त्यहाँ मद्यपानमा आवेग र जोसका कुरा हुँदै रहे । मदहोसीमा मदान्धता पोखिन्थ्यो भुइँभरि । जति छिल्लिन सक्यो त्यति नै मजा । झोलिलो पदार्थको तात्कालिक मस्ती  । त्यो जमघट पाकेका केश, झोल्लिएका ‘फेस’  र लुलिएका संवेगहरूको जम्माजालझैँ  प्रतीत हुन्थ्यो । अचेल उनीहरूको यौवनिक उन्मत्तता शब्दमा सीमित छ । देहले विश्राम लिन थालिसक्यो, तैपनि शब्दको मजा कति रोमाञ्चक । उहिल्यै गरेका कुरा आज भनेर छताछुल्ल पार्दै मस्त छन् व्यतीत जवानीहरू ।

उता पल्लो टेबलमा तीन जना लेखक र एउटा सम्पादक दनादन गफ चुटेर विश्रान्तिमा छन् । सम्पादक लेखकहरूलाई समसामयिक लेखनका शीर्षक यस्ता  हुनुपर्छ भनेर प्रशिक्षण दिंदै छ ।

अचेल सहरमा इमानको चर्चा छ

सुरा, छोरा र किरा

मिठो बोलीमा रमाउँदी सुन्दरी

नवराज र नवझार

माटो बिर्सेका महानयक

सिंहदरबारमा काम्लो ओडेर खानेको ढलिमली

बा, भाउजू र भगवान्

दार्शनिक जस्तो देखिने ‘बेसरम वन्दनीय’ उपनामको कवि आफूभन्दा जेठो हिन्दी गाना गाउँदै  छ ।  ‘इन्हिकी काली कर्तुतोंसे हुवा ये मुल्क मसान, कितना बदल गया इन्सान …. ।’  ऊ फुक्काफाल फलाकिरहेछ, ‘हेर्नुहोस् सज्जनवृन्द ! अचेल सहरदेखि गाउँसम्म रक्तबीजझैँ स्वघोषित सदाचारीहरूको भिड छ ।  आज कुकर्मका पोषकहरू सुकर्मका प्रवक्ता बनेका छन् । म मात्र सदाचारी अरू सबै कदाचारी भन्दै कुर्लिरहेछन् कुलाङ्गारहरू । हे भगवान् ! मेरो देशलाई सदाचारीको थिचोमिचोबाट बचाऊ ।’

ऊ दुध जस्तो दाह्री कन्याउँदै बेलगाम बतुराइरहेछ । ‘कसले भन्यो  बेइमानलाई सुख छ ? कसले भन्यो लोभीलाई आनन्द छ ? कसले भन्यो झुट बोल्ने मान्छेको मनमा मयुर नाच्दछ ? कसले भन्यो  मितेरीको महलमा बस्नेको दिल बागाबाग छ ? कसले भन्यो नरम बिछ्यौनामा मस्त निद्रा छ ?’

यति भाषण गरेपछि बेसरम बन्दनीय चुप लागेर सुर्ती मल्न थाल्यो । एक क्षणपछि  बेसरमको साथ लागेर आएको ‘विकलमन वैरागी’ नामको सज्जन विनीत पाराले उभियो । उसले यताउता हेर्दै गलबन्दीले नाक पुछ्यो । ऊ हेर्दैमा भेज टाइपको देखिन्थ्यो । तिस वर्ष अनवरत मदिराको आहालमा डुबेपछि बाहिर निस्केको मानिस रे ऊ । अचेल उसको झोलामा सिसीको सट्टा सम्पूर्ण रामायण र श्रीमद्भागवतको पुस्तक हुन्छ । श्रीमद्भागवद्गीता त उसले कण्ठस्थ बनाएको छ ।

उसले चारैतिर हेर्‍यो । त्यहाँ जम्मा नौ जना श्रोता थिए । वैरागीको पालामा आफूले हल्ला गरे आफ्नो पालामा उसले हल्ला गर्छ भन्ने बुझेका उनीहरू चुपचाप उसको मन्तव्य सुन्न तत्पर  थिए । वैरागीले बडो सुमधुर आवाजमा भन्यो, ‘एक दिन नारदजी पृथ्वीमा घुम्न आएछन् । उनी वनको बाटो हुँदै विचरण गर्दै थिए । कसैले भन्यो, ‘यो बाटो हुँदै यात्रा नगर्नुहोस् । यो मार्ग त रत्नाकर डाँकुको कब्जामा छ ।’ परन्तु नारद अघि बढिरहे । केही पर पुगेपछि उनलाई रत्नाकर डाँकुले देखिहाल्यो । उसले हुङ्कार गर्दै नारदलाई तर्साउन खोज्यो । तर निर्भय नारद ठिङ्ग उभिइरहे ।

नारदको निडरता देखेर रत्नाकर विस्मित भयो । भन्यो,  ‘के तिमीलाई डर लागेन ?’ नारदले उल्टै रत्नाकरलाई सोधे, ‘तिमी यो कुकर्म किन गर्छौ ? यसरी निरपराध बटोहीहरूलाई लुटमार गरेर किन पापको भारी बोक्छौ ?’ रत्नाकरले भन्यो, ‘म मेरो परिवारको लालनपालनका लागि यो कर्म गर्छु । मेरो कमाइको जरिया नै यही लुटपाट हो ।’ नारदले फेरी भने, ‘हे रत्नाकर ! के तिम्रो कमाइ खाने तिम्रा परिवारजन तिम्रो पापका भागीदार हुन तयार छन् ?’  रत्नाकरले खरो शब्दमा उत्तर दियो, ‘अवश्य तयार छन् । तिमीलाई यी सबै कुरामा के मतलब ?’ नारदले सुझाव दिंदै भने’ ‘कृपया उनीहरूलाई सोधेर हेर त ।’

रत्नाकरले घर पुगेर धर्मपत्नीलाई सोध्यो, ‘मैले तिम्रो पालनपोषणका लागि लुटपाट गरेर धन आर्जन गर्ने गरेको छु । के तिमी मेरो कर्ममा भागीदार हुन तयार छौ ?’  पत्नीले उत्तर दिइन्, ‘म तपाईंको हरेक सुख र दुःखमा साथसाथै छु, परन्तु तपाईंको पाप कर्ममा भागीदार छैन ।’  पत्नीको कुरा सुनेर रत्नाकर स्तब्ध भयो । उसले पितालाई पनि सोही कुरा सोध्यो । पिताले भने, ‘तेरो कर्म तेरो निजी मामिला हो । त्यसमा म कसरी जिम्मेवार हुन सक्छु ?’ रत्नाकर नारदका  सामु पुगेर नतमस्तक उभियो । नारदले भने, ‘तिम्रो सत्कर्ममा पनि र दुष्कर्ममा पनि तिमी एक्लै जिम्मेवार छौ ।’

वैरागी भन्दै गयो, ‘बेसरमजीले सङ्केत गरेका काला कर्तुतवालाहरू र रत्नाकर डाँकुमा ठुलो भिन्नता छ । रत्नाकरका परिवारजनले पापाचारमा भागीदारी अस्वीकार गरिदिए । किन्तु कर्तुतवालाकाले त स्वीकार मात्र गरेनन्, आफै संलग्नसमेत भए । रत्नाकरलाई आफ्नो क्रियाकलापमा खोट छ भन्ने कुराको बोध भयो, तर यी कर्तुतवालाहरूमा बोधको सर्वथा अभाव छ । त्यसैले यिनीहरू सच्चिने सम्भावना छैन । यिनीहरू त उल्टै आफ्नो कर्मप्रति गौरवान्वित छन् ।’

मदिराको मन्दमन्द मदालसमा मस्त सराबीहरू वैरागीका कुराबाट प्रभावित देखिन्थे । एक जनाले भन्यो, ‘तपाईं त मदिरा सेवनलाई परित्याग गरेर सन्तत्वमा प्रवेश गरेको मान्छे । तैपनि किन हामी नसाबाजहरूको सङ्गतिमा आउनुहुन्छ ?’ वैरागीले आफ्नो घनिष्ठ मित्र बेसरमतर्फ प्रेमिल दृष्टिले हेर्‍यो ।  उसको हेराइमा अनन्य मित्रप्रति गहिरो अनुराग र श्रद्धा प्रकट भइरहेको प्रतीत हुन्थ्यो ।

वैरागीले भन्यो, ‘बेसरम र म एउटै जगमा उभिएका संरचना हौं । तिस वर्षसम्म अविरल रूपमा सङ्गत गरेको मित्रलाई आज म कसरी छि: छि: गर्न सक्छु ? तपाईंहरूले मद्यपान  गरेर कुनै राष्ट्रिय नोक्सानी गर्नु भएको छैन । नोक्सान त देश र जनतालाई हानी पुर्‍याएर पनि निकै राष्ट्रसेवा गरिरहेको धमास दिने तत्त्वबाट छ । तथापि म के भन्न चाहन्छु भने अव्यवस्थित र गैरजिम्मेवार मद्यपान शारीरिक, नैतिक, पारिवारिक र आर्थिक कारणले हानिकारक नै छ । सके छाड्नु राम्रो, त्यो नसके व्यवस्थित र अनुशासित हुनु राम्रो ।’ ऊ थपक्क कुर्सीमा बस्यो ।

अझै पल्लो टेबलमा तीन जना युवकहरू झुलिरहेका थिए । एउटा  अलिक टुट्पुँजीया  जस्तो देखिने छिप्पिएको युवकले आफ्ना पुर्खाको सान, शक्ति र सम्पत्तिको बखान गरिरहेको थियो । ‘छन त गाउँमा मनग्गे जमिन छ नि । तर आजको जमानामा को हलो कोदालो गरेर बस्छ ? सके अमेरिका जाने हो, नसके अरबको खाडी छँदै छ ।’ उसका साथीहरूले उसको कुरामा ध्यान दिइरहेका थिएनन् । बरु मलाई उसको बोल्ने शैली रमाइलो लाग्यो । मैले उसमा नेपाली राष्ट्रिय अवनतिको एउटा प्रतिनिधि पात्र देखिरहेको थिएँ । अनायास उसका र मेरा आँखा जुधे । ऊ निर्लज्ज तरिकाले मुस्कुरायो ।

ऊ जुरुक्क उठेर मेरो सामुन्ने आएर उभियो । उसले स्याप्प परेका पातला गाला लुकाउन झ्यास्स दाह्री पालेको थियो । आँखामा उदासी र शरीरमा नातागतका चिह्न प्रस्ट देखिए तापनि बोलीमा गरिमा थियो । दाह्रीमा अड्केर बसेको दालमोटको गेडो उसको लापरबाहीपूर्ण मदहोसीको प्रमाण थियो । उसले विनम्र हुँदै भन्यो, ‘बस्न सक्छु हजुर ?’ मैले इशाराले हुन्छ भनेपछि ऊ बस्यो । उसका साथीहरू उठेर जान थालिसकेका थिए । मैले भनें  ‘तपाईंका साथीहरू जान लागे त ।’ उसले जानेहरूतिर मुन्टो पनि फर्काएन । बोल्यो, ‘सबै कङ्गालीले ग्रस्त नरकङ्काल हुन् । आजै भेट भएर आजै म्याद सकिएका तदर्थहरू । हिजो एउटा समूहको जुलुसमा गएर जनही हजार हात पारे । आज अर्को जुलुसमा गएर सात सय हात पारेछन् । जिन्दाबाद जिन्दाबाद भन्दै निकै चिच्याउँदै थिए, पुलिसको चार लाठा खाएपछि खोच्याङखोच्याङ गर्दै दारु खान आएका भाडाका विद्रोही हुन् । भोलि अर्को जुलुसमा भाग लिन चितवनतिर  जाने रे ।’

ऊ बोलिरह्यो, ‘दास हुन कसैलाई पनि स्वीकार्य छैन हजुर !  तर खराब आदतले दास बनाउँदो रहेछ ।  हिलोमा भासिएको हात्ती जस्तै हो मान्छे । सुरुमा लोभिएर पस्छ , त्यसपछि निस्कनै सक्दैन । एउटा खुट्टो उचाल्दा अर्को झन् तल गहिराइमा भासिन्छ ।’ यस्तो मिठो बोल्न सिपालु मान्छेको यो हविगत ? मलाई उसको दशा देखेर दुःख लाग्यो । बोल्यो,  ‘एउटा चुरोट मगाउँछु है महोदय !’  मैले उत्तर फिराउन नपाउँदै उसले घण्टी बजाइसकेको थियो ।

‘सारा कुकर्म गर्न कसले सिकायो ? थाहा छ हजुर ?’  मैले जिज्ञासु नजरले उसलाई हेरिरहेको थिएँ । उसले चुरोटको लामो सर्को तानेर माथिसम्म धुवाँ फाल्दै भन्यो, ‘सारा कुकर्मको खेल सभ्यताले सिकाएको हो । अब जङ्गलमा होइन घरमा बस्नुपर्छ । खानेकुरा सङ्ग्रह  गर्नुपर्छ । न्यानोसँग सुत्नुपर्छ । जोडी खोज्ने झन्झटबाट मुक्त भई विवाह गरेर निजी घरभित्र गोप्य समागम गर्नुपर्छ । सबैले  घर त बनाए, तर उस्तै र उत्रै बनाउन सकेनन् । सबैले विवाह त गरे, तर आफ्नो जोडीमा  त्यो मजा मिलेन जो प्राकृतिक तवरको ‘र्‍याण्डम’ जोडीमा मिल्थ्यो ।’  उसले कपाल कन्यायो। जुँघामा हात फिराउँदा अड्केर बसेको दालमोटको गेडो झर्‍यो । ‘एक क्वाटर मगाउने कि हजुर !’ विवशताको मैलो बोकेका दन्तपङ्क्ति यसरी देखायो , मानौं त्यो निर्लज्जता उसको जीवनको निष्ठुर विवशता हो । ऊ घुट्को निलेर गायब भयो ।

यता बेसरम मलाई नियालेर हेरिरहेको थियो  । ‘यो देशको हकमा सबका सब हरिप निस्के । वर्षौंसम्म विदेशमा बसेर फर्केकाले पनि यहाँ मनलागी नै गरे । त्यो मनलागीलाई समाजले स्वीकार मात्र गरेन, स्वागतसमेत गर्‍यो ।  तैपनि यहाँ इमानका कुरा हुन्छन् । परिवर्तन र समृद्धिका कुरा हुन्छन् ।’

युवकहरूले खाली गराएको टेबलमा अलिकता स्तरीय टाइपका चार जना आएर बसे । बेसरमले उनीहरूतिर निकै बेरसम्म नियालेर हेरेपछि साउतीको स्वरमा भन्यो, ‘धेरै पहिलेको कुरा हो । एक जना पण्डितले एउटा गधा पालेका थिए । उनले चालिस वर्षसम्म गधालाई वेदान्तका पुस्तक बोकाए । हजारौं हजार ज्ञानका पुस्तक बोकेर जीवन व्यतीत गरेको गधा एक दिन मर्‍यो । त्यतिका पुस्तकको सान्निध्य पाएर के गर्नु, गधालाई वेदोक्त ज्ञान त काम लागेन ।

त्यो टेबलमा जम्मा भएका चार जना अधबैंसे को हुन् थाहा छ ? उनीहरूमध्ये दुई जना साम्यवादी र दुई जना लोकतान्त्रिक समाजवादी हुन् । उनीहरू आफू मात्र होनहार छैनन्, छोराहरूलाई पनि आफ्नै पदचापमा हिँडाउन सफल भएका छन् । जसरी गधाले वेदका किताब बोके पनि उसको ‘अल्टिमेट फेथ’ ज्ञानमा थिएन, त्यसै गरी ती चार  जनाको अल्टिमेट फेथ साम्यवाद या समाजवाद होइन । उनीहरूले पनि गधाले वेदान्तको भारी बोकेझैँ अनेकौं सिद्धान्तका साथसाथै नेपालको संविधानको पुस्तकसमेत समेत बोकेका र घोकेका छन् । आजै  टुँडिखेलमा  ‘प्रोग्रामिङ’ गरेको मेसिनले झैँ लफ्फाजीका भाषण गरेर आएका छन् उनीहरू । उनीहरूको अन्तिम लक्ष्य  व्यक्तिगत धनधान्य हो । जो सबैले राम्रोसँग जम्मा गरेका छन् ।’

अर्को टेबलमा एउटा  सिल्लीजस्तो मान्छे बोल्दै थियो, ‘ए आधुनिक धृतराष्ट्र !’आधुनिक धृतराष्ट्र ? सायद तिनै चार जनालाई आरोपित गर्ने ललकार थियो त्यो । एक जना उत्तेजित  पिताले अर्को उत्तेजित पितालाई सोध्दै गरेको सुनियो, ‘यो हामीतर्फ हेर्दै आधुनिक धृतराष्ट्र भन्दै कराउने मान्छे को हो ? यसलाई पुलिसले किन नसमातेको हँ ? मनपरी बोल्न पाइन्छ ?’ सिल्लीले भन्यो, ‘मैले यो कुरा तपाईंहरूलाई भनेकै होइन  । किन व्यर्थमा उत्तेजित भएर अनापसनाप कुरा गर्नुहुन्छ  ?’

चारजनामध्ये एउटाले जुरुक्क उठेर भन्यो, ‘तिमीले  हामीलाई बेवकुफ सम्झेको ? तिमीले कसलाई आधुनिक धृतराष्ट्र भनेका छौ, हामीलाई राम्ररी थाहा छ ।’ सिल्ली जस्तो देखिने मानिसले ठुलै घुट्को निलेर भन्यो, ‘त्यसो भए तिमीहरूलाई सत्य कुराले घोच्यो हैन ?  तिमीहरू दुनियाँलाई अँध्यारोमा राखेर सभ्य र सदाचारी भएको अभिनय गर्दै  छौ । बोलाऊ तिम्रो पुलिस र मलाई कारागारतिर चलान गर ।’ यस्तैमा कताबाट दुई जना ठुलै साहुजी जस्ता देखिने मानिसहरू आएर ‘हामीहरू सेवामा तत्पर हुँदाहुँदै कस्तो घटिया ठाउँमा आइबक्सेको हजुर ।’  भन्दै चारै जनालाई लिएर गए ।

बाहिर अँध्यारो बाक्लो हुँदै गएसँगै भित्रको सराबी साँझ क्रमशः पातलो हुँदै थियो । बेसरम वन्दनीय नसाले सिथिल भएर बोल्न छाडेको थियो । अम्मलको मारमा परेर बेसरम हुन् पुगे तापनि उसका कुरा वन्दनीय नै थिए । मलाई उसको नामले सार्थकता पाएको देखेर खुसी लाग्यो । वल्ला पल्ला सबै टेबल खाली भइसकेका थिए । विकलमन वैरागीले बेसरमलाई ‘अब जाऔँ’’ भनेर उठाउन खोज्यो । बेसरमले ‘एउटा लास्ट पेग हान्छु, अनि जाउँला’ भनेपछि विकलमन मेरो छेउमा आएर बस्यो ।

बेसरम अझै उठ्न तत्पर छैन भन्ने बुझेको उसले समय कटानीका लागि मसँग कुरा गर्न थाल्यो । ‘उहिले बेरहमहरू गोलीको वर्षा गर्थे ,अहिले बेसरमहरू उनीहरूमाथि गालीको वर्षा गर्दै भन्छन्, तिनका घरमा डढेलो लागोस् ।  झिँगाको टोकाइले डिँगो के मर्थ्यो । तैपनि मनको तितो फालेर सन्तुष्ट हुन्छन् बबुरा बेसरमहरू ।’

बेसरम अन्तिम घुट्को तानेर खैनी मल्नमा मस्त थियो । वैरागीलाई पनि कुनै हतार थिएन । ऊ भन्दै गयो, ‘पढ्नमा तगडा केटोलाई शिक्षकले सोधे रे, तिम्रो जिन्दगीको ध्येय के हो ? तगडा केटोले उत्तर दियो, म त धेरै पढेर जागिर खान्छु । गुरुले  पढाइमा कमजोर केटोलाई सोधे, तिम्रो नि ? कमजोर केटो म त ढुङ्गा हान्छु भन्दै हुरुरु निस्केर गयो ।  आज ढुङ्गा हान्ने मन्त्री भएको छ । उता तगडा केटो चाहिँ त्यही मन्त्रीको सचिवालयमा निजामती कारिन्दा छ ।’

वैरागीले मलाई नियालेर हेर्‍यो र विनम्र हुँदै सोध्यो. ‘तपाईंलाई झर्को त लागेको छैन नि ?’ मैले भनें, ‘यसरी अनेकौं महानुभावहरूबाट सदाचारका कुरा सुन्न पाएको छु ।’ मेरो कुरा सुनेर ऊ सहज भयो । भन्दै गयो, ‘आज म तपाईंलाई एउटा सदाचारको कथा सुनाउँछु  । ‘धेरै पहिलेको कुरा हो । एकादेशमा चोरको भयानक बिगबिगी मच्चिएछ । राजाकहाँ लगालग उजुरी पर्न थाले । एक दिन  राजाले सबै प्रजालाई खुला मञ्चमा उपस्थित भएर आफ्नो इमानदारीको प्रमाण पेश गर्नु भनेर उर्दी जारी गर्‍यो ।

साराका सारा प्रजा सुकिलो र साधुता झल्कने पोशाक पहिरेर खुला मञ्चमा जम्मा भए । उनीहरू आफू साधु देखिन सकेसम्म ठूलो स्वरमा नारा लगाइरहेका थिए ।  राजाले सबैलाई नियालेर हेर्‍यो । पूरै जुलुस इमानदार चोरहरूले भरिभराउ थियो । त्यहाँ कोही एकमाने चोर थिए भने कोही चारमाने । कोही सुका मोहोर चोर्ने बबुरा चोर थिए भने कोही लाखौँ  रुपियाँ चोर्ने चोर । राजाले मञ्चमा आसीन भिआइपीहरूलाई यसो हेर्‍यो ।  मञ्चमा चोर जस्तो देखिने कोही पनि थिएन । चोर जस्तो देखिने कुरा पनि भएन । त्यहाँ लाख र करोड मूल्यका चोर थिए । राजाले आफ्नो शरीरलाई हेर्‍यो । आफूलाई सुन्दर परिधानमा देखेर ऊ दङ्ग पर्‍यो ।

कार्यक्रम पूर्णतः सफल भयो । सबै चरले चोरलाई सराप्नुसम्म सरापे । ‘चोरको नाकमा कोर लागोस् । चोरको घरमा चोर लागोस् । भ्रष्टाचारीको मुखमा किरा परोस् ।  चोरको ढुकुटीमा आगो लागोस् ।’ सबै चोर खुसी हुँदै घर फर्के । परन्तु विडम्बना ! जुलुसमा जाने धेरैजसो चोरहरूको घरमा चोरी भएछ । सबै अचम्ममा परे । जब सबका सब चोर जुलुसमा थिए त चोरी कसले गर्‍यो ? त्यो रहस्यको उद्घाटन आजसम्म भएको छैन । किनभने त्यो चोरी राजाको निर्देशनमा उसकै सिपाहीहरूले गरेका थिए ।’