विश्व साहित्यमा ‘मेटामर्फोसिस’ नामका दुईवटा कृति प्रसिद्ध छन्- ल्याटिन कवि ओविडको मेटामर्फोसेस काव्य र जर्मन आख्यानकार फ्रेन्ज काफ्काको मेटामर्फोसिस आख्यान । ओविडको मेटामर्फोसेस सन् ०८ मा लेखिसिध्याइएको र प्रतिठेली ७००० देखि ९००० सम्म श्लोक भएका १५ वटा ठेलीको संयुक्त नाम हो । यसमा ग्रिसेली र रोमेली मिथकका आधारमा समग्र सृष्टिचक्र र विश्व इतिहासको अङ्कन गरिएको छ । यस क्रममा मान्छे र सामान्य स्तरका देवता पात्रहरू रूखबिरुवा र विभिन्न जीवजन्तुहरूमा रूपान्तरण भएका छन् । त्यस्तै काफ्का मेटामर्फासिस (सन् १९१५) एउटा कपडा व्यापारी राति सुतेर उठ्दा अनौठो किरामा रूपान्तरण भएपछिको कथा हो । यस्तै प्रकारको अर्को तेस्रो ‘मेटामर्फोसिस’ कृति हो- तेजराज खतिवडा (तेराख) को सर्वजा । यो एउटै पात्र विभिन्न रूपहरूमा रूपान्तरण भएको ‘मेटामर्फोसिस आख्यान’ हो । यसमा स्रष्टा हालसालै दिवङ्गत हुनुभएकामा उहाँको आत्माको शान्तिका लागि हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो सानो लेख अगाडि बढाउँछु ।

तेराख

मोफसलका साहित्यसाधक तेराख (पूरा नाम- तेजराज खतिवडा) प्रयोगपरक लेखनको प्रतिमूर्ति हुन् भन्दा फरक पर्दैन । ‘मयविधा’ उनको चिन्तनको नयाँ र मौलिक नाम हो । अझै उस्तै छ, टेस्टट्युब बेबी जस्ता उपन्यासमय नाटक, ढाडेको नाकमा घिउ कथामय निबन्धसङ्ग्रह, सर्वजा उपन्यास उनको प्रयोगपरक स्रष्टाचेतका उपलब्धिहरू हुन् । उनले काव्यदेखि आख्यान, नाटकदेखि निबन्ध हुँदै आफ्नै मौलिक दर्शन चिन्तनका सुगम यात्राहरूमा दुई दर्जनजति कृतिहरू सिर्जना गरेका छन् ।

सर्वजा (२०६०) उपन्यास विषय र शैली दुवै दृष्टिमा नेपाली साहित्यका लागि तेराखले प्रदान गरेको अनुपम उपहार हो । यसले समेटेको विषयगत बृहत् आयामाले यसलाई महत् महाकाव्यको उचाइमा पुर्‍याएको छ । यसमा समग्र सृष्टिको सिर्जना र विकास प्रक्रियाको इतिहासको खोजी मात्र गरिएको छैन यसमा सृष्टि सञ्चालन र निरन्तरताको दार्शनिक व्याख्या पनि गरिएको छ । सृष्टि सिर्जनाको सन्धानका क्रममा महिला र पुरुषको अर्थ, विशेषता, महङ्खव, आवश्यकता र अस्तित्वबारे तार्किक व्याख्या पूर्वीय दर्शनका आधारमा गरिएको छ । मानवीय मनमा सकारात्मक र नकारात्मक भाव भएजस्तै यस सृष्टिमा नारी र पुरुष दुई तङ्खव रहेका र यी दुई तङ्खवको अस्तित्व मानवलगायत सम्पूर्ण प्राणी र वनस्पतिमा रहेको तथा यिनीहरूकै सङ्गमबाट यो सृष्टि सञ्चालन भइरहेको तथ्यलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । सृष्टि जगत्, प्रकृति र सभ्यताको व्यापक ज्ञानको खोजीका क्रममा विभिन्न सजीव निर्जीव प्राणीहरूमा रूपान्तरण हुँदै नेपालका विभिन्न भूगोल, जाति, जनजाति साराको भ्रमण गर्दै ग्रीस, अमेरिका, बेलायत, रसिया, दक्षिण अफ्रिकासम्म पुग्दै डायनादेखि, बर्नार्ड सा, चेखवका पात्रहरूमा रूपान्तरित हुँदै हजारौँ वर्षको जीवन एउटै म पात्रमार्फत प्रस्तुत गरिएको छ । यसका निम्ति स्वैरकल्पना, चेतनप्रवाह शैलीका साथै अतियथार्थवादी लेखनको विशिष्ट शैली अवलम्बन गरिएको छ ।

जीवन जीवन्त

सद्विचारले युक्त लेखककी श्रीमती सुत्केरी भएको अवस्थामा सहयोगीका रूपमा आएकी सर्वजा नामकी नारीले अचेतन मनको यौनेच्छा जागृत गराइदिएसँगै सर्वजा नामको उपन्यास लेख्ने तयारीबाट उपन्यास आरम्भ हुन्छ । लेखक त्यस नारीलाई तिरस्कार गर्दै टाढा रहन चाहन्छ तर उसमा रहेको अचेतन यौनेच्छा अझ प्रबल हुँदै जाँदा ऊ त्यसबाट भाग्न सक्दैन । अविचलित मनलाई शान्त बनाउन ऊ अन्तु डाँडाको यात्रामा जान्छ तर त्यहाँ पनि उसले सर्वजा नाम गरेको फूल र त्यस्तै नारी भेट्छ । पहिलो सर्वजाभन्दा भिन्न स्वभावकी दास्रो सर्वजासँगको भेटले परनारीदेखि विचलित लेखकको मनलाई अझ दिग्भ्रमित पारिदिन्छ । पञ्चकन्या मन्दिरमा पुगेर नारीको बहुरूप देखेपछि लेखकको मन असामान्य स्थितिको धरातलतिर प्रवेश गर्दछ । नारीको बहुरूपलाई बोध गर्ने क्रममा ऊ काल्पनिक संसारमा प्रवेश गर्दछ । त्यसपछि ऊ विद्वान्, दार्शनिक, लेखक, चिन्तकहरूमा रूपान्तरण हुँदै नारी-रूपको अर्थार्जनको प्रयासमा लाग्छ । विभिन्न वनस्पति, प्राणी आदिमा रूपान्तरण हुँदै लेखक विश्वको भौगोलिक, सांस्कृतिक, प्राकृतिक परिभ्रमणमा निस्कन्छ । ऊ अन्तरिक्षदेखि भूगर्भभित्र समेत प्रवेश गरेर यो सृष्टिको सिर्जना र नारी रूपको चिन्तन गर्दै अन्त्यमा आफ्नै रूपमा फर्किएर नारीसम्बन्धी विशिष्ट धारणाको निर्माण गर्दछ । प्रकृतिमा नारी र पुरुष दुई जातिमात्र भए पनि नारी पुरुषभन्दा विशिष्ट रहेको र सारा सृष्टिलाई बुझेर मात्र नारी जातिलाई बुझ्न सकिने भन्दै नारी-रहस्यको गर्भमा पुग्छ ।

यसप्रकार सर्वजा उपन्यासले बृहत् विषय र अनुपम शैली अनुसरण गरेको छ । यस लेखमा मैलै उपन्यासमा मेटामर्फोसिसका क्रममा आएका केही विशिष्ट स्वैरकाल्पनिक सन्दर्भहरूको चर्चा गरेको छु । यस सृष्टिजगत्‌की जननी नारीको रहस्यमय ज्ञानको सन्धानका क्रममा स्वैरकल्पनाका माध्यमबाट विभिन्न जगत्को परिभ्रमण गरिएको छ । यस क्रममा म पात्रले विभिन्न स्थानमा गरेका भ्रमण, विभिन्न जाति, व्यक्ति र प्राणीमा भएको रूपान्तरण तथा विभिन्न लौकिक र अलौकिक व्यक्तिहरूसँगको सम्बन्धलाई स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ । यस सम्बन्धमा समालोचक गोविन्दराज भट्टराईले यस उपन्यासको भूमिकामा यस्तो विचार प्रस्तुत गरेका छन्, “सर्वप्रथम उनले फ्याक्ट्स र फिक्सन जोडेका छन् । अतीत खैँचेर वर्तमानसँगै जोडेका छन् । ग्रीक पुराण-कथाकी डायनादेवी उनीसितै बोल्नु, सर्वजा नामक प्रमुख पात्रको सार्वकालिक उपस्थिति हुनु, लेखकको पनि सार्वकालिक उपस्थिति देखिनु आश्चर्य लाग्दछ” (पृ. ट) । यसरी अतीतदेखि वर्तमानसम्म तथा पूर्वदेखि पश्चिमसम्मको सहज यात्रामा स्वैरकल्पना सहयोगी बनेको छ ।

प्रस्तुत उपन्यासमा म पात्रले उपन्यास लेख्ने प्रयास गरेको छ तर उसमा नारी र पुरुषबीचको सम्बन्धमा भ्रम रहेको कारण उसले लेख्न सकिरहेको हुँदैन । सर्वजा नामकी नारीले ऊसँग कामुक व्यवहार देखाएपछि उसमा रहेको वैचारिक द्वन्द्व बाहिर देखिन थाल्छ । उसमा नारीप्रति नकारात्मक धारणा रहे पनि सर्वजाबाट प्रभावित भई उनको मनमा द्वन्द्व सिर्जना भएको छ । यसलाई उनको स्वैरकाल्पनिक यात्राको बीज मान्न सकन्छि ।

नारीका बारे खोजी गर्दै हिँड्ने यौनभावनाजनित मेरो सर्वजा प्रदत्त यात्रा अब सर्वजाद्वारा नै नारी सम्मान र नारी रहस्यमय यात्रा बन्दै गयो । … नारीलाई हेर्ने दृष्टिकोणमा नवीन र खोजमूलक बनेपछि म अब सीमित ज्ञानबाट नारी व्याख्या गर्न असमर्थ भएँ ।  …  सर्वजालाई मैले धुलाबारीमा एक छाडा नारीका रूपमा हेरेको थिएँ; तिनै नारी देवीको उच्च पवित्र आसनमा विराजमान भएर हजारौँ मानिसलाई मुक्ति दिइरहेकी छिन् । म स्वयम् सर्वजाको प्रभावमा परेपछि ममा कसैले जान्न नसक्ने गरी भित्री परिवर्तन भइरहेछ । (पृ. ७१)

समयक्रममा नारीप्रतिको लेखकको धारणामा परिवर्तन आउन थालेको छ तर ऊ त्यसलाई स्वीकार गरिहाल्ने पक्षमा रहेको छैन त्यसैले थप खोजका निम्ति उसमा अज्ञात शक्ति प्राप्त हुन थालेको छ । त्यसै शक्तिका कारण ऊ विभिन्न स्थानमा पुग्दछ, “म मानिस कहिले बर्सिरहेको हिम वर्षा टाउकामा थापेर शिवको नाउँले हिमालमा हुन्छु, कहिले आनन्दल पृथ्वीका सजिला ठाउँमा हुन्छु, कहिले उँटमा चढेर मरुभूमिमा यात्रा गरिरहेको हुन्छु, त कहिले सागरको बाहिरी र भित्री सतहसम्म पुगी जीवन बिताइरहेको हुन्छु (पृ.  ७७-७८) ।” यसरी लेखक पात्रलाई अलौकिक शक्ति प्राप्त भएपछि सर्वव्यापि मानिसका रूपमा, शिव भगवान्‌का रूपमा त कहिले पुरुषका रूपमा विभिन्न स्थानमा पुग्छ । विभिन्न स्थानमा घुमेर खोजी गर्दा पनि उसले नारीको रहस्य पत्ता लगाउन सक्दैन, “यो जीवनजगत् र त्यसमा पनि नारी रहस्यको गहिराइमा पुग्नु र यथार्थ चित्र उतार्नु कहाँ सम्भव रहेछ र !” (पृ. ७९) । त्यसपछि अझ गहन खोजीका निम्ति ऊ नेपालका विभिन्न जातजातिमा परिवर्तन भएको छ ।

म घुम्दैफिर्दै नेपालको सिन्धुलीमा हायू जातिका घरमा पुग्छु । केही दिन हायू परिवारमा बसेपछि कुनै अलौकिक शक्तिद्वारा त्यहाँ विलीन भई भौतिक रूप त्यहीँ हायू जातिकै परिवारमा जन्म लिन पुग्छु । … म जवान हुन्छु । मेरो मोफुम थरकी केटीसँग विवाह हुन्छ । … एकदिन म मेरी श्रीमतीसँग बसेर रमाइलो गरिरहेको थिएँ- अचानक मेरी श्रीमती सर्वजा भएर मेरो छेउमा आइन् र भनिन्, “तिमी अर्कै दिशातर्फ लाग्ने समय भयो । तिमीले धेरै थोक जान्न बाँकी छ ।” यतिखेर मेरो पूर्वस्मृति भयो- म पुरुष अनेक जातजातिमा रूपान्तरित हुँदै आएको रहेछु । … केही महिनापछि म सुरेल जातिको बालकका रूपमा यो धरतीमा देखा परेँ । (पृ. ८९)

यसरी नारी र पुरुषका सम्बन्धबारे खाजी गर्दै लेखक पात्र विभिन्न जातजातिमा रूपान्तरण हुन्छ । ऊ शेर्पा, थकाली, ब्राह्मण, कोचेलगायत विभिन्न जातिमा रूपान्तरण हुँदै जान्छ, “सर्वजा सन्देशपछि म बाहुन, क्षत्री, कोचे, मेचे, गाइने, दमाई, कामी, सार्की, च्यामे, पोडे, हलन्ते, धामी, दनुवार चौधरी, राई, लिम्बू, शेर्पा, राजवंशी या भनौँ सबै जातको सम्पर्कमा आएँ (पृ. ९२) ।” यसरी विभिन्न जातिको सम्पर्कमा आउँदै उनीहरूमा नै रूपान्तरित हुँदै ती जातिहरूमा भएको नारी-पुरुष सम्बन्धबारे खोजी गर्छ ।

सृष्टि सिर्जनाको आदिम स्रोतका रूपमा नारीलाई लिँदै त्यसको रहस्योद्घाटनका लागि लेखक नेपाल र नेपाली जातिहरूमा मात्र रूपान्तरण हुँदैन ऊ स्वैरकल्पनाका माध्यमबाट पश्चिमी मुलुकतिरको परिभ्रमणमा पनि निस्कन्छ, “सर्वजाले दिएको मन्त्रबलका शक्तिले पश्चिमी मुलुकतर्फको नारी चिन्तनबारे बुझ्ने धुनमा म थिएँ (पृ. १०४) ।” त्यसपछि उसको भेट पाश्चात्य सभ्यताकी देवी डायनसँग भएको छ ।

म अदृश्य शक्तिबाट प्रभावित हुँदै गएको रहेछु । आकाशबाट गोलो वस्तुझैँ एउटा प्रकाशपुञ्ज मतिर झर्दै आयो । यो प्रकाशपुञ्जबाट एउटा अनोठौ सुन्दर रूप भएकी युवती देखा परिन् । … ती युवती मपट्टि सर्दै भन्न लागिन्- ‘म राजकुमारी डायना हुँ । म प्रेमकी भोकी छु । म तिमीसँग प्रेमको अँगालामा बाँधिन चाहन्छु ।’ (पृ. १०४)

राजकुमारी डायनासँग विभिन्न ठाउँहरू घुम्दै प्राणी र वनस्पतिका सम्बन्ध, तिनमा नारीपुरुषको सम्बन्ध आदिबारे गहन खोजी कार्य चलिरहन्छ । नारीसम्बन्ध बुझ्नकै निम्ति ऊ नाटककार जर्ज बर्नार्ड सा, कथाकार अन्तोन चेखव आदिमा रूपान्तरण हुन्छ । उनीहरूको जीवनमा आएका अनेक नारीहरू र तिनीहरूसँगको प्रेमप्रसङ्गमा डुबुल्की मार्दै ऊ नारीरहस्यको खोजीमा निरन्तर लागिरहन्छ ।

सर्वजा शक्ति प्राप्त भएकाले म पात्र पूर्वी लोकदेखि पश्चिमी लोकसम्मको सहज यात्रा गर्दै भौगोलिक परिसीमालाई नाघ्न सफल हुन्छ । त्यसका साथै त्यसै शक्तिका सहाराले ऊ कालिक परिसीमालाई नाघ्दै हजारौँ वर्ष पहिलेको प्राचीन समयमा पुग्छ । त्यस क्रममा स्वैरकल्पनाका माध्यमबाट ऊ पहिलेको जीवनमा रूपान्तरित भई मानव र वनस्पतिको सम्बन्धबारे खोजी गर्छ, “म त्यो युगमा प्रवेश गरी विशेष रूपले मानव र वनस्पति सम्बन्धमा नै रुचि लिई लामो समय बिताइरहेँ (पृ. १५२) ।” वनस्पतिहरूको प्राकृतिक जीवनमा पनि नारी-पुरुषको रहस्य लुकेको देखेर ऊ आश्चर्यमा पर्छ र भन्छ, “यसप्रकारको वनस्पति र मानिसबीचको सम्बन्धले चकित पार्दथ्यो । वनस्पति-वनस्पतिबीचमा नारी र पुरुषको सम्बन्धझैँ प्रेमप्रणय भएको पनि देखिन्थ्यो । नारी वनस्पति र पुरुष वनस्पतिको एकआपसको संयोजनबाट वनस्पति सृष्टि रचना भइरहेको पाइन्थ्यो (पृ. १५३) ।” यसले म पात्रमा नवीन ज्ञानको क्षितिज खुल्दै जान्छ र वनस्पति र जीवको सृष्टि प्रक्रियामा रहेको समानताको रहस्योद्घाटन हुन थाल्छ ।

ज्ञानको खोजीकै क्रममा म पात्रको स्वैरकाल्पनिक यात्रा विभिन्न चिन्तक दार्शनिक व्यक्तित्वहरूमा रूपान्तरण हुँदै अझ अघि बढ्छ । ऊ गौतम बुद्ध, जिसस, मोहम्मदजस्ता धार्मिक चिन्तकहरूमा पनि रूपान्तरित हुन्छ । एउटा पुरुषका रूपमा ऊ पूर्वी जगत्‌लाई संसारभरिका मानिसलाई दिने चिन्तन, दर्शन, धर्म र संस्कृतिको आदि स्रोत एसिया (पृ. १८०) मा जन्मिएका बुद्ध, जिसस र मोहम्मदका चिन्तनहरूको परिभ्रमण गर्दछ । यी सबै धर्म, संस्कृति, चिन्तन आदि एकआपसमा भिन्न नभएर एकै मूलको रूपान्तरण अर्थात् “यो वस्तु रचना भनेको वस्तुको रूपान्तरण मात्र हो” (पृ. १९१) भन्ने निष्कर्षमा पुग्छ । यसले म पात्रको रूपान्तरण प्रक्रिया र स्वैरकाल्पनिक यात्रामा विश्राम प्रदान गरेको छ यद्यपि उसको यात्रा यतिमै रोकिँदैन ।

स्वैरकल्पनाका माध्यमबाट म पात्र मानव र मानवीय पात्रमा मात्र रूपान्तरण भएको छैन, ऊ मानवेतर प्राणीमा पनि क्रमशः रूपान्तरण हुँदै जान्छ । ऊ नारीरहस्यको खोजीकै निम्ति विभिन्न वनस्पतिहरूमा पनि रूपान्तरण हुन्छ, “म बढ्दै आकासिँदै सय फुट जति अग्लो र १०-१२ फिट गोलाइको मोटो रूख धारण गरी अन्य वनस्पतिभन्दा भिन्न विशेषता राख्न सफल भएँ । … क्यालिफार्नियाको जङ्गलमा समर ट्रीका नाउँबाट लामो समय बाँचेर वनस्पति संसारको इतिहास बन्दै गएँ (पृ. १९६) ।” यसरी म पात्र विभिन्न स्थानका विभिन्न वनस्पतिहरूमा रूपान्तरण हुँदै नारीपुरुषको सम्बन्धको खोजी निरन्तर लागिरहन्छ ।

सृष्टि रहस्यको खोजीमा म पात्र विभिन्न रूपमा रूपान्तरण हुनुका साथै विभिन्न व्यक्तित्वहरूसँग अनुसन्धानात्मक यात्रामा पनि निस्केको छ । ऊ नोबेल पुरस्कार प्राप्त नारी साहित्यकार सेल्मा लागरलोफका साथ लागेर विभिन्न समुद्रहरूको यात्रा गर्दै त्यहाँका जीव र वनस्पतिको अध्ययन गर्छ । सेल्मासँगै उसले जेम्बेजी नदी, दक्षिण अफ्रिकाको जङ्गल, सरन घाँटी, क्रुकर वन, गङ्गटाका संसार, भालुको संसार, ज्वालामुखी, चक्रपात आँधीबेहरी, अन्तरिक्ष, विभिन्न युद्ध स्थलहरूलगायत संसारका विभिन्न स्थान भ्रमण गर्छ  । यसरी नारी र पुरुषबीचको रहस्यमय सम्बन्ध बुझ्न लेखक पात्र पुरुषमा परिवर्तन भई विभिन्न जाति, प्राणी र व्यक्तिमा रूपान्तरण हुँदै हजारौँ वर्ष बिताइएको कुरा स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ ।

मैले राजकुमारी डायना र कार्नेसन फूलको सङ्गतमा कति हजार वर्ष पातालमा बिताएँ लेखा नै छैन, सेल्मालागरलोफले मलाई कति हजार वर्ष समुद्र, दक्षिण अफ्रिका, अन्य ठाउँका जङ्गलहरू र त्यहाँका पशुपक्षीसँग अन्तरिक्षबाट देखिने दृश्यको माध्यमबाट विविधीकरण रूपान्तरणमय सृष्टिरचनाको ज्ञान, अवलोकन गराएँ; त्यसको पनि लेखा छैन (पृ. २८३) ।

संसारका सबै वस्तु, प्राणी, वनस्पति आदिको खोज अध्ययन गरी सकेपछि लेखक पात्रले नारी र पुरुषबीचको विशिष्ट सम्बन्ध बोध गर्छ । त्यसपछि उसलाई जीवनलक्ष्यमा पुगेको अनुभव हुन्छ र ऊ लामो समयदेखि रोकिएको उपन्यास पनि लेख्न सक्ने हुन्छ ।

सृष्टि रचनाको यथार्थ रूप बिहानको सूर्यझैँ झलझलाकार भएर देखा पर्‍यो । यसपछि मैले आफूलाई जीवनलक्ष्यमा पुगेको अनुभव गरेँ । … यो संसार रङ्गीविरङ्गी रहेछ, अनेकौँ प्रकारका दृश्य, रूप, रङ्ग, गन्धको समिश्रण, विविधताको खानि । … नारीपुरुष सृष्टि रचनाका पवित्र जोडाहरू एकआपसमा सम्मान र स्नेह पवित्रताको कसिलो बन्धन, मीठासमय जीवन । सृष्टि रचनालाई हेर्ने, बुझ्ने व्यापक फराकिलो मन र भावना । … जीवनको यथार्थ चाहिँ के हो बुझ्न सफल भएपछि मैले चाहेभन्दा राम्रो गहन दार्शनिक सर्वजा उपन्यास त्यसैभित्र पाएँ । (पृ. २८७)

मुख्यतः लेखक पात्रको स्वैरकाल्पनिक यात्रा नारी र पुरुषबीचको रहस्यमय सम्बन्धको खोजीका निम्ति हो तर त्यतिमा मात्र यो बृहत् यात्रा सीमित छैन । यो यात्रा विशिष्ट ज्ञानार्जन प्रक्रिया पनि हो । यो उपन्यासकारको भौतिक जगत्‌को यात्राका साथै आन्तरिक मनोजगत्‌तर्फको यात्रा पनि हो । ज्ञानको असीमित परिधिलाई एउटा समय, एउटा क्षेत्र र एउटा रूपको एउटा जीवन मात्र पर्याप्त छैन । त्यसका लागि युगौँको यात्रा आवश्यक हुन्छ जुन जल, थल सबैतिर व्याप्त हुनुपर्छ, जुन जीव, वनस्पति सबैमा व्याप्त हुनुपर्छ । यसका लागि जीवनको वास्तविक यथार्थ सम्भव संयन्त्र नभएकाले उपन्यासकारले स्वैरकल्पनाको सहारा लिएका छन् । वास्तवमा ज्ञानको असीमिततालाई यथार्थको सीमित परिधिलाई समात्न असमर्थ छ । यो आयामेलीहरूको समग्रताको सिर्जनात्मक चिन्तन पनि हो ।

सर्वजाको रूपान्तरण र स्वैरकाल्पनिक यात्रा लेखक र साहित्यकारका लागि एउटा उपदेश यात्रा पनि हो, गौतम बुद्धको ४५ बर्से यात्राजस्तै । सोह्र वर्षे बैँसमा उम्रेको उन्मादलाई विशिष्ट ज्ञानको समाधि ठानेर उपन्यास जस्तो महत् विधामा हात हाल्ने आलाकाँचा लेखकहरूका निम्ति यो एउटा उपदेश हो । यो उपन्यासको लेखनको महान् यात्रा हो जसका निम्ति व्यापक समय, व्यापक क्षेत्र र व्यापक आयाममा ज्ञानको खोजी गरेर मात्र उपन्यास लेखनको समाधिमा पुगिएको छ । उपन्यास एक किसिमले ज्ञानको समाधिस्थल बनेको छ । त्यसैले त उपन्यास आधुनिक साहित्यको गद्य महाकाव्य हो । यो नेपाली साहित्यको एक महत् गद्य महाकाव्य हो ।

सर्वजाको मेटामर्फोसिस (रूपान्तरण) काफ्काको मेटामर्फोसिसभन्दा व्यापक आयामको छ । काफ्का अस्तित्वबोधका लागि पारिवारिक जीवनका उल्झनहरूमा धेरै भुलेका छन् भने तेराखले त्यसको सीमा उलङ्घन गरेका छन् । उनले ओविडको १५ ठेली किताबको व्यापकतालाई २८७ पृष्ठभित्र समेटेका छन् । ओविड ग्रिसेली मिथकमा रमाएका छन् भने तेराख त्यसभन्दा अझ व्यापक पूर्व र पश्चिमको वैज्ञानिक ज्ञानमा रूपान्तरित भएका छन् । यस अर्थमा तेराखको मेटामर्फोसिस तेस्रो पुस्ताको रोबोटयन्त्रजस्तै उन्नत देखिन्छ ।

अन्त्यमा, मोफसलमा साधनारत साहित्यकारहरूप्रति पनि नेपाली साहित्य उत्तिकै जिम्मेवार ढङ्गले ऋणी बन्दै जाओस् ।

शुभकामना !

अस्तु !