ज्ञानगङ्गा प्रवाहित हुने, ज्ञानरश्मिले आच्छादित भएको राज्य मिथिलाको गौरवगाथा अनि केही पीडा त केही महान् प्राप्तिको कथा हो । त्योबेला निमि नामका एक अत्यन्त प्रतापी राजाले मिथिलाको सुन्दर राज्यमा राज्य गर्ने गर्थे, जुनबेला त्यो राज्यको नाम मिथिला नामाकरण भएको थिएन । त्यहाँका सबै नागरिक सुखी र सम्पन्न थिए । विद्वताको त कुरै छोडौँ, सबैजसो ज्ञानी थिए । राजा निमि प्रजाबाट प्रशन्न थिए भने प्रजा आफ्ना प्राणझैँ प्यारा राजा निमिबाट ।
राजा निमिले आफ्नो जीवनकालमा अनेक युद्ध लडे । विजय प्राप्त गरे । ज्ञानको विषयलाई लिएर अनेक संवाद र बहस गराए । तर यी सबैबाट उनको कोमल एवं धार्मिक हृदयले आत्मशान्ति प्राप्त गरेको थिएन । उनले सबै धार्मिक कार्य गराएका थिए तर विशाल यज्ञ भने गराएका थिएनन् । उमेर पनि आधा भइसकेको थियो, तर सन्तानको सुखसमेत प्राप्त गर्न सकेका थिएनन् । यसरी मिथिला राज्यले उत्तराधिकारी समेत नपाउने अवस्थाको सिर्जना भयो | रानी रातदिन रुन्थिन् | एकान्तमा राजा पनि ब्याकुल मनस्थितिमा रहन्थे | सबैका पीडा हरण गर्ने राजालाई अरू समक्ष आफ्नो पीडा पोख्नु सजिलो कुरा थिएन । तसर्थ उनी पुत्र एवं धर्म प्राप्ति हुने यज्ञ दिल खोलेर गर्न चाहन्थे |
यज्ञ गराउनका लागि उपयुक्त ऋत्विज अर्थात पुरोहित हुनु पनि त्यत्तिकै आवश्यक थियो । राजाले धेरै विद्वान्हरूसित छलफल गरे । कसैले एकको नाम सिफारिस गरे त कसैले अर्कैको । विद्वान्सँगको छलफलबाट पनि कुनै टुङ्गो लागेन । अन्ततः सन्ध्याकाल लागेपछी उनी आफ्नो दरवार फर्किए ।
राजा निमिलाई पुरोहितबारे निकै गहिरो चिन्ता पर्यो । उनलाई राति अबेलासम्म निद्रा परेन । ठिक मध्यरातमा उनलाई एक महत्त्वपूर्ण कुराको स्मरण भयो । आफ्नो यज्ञका लागि सबैभन्दा उपयुक्त व्यक्तिको स्मरण । उनी अत्यन्त विद्वान् र अनुभवी त थिएनै, साथै उनका परम् मित्र पनि थिए । ऋषि वशिष्ठ ।
ऋषि वशिष्ठको स्मरण मात्रले पनि राजा निमिको मनको सारा दुबिधा समाप्त भयो । अनि उनी राम्ररी सुते ।
भोलिपल्ट उनले आफ्नो निर्णय सल्लाहकार सभासामु सुनाए । ऋषि वशिष्ठको नाम सुन्नेबित्तिकै सबै जना प्रशन्न भए । अबको काम थियो ऋषि वशिष्ठलाई भेटेर यज्ञबारे जानकारी दिनु । उनलाई आमन्त्रण गर्नु । र, आवश्यक सामग्रीको बन्दोवस्त मिलाउनु ।
निमि यो खबर आफ्ना परम् मित्र एवं विद्वान् ऋषिलाई स्वयम् भेटेर बताउन चाहन्थे । तसर्थ, ऋषि वशिष्ठको आश्रममा स्वयम् गए । जानेबित्तिकै उनले वशिष्ठ पत्नी अरुन्धतीलाई देखे । आफ्नो आश्रममा राजा स्वयम् आएको देखेर अरुन्धती अत्यन्त प्रशन्न भइन् | उनको यथोचित स्वागत गरिन् | राजाले पनि अरुन्धतीलाई आदरपूर्वक नमन गरे | अरुन्धती स्वयम्ले उनलाई आफ्नो बैठक कक्षमा बसालिन् | कामधेनुलाई भनेर उत्तम भोजन खुवाइन् । र अन्तमा, निमिलाई उनको आगमनको कारण सोधिन्, “राजा, हजुरलाई हाम्रो आश्रममा म अज्ञानीले जानी नजानी स्वागत त गरेँ । यसमा कैयौँ कमी भए होलान् । ती सबैका लागि क्षमा चाहन्छु | के मैले हजुरको आगमनको कारण जान्न सक्छु ?”
राजा निमि आश्रममा पुगेर स्नान गरी भोजनसमेत गरिसक्दा पनि ऋषि वशिष्ठलाई नदेख्दा आश्चर्य मानिरहेका थिए | उनले ऋषिबारे सोध्नुअगावै ऋषि पत्नीले प्रश्न गरेर उनलाई सहज बनाइदिइन् | उनले भने, “माता, मलाई धेरै दिनदेखि एउटा यज्ञ गर्ने चाहना थियो | त्यो यज्ञको ऋत्विज बन्नका लागि सबैभन्दा उपयुक्त व्यक्ति ऋषि वशिष्ठ नै भएकाले उहाँसित अनुमति लिन र उहाँलाई आमन्त्रण गर्न स्वयम् उपस्थित भएको हुँ | धेरैबेरदेखि उहाँलाइ हेर्दै छु | उहाँको दर्शन प्राप्त हुन् सकेन | किन होला ? मबाट केही भूल भयो कि ?”
अरुन्धती हाँसिन्, र भनिन्, “राजन, त्यसो कदापि होइन | उहाँले पनि हजुरलाई त्यत्तिकै सम्मान दिनुहुन्छ | केही दिनदेखि उहाँ इन्द्रको अमरावतीमा यज्ञ गराउन जानुभएको छ । त्यसैले यहाँ उपस्थित नहुन भएको हो ।”
अरून्धतीका कुराले राजा निमि खुसी भए । र, आफू पनि अमरावती जाने निर्णय गर्दा भए । तर त्यही समयमा ऋषि वशिष्ठ कामविशेषले केही क्षणका लागि आश्रम आइपुगे | ठिक त्यहीबेला ऋषि वशिष्ठ र राजा निमिको भेट भयो ।
राजाले ऋषिलाई सबै कुराको बेलीबिस्तार लगाए । ऋषि राजाको आमन्त्रणले अत्यन्त प्रशन्न भए । र भने , “राजन, तिम्रो आमन्त्रणले म अत्यन्त प्रशन्न भएको छु । मेरो केही बाध्यता छ । अहिले म ईन्द्रको अमरावतीमा हुन गइरहेको यज्ञमा ऋत्विकको कार्य गर्दैछु । तसर्थ, हाललाई म तिम्रो यज्ञमा उपस्थित हुन् असमर्थ छु | यदि मलाई नै ऋत्विज बनाउने हो भने तिमीले ईन्द्रको यज्ञ नसकिउन्जेल प्रतीक्षा गर्नुपर्ने हुन्छ |”
वशिष्ठ आफ्नो यज्ञमा उपस्थित हुन् नसक्ने कुराको जानकारी पाएपछि राजा निराश बने । उनी बडो भारी मनले त्यहाँबाट बिदा भई दरबार फर्किए | भोलिपल्ट यो कुरा राजगुरु र अन्य गुरुहरूसमक्ष राखे | निकैबेर छलफल चल्यो । छलफलमा सहभागीहरूले आफ्नो मत राखे । राजगुरूले भने, “राजन, वीरपुरुषले आँटेको कार्य तत्काल पूर्ण गर्नुपर्छ | बिलम्ब उचित कुरो होइन । समयले कसलाई पर्खिन्छ र ? कसलाई के थाहा मृत्यु कतिखेर आउँछ ?”
राजा निमिलाई राजगुरु तथा सल्लाहकार सभाको कुरा चित्त बुझ्यो | अर्का ऋतविकलाई खोजेर केही दिनपश्चात यज्ञ सुरु भयो । राजाले बडो धुमधामसँग यज्ञ गर्न लागे | दरबारको वरिपरि ध्वजापताकाले सजाइएको थियो | यज्ञस्थल उत्तम गाईको गोबरले लिपिएको थियो | यज्ञ सुरु हुनुअघि तमाम सजिएका स्त्री र पुरुषहरूले सिँगारिएका घडाहरूलाई बोकेर नगर परिक्रमा गरेका थिए । राजाको जयकार गरेका थिए । अगाडि अगाडि अनेक बाजागाजाको टोली थियो भने पछि पछि दरबारका सबै सदस्यहरू उपस्थित थिए । उक्त यज्ञ समारोहमा छिमेकी राजाहरू पनि आमन्त्रित थिए । वैदिक ध्वनि तथा धूपदीप आदिले वातावरण अत्यन्त मोहक र सुगन्धित बनेको थियो । चारैतिर आनन्द नै आनन्द अनुभूत हुन्थ्यो । लाग्थ्यो, स्वर्ग उनको नगरीमा ओर्लिएको छ | हो, यस्तो अलौकिक वातावरणमा यज्ञको सुरुवात भएको थियो ।
यज्ञ सुरू भएको केही दिन भएको थियो । ऋषि वशिष्ठ यज्ञ स्थलमा टुप्लुक्क आइपुगे | उनले देखे, त्यहाँ त धुनधानसँग यज्ञ भइरहेको छ | मित्र आएको देखेर स्वागत गर्न राजा निमि आफ्नो आसनबाट तल आर्ले, र उनलाई अङ्कमाल गर्न खोजे । तर ऋषि वशिष्ठ भने क्रोधले थरथर काँपिरहेका थिए । उनको क्रोधले सीमा नाघेको थियो । राजा निमिले उनको क्रोधको कारण बुझेनन्, केवल अनुमान गर्न सके । तैपनि राजाले क्षमायाचनाका लागि अनुरोध गरे | उनलाई मनाउने अनेक प्रयत्न गरे तर उनी कुनै हालतमा मानेनन् | बरु क्रोधवश उनले राजालाई भने , “तैंले मेरो प्रतीक्षा गर्नुपर्ने थियो । तँ राजा भएर अहंकार गर्ने ? मेरो अपमान गर्ने ? यो यज्ञमा ऋत्विकको कार्य अरूलाई दिने हिम्मत कसरी गरिस् ? तैँले प्रतीक्षा गर्नुपर्ने थियो ।”
निमिले उनलाई जवाफ दिने प्रयत्न गरे तर ऋषिले सुन्नै चाहेनन् । कुरै कुरामा दुबैको बहस भयो । त्यो बहस कतिखेर आपसी युद्धमा परिणत भयो, राजाले पत्तै पाएनन् । राजा उक्त विवादलाई रोक्न चाहन्थे तर जति रोके पनि उनी नरोकिए पछि दुवै बिचमा युद्ध भएको थियो ।
राजाका सेना र अंगरक्षकहरू राजाको सुरक्षाका लागि अगाडि बढे तर राजाले उनीहरूलाई रोकिदिए । तर दुवै जनामा भएको त्यो युद्धले रोकिने नाम लिएन । अब रोकिएला तब रोकिएला भन्दाभन्दै यति बिकराल रूप लियो कि इतिहासकै सबैभन्दा दुःखद् मल्लयुद्ध सावित भयो ।
वशिष्ठले राजाको शिरमा प्रहार गर्न हात उठाए । निमिले उनको मनसाय बुझे, र आफू बच्न उनलाई प्रहार गर्ने योजना बनाएर प्रहार गरे | दुवै जनाको निशाना सही थियो तर अन्त्यमा दुवैको हार भयो ।
यज्ञ र दरबारमा खल्लीबल्ली भयो । सबैतिर हाहाकार छायो | रुवाबासी गुञ्जयमान भयो | अब के गर्ने ? कसैले कल्पना नगरेको दुर्घटना घटित हुँदै थियो । रानीहरू मुर्छित भए | सबै किंकर्तव्यविमुढ भए ।
‘अब राज्य सञ्चालन कसले गर्ने ? राजा को बन्ने ?’ राजगुरु र सल्लाहकारहरूलाई चिन्ता अर्कै थियो | राजा निमिका टाढा टाढाका आफन्ती समेत थिएनन् । युद्धमा निक्कैले सहादत प्राप्त गरिसकेका थिए । यस्तो अवस्थामा राजगुरुको भूमिका अहम् हुने नै भयो । उनले सेनापतिलाई राज्यको उत्तराधिकारी बन्न भने | तर सेनापतिले क्षमायाचना गर्दै भने, “राजगुरु, हजुरको विश्वाशप्रति म आभारी छु । म यो धरणीको सेवक हुँ । हजुरहरूले देखाएको मार्ग हो , सेवा हि परमोधर्म |”
मुख्य अमात्यबाट पनि यही उत्तर आयो | राजगुरूलाई सबैतिरबाट केवल निराशा हात लाग्यो | धेरैबेरको बैठकपछि त्यहाँ उपस्थित ऋषिहरूले सल्लाह गरे । र एक निर्णयमा पुगे, “राजाको शरीरको कोष झिकेर अर्को व्यक्ति सिर्जना गर्न सकिन्छ – माता पार्वतीले गणेश भगवान्को सिर्जना गरे जस्तै गरी । तसर्थ उनको शरीरबाट उपयुक्त कोष खोजी त्यसैबाट अर्को व्यक्तिको सिर्जना गर्नुपर्यो ।”
अनुसन्धानकर्ताहरूले राजा निमिको शरीरको एक भागमा कोष खोज्न लागे । तर जीवित् कोष फेला परेन । अर्को भागमा खोजे । फेरि पनि असफलता । केहीबेरअघिको ऋषि वशिष्ठसितको युद्धमा उनका अधिकांश रक्त एवं मांस मृत भइसकेका थिए । शरीरको सबैजसो भागमा जीवित कोष खोजी गर्दागर्दै पूरा शरीर भ्याए तर एउटा पनि जीवित कोष फेला परेन | अब भने अनुसन्धानकर्ताहरू समेत निराश हुने अवस्थाको सिर्जना भयो । अन्तमा सबैको सल्लाह भयो, राजा निमिको शरीरलाई मन्थन गर्ने । ता कि कुनै न कुनै भागबाट जीवित कोष फेला परोस |
उनीहरूले विशेष तरिकाले शरीर मन्थन गर्नतिर लागे । निकैबेरको प्रयासपछि बल्लबल्ल एउटा अत्यन्त सबल र जीवित कोष फेला पर्यो । त्यही कोषबाट उनीहरूले प्रयोगशालामा मानव सिर्जना कार्य गर्न लागे | केही समय कार्य गरेपश्चात् एउटा सुन्दर जीवको उत्पत्ति भयो । एउटा सुन्दर बालक । राजा निमिको शरीर मथेर कोष प्राप्त भएकाले त्यो बालकको नाम ‘मिथी’ हुन गयो । मैथुनिक प्रक्रियाबाट नजन्मेर सिर्जना गरिएकाले उनका सन्तान दरसन्तानलाई विदेह भनियो । त्यही बालकलाई विधिवत् तरिकाले राज्यको उत्तराधिकारी बनाइयो । सबैले अनुसन्धानकर्ताहरूको जयगान गाय ।
यिनै राजा मिथीको नामबाट उक्त राज्यको नाम मिथिला रहन गयो । मिथिलामा राजा मिथीका कैयौँ वंशले राज्य गरे । यिनकै वंशका अत्यन्त प्रतापी राजा थिए जनक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।