“जाने भन्दाभन्दै दुई वर्ष पुग्न लागिसक्यो, यस पालि त पक्कै जानुपर्छ है दाइ !” पारिवारिक कार्यक्रममा भेट भएको बेला मधु न्यौपाने भाइले घचघच्याए ।
“गुफाभित्र बाघ बस्छ भन्ने प्राचीन जनविश्वास अनुसार” जेठको गैंडुपूर्णिमाका दिन काँडेतार लगाएर गुफाको मुख बन्द गरी कार्तिकको गाईतिहारे औँसीका दिनबाट मात्र खोलिने गुप्तेश्वर महादेव गुफा जाने सन्दर्भमा हामी फुपूचेला र मामाचेलाका बिचमा यस्तो संवाद हुँदै थियो ।
धेरै टाढा नभए पनि ललितपुरको दक्षिणी क्षेत्रमा अवस्थित “गुप्तेश्वर महादेव गुफा” पुग्ने पटक पटकको हाम्रो योजना विविध कारणले सफल हुन सकिरहेको थिएन । यस्तैमा, मधुभाइको कुराले पुनः उत्साहित बनायो ।
“यसपालि त जसरी पनि जाने हो बाबु, भाकल नै भइसक्यो !” नजिकै रहेकी श्रीमतीजीले पनि मधुभाइको कुरामा सही थाप्दै भनिन् ।
“पोहोर जाने भन्दाभन्दै समूह नमिलेपछि क्यान्सल गर्नुपर्यो, अब चाहिँ ढिलो नगरी जानुपर्छ,” मैले भनें । तत्पश्चात् सरसल्लाह गरी हामीले माघ २२ मा त्यहाँ जाने कार्यक्रम तय गर्यौँ । १२ जनाको टोली जुट्यो । माइक्रोबस रिजर्भ गरियो ।
“तिमीहरू गुप्तेश्वर जाने बेलामा मलाई नछुटाउनू है भनेर कल्पना अर्याल दिदीले भन्नुभएको थियो, उहाँलाई त खबर गर्नै बिर्सिएछ लौ !” भोलिपल्ट श्रीमतीजीले सम्झाइन् ।
गुप्तेश्वर जान धेरै इच्छा गर्ने मध्येमा छिमेकी कल्पना भाउजू पनि हुनुहुन्थ्यो । त्यसैले श्रीमतीजीले उहाँलाई यसबारेमा जानकारी गराइन् । उहाँले “त्यो दिन आफन्तको बिहेमा जानुपर्ने भएकाले आफूलाई जान नमिल्ने र मलाई छोडेर गयौ भने तिमीहरूलाई पाप लाग्ला है” भन्नुभएछ ! अब फसाद पर्यो, पापै लाग्छ भनेपछि कसरी छोडेर जानू ? यही कारण माघ २२ गते गुप्तेश्वर जाने कार्यक्रम फेरि एकपटक स्थगित भयो ।
कहिले कसको नमिल्ने, कहिले मौसम अनुकूल नहुने, यस्तैमा केही दिन बिते । लाग्यो, भगवान्को इच्छाविना उहाँको दर्शन गर्न नपाइने नै रहेछ ! उता मधुभाइले घचघच्याउन छाडेका थिएनन् । भाइकै सल्लाहमा फागुन १९ गते शनिवारको मिति पुनः तय गरियो । यस पटक भने, ग्रुप नमिले स्कुटरमै भए पनि जाने मनसाय थियो तर १६ जनाको टोली तयार भयो ।
गुप्तेश्वर पुग्ने भएपछि, बाटोमा पर्ने लेलेको मनकामना र नल्लुको पाथीभराको दर्शन समेत गर्ने कार्यक्रम बन्यो । माइक्रोबस रिजर्भ गरियो । चिया, दही, चिउरा, तर्कारी, अचार, प्लेट–गिलास, पानी लगायतका सामाग्रीहरू क–कसले के–के ल्याउने भनेर कार्य विभाजन गरियो ।
निर्धारित दिन अर्थात् २०८० फागुन १९ गते शनिवार, बिहान ७ बजे हिँड्न कार्यक्रम थियो । त्यसै अनुरूप प्रकाश अधिकारीभाइ माइक्रोबस लिएर साँढे छ मा नै आइसकेका थिए । हामी पनि अधिकांश जम्मा भइसकेका थियौं । सरसामानहरू गाडीमा हाल्ने काम भयो ।
भ्रमण टोलीका केही सदस्य भने सदा झैं यस पटक पनि समयमा आइपुगेनन् । अरूलाई कुराएर तोकेको समयमा नआउने मानिसका व्यवहार देख्दा दिक्क लाग्छ, तर के गर्नु कुर्नुको विकल्प थिएन ! प्रकाश भाइलाई पटक पटक हर्न बजाउन लगायौं । अन्ततः निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी ७:३० बजे एकदिने धार्मिक यात्राको लागि हामी कुमारीगालबाट निस्कियौँ ।
शिशिर ऋतुको समय । बिहानको मौसम हल्का चिसै थियो । बिदाको दिन भएकोले सडकमा सवारीसाधन कम चलेका देखिन्थे । माइक्रोमा सुमधुर भजन बजिरहेको थियो । गौशाला, सिनामंगल, कोटेश्वर, ग्वार्का, सातदोबाटो हुँदै चापागाउँ दोबाटोबाट हाम्रो गाडी चक्रपथ बाहिर बायाँतर्फको बाटोतिर मोडियो । हाम्रो आजको यात्रा मधुभाइको अगुवाइमा हुने तय भएकाले चापागाउँबाट भाइलाई लिएर जानु थियो । त्यसैले यहाँबाट मैले मधुभाइलाई फोन गरेर हामी केही समयमै चापागाउँ आइपुग्ने जानकारी गराएँ ।
सातदोवाटोबाट सुनाकोठी, ठेचो हुँदै हामी अघि बढ्यौं । बाटो राम्रै भए पनि केही ठाउँमा साँघुरा थिए । पुराना घरहरूले गाउँले जनजीवनको झल्को दिन्थ्यो । हाम्रो गाडी प्याङगाउँ कटेर ८:२० मा चापागाउँ, टाखेल पुग्यो । मधुभाइ हामीलाई नै कुरिरहेका थिए । उनले हामीलाई घरमा लगेर एकएक कप चिया नखुवाई नपठाउने भनेर अड्डी कसे । मलाई पनि, “भरे फर्कंदा कुन बेला हुने हो बरु अहिले नै फुपू दिदिसँग भेटेर जानु उपयुक्त हुन्छ” भन्ने लाग्यो । हामी सबै माथि उक्लियौं ।
बुहारी गीता न्यौपाने चिया तयार गर्दै रहिछन् । हामी दिदीसँग गुप्तेश्वरको बारेमा जानकारी लिन थाल्यौं । उहाँले गुप्तेश्वर महादेवको गुफा गैंडु पूर्णिमादेखि गाईतिहारे औँसीसम्म बन्द गर्ने प्रचलन, त्यहाँको धार्मिक महत्त्व, मान्यता र किंवदन्तीको बारेमा बताउनुभयो । आफू बिहे गरेर यहाँ आएदेखि आफ्ना श्रीमान् स्वर्गीय नहुन्जेलसम्म प्रत्येक वर्ष रुद्री लगाउन त्यहाँ जाने गरेको संस्मरण समेत उहाँले सुनाउनुभयो ।
यत्तिकैमा बुहारी गीता चिया लिएर आइन् । उनको मीठो चिया सहितको आतिथ्य ग्रहण गरेर, फुपू दिदीसँग बिदाबारी भयौं । हुन त, गीताको पनि हामीसँगै जाने इच्छा थियो तर अस्वस्थताका कारण उनी जान नसकेकोमा खल्लो मान्दै ९:०५ बजे मधुभाइको नेतृत्वमा हाम्रो टोली त्यहाँबाट मनकामना मन्दिरतर्फ प्रस्थान गर्यो ।
अगाडिको बाटो राम्रो पिचरोड थियो । बाटोमा सवारीसाधनको चाप थिएन । जङ्गलछेउ भएर होला मौसम भने चिसो चिसो नै थियो । पिचरोड छोडेर केही मिनेटको कच्ची बाटो चढेपछि बिहान ९:३५ तिर मनकामना मन्दिर पुगियो । पिकनिक मनाउन आएका स्कुल, कलेज र अन्य समूहका सवारी र क्याटरिङ्का कारण यहाँ व्यापक भिडभाड देखिन्थ्यो ।
ललितपुरको लेलेमा २०६२ सालमा निर्मित यस मन्दिरले गर्दा लेले मनकामना क्षेत्र हिजोआज पर्यटकीय स्थल बन्दै गइरहेको छ । आन्तरिक पर्यटकका कारण यहाँका उत्पादनले घर छेउमा नै बजार पाउन थालेका छन् । जग्गाजमिनको भाउ आकासिएको रहेछ । जसबाट स्थानीय जनताको आर्थिक स्तरमा क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । पर्यटनबाट पनि विकास हुन्छ भन्ने उदाहरण हो यो ।
हामी मन्दिर परिसरमा पुग्दा लाइन अव्यवस्थित थियो । यस्तो भीड हुने स्थलमा स्वयंसेवक तथा प्रहरी कतै देखिएनन् । हामी लाइनमा बस्यौं । लाइन भने फिटिक्कै सर्दैनथ्यो । मानिसमा लाइन बस्ने भन्दा विभिन्न बहानाबाजी गर्दै बेलाइनबाट छिर्न खोज्ने प्रवृत्ति हाबी देखिन्थ्यो । ढिलो सबैलाई हुन्छ भन्ने कुराको हेक्का कसैले राखेको पाइएन ।
यसै बेला, काठमाडौंको २८ नम्बर वडाबाट ४ वटा बसमा मन्दिर दर्शनका लागि आएको ज्येष्ठ नागरिकको समूह आइपुग्यो । त्यस टोलीको व्यवस्थापन गर्दै आएकाहरूले सबैलाई लगेर मन्दिरको ढोकामै थुपारे । लाइन झन् भद्रगोल बन्यो । हामीले “लाइनमा बसौं, सबैलाई सुबिस्ता हुन्छ” भन्दा नमानेर, ल्याउनेहरू उल्टै “ज्येष्ठ नागरिकको अधिकारको“ ठूला कुरा गर्न थाले । तर भिडभाडबाट वृद्धहरूलाई हुने कष्ट बारे भने उनीहरूले ध्यान पुर्याएको पाइएन ।
लाइन नसरेपछि, धेरै बेरदेखि लाइनमा बसेकाहरू आक्रोशित भई कराउन थाले । केही नलागेपछि हाम्रा टोलीका कल्पना मिश्र र मेधा मिश्र लाइन व्यवस्थित गर्न भनेर कस्सिए । एकजनाले ढोकामा बसेर लाइनबाट दर्शनार्थी भित्र पठाउने र अर्कोले भित्रबाट चाँडै निकाल्न थाले । बल्ल लाइन सर्न लाग्यो । अन्ततः करिब १ घण्टा जतिमा हामीले पूजा र दर्शन सक्यौं । यदि दुईजनाले अघि सरेर व्यवस्थापन नगरेको भए लाइन नसरेर दर्शनका लागि २–३ घण्टा लाग्ने सम्भावना थियो । यसैले, दर्शनार्थीको सुबिस्ताका लागि यहाँ स्वयंसेवक र प्रहरी आवश्यकता खट्कियो ।
मन्दिरबाट ओर्लंदै गर्दा हाम्रो टोलीका केहीले त्यहाँ बेच्न राखिएका स्थानीय उत्पादन तरकारीहरू किने । यात्रुहरू आउने क्रम जारी रहेकाले भिडभाड पनि बढ्दै गएको देखिन्थ्यो । पौने ११ बजिसकेकाले ढिला नगरीकन हामी भने अर्को गन्तव्य नवस्थापित पाथीभरा मन्दिरतर्फ प्रस्थान गर्यौं ।
अगाडिको बाटो निर्माणाधीन भएकोले खराब हालतमा थियो । जताततै निर्माण सामाग्री थुपारेको कच्ची बाटोमा गर्मी र धुलो खेप्दै ११:१५ मा नल्लुस्थित पाथीभरा मन्दिर परिसरमा पुगियो । मन्दिरमा पुग्न त्यहाँबाट झन्डै १० मिनेट जति उकालो सिँढी चढ्नु पर्ने रहेछ । यहाँ भने खासै भीड थिएन । हामीले सजिलै सँग दर्शन गर्यौं ।
२०६७ सालमा स्थापित यस “प्रतिकृति” पाथीभरा मन्दिरमा, मातालाई एक पाथी द्रव्य (सिक्का) चढाउने हो भने चारहजार, धान चढाए एक सय र चामल चढाए दुई सय दस्तुर तिर्नुपर्ने रहेछ । उचाइमा रहेकाले होला चिसो हावा चलिरहेको थियो । यहाँबाट वरपरका बस्ती प्रस्ट देखिन्थे । बाटोमा मानिसहरू स्थानीय उत्पादन बेच्न बसेका थिए । तल ओर्लेर घरबाटै थर्मसमा लगेको चिया खायौं । अनि, अपराह्न १२ बजे यहाँबाट आजको अन्तिम तथा प्रमुख गन्तव्य गुप्तेश्वर गुफातर्फ प्रस्थान गर्यौं ।
जङ्गलको बिचको कच्ची बाटोको यात्रा सोचे जति सहज थिएन । बाटोमा सवारीसाधन र मानिस देख्न दुर्लभ थियो । घर–पसल देखिन्नथे । भोक लागिरहेको थियो, खानेकुरा पनि थिए तर दर्शन सकेर मात्रै खाने भनेर चिया र पानी बाहेक केही पनि खाएका थिएनौं हामीले ।
करिब डेढ घण्टाको यात्रा पछि चौघरे भन्ने ठाउँमा प्रहरी चेकपोस्ट देखियो । त्यहाँ सवारीसाधनको विवरण दर्ता गर्नुपर्ने रहेछ । अगाडिको बाटो अझै खराब हालतमा थियो । कतिपय ठाउँको कच्ची धुलौटे र ढुङ्गे बाटोमा हाम्रो सवारीले नतानेर ओर्लेरै हिँड्नु पर्यो । हिँड्ने क्रममा बाटोका दायाँबायाँ फुलेका जमानेमान्द्रो बुटी, सुनगाभा, लालीगुराँस लगायतका दृश्य चित्ताकर्षक लाग्थे ।
एकघण्टा जतिको यात्रा कहिले हिंड्ने कहिले गुड्ने गर्दै २:३० बजे ब्रह्मा, विष्णु र महेश्वरको विशाल मूर्ति निर्माण भएको भारदेउ भन्ने स्थानको टुप्पोमा पुगियो । यहाँबाट फुलचोकी लगायतका डाँडाहरू देखिन्थे ।
यहाँबाट गुप्तेश्वरको गुफा भएको ठाउँसम्म पुग्न सिँढी ओर्लनु पर्ने रहेछ । ढुङ्गा छापिएको सिँढीहरू व्यवस्थित थिए । २५६ वटा सिँढी ओर्लेर १० मिनेटमा गुफा परिसरमा पुग्यौं हामी । वरिपरि देवदेवीका मूर्ति र अन्य संरचना निर्माण हुँदै रहेछन् । समथर चौरको दक्षिणी भागमा देवस्थान नजिकै रहेको रुखनेर गुफाको प्रवेश मार्ग देखियो ।
“ल दाइ, यहीँबाट गुफाभित्र छिर्नुपर्छ । सबैजना एकै पटक जान सकिन्न, म अघि लाग्छु एकएकजना गरेर बिस्तारै आउनुहोस् ।” यति भनेर मधुभाइ गुफा भित्र छिरे । भित्र निस्पट्ट अँध्यारो देखेपछि पो बिहान घरबाट निस्कँदा लगेको टर्च लाइटको सम्झना भयो मलाई । टर्च त माथि गाडीमै पो छुटेछ ! थकाइका कारण माथि पुगेर टर्च ल्याउने आँटै आएन । धन्न, मधुले पनि टर्च बोकेका रहेछन्, नत्र आपत् पर्ने रहेछ ।
म मधुलाई पच्छ्याउँदै अघि बढें । गुफाको मुखबाट दश मिटर जति छड्के लागेपछि साँघुरो चेप आयो । त्यहाँबाट छिर्न अलि मुस्किल पर्ने रहेछ । धर्मढोका भनिने यस चेपबाट छिरेपछि ठाडै तलतिर खाल्डोमा झर्नुपर्ने रहेछ । समाउने र टेक्ने राम्रो ठाउँ थिएन । टर्च देखाउँदै मधुले सहारा दिएर टेक्ने ठाउँ देखाए । उनकै अगुवाइमा म बिस्तारै तल झरें । हतारिएर ओर्लने ठाउँ हैन रहेछ यो ! तलतिर दर्शनार्थीले चढाएका त्रिशुलका रास थियो ।
तल करिब एक मिटर चौडा र ३० मिटर लामो ठाउँ थियो । गुफाभित्र गणेशको शिर, गाईको थुनजस्ता अनौठा शील कृतिहरू देखिए । गुफाभित्र चमेराहरू झुन्डिएर रहेका पनि देखिन्थ्यो । छेउको कुनामा महादेव लगायतका देवाकृतिका पत्थर थिए । त्यहीँ गुप्तेश्वरको पूजा गरिने रहेछ ।
मभन्दा पछि लक्ष्मी पाण्डे र गीता विष्ट हुनुहुन्थ्यो । उहाँहरू दुबैलाई आफू ओर्ले जसरी नै ओरालें मैले । त्यसपछि श्रीमतीजी कल्पना मिश्र पनि उसैगरी ओर्लिन् । धेरै मानिस एकै पटक भित्र रहने ठाउँ पनि नभएको र यसरी बस्दा गुफामा अक्सिजनको समस्या समेत आउन सक्ने ठानी ओर्लेकाले पूजा र दर्शन गर्दै फर्कने र बाँकी ओर्लने क्रम चल्यो ।
यसैगरी, क्रमशः सती सिलवाल, अञ्जन कट्टेल, मीना कट्टेल, यादवराज मिश्र, मेधा मिश्र र सरस्वती कट्टेलको पनि सहज गुफा प्रवेश भयो । करिब २५ मिटर लामो गुफामा अलि भित्रपट्टि अर्को सानो गुफा पनि रहेछ । त्यहाँ गणेशको पूजा गरिने मधुभाइबाट जानकारी पाइयो । मैले अलि भित्रसम्म पुगेर नियालें । अँध्यारोका कारण धेरै पर पुग्ने अवस्था भएन । पूजा र गुफा अवलोकन पछि ३:३० मा हामी बाहिर निस्कियौं । हाम्रो टोलीका कल्पना अर्याल, नारायणराज मिश्र, शर्मिला मिश्र, मीना अर्याल, शान्ता गौतम, कल्पना कँडेल र लक्ष्मी कट्टेलले भने गुफा प्रवेश गर्नु भएन ।
यस ठाउँको बारेमा हामी अनभिज्ञ थियौं । साँघुरो अँध्यारो गुफाभित्र पसेर गुप्तेश्वर महादेवको दर्शन गर्न पाउनु, मधुभाइको सहयोग विना हाम्रालागि सम्भव थिएन । यस दुर्लभ अवसरका लागि हामी सबैले भाइप्रति आभार प्रकट गर्यौं । गुफाभित्र पस्न र निस्किन त्यहाँ पहिले गइसकेका मानिसको सहयोग विना निकै कठिन हुने रहेछ ।
गुफाबाट निस्केर सोच्दा, “बाघ बस्छ भनेर गुफामा तारबार लगाएर बन्द गर्ने” परम्परागत चलनको पछाडि, वर्षाको समयमा पानीको कारण गुफा चिप्लो हुने भएकाले छिर्न सहज नहुने, गुफाभित्र छिरेको पानी निकास अभावले त्यहीँ जम्ने र सो पानी सोसिएर सुक्न निकै समय लाग्ने भएर होला कि जस्तो लाग्यो मलाई ! हुन त, माता पार्वतीको वाहन भएकोले परापूर्व कालमा महादेव–पार्वती गुफाभित्र रहँदा यहाँ बाघले पहरा दिने गरेको हुनसक्ने मत पनि स्थानीयको नभएको होइन । तर, जङ्गलको बिचमा रहेको गुफामा कहिलेकाहीँ बाघ आउनु कुन अनौठो कुरा भयो र ? कुनै जमानामा यस्तै दृश्य कसैले देखेकाले बाघ सम्बन्धी यी किंवदन्ती वा प्रचलन चलेको हुनसक्ने कुरालाई पनि नकारिहाल्न भने सकिएन !
हामी रहँदासम्म पुजारी लगायत कसैलाई देखिएन । यहाँको चकमन्न अवस्था देख्दा, उचित प्रचार प्रसार नहुँदा नजिकको तीर्थ हेलां भए झैँ लाग्यो ! सायद, लगनखेलबाट ३० किलोमिटर नजिकै प्राकृतिक रूपले अलौकिक गुफा रहेको छ भन्ने थाहा नभएरै होला, गुफा हेर्न भनेर उपत्यकावासीहरू प्रायः पोखरा, खोटाङ लगायतका स्थानमा गइरहेका छन् !
किंवदन्ती अनुसार, सत्ययुगमा भस्मासुर राक्षसले आफूले पाएको वरदानको परीक्षण गर्ने क्रममा वरदाता महादेवलाई लखेट्दा महादेव भागेर यही गुफामा आई गुप्तवास बसेका थिए रे ! यसरी ईश्वर गुप्त रूपले बसेको ठाउँ भएकाले यसलाई गुप्तेश्वर भनिएको हो भन्ने स्थानीयको मत छ ।
समुद्र सतहदेखि २५१८ मिटरको उचाइमा अवस्थित यस गुफा हिन्दु र बौद्ध दुबै धर्मावलम्बीको आस्थाको स्थल हो । लामा र झाँक्रीहरू दैवीशक्ति प्राप्तिको आकाङ्क्षाले गुप्तेश्वर महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ । यहाँको दर्शनले सबै प्रकारको सङ्कटबाट मुक्त मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमा र माघे सङ्क्रान्तिमा मेला लाग्ने रहेछ । साउनको सोमबार र माघ महिनामा पनि दर्शनार्थीहरू आउने गरेका छन् । बाटो, पिकनिक स्पट, पसल, खानेपानी, बिजुली, सुरक्षा आदिको उचित व्यवस्थापन गर्न सके आन्तरिक थप पर्यटकलाई लोभ्याउन सकिने देखिन्छ । दक्षिणी ललितपुरमा रहेका कालेश्वर लगायतका अन्य देवस्थल सहितको एकदिने “गुप्तेश्वर भ्रमण प्याकेज” ल्याएर पनि स्थानीय निकायले यस क्षेत्रमा पर्यटन प्रवर्धन गर्न सक्छन् ।
भोकले आलसतालस पारिरहेकोले हामी सिँढी चढ्न थाल्यौं । मौसम बिग्रिएर आकाशमा कालो बादल मडारिन थालेका थिए । माथि आएपछि नवनिर्मित ब्रह्मा, विष्णु र महेशको ४५ फिट अग्लो भव्य र विशाल मूर्ति अगाडि तस्बिर लियौं । ब्रह्मा, विष्णु र महेश भनिए पनि विष्णुको भनिने मूर्ति बुद्धकै देखिन्थ्यो भने, ब्रह्मा र शिवको आकृतिमा पनि बुद्धकारकै बाहुल्यता थियो ।
यस क्षेत्र कोन्ज्योसोम गाउँपालिकामा पर्ने रहेछ । तामाङ भाषामा कोन्ज्यो भनेको देवता र सोम भनेको तीन अङ्क बुझाउने कुरा त्यहाँ भेटिएका माइला तामाङबाट थाहा भयो । यहाँ त्रिदेवको मूर्ति बनाएको कारण पनि सायद यही नै रहेछ ।
यति जानकारी बटुल्दै गर्दा, उतातिर खानाको भाग तैयार भइसकेको थियो । पानी पर्ने सङ्केत देखिएकोले बाटोको अवस्था सम्झेर त्यहाँ धेरै बेर बसिरहन उपयुक्त ठानेनौं । छिटोछिटो खाना र चिया खायौं । खाएको फोहोर व्यवस्थापन गर्यौं । अनि, गुप्तेश्वर महादेवलाई स्मरण गर्दै ४:५० बजे हाम्रो फिर्ती यात्रा उहीँ बाटो हुँदै सुरु भयो ।
फर्कँदा ओरालो भएकाले गाडीलाई आउँदाजस्तो गाह्रो भएन । यो बाटोमा कार, ट्याक्सी र माइक्रो भन्दा फोरह्विलर वा ठूलो गाडीमा आउनु सहज हुने महसुस भयो । वातावरणमा अँध्यारोको साम्राज्य बढ्दै थियो । कच्ची बाटो सकिएपछि गाडी फिलिलि कुद्न थाल्यो । टाखेलमा आएर मधुभाइ उत्रिए । हाम्रो यात्राको सहजीकरण गरिदिएकोमा हामीले पुनः आभार प्रकट गर्यौं । रात परिसकेकोले, बिहान आउँदा नै फुपू दिदीलाई भेटेर राम्रो गरेछौं भन्ने लाग्यो ।
हाम्रो गाडी प्याङ्गाउँ, ठेचो, सुनाकोठी, सातदोबाटो हुँदै कोटेश्वरतर्फ बढ्दै गयो । गौशालामा आइपुग्दा सवारी जाम थियो । सो जाम छिचोल्दै राति ८ बजे घर आइपुगेर, घरबाट करिब ४० कि.मि. टाढा ललितपुर जिल्लाको भारदेउमा पर्ने प्राचीन गुप्तेश्वर महादेवको १२ घण्टे रोमाञ्चक र अविस्मरणीय यात्रा सम्पन्न गरियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










