाशमा उड्यो अनि ग्वाँगे पानी लिएर आयो । रमा खुब दु:ख मानेझैँ एकछिन् घोइरिन् । बालकको लास काखमा बोकेर आँगनमा बसिन्, आधा घण्टासम्म । मुर्दालाई रामनामे ओढाइन्, शालिग्राम गंगाजल पिलाइन्, पशुपतिको चन्दन निधारमा थोपारिदिइन्, अनि आँसु पुछेर हाँस्न लागिन् ।
‘‘भगवान् ! भगवान् ! म किन रोएकी बहुलाही ? हरे ! म संसारमा भुलेकी पागली ! यो त प्रभुले काखमा राख्न बोलाइबसक्सेको न हो ?’’
आइपुगे पण्डितबाजे, हार्लिक्स एक हातमा, टर्च अर्को हातमा । त्यो दृश्य देखेर जिल्ल परेर सोधे, ‘‘गैसक्यो ?’’
‘‘भगवान्का गोलोकमा पुगे !’’
पण्डितजी त्यहाँ लडीबुडी खेलेको, छाती पिटेको, मर्न जान्छु भनेर उफ्रेको अहिले सम्झँदा मगज चक्कर खान्छ । उनलाई त्यो एक छोरो सात स्वर्गभन्दा प्यारो थियो । सारा आकाशका तारा गनीगनी उनले आफ्नो मरेको छोरो मागे । सबले सम्झाए, सम्झेनन् ।
तर बज्यै रमाले रामनामे बज्यैसँग भनिन्, ‘‘हेर्नुहोस् ! मूर्खहरुभन्दा एकदम विरक्त छु, बुझ्नुभो, मेरो आँखा ओभाना छन् । जो देख्न सक्तछ, के त्यसको निमित्त पनि आत्मा मर्न सक्तछ ?’’ उनका अन्त:करणमा भाँभर यौटा थिएन ।
हामी भक्तिलाई सराहनी गर्न सक्छौँ, तर आजकलको मूर्ख मनोवैज्ञानिक यस दृश्यमा छद्म घृणा देख्न सक्तछ, एक अतृप्तिकारीतरफ, सुन्दर अतिमानवतरफ, पोथीको प्रकृत आकर्षण हुन्छ, बाधकपुरुषका कुरुपताका अनुपातमा रे ।
यसकारण रमाले बनेको प्रतिमा फोरेर वैराग्यका वेशमा मातृत्व लत्याइन्, वामनराजलाई हेर्नासाथ रमालाई हेरेपछि किन, का जवाफलाई घोरिनुपर्ने थिएन । यो पूर्वीय, विशेष नेपाली, घरेलु धर्म हो । तर रमा आफूउपर स्नेह जरुर राख्थिन् उनकी छोरी उमा बाँचिरहिछन्– उनकी जातकी भएर । तर पण्डित वामनराज पौड्याल भने आजकल संसारमा छैनन् । कसी भनौँ, ‘‘कुण्ठित इच्छा घातक छैन ?’’ के हामी विवाहपद्धतिलाई दोष दिन सक्छौँ ?
के देवता रिसाएर पण्डितजी ७ वर्ष पागल भएर रानीपोखरीमा हाम्फालेर मरे ? आज उमा किन मागेर खान्छे ? पचास हजारको सम्पत्ति कहाँ गयो ? अहाँ ! यज्ञका अग्निदेव विचित्र छन्, एक खान्छन् एक राख्छन् । र मरेका र जिएकालाई रामनामले जोड्दछन्, तर रामनामका जपमालामा यति कीरा लागेको हेर्न कसैको फुर्सद हुँदैन, आजकल रमा चाहुरी र थोतेपनमा एक छिँडीको गन्दा अन्धकारबाट स्वर्गको चर्को उज्यालोमा उक्लन आँटेर कनिकाकनिकामा रामनामका दाना चपाउँदै छिन् ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)