अमर न्यौपाने समकालीन नेपाली उपन्यास संसारको सर्वपरिचित नाम हो । उनी सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्न सक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय छन् । पहिलो उपन्यास पानीको घाम (२०६६) मा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकामा देखापरेका उपन्यासकार न्यौपाने पछिल्लो उपन्यास गुलाबी उमेर (२०७६) सम्म आइपुग्दा विषय, विचार र शिल्पको विविधतामा फैलिएका छन् । यस लेखमा उनले गरेको औपन्यासिक यात्रा र त्यसले प्रदान गरेको मूल्यको खोजी गरिएको छ ।

पानीको घाम उपन्यासमा पश्चिम तराई (नेपालगञ्ज) का समसामयिक स्थानीय विविधतालाई समेटिएको छ । त्यसमार्फत (लोकलबाट युनिभर्सल) सर्वव्यापी, सर्वकालिक जीवनका बहुआयामिक पक्ष उजागर गरिएको छ । औपन्यासिक शिल्पको परम्परालाई भत्काएर नवीन आख्यान संरचनाको खोजीमा यस उपन्यासको उल्लेखनीय भूमिका देखिन्छ ।

जीवन जीवन्त

सेतो धर्ती (२०६८) उपन्यासमा मध्यपहाडी (गण्डक क्षेत्र) जीवनका मध्ययुगीन परिवेशलाई आधुनिकता प्रदान गरिएको छ । बालविधुवा नारीको उजाड जीवनका माध्यमबाट जीवनवादी दृष्टि प्रस्तुत गर्नु यस उपन्यासको उपादेयता रहेको छ । उनको पहिलो उपन्यासमा रहेको नेपालगञ्जको भाषिक शैलीको जीवन्तता दोस्रो उपन्यासमा गण्डकी क्षेत्रतिर सरेको छ । यी दुवै उपन्यासमा स्थानीय भाषिक प्रयोगको मिठासले उपन्यासलाई जीवन्तता प्रदान गरेको छ ।

उपन्यासकार न्यौपानेको तेस्रो उपन्यास करौडौं कस्तुरी (२०७२) हो । सुदुर नेपालगञ्जबाट सुरु भएको उपन्यासकार न्यौपानेको औपन्यासिक यात्रा पोखरा, चितवन हुँदै यस उपन्याससम्ममा काठमाडौं आइपुगेको छ । केन्द्रबाट सीमान्ततिर यात्रा गर्ने समकालीन प्रवृत्तिका विपरीत उनको लेखन सीमान्तबाट केन्द्रतिर उन्मुख छ । यसमा चर्चित कलाकार हरिवंश आचार्यको जीवन–छायालाई विषय बनाइएको छ । नवीन विषयको खोजी र वैचारिक अभिव्यक्तिका दृष्टिले उनको यो उपन्यास शीर्ष स्थानमा रहेको छ ।

न्यौपानैको करोडौं कस्तुरी उपन्यासमा शिक्षाप्रतिको परम्परागत रुढ धारणालाई रोचक कथा–शिल्पका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘जे भए पनि पढ्नु नै पर्छ’ भन्ने आमधारणाका कारण शुष्क बन्ने गरेको सिर्जनात्मक अन्तरक्षमतालाई हरिवंश आचार्यको जीवन्त कथाका माध्यमबाट यसमा गतिलो झापड हानिएको छ । आमनेपालीहरु माझ कलाकार हरिवंश आचार्य आफैँ मा रोचक नाम रहेको सन्दर्भमा यसमाथि उपन्यासकार न्यौपानेको कलात्मक शिल्प कुँदिएपछि कुनै पनि कलाकारिताले यसलाई माथ गर्न सक्ने अवस्था देखिँदैन । मदन पुरस्कार अर्पण समारोहमा उपन्यासकार न्यौपानेले व्यक्त गरेको विचारअनुसार भन्ने हो भने यस उपन्यासमा दर्शन र विचार अनुभूति एवम् कलाभित्र छोपिएर आएको छ । यस प्रकारको जीवन्त कथाको कलात्मक प्रयोग नेपाली उपन्यास परम्पराका लागि नवीन आदर्श हो ।

गुलावी उमेर (२०७६) उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास हो । सेतो धर्ती उपन्यासमा अठहत्तर वर्षे वृद्ध बालविधावाको कथा छ भने करौडौं कस्तुरीमा छपन्न वर्षे पाको उमेरको मान्छेको कथा छ तर यस उपन्यासमा तेह्र वर्षे किशोरीको कथा रहेको छ । यस हिसाबले हेर्दा उपन्यासकार न्यौपानेको विषय छनोट अधोमुखी देखिन्छ । उनका औपन्यासिक विषयले माथिल्लो उमेरदेखि तल्लो उमेरतिरको यात्रा गरेको छ ।

उपन्यासकार न्यौपानेको विषय छनोट मात्र अधोमुखी छैन, उनको औपन्यासिक प्रवृत्ति पनि त्यस्तै प्रकारको रहेको छ । पानीको घाम उपन्यासले विनिर्माणवादको उत्तरआधुनिक प्रवृत्तिलाई आत्मसात् गरेको छ । त्यसपछि सेतो धर्ती यथार्थवादी प्रवृत्तितिर फर्किएको छ भने उनको पछिल्लो उपन्यास गुलाबी उमेर वि. सं. १९९३ बाट रुपनारायण सिँहबाट आरम्भ भएको स्वछन्दतावादी प्रवृत्तितिर प्रवृत्त रहेको छ । भावनाको उन्मुक्त उडान र पे्रमिल संसारको कथा प्रस्तुत गर्ने स्वच्छन्दतावादी उपन्यास लेखनका माध्यमबाट युधिर थापा र प्रकाश कोविद आदिका उपन्यासहरुले नेपाली उपन्यासको पाठक बढाउने काममा महङ्खवपूर्ण योगदान दिएका थिए । उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास त्यसै परम्पराको निरन्तरताका रुपमा देखापरेको छ । हाल यसको नेतृत्व सुबिन भट्टराईका उपन्यासहरुले गरिरहेका छन् । यसरी नेपाली उपन्यास परम्परामा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकाबाट प्रवेश भएको उपन्यासकार न्यौपानेको औपन्यासिक प्रवृत्ति उत्तरआधुनिकतावादी प्रवृत्तिबाट आधुनिकता हुँदै पूर्वआधुनिकतातिर उन्मुख पश्चगामी रहेको छ ।

उपन्यासकार अमर न्यौपानेको पश्चमुखी प्रवृत्ति उनको पहिलो उपन्यास पानीको घामबाट नै पहिल्याउन सकिन्छ । उनको यो उपन्यास ‘कथान्त’ शीर्षकबाट आरम्भ भएको छ भने ‘कथाराम्भ’ शीर्षकमा पुगेर अन्त्य भएको छ । यसरी अन्त्यबाट सुरु गरी आरम्भमा टुङ्ग्याउने उनको प्रवृत्ति पश्चगामी रहेको छ ।

पानीको घाम उपन्यासका सम्बन्धमा रमण घिमिरेले ‘शैली, प्रस्तुति र वाक्य गठनको मौलिकतामा लेखक आकाशकै घाम हुन’ भनी उनको मौलिक लेखनको प्रशंसा गरेका छन् । करोडौं कस्तुरी उपन्याससम्मको सन्दर्भमा उपन्यासकार न्यौपाने शैलीशिल्पका साथै विषय र विचारको मौलिकताका हिसाबले पनि उज्यालो घाम नै बनेर रहेका छन् तर गुलाबी उमेरमा आइपुग्दा उनको मौलिकता कमजोर बन्न पुगेको छ ।

उपन्यासकार अमर न्यौपानेका उपन्यासमा चित्रकार अमर न्यौपानेको समेत आभास पाइन्छ । उनका उपन्यासमा हरेक कथामा घटना वर्णनभन्दा कथापरिवेशको कलात्मक चित्रण र पात्रको मनोदशालाई सशक्त ढङ्गले उठान गरिएको हुन्छ भन्ने गुरुङ सुशान्तको टिप्पणी यथार्थपरक रहेको छ । उनको यसै शैलीका कारण ऋचा भट्टराईले उनलाई जादुगर भनेकी छन् । कुशल चित्रकारले कुची र रङ खेलाएर सुन्दर चित्र बनाएजस्तै उपन्यासकार न्यौपाने भाषिक कौशलताबाट शाब्दिक बिम्ब निर्माण गर्न खप्पिस छन् । गुलाबी उमेर उपन्यासमा जीवनका विभिन्न अवस्थालाई रङको प्रतीकका माध्यमबाट चिनाएका छन् । उनको यो कला बाह्यपरिवेशको चित्रणमा जत्तिकै पात्रको आन्तरिक परिवेश चित्रणमा पनि सशक्त छ । यस कारण उनका सबै उपन्यासमा पाठकलाई तान्न सक्ने अद्भूत चित्रकारी क्षमता रहेको छ ।

अमर न्यौपानेको औपन्यासिक कलाले पाठकलाई मात्र नभएर समालोचकलाई समेत चकित तुल्याउने गरेको छ । सेतो धरती उपन्यासका सम्बन्धमा समालोचक गौतमको कथन यस प्रकारको रहेको छ : ‘अत्यन्त सरल, सुबोध र कलात्मक शैलीमा लेखिएको यो (यस) उपन्यासमा कहीँ कतै पनि थपघट गर्ने ठाउँ छैन । मलाई अचम्म लागिरहेछ, कसरी लेखे होलान् लेखकले यस्तो सुन्दर उपन्यास !’ गौतमले भनेझैँ उपन्यासकारको यस प्रकारको क्षमता पानीको घामभित्रको जटिल प्रयोगमा पनि रहेको छ भने सेतो धरतीको सरलतामा पनि रहेको छ । यो कौशलता करौडौं कस्तुरीको स्वाभाविक प्रयोगमा पनि उत्कृष्ट रहेको छ । यसरी जटिल प्रयोगदेखि सरल उपन्यासमा पनि पाठक समालोचकलाई चकित पार्न सक्ने जादुगरी क्षमता उपन्यासकार न्यौपानेमा रहेको छ ।

पाठक समालोचकहरुलाई चकित तुल्याउने उपन्यासकार न्यौपानेको कलाले पछिल्लो उपन्यास गुलाबी उमेरमा पनि निरन्तरता पाएको छ । उनको शब्द खेलाउन सक्ने क्षमताले पाठक समालोचकलाई विगतझैं चकित बनाएकै छ भने उपन्यासको शिथिल कथानक संरचनाले समालोचकहरुलाई झन् आश्चर्य चकित बनाएको छ । नेपाली उपन्यास परम्पराले उपन्यासकार न्यौपानेबाट अघिल्ला उपन्यासको तुलनामा यति कमजोर उपन्यासको आशा गरेको थिएन ।

गुलाबी उमेर किशोरी पात्रको यथार्थ मनोदशामा केन्द्रित रहेको छ । कुमारी लामाको कथनअनुरुप उनले ‘पुरुष लेखक भएर नारीमनको भावना, इच्छा र आकाङ्क्षालाई दुरुस्तै प्रस्तुत गर्न’ सकेका छन् । यसमा उपन्यासकारले पहिले नै सफलता प्राप्त गरिसकेका थिए ।

उपन्यासकार न्यौपाने कुनै वाद वा सिद्धान्तको नियमभित्र बाँधिन चाहने लेखक होइनन् । यो उनको लेखकीय धर्म हो । यसमा मैले उनको पछिल्लो उपन्यासलाई केही साहित्यिक सिद्धान्तको तराजुमा जोख्ने प्रयास गरेको छु । यो मेरो समालोचकीय धर्म हो ।

कथानकीय संरचनाका दृष्टिले हेर्दा गुलाबी उमेर उपन्यासको पूर्वार्ध भागको कथानक शिथिल गतिमा अघि बढेको छ । यस उपन्यासको प्रमुख पात्र तथा समाख्याता काठमाडौं आउनुअघिसम्मको लामो पृष्ठभूमिमा उपन्यासकारको शब्द खेलाउने कलात्मक क्षमता मात्र रहेको छ । त्यति लामो भागमा द्वन्द्व र कौतुहल पक्ष कमजोर छन् । यसमा उपन्यासकारले शाब्दिक शिल्पमा मात्र ध्यान दिएका छन् ।

उपन्यासकी पात्र ऋचा गुलाबी उमेर (किशोर उमेर, टिन एज) को भावनामा स्वतन्त्र छे । उनको चेतनालाई उत्तरआधुनिक स्वतन्त्र भावनाले छोपेको छ । ऊ आफ्नो मन लाग्दी गर्न नपाउँदा घर छाडेर बाहिर बस्न थालेकी छ । ऊ विदेशमा रहेका बुबालाई विश्वासमा लिनका लागि वास्तविकतालाई लुकाउँछे र अनेक बहाना बनाउँछे । यस क्रममा उसले जीवनमा एकपछि अर्को गल्ती गल्ती गर्दै जान्छे । तर पनि उसको चेतना सक्रिय हुन सकेको छैन । उनले विश्वास गरेको प्रेमीले धोका दिएपछि र जीवनमा अनेक हण्डर खाएपछि उसको चेतना खुल्न थालेको छ र प्रायश्चित गर्दै घर फर्किएकी छ । यो पछिल्लो समय सहरीया युवायुवतीहरुमा देखापर्न थालेको उत्तरआधुनिक प्रवृत्ति हो ।

उपन्यासकारले उत्तरआधुनिक विषयसँग फ्रायडको परम्परावादी पितृरथी ग्रन्थीलाई मिसाउने दुश्साहस यसमा गरेका छन् जसले गर्दा उपन्यास कमजोर बनेको छ । फ्रायडका अनुसार व्यक्तिमा अन्तरनिहित यौतवृत्तिका कारण छोरीको झुकाव बुबातिर हुन्छ भने आमासँग प्रतिशोधी सम्बन्ध रहेको हुन्छ । उनको यस धारणालाई उत्तरआधुनिकतवादी चिन्तनले खण्डन गरिसकेको सन्दर्भमा यस उपन्यासमा उत्तरआधुनिक विषयमा परम्परागत धारणा थोपर्ने प्रयास गरिएको छ ।

ऋचा उत्तरआधुनिक जीवनबचाइ र किशोर भावनाबाट धोका पाएपछि पश्चात्ताप गर्दै घर फर्किन्छे तर घरमा आएर पुनः आमाका विरुद्ध उसले अर्को गम्भीर गल्ती गर्न पुग्छे । उसले घर आएपछि आमाको पूर्वप्रेमीसँगको गोप्य सम्बन्ध थाहा पाउँछे । प्रेमीसँग लिभिङ टुगेदरमा बस्न सक्ने उत्तरआधुनिक चेतना भएकी ऋचाले यस कुरालाई सहन सक्दिन । त्यसका लागि उपन्यासकारले बाध्यात्मक परिस्थिति सिर्जना गर्न धेरै मिहिनेत पनि गरेका छन् तर घटना क्रमले उसको पितृरथी ग्रन्थीको प्रबलताका कारण उसले बुबालाई आमाको गोप्य सम्बन्ध बढाइचढाइ सुनाइदिएको प्रस्ट गराउँछ । यसै कारण आमाले घर छाडेर गएपछि ऋचाले बुबाको एकलौटी माया पाउन सक्ने परिस्थिति सिर्जना गरी अर्को ‘इडिपस रेक्स’ निर्माण गर्ने प्रयास गरिएको छ ।

ऋचाले किशोर अवस्थाको उन्मुक्ततामा आफ्नो जीवन सखाप पारिसकेकी छ भने परिपक्व उमेरमा प्रवेश गर्दैगर्दा उसले आमाबुबाको सम्बन्ध पनि समाप्त गरिदिएकी छ । यसरी उसले गरेको एकपछिको अर्को गल्ती उसका लागि क्षम्य छैन । तर उपन्यासकारले ऋचामाथि फ्रायडको पितृरथी ग्रन्थी थोपरेर स्वभाविक छाडिएका छन् । वर्तमान अवस्थामा कुनै पनि छोरी आमालाई लखेटेर बुबासँग खुसीसाथ बस्न सक्दिन । वास्तवमा ऊ आत्महत्याका लागि योग्य छे । त्यसो गराउन सकेको भए उपन्यास वियोगान्त (ट्रेजिक) बन्न पुग्ने थियो र पाठकको मनमा गम्भीर भाव उमार्न सफल हुने थियो । यसले पात्रलाई पनि न्याय दिलाउन सक्थ्यो ।

उपन्यासकारले किशोर उमेरप्रति सहानुभूति देखाउने क्रममा पात्रलाई न्याय गर्न सकेका छैनन् । किशोरी पात्र भावनाको स्वछन्द उडानमा उड्न सक्छ तर परिपक्व लेखक भावनामा बग्न सक्दैन । उसले लेखकीय चेतनाको लयलाई छाड्न सक्दैन । चेतनाको लय छाडेर पात्रको भावनासँगै उड्ने प्रयास गर्दा उपन्यासको सन्देश प्रवाहमा बाधा उत्पन्न हुन्छ ।

उपन्यासकार न्यौपानेले क्रोचेको कलासम्बन्धी सिद्धान्तको खण्डन गर्दै वास्तविक जीवनजगत्लाई पहिलो तहको कला, व्यक्तिको मानसिकतामा रहेको कल्पनालाई दोस्रो तहको कला र बाहिर प्रस्फुटित कलालाई तेस्रो तहको कला मानेका छन् । उनका विचारमा तेस्रो तहको कला कलाकारको अनुभव र अनुभूतिसँग अन्तरघुलन भएर आउने भएकाले यो पहिलो र दोस्रो तहको भन्दा विशिष्ट हुन्छ भन्ने विचार व्यक्त गरेका छन् (मदन पुरस्कार अर्पण समारोह मन्तव्य) । उनको पछिल्लो उपन्यासमा अनुभूतिको अन्तरघुलन कमजोर देखिन्छ ।

त्यसै गरी यस उपन्यासमा गरिएको प्रयोग पक्ष पनि कमजोर रहेको छ । यस उपन्यासका बिचबिचमा ‘प्रतिकथन’ शीर्षकमा लेखकको उपस्थिति प्रस्तुत गरी यसलाई अनौपचारिक र अधिआख्यानात्मक प्रकृतिको बनाउने प्रयास गरिएको छ । तर ती ‘प्रतिकथन’हरुलाई उपन्यासबाट झिकिदिए पनि यसले उपन्यासको कथानक संरचना र विचारमा कुनै प्रभाव पार्न सक्दैन । यदि कथानक र विचारसँग जोडिन सकेन भने उपन्यासमा गरिएको प्रयोग कमजोर हुन पुग्छ । यस उपन्यासमा गरिएको प्रयोग पनि कमजोर रहेको छ ।

सेतो धरतीमा मध्यकालीन बालविधावको विषयलाई आधुनिकता प्रदान गरी समालोचकलाई चकित बनाएका उपन्यासकार न्यौपानेले करोडौं कस्तुरीमा जीवित पात्रको पुनर्लेखन गरी पाठक समालोचक मात्र नभएर स्वयम् पात्र हरिवंश आचार्यलाई नै चकित बनाएका थिए । गुलाबी उमेरको कमजोरीले भने सिङ्गो नेपाली उपन्यासलाई नै चकित तुल्याएको छ ।

अमर न्यौपाने नेपाली उपन्यास परम्परामा नवीन सम्भावना बोकेर उदाएका एक नक्षत्र हुन् । उनले सपलताको एउटा शिखर चुमिसकेका छन् तर साहित्यको शिखर हिमालयको जस्तो निश्चित हुँदैन त्यसलाई निरन्तर उचाल्दै लान सकिन्छ । उपन्यासकार न्यौपाने हेरक पाइलामा नवीन उचाइ थप गर्दै निरन्तर उकालो चढिरहन सक्ने क्षमतावान् आरोही हुन् । उनको भाषिक अभिव्यक्तिको कलात्मक क्षमताले नेपाली उपन्यासमा एउटा नवीन मार्ग निर्माण गरिसकेको छ । इतिहास र पुराणका पात्रहरुको धेरै पुनर्लेखन भइसकेको भन्दै जीवित पात्रको पुनर्लेखनमा रुचि देखाउने उपन्यासकार न्यौपाने आफ्नै औपन्यासिक पथ निर्माण गरी नेपाली उपन्यास परम्परामा योगदान गर्ने क्षमता राख्छन् । उनलाई अरुको विरासत बोकिरहन जरुरी छैन ।

अन्त्यमा लक्ष्मीप्रसाद देवकोटाको यस मननीय विचार प्रस्तुत गर्दै यो सानो आलेख टुङ्गाउँदछु :
‘जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रभूषाहरु हुन् । जब तिमी शब्द र अलङ्कारका पछि दगुर्दछौ तब तिमी साहित्यिक भलादमी बन्दछौ । जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ तर फुस्रा बाबाका छातीमुनि पनि विचित्र शृङ्गार रहेको हुन्छ । … तिमी प्रसिद्ध हुन हतपताउँछौ पैसा जस्तै नाम पनि सच्चा तवरले कमाउनुपर्छ तर तिमीलाई प्रशंसा प्रेमले मात्र कर्म क्षेत्रमा ल्याउँछ । रङ्गी चङ्गी भडकले आउँछौ, तिमी हृदयमा आसन जमाउँदैनौं, आँखा मात्र तिरिमिर्याउँछौं । भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्दछौ ।’