विषयाराम्भ
चन्द्रप्रकाश बानियाँको मदन पुरस्कार प्राप्त उपन्यास महारानी (२०७६) ऐतिहासिक घटनामा आधारित छ । यो प्रेमकथामा आधारित उपन्यास होइन, यद्यपि औपन्यासिक घटनाको आरोहअवरोहमा प्रेमको भूमिका महत्त्वपूर्ण रहेको छ । यसै सन्दर्भमा प्रेमसम्बन्धी विशिष्ट धारणा प्रस्तुत गरिएको छ । यसमा आत्मिक प्रेमलाई भावनाको उर्लँदो भेलको सट्टा विचारको नियन्त्रित कुलेसोतर्फ डोर्याइएको छ । आत्मिक प्रेम व्यवहारिक जीवनका लागि उपयोगी हुनुपर्छ । यसले जीवनलाई विनाश होइन प्राण दिनुपर्छ । त्यो प्राण विशेषतः राज्यको अभिभारा बोकेका व्यक्तिहरुका लागि वैयक्तिक स्वार्थभन्दा लोककल्याणका लागि हुनुपर्छ । आत्मिक प्रेमको विशिष्टता प्राप्तिमा भन्दा त्याग र बलिदानमा हुन्छ । त्यस्तो प्रेम काल्पनिक कथाको स्वादमा रम्ने पाठकहरुको भावनात्मक मनमा शान्ति छर्किनुभन्दा वास्तविक जीवनका लागि कल्याणकारी हुनुपर्छ । प्रेम लोकहितका निम्ति बलिदानीपूर्ण हुनुपर्छ भन्ने भाव महारानी उपन्यासले बोकेको छ ।
उपन्यासको प्रेमप्रसङ्ग
पर्वत राज्यका युवराज मलेवमका लागि खाँचीकी राजकुमारी महलवसन्ता र देउपुरकी राजकुमारी विश्वप्रभा दुई जनाको डाली दरबारमा ल्याइएको हुन्छ । डोलीप्रथाअनुसार दुलाहाको विवाह गर्ने साइत नभएको अवस्थामा दुलहीलाई दुलाहाका घरमा पहिले नै ल्याएर राख्ने र उपयुक्त साइतमा विवाह गरिन्छ । खासगरी ठकुरी समाजमा मामा–फुपूका चेलाचेलीमाथि हक लाग्छ भनी भाञ्जीलाई घरमै लगेर पालनपोषण गरी उमेर पुगेपछि विवाह गरिदिने चलनअनुसार डोलीप्रथाको चलन चलेको हो ।
खाँचीकी राजकुमारीभन्दा देउपुरकी राजकुमारी कम उमेरकी भए पनि उनको रुपलावण्य खाँचीकी राजकुमारीको भन्दा लोभलाग्दो थियो । दुवै उन्नाइस–बीस भए पनि देउपुरकी राजकुमारी विश्वप्रभा बीसकी थिइन् । राजकुमारी विश्वप्रभा रुपसौन्दर्यका दृष्टिले मात्र होइन उनको वाक्पटुता र बौद्धिकताले पनि दरबारका सबैलाई प्रभाव पार्न सफल थिइन् । उनलाई ल्याएपछिको ‘‘दुई वर्षको अवधिमा विश्वप्रभाले दरबारलाई यसरी प्रभाव पारिसकेकी थिइन् कि उनीविनाको पवर्त दरबारको कल्पना नै गरिँदैनथ्यो । दरबार र भारदार दुबैका मनमा विश्वप्रभा भविष्यकी महारानीका रुपमा स्थापित भैसकेकी थिइन् ।’’ राजकुमार मलेवम पनि उनको प्रेममा यसरी डुबिसकेका थिए कि ‘‘दुवैजनाले एकअर्काविनाको जीवनको कल्पनासम्म गर्न नसक्ने भएका थिए ।’’
पर्वतका महाराज घनश्यामकी कान्छी रानीको कोखमा पहिले आए पनि युवराज मलयवमभन्दा पछि जन्मिएर मामाघर जुम्ला दरबारमै हुर्किएका राजकुमार भद्रिवम पर्वत राज्य फर्किए पनि उपन्यासमा राज्यका निम्ति द्वन्द्व सुरु भएको छ । जन्मले कान्छो भएको र मलयवमलाई युवराज घोषित गरिसकिएकाले भद्रिवमले दाबी गरेको पर्वत राज्यको राजगद्दी उनलाई हस्तान्तरण गर्न पर्वत दरबार तयार हुँदैन । जुम्ला राज्य र पर्वतका अन्य विरोधी राज्यहरुको सहयोगमा भद्रिवम जसरी पनि पर्वत राज्यको राजगद्दी हत्याउने पक्षमा हुन्छ । अनेक दाउपेच असफल भएपछि भद्रिवमले उनका सहयोगीका योजनाअनुसार पर्वतको आधा राज्य अथवा राजकुमारी विश्वप्रभासँग विवाह दुईवटा विकल्प अगाडि सार्छन् । यद्यपि उनी पहिले नै जुम्लाकी राजकुमारीसँग गहिरो प्रेममा हुन्छन् । राजकुमार मयलवम र विश्वप्रभाको गहिरो प्रेम देखेर नै पर्वत राज्यको आधा भाग प्राप्त गर्न यस्तो माग गरिएको हुन्छ । उनीहरुका विचारमा राजकुमारीलाई त्यागेर पर्वत राज्य बचाउन राजकुमार मलयवम किमार्थ तयार हुँदैनन् र कथमकदाचित त्यसो गरिहाले पनि प्रेमवियोगका कारण उनी कमजोर बन्नेछन् ।
भद्रिवमको अस्वाभाविक प्रस्तावले पर्वत दरबारलाई सङ्कटमा पारिदिन्छ । मलयवम कहिले विश्वप्रभा गुमाउनु परे आत्महत्या गर्छु भन्छन् भने कहिले पर्वतको सिङ्गो राजगद्दी भद्रिवमलाई सुम्पेर राजकुमारी विश्वप्रभाका साथ काशीबास जाने कुरा पनि गर्छन् । उता राजकुमारी पनि आफू नै पर्वत दरबारका लागि समस्या भएको हो भने माइतीदेश फिर्ता जाने अथवा आत्महत्या गर्ने जिद्दी गर्न थाल्छिन् । बडाकाजीको विशेष सक्रियता र सुझबुझका कारण राजकुमारी विश्वभद्रा भद्रिवमसँग विवाह गर्न तयार हुन्छिन् । बडाकाजीले राजकुमारप्रतिको असीम प्रेमलाई नै हतियार बनाएर उनको हित र पर्वत राज्यको सम्र्बद्धनका लागि प्रेमको बलिदान दिन तयार पार्छन् । राजकुमारीको यस निर्णयलाई राजकुमार स्वीकार गर्न तयार नभए पनि ‘‘पर्वत राज्यका भाइभारदारहरुमा रहेको राज्य खण्डित हुन्छ कि भन्ने चिन्ता दूर गर्न र युवराजको उन्नति, प्रगति, समृद्धि र सुखशान्तिका लागि मैले भौतिक शरीरको दान गरेकी हुँ’’ भनी उनलाई मनाउन राजकुमारी सफल हुन्छिन् र भद्रिवमसँग विवाह गरे पनि उनले पर्वत राज्य विरुद्ध कुनै कदम चाल्ने योजना बनाए त्यसको सूचना दिएर मलयवमप्रतिको प्रेम दर्शाइरहने प्रण गर्छिन् ।
भद्रिवमले पर्वत राज्य विरुद्ध धावा बोल्ने योजना बनाउँदै गरेको सुइँको पाउनेबित्तिकै विश्वप्रभाले मयलवमलाई सूचना दिएर पर्वत राज्यलाई बचाउन सफल हुन्छिन् । उनको सूचनाकै कारण भद्रिवमको अन्त्य हुन्छ र पर्वत राज्य अखण्ड मात्र होइन सुरक्षित पनि रहन्छ । त्यसपछि मयलवमले उनलाई राजमाताका रुपमा सम्मान दिएर राख्ने प्रस्ताव गरे पनि आफ्नो कर्तव्य पूरा भएको ठानी सन्यास ग्रहण गरी बेपत्ता हुन्छिन् ।
महारानीको प्रेम सन्देश
नाजी शासनबाट लखेटिएर अमेरिका गएका प्रसिद्ध समाज मनोवैज्ञानिक तथा चिन्तक इरिच फ्रोमको कथन छः अपरिपक्व प्रेम भन्छ– म तिमीलाई माया गर्छु किनकि मलाई तिमी आवश्यक छ; परिपक्व प्रेम भन्छ– मलाई तिमी चाहिन्छ किनकि म तिमीलाई माया गर्छु । पहिलो कथनले आवश्यकताले माया भएको कुरा देखाएको छ जसलाई उनले अपरिपक्व प्रेम भनेका छन् । यसमा आवश्यकता सकिएपछि प्रेम सकिन्छ । दोस्रोमा प्रेमको प्राथमिकता छ, प्रेमकै लागि आवश्यकता सिर्जना भएको छ । यसले आवश्यकताका लागि प्रेम कि ? प्रेमका लागि आवश्यकता ? भन्ने प्रश्न सिर्जना गरेको छ । परिपक्व प्रेम जहिले पनि प्रेमकै लागि आवश्यकताहरुको सिर्जना गर्दछ र प्रेमकै लागि तिनको आपूर्ति पनि गर्छ । महारानी उपन्यासले पारिपक्व प्रेमको दोस्रो बाटो अङ्गालेको छ । राजकुमारी विश्वप्रभा राजकुमार मलयवमको उन्नति, प्रगति र राम्रो भएको देख्न चाहन्छे किनभने ऊ राजकुमारलाई प्रेम गर्छे । राजकुमारप्रतिको प्रेमकै निम्ति उनले बलिदान दिएकी छे । उनले आफूले गुमाएर पनि आफ्नो प्रेमलाई बचाउने बाटो अङगीकार गरेकी छन् । उसको विचार छः ‘‘एउटी केटीका लागि राजपाठ त्यागन्य कुरा प्रेमकथामा राम्रो मानिएला, व्यवहारमा कदापि उचित मानिन्य छैन’’ (पृ. ३०४) । यो उनको परिपक्व विचारको उपजका रुपमा देखापरेको अभिव्यक्ति हो । यस विचारले कल्पनाको उडान भर्ने प्रेमभन्दा यथार्थको धरातलमा घस्रने प्रेमलाई महत्त्व दिएको छ ।
युवराज मलयवमको काँधमा राज्यको अभिभारा भए पनि राजकुमारीसँगको भावनात्मक प्रेममा चुर्लुम्म डुबेका छन् । त्यसैले उनी सारा राजकीय कर्तव्य भुलेर राजकुमारीमो प्रेममा पौडन चाहन्छन् तर उनलाई सम्झाउँदै राजकुमारी भन्छिन्ः ‘‘मानिसका लागि कर्तव्य सबभन्दा ठूलो मानिन्छ । … दरबारले भावी राजा बनाउन्या भनिकन मौरीको बथानले रानी तयार ग¥या झैँ हजुरको पालनपोषण र शिक्षादीक्षामा लगानी ग¥याको छ’’ (पृ. ३०४) । नारीप्रेमभन्दा राज्यप्रतिको कर्तव्यलाई माथि राखेर प्रेमका नाममा राज्यको बरबादी कदापि स्वीकार्य नहुने सन्देश यसमा दिइएको छ । उसको भनाइ छः ‘‘माया, प्रेम, आफन्तको घेराभित्र राजा रहनुहुँदैन’’ (पृ. ३०३) । उनमा प्रेमीलाई आफ्नो बाहुपासमा बाँधेर भावात्मक आनन्द लिने वैयक्तिक लालसा छैन । महात्मा गान्धीको विचार पनि यस्तै उदार प्रेमको पक्षमा छ । उनले भनेका छन्ः प्रेमले कहिल्यै दाबी गर्दैन, यसले सधैँ त्याग गर्छ । राजकुमारी विश्वप्रभाले आफ्नो प्रेममा दाबी गरेकी छैन, उनले देश र जनताका लागि त्याग गरेकी छन् । त्यसैले राजकुमारी भन्छिन्ः ‘‘मेरा लागि हजुरको प्रेम अनमोल छ । मेरा लागि संसारमा हजुरभन्दा प्रिय अर्को केही छैन । हजुरकै कल्याणका लागि आफ्ना इच्छा आकाङ्क्षा र रहरहरु बलिदान गर्न तम्स्याकी हुँ’’ (पृ. ३०२) । वास्तवमा त्याग नै प्रेमको महानता हो भन्ने आदर्शलाई यस उपन्यासले अनुसरण गरेको छ ।
मलयवमलाई प्रेमको घेराभित्रै राखेर कर्तव्यको पथमा हिँडाउन विश्वप्रभाको परिपक्व विचार तारिफयोग्य छ । मलयवम आफ्नी प्रेमिकालाई गुमाएर राजगद्दी सुरक्षित गर्ने निर्णयलाई कदापि स्वीकार नगर्ने पक्षमा हुन्छन् । राजकुमारी जुन गद्दीका निम्ति त्याग गरिन् त्यही गद्दी परित्याग गरी गेरुवस्त्र धारण गरेर काशीबास जाने कुरा गर्छन् । यस प्रकारको बालहठलाई सम्झाउँदै राजकुमारी भन्छिन्ः ‘‘त्यस्तो केटाकेटी जिद्दी नगरिस्यो युवराज । म मर्याकी भए मेरो लाससँग चितामा जलिसिन्थ्यो र ? अवश्य थियान । पर्वत विशाल र अखण्ड राज्य एउटा माया गर्न्या केटीको अन्तिम उपहार सम्झिकन उपभोग गरिस्यो । प्रेमको चिनो सम्झिकन संहालेर राखिस्यो । गद्दीरुपी मायाको चिनो दिन्या मेरी प्रेमिका मरी भनिकन सम्झिस्यो’’ (पृ. ३०२) । भावनात्मक प्रेममा पागल भएका युवराजलाई प्रेमकै जाल बुनेर परिपक्व व्यवहार प्रदर्शन गरेकै कारण पर्वत राज्य त्यस समय अखण्ड बनेको थियो । असल निर्णय सचेत ज्ञानबाट मात्र निस्कन्छ भन्ने बुद्धिवादी प्लेटोको विचार जस्तै राजकुमारीले हृदयबाट उर्लिएको प्रेमलाई चेतनाको बाँधले रोकेर सही मार्गतर्फ प्रवृत्त गराएका छन् । गौतम बुद्धका अनुसार ‘प्रेम असीम छ । प्रेमको असीमिततालाई सबै प्राणीहरुको हितका खातिर संसारको विशालतातिर प्रवृत्त गराउनुपर्छ ।’ महारानीको प्रेम एक व्यक्तिको खुसीमा खुम्चिएको नभएर सर्वहितायः छ । यसको प्रेम सर्वेभवन्तु सुखिनः सर्वे भवन्तु निरामयःको आदर्शबाट अनुप्राणित छ ।
कन्फुसियसका समकालीन तथा माओवादी दार्शनिक लाओस्सुको भनाइ छ कि ‘गहिरो प्रेमले नै बल दिन्छ गहिरो प्रेमले नै साहस पैदा गर्छ ।’ उनले प्रेमलाई शक्ति र साहसको खानीका रुपमा व्याख्या गरेका छन् । प्रेमले मान्छेलाई पागल मात्र बनाउँदैन यसले मान्छेको अन्तर्हृदयमा सुषुप्त अदम्य साहसलाई जागृत पनि गराउँछ । त्यसैले महारानी उपन्यासमा भनिएको छः ‘‘निस्वार्थ प्रेमले मानिसलाई आँटिलो बनाउँछ । अदम्य साहस दिन्छ’’ (पृ. २९०) । पर्वत राज्य सङ्कटमा फँस्दै गएको अवस्थामा त्यसबाट मुक्ति प्रदान गर्ने एक मात्र मार्ग प्रेमलाई यस उपन्यासमा अवलम्बन गरिएको छ । भद्रिवमको कुटिलताबाट पराजित हुँदै गएपछि महाराज घनश्याम, बडाकाजीलगायत सबै भारदारहरु पराजित भइसकेको अवस्थामा र युवराज मलयवम पनि राजगद्दी त्याग्न अथवा आधा राज्य अंश भाग गर्न तयार भइसकेको अवस्थामा राजकुमारीको गहिरो प्रेम नै समस्याको समाधान गर्ने मुख्य साँचो बनेको छ । युवराज र राजकुमारीको गहिरो प्रेमलाई नै हतियार बनाएर विरोधीहरुले षडयन्त्रको जाल बुनिरहेको अवस्थामा उनीहरुको प्रेमको सचेत उपयोगले नै षडयन्त्रको जाल तोड्न र सिङ्गो पर्वत राज्य जोगाउन सफल भएका छन् । त्यसैले हृदयको गहिराइबाट उत्पन्न प्रेमलाई चेतनाको ज्योतिले मार्ग निर्देश गर्न सके प्रेम नै सफलताको कडी बन्न सक्छ भन्ने धारणा यस उपन्यासको प्रेमचिन्तनको सार रहेको छ ।
कन्फुसियसले भनेका छन्ः साधारण मान्छे वैयक्तिक आनन्दबारे सोच्छ, विशिष्ट मान्छे नैतिक भलाइबारे विचार गर्छ ।
महारानी उपन्यास नैतिक प्रेमको पक्षपाती छ । यस उपन्यासको प्रेम–चिन्तन राधाकृष्णको पौराणितक गाथाबाट अनुप्राणित छ । बाल्यकालदेखि नै कृष्णको प्रेममा चुर्लुम्म डुबेको भए पनि कृष्ण आफ्नो कर्तव्य पथमा हिँडेपछि राधाले आफ्नो जीवन प्रेमी कृष्णको प्रेममा नै सपमर्ण गरिन्; उनको मार्गमा अवरोध बनिन् । त्यसैले राधा र कृष्ण प्रेम प्रतीकका रुपमा सदा पूज्य बनेर रहे । यस उपन्यासमा पनि विश्वप्रभा आफ्नो कर्तव्य पूरा गरी शत्रुले बुनेको पर्वत राज्य विरुद्धको जाल काट्न सफल भएपछि सन्यासी जीवन ग्रहण गरी अनुपम प्रेमले पुज्यभूमि वृन्दावन गएकी छन् । श्रीमद्भागवतमा कृष्णले राधाको सम्मानमा दरबार बनाएजस्तै मलयवमले पनि विश्वप्रभालाई राजमाताको सम्मान दिई रानीवासको भव्य भवन तयार गरिरहेको अवस्थामा उनले सन्यासी जीवन रोजेकी छिन् । कन्फुसियसले भनेका छन्ः साधारण मान्छे वैयक्तिक आनन्दबारे सोच्छ, विशिष्ट मान्छे नैतिक भलाइबारे विचार गर्छ । उनले भने जस्तै विश्वप्रभाले पनि राजमाता भएर बसी पर्वत राज्यबाट सक्दो भौतिक सुख प्राप्त गर्न सक्ने थिइन् तर उनले सामान्य मान्छेले जस्तो वैयक्तिक सुखको मार्ग रोजिनन् । उनले प्रेमीको सामीप्यबाट टाढा भएर मलयवमलाई कर्तव्यपथमा लाग्न प्रेरित गरिन् ।
नाट्यसम्राट बालकृष्ण समले भने जस्तै ‘प्रेमीसँगको मिलनले आफ्नो प्रेमको मृत्यु’ हुने डरले टाढा बसेर माया गाढा बनाउने मार्ग रोजेकी छिन् । उनले राधा र कृष्णले प्रेमलीला गरेको पवित्र पुन्यभूमि रोेजेर कन्फुसियसले भने जस्तै वैयक्तिक सुखको सट्टा नैतिक भलाइको पथ पक्रेर सदा पूज्य बनिन् । ‘‘पर्वत राज्यको अखण्डताका निमित्त सारा सर्वस्व बलिदान गर्ने धीरोदात्त वीराङ्गाना विश्वप्रभाले लोकबाट ‘देवी’को सम्मान पाइन् । पूजिन थालिन् । आजपर्यन्त पुजिँदै छिन्’’ (पृ. ३६८) ।
महारानी उपन्यासको प्रेम–चिन्तनको पृष्ठभूमि
म्याग्दीको बेनीमा वि. सं. २००७ चैत २५ गते जन्मिएका उपन्यासकार चन्द्रप्रकाश बानियाँ स्नातकसम्मको शिक्षा आर्जन गरी माक्र्सवादी दर्शनबाट प्रभावित राजनीतिकर्मी हुन् । पञ्चायती व्यवस्था विरुद्धको क्रान्तिकारी भावनाका कारण शिक्षण सेवाबाट खोसुवामा परेका उपन्यासकार बानियाँ २०४८ सालको निर्वाचनमा प्रतिनिधि सभाका निर्वाचित सांसद पनि हुन् । इतिहास, धर्म, दर्शन जस्ता विषयमा दखल भएका बानियाँको प्रबुद्ध व्यक्तित्व स्थानीय स्तरमा लामो समयदेखि परिचित रहेको पाइन्छ । त्यसैले उनी समकालीन राजनीतिक परिवृत्तदेखि ऐतिहासिक र पौराणिक समयका प्रचलित किँबदन्तीहरुबाट परिचित थिए । महारानी उपन्यासमा प्रयुक्त उपन्यासकारको प्रेम–चन्तन यिनै समकालीनदेखि पौराणिक मिथकहरुबाट प्रेरित–प्रभावित छ ।
धर्म, संस्कृतिको लामो समय अध्ययन गरेका उपन्यासकार बानियाँको प्रेम–चिन्तन भागवत पुराणको प्रेम–दर्शनबाट प्रभावित छ । नेपाली समाजमा परम्परादेखि प्रचलित भगवान् कृष्णका कथाहरु उपन्यासकारको पनि अध्ययनका विषय थिएनन् भन्न सक्ने आधार छैन । महाभारत र भागवत पुराणमा प्रचलित राधा र कृष्णको प्रेमकथा र त्यस प्रदत्त प्रेम–चिन्तन उपन्यासकारको प्रेम–चिन्तनको स्रोत हो । त्यसमा राधाले गरेको त्यागका कारण कृष्णले प्राप्त गरेको सफलता तथा त्यसैको प्रतिफल राधाले प्राप्त गरेको पूज्यताबाट उपन्यासकार प्रभावित छन् । राधाले कृष्णको प्रेमका नाममा गरेको त्यागलाई उपन्यासकारले आदर्शीकृत गरेका छन् । त्यसैले उनले विश्वभद्रालाई पनि प्रेमीको आत्मिक प्रेमलाई बचाइरहन राधाभूमि वृन्दावन पठाएका छन् । मलयवमले महारानीका नाममा रानीवास निर्माण गर्ने कार्यमा पनि यसै कथाको प्रेरणा रहेको छ । त्यति मात्र होइन, राधाले गरेकी प्रेम–त्यागका कारण पाएको पूज्यता जस्तै विश्वप्रभालाई पनि ‘देवी’का रुपमा पूज्य बनाएका छन् । तसर्थ उपन्यासकारमा राधा र कृष्णको प्रेमलीलाको प्रभाव रहेको देखिन्छ ।
शिक्षण पेसामा आबद्ध उपन्यासकार बानियाँको प्रेम–चिन्तन गौतम बुद्धको जीवन दर्शनबाट पनि अनुप्राणित छ । नेपालको लुम्बिनीमा जन्मिएका तथा कपिलवस्तुका राजा शुद्धोधनका राजकुमार सिद्धार्थ गौतमले राजकीय तथा पारिवारिक सुखसयल र वैयक्तिक प्रेम–भोगलाई परित्याग गरी ज्ञानको खोजीमा हिँडेका थिए । उपन्यासकार सिद्धार्थ गौतमको यस जीवन–कथामा अनविज्ञ थिएनन् । त्यसैले उनका पात्रले पनि प्रेमका नाममा वैयक्तिक सुखभोगलाई प्रधानता दिएका छैनन् । भर्खरै जवानी चढ्दै गरेका राजकुमार–राजकुमारीलाई अप्ठ्यारो परिस्थितिमा लोकहितका लागि सुखभोग त्याग गर्ने मार्गतर्फ प्रवृत्त गराएका छन् । यस प्रकारको लोककल्याणकारी भावना र त्याग गौतम बुद्धको जीवनीबाट प्रेरित छ ।
भावनात्मक प्रेमलाई कर्तव्यको लगामले खिच्न नसक्दा एउटा राजाको वंश मात्र नाश भएन, राजतन्त्रको विनाशको जग नै बन्न पुगेको थियो ।
महारानी उपन्यासको प्रेम–चिन्तनमा नेपाली राजनीतिक इतिहासमा दरबारीया प्रेमको अदृश्य कथाहरुको प्रभाव पनि रहेको छ । खास गरी शाहवंशीय राजाहरुमा देखापरेका भोगवादी प्रवृत्ति र तिनका कारण देश र जनताले भोग्नुपरेका दुर्दशाबाट उपन्यासकारले शिक्षा ग्रहण गरेका छन् । रणबहादुर शाहको विलासी व्यवहारका कारण दरबार भारदारहरुको षडयन्त्रको चँगुलमा फस्न पुगेको र राजेन्द्रविक्रम शाहका रानीहरुमा देखिएका भोगवादी प्रवृत्तिका कारण देश राणा शासनको कालरात्रीमा फँस्न पुगेको इतिहासबाट पनि उपन्यासकारले दीक्षा ग्रहण गरेका छन् । त्यसै गरी प्रेमहठका कारण नै राजा वीरन्द्रको वंशनाश भएको ऐतिहासिक दुर्घटनाको जीवन्त इतिहास पनि उपन्यासकारले देखेका थिए । लोक जीवनमा अन्य कुराहरु चलेको भए पनि वीरेन्द्रको वंशनाशमा युवराज दीपेन्द्रको प्रेमहठ नै कारक तत्त्वका रुपमा रहेको कुरा जगजाहेर भएको तथ्य हो । भावनात्मक प्रेमलाई कर्तव्यको लगामले खिच्न नसक्दा एउटा राजाको वंश मात्र नाश भएन, राजतन्त्रको विनाशको जग नै बन्न पुगेको थियो । राज्यको बागडोर सम्हाल्नुपर्ने जिम्मेवार व्यक्तिलाई हार्दिक प्रेमको तलाउमा स्वच्छन्द तैरिन नदिएर कर्तव्यको सूत्रमा बाँध्नु नै सबैको हितमा हुन्छ भन्ने उपन्यासकारको धारणा यसै राजनीतिक घटनाबाट अनुप्राणित छ ।
त्यसै गरी साठी दशकभन्दा बढीको अनुभव सँगालिसकेका उपन्यासकारको परिपक्व उमेरको प्रभाव पनि प्रस्तुत उपन्यासको चिन्तनमा प्रस्ट रहेको छ । यस उपन्यासमा बडाकाजीले राजकुमारीलाई सम्झाउने क्रममा अभिव्यक्त गरेका विचारहरुमा उपन्यासकारको परिपक्व उमेरको छाप देख्न सकिन्छ । बडाकाजीको उमेर पनि साठी नाघिसकेको सन्दर्भमा यस्तो संयोग अस्वाभाविक पनि लाग्दैन । उनी भन्छन्ः ‘‘कहिलेकाहीँ प्रेमले त्यागको माग गर्दछ । युवराजप्रति साँचो प्रेमले राजकुमारीकन पर्वतको समस्या समाधान गन्र्या शक्ति बुद्धि दिन्याछ भन्न्या आशा पर्वतले गर्योको छ’’ (पृ. २८६) । त्यसैगरी अर्को ठाउँमा राजकुमारीलाई सम्झाउँदै भन्छन्ः ‘‘पहिलो प्रेम मान्छेले कहिल्यै भुल्न सक्दैन । हो त्यही निश्चल र अटल प्रेमले राजकुमारीकन सदाकाल डोर्याउन्या छ । प्रेम कलङ्कित हुन दिनुहुन्या छैन । प्रेमको अनादर हुन्या काम सच्चा प्रेमीले गर्नै सक्दैन । त्यसमाथि राजकुमारी विज्ञ बुद्धिमान होइसिन्छ । मलेवमको हितसाधनका लागि बलिवेदीमा चढ्न तयार हुन्या मान्छेले धोका दिन्छ भनिकन कल्पना गर्नै सकिन्न । आफ्नै बलिदान कलङ्कित गराउन्या नादानी हुन्या छैन भन्न्या हामीकन पूर्ण भरोसा छ’’ (पृ. २८७) । भर्खर यौवनावस्थामा पाइला राख्दै गरेकी राजकुमारीको मनमा उम्लिएको भावात्मक प्रेमलाई चेतनाको मियामा बाँध्ने कार्यमा बडाकाजीको प्रमुख भूमिका रहेको छ र यसैका कारण राजकुमारीले मलेवमलाई कर्तव्यको मार्गमा हिँड्न प्रेरित गरेकी छन् । जीवनका साठीभन्दा बढी बसन्त पार गरिसकेका उपन्यासकारले राजकुमार–राजकुमारीलाई प्रेमको भावनाको स्वच्छन्द बगाइबाट बँचाएका छन् । उनले प्रेमी–प्रेमिकाको हृदयको आवाजलाई बुद्धिको बिर्को लगाएर छेकेका छन् र उपन्यासलाई संयोगको प्रेमिल संसारबाट वियोगको धरातलमा झारेका छन् जसले समग्र देश र जनताको कल्याण गरेको छ । त्यसैले उपन्यासकारको परिपक्व उमेरको प्रभाव पनि यस उपन्यासको परिपक्व प्रेममा प्रत्यक्ष देख्न सकिन्छ ।
निचोड
प्रेमलाई भावनाको स्वच्छन्द उठानमा स्वतन्त्र छाड्ने अल्लारे भावनालाई महारानी उपन्यासले रोकेको छ । मूलतः प्रेमको स्रोत हृदय नै हो । हृदय अथवा मन सधैँ स्वच्छन्द प्रकृति हुन्छ । यो पानी जस्तै तरल हुन्छ र जता ओरालो पाउँछ त्यतै बहन्छ । मान्छे सामाजिक प्राणी भएकाले उसका समाजप्रति, परिवारप्रति, राज्यप्रति तथा सिँगो मानव जातिप्रति महान् कर्तव्यहरु हुन्छन् । त्यति मात्र होइन मान्छेको कर्तव्य सम्पूर्ण प्राणी जगत् र विश्वब्रह्माण्डप्रति नै रहेको छ । यी सारा कर्तव्यलाई भूलेर प्रेमिल भावना बग्दै जानु एउटा कथा वा उपन्यासका लागि स्वादिलो होला तर व्यावहारिक जीवनका लागि त्यो सुहाउँदो हुँदैन । यस तथ्यलाई इतिहास र पुराणका धेरै तथ्यहरुले पनि पुष्टि गरिसकेका छन् । यस सन्दर्भमा महारानी उपन्यासले प्रेमलाई लोक–कल्याणका लागि उपयोग गर्नुपर्ने स्पष्ट विचार प्रस्तुत गरेको छ ।
वैयक्तिक जीवनको स्वतन्त्रतालाई कर्तव्यको डोरीले कस्नुपर्छ भन्ने विचार लेखकीय परिपक्व उमेर–अनुभवको परिणाम हो । महारानी उपन्यासका उपन्यासकारले अनुभव गरेको लामो जीवनको मार्गबाट प्राप्त बुद्धत्व नै माथिको विचार हो । उनले पढेका, सुनेका पुराण र इतिहासका सन्दर्भमा मात्र होइन आफैले देखेका, भोगेका संसारमा पनि भावनात्मक प्रेमको दुष्परिणाम प्रशस्त भएकाले उनले यस उपन्यासमा हृदयबाट प्रफुटित प्रेमलाई बुद्धिको सचेत बार लगाएका छन् र राज्यका जिम्मेवार व्यक्तिहरुलाई लोक–कल्याणका निम्ति भावनामा नबग्न सचेत गराएका छन् ।
(यो लेख तयार पार्ने क्रममा चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई आधारभूत सामग्रीका रुपमा उपयोग गरिएको छ । साथै विभिन्न विद्वान्हरुको प्रेमसम्बन्धी धारणा इन्टरनेट र अन्य पुस्तकहरुबाट संकलन गरिएको छ । सम्बद्ध सबैप्रति आभार प्रकट गर्दछु ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।