पी. पी . कोइराला लिखित ‘डगल्याण्ड’ लघुकथासंग्रह – सडकमा पाल्तु कुकुर डोर्याउँदै गरेका मान्छेका ताँती र केही भुस्याहा कुकुरहरू समेतको सुन्दर आवरण छ । पितृहरूमा सादर समर्पण गरिएको यो कृति बहत्तर पृष्ठको छ । त्रिपन्न वटा लघुकथा संग्रहित यस पुस्तकको मूल्य २ सय रुपियाँ राखिएको छ । यो कृति अध्ययन गरेपछि केही नलेखी यो मनले मान्दै मानेन ।
अधिकांश लघुकथामा आकस्मिक उठान, तीव्र विकास र आकारमा लघुत्व छ । छोटो आयाम, छोटो परिवेश, थोरै पात्र र पात्र अनुकूलको भाषाको प्रयोग गरिएको छ । द्वन्द्व छ, द्वन्द्वको आभास छ । विषयमा विविधता छ । कथ्यबुनोट अर्थात् प्रस्तुति राम्रो छ । संक्षिप्त शैलीको प्रयोग गरिएको छ ।
एकादुई लघुकथामा मात्र वर्णनात्मक शैली छ । केही लघुकथामा हठात् समापन या प्रतिध्वन्यात्मकता छ भने केहीमा विपरीत भावमा समापन पनि छ । त्यस्तै केही लघुकथामा सूत्रता छ भने थोरै केही लघुकथामा सांकेतिकता पनि छ । सामाजिक लघुकथाको बाहुल्य छ । जसमा सामाजिक समस्याको उजागर छ र सकारात्मक सन्देश दिएको छ ।
केही लघुकथामा राजनीतिक विकृतिप्रति व्यङ्ग्य छ, जस्तै :
‘निरुत्तर’ लघुकथामा ‘नेतागिरी गर केटा’ हजुरबाले नातिलाई भनेका छन् ।
‘पद ’ लघुकथामा राजनीतिक पदको किनबेच गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ ।
‘मन’, ‘अस्तित्व’ जस्ता लघुकथामा स्वैरकल्पना छ ।
‘मन’, ‘अस्तित्व’, ‘बसाइँ’ जस्ता लघुकथामा अभिधा साथै लक्षणा शब्दशक्तिको प्रयोग पनि गरिएको छ ।
‘जिन्दाबाद’ लघुकथामा मान्छेले जीवनका सुरुकाल र मध्यकालमा जस्तो सुकै कुकर्म गरेर आर्थिक उपार्जन गरे पनि अन्त्यकालमा सत्कर्म गर्ने र समाजले पनि तत्कालका लागि उसैलाई समर्थन गर्ने मानवीय एवं सामाजिक प्रवृत्ति देखाइएको छ ।
लघुकथामा प्रतिकात्मकता छ । जस्तै: ‘लट्ठी’ लघुकथामा लट्ठीलाई बुढेसकालको सहाराको प्रतीकको रूपमा, ‘कालो रात’ लघुकथामा कालो रातलाई अव्यवस्था र दुखको प्रतीकको रूपमा प्रयोग गरिएको छ ।
उनका लघुकथा बिम्बात्मक पनि छन् । जस्तै: ‘क्षमता’ लघुकथामा गाडी खोसाखोस गरेर खाल्डामा झार्ने कथ्य चाहिँ नेताहरूको गैह्रजिम्मेवारी र कुकर्मको विम्बको रूपमा आएको छ ।
‘गोठालो’ सरकारको उच्च नेतृत्वको विम्बको रूपमा आएको छ । जसरी दाइँ गर्दा गोरुलाई सही ढङ्गले परिचालन गर्न कुशल क्षमतावान् गोठालो चाहिन्छ त्यस्तै गरी सरकारले सुशासन प्रवर्द्धन गर्न सक्षम नेतृत्व चाहिन्छ भन्ने कुरा बिम्बात्मक रूपमा देखाइएको छ ।
दलहरू आफैँ दलदलमा फसेको कुरा छ । दुई हजार खर्च भएकोमा बीस हजारको बिल बनाएर नेताले खाएको कुरा छ । केही लघुकथामा तीतो सत्यको मीठो प्रस्तुति छ ।
‘डगल्याण्ड’, ‘दुर्भाग्य’, ‘सतीको स्राप’, ‘छनौट’ जस्ता लघुकथामा सामाजिक या मानवीय प्रवृतिप्रति व्यङ्ग्य छ । चुनावमा नेता चयनमा गल्ती भए जस्तै आँपको बिरुवा छान्दा पनि गल्ती भएर नमिठो भएको कुरा छ ।
उनका लघुकथा मार्मिक एवं हृदयस्पर्शी लाग्दछन् । जस्तै : ‘अंशबण्डा’ लघुकथामा ‘सम्पत्ति जस्तै बा आमाको पनि अंशबण्डा गर्नु पर्छ र ? ’ भन्ने समापन वाक्य बीज वाक्य या चुरोकुरो जे भनौं निकै मार्मिक र हृदयस्पर्शी छ ।
‘बाध्यता’ मा परिवारका सदस्यको माग धान्न नसकेर बाध्यतावश घुस खानु परेको कुरा छ ।
‘पहिचान’ जस्ता लघुकथा मार्फत राष्ट्रिय एकता एवं सामाजिक सद्भाव बढाउन सकिने उपाय सुझाएको देखिन्छ । सङ्ग्रहित लघुकथाहरू हेर्दा सर्जक कोइराला लघुकथाको मानक सिद्धान्त बुझेका लघुकथाकार हुन् भन्न सकिन्छ ।
यति धेरै सबल पक्ष हुँदाहुँदै पनि उनको यो संग्रह दोषमुक्त भने छैन ।
लघुकथाकार कोइरालाले संग्रहको नाम डगल्याण्ड राखेका छन् । एकातिर भूमि अर्थात् ‘ल्याण्ड’ आफैमा पवित्र र पावन हुन्छ । तसर्थ यो नाम त्यति मीठो लाग्दैन । तर उनले ‘डगल्याण्ड’ नामकरणले खास भूमिलाई नभनी कुकुर प्रवृत्ति बोक्नेहरूप्रति व्यङ्ग्य गरेका छन् । अर्को कुरा ‘डगल्याण्ड’ नामकरणले संग्रहभित्रका अन्य सबै लघुकथाको प्रतिनिधित्व गर्न सकेको छैन । संग्रहको नामले अधिकांश लघुकथालाई समेट्न सकेको भए राम्रो हुन्थ्यो ।
त्यस्तै ‘कुवाको भ्यागुतो’ लघुकथाको सन्देश समयसापेक्ष छैन । अर्थात् अहिलेको विश्वव्यापीकरणको युगमा ‘कुवाको भ्यागुतो’ बनेर बस्नु व्यावहारिक हुँदैन । ‘स्वामीभक्त’ मा जस्तो स्वामी र नोकरको फासला कायम राख्ने सन्देश दिनु भनेको सामन्ती संस्कारको पक्षपोषण गर्नु हो । जुन हाम्रो समाजबाट सामन्ती संस्कार क्रमशः हट्दै गैरहेको वर्तमान परिप्रेक्षमा त्यति सान्दर्भिक हुँदैन ।
रामराज्यको परिकल्पनामा छोराछोरीले अपराध गरेको सजायमा बाआमालाई जेल हाल्ने कुराले सन्देश राम्रो दिन्छ । यद्यपि प्रधानमन्त्री समेत सजाय काट्न जेल जान्छु भन्ने कुरा चाहिँ बढी नै आदर्शोन्मुख लाग्दछ ।
कमजोरीको सम्भावना र सुधारको आवश्यकता मानिसको जीवनभर नै रहिरहन्छ । तसर्थ समग्रमा भन्दा कोइरालाका लघुकथाहरूले सामाजिक साथै मानवीय चेत एवं संस्कार रोपण गर्न खोजेका छन् । दूषित राजनीतिप्रति प्रहार गर्न खोजेका छन् । देशमा सुशासन प्रवर्द्धनको अपेक्षा गरेका छन् । भ्रष्टाचार एवं कमिसन तन्त्रको विरोध गरेका छन् । राष्ट्रियता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न खोजेका छन् । पहिलो पकटमै यति उत्कृष्ट लघुकथा कृति लेखेका सर्जकलाई आगामी दिनमा आफ्नै कृतिसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती देखिन्छ । यसर्थ लघुकथासंग्रह ‘डगल्याण्ड’ पठनीय एवं संग्रहनीय छ ।
लघुकथाकारका साहित्यिक आयाम अझ चुलिँदै जाउन् । सुस्वास्थ्य र दीर्घ जीवनको कामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।