
निलो आकाशदेखि धेरै अनि धेरै नै माथि कालो अनकन्टार अन्तरिक्षमा सेता–सेता उज्याला तारा नक्षत्रहरूको झिलिमिली प्रकाशमान सहर छ । प्रकाश पुञ्जहरूका सँगालो । अँगालो हालूँ हालूँ जस्तो लाग्ने । त्यो सहर थुप्रै–थुप्रै आत्माहरूका बसोबास केन्द्र पनि हो । ती आत्माहरूले प्रकाश, ज्योति, किरणहरूमा ईश्वर खोज्दछन् । भेट्टाउँदछन्, पाउँदछन् अनि रमाउँदछन् । आत्माहरू सधैँ ईश्वर प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
निलो आकाशमुनि सेता–सेता स्वच्छ हिमालहरू अटल मुस्कान लिई हाँसिरहेको मुद्रामा कति सुहाउँदिलो हुन्छन् । कति सुन्दर । वाट अ वन्डरफुल ब्राइट हिमाली स्माइली । थुप्रै–थुप्रै हृदयहरू हिमाली हाँसोसँगै वर र पर लयबद्ध रूपमा छरिएर हाँसिरहेका हुन्छन् । हिमालको प्रेममा ती हृदयहरू लिप्त हुन्छन् । हृयदहरू सधैँ प्रेम प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
एउटा निलो आकाश बोकेको अविरल नदी पहाडका फेदी–फेदी भएर सललल बगिरहन्छन् । सुसाइरहन्छन् । नदी किनारमा थुप्रै–थुप्रै प्राणहरू हिँड्दै गरेको स्पष्ट देखिन्छन् । ती प्राणहरू नदीका माधुर्य मोशनद्वारा आनन्द लिने गर्छन् । प्राणहरू सधैँ आनन्द प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
वरिपरि निलो आकाशभरि जहीँतहीँ पवनका पदचापहरू पाइन्छन् । उनीहरूलाई देखिन्न । तर पवन चाहिँ हावा, बतास, हुरी, आँधी भएर हामीहरूलाई हेरिरहेका हुन्छन् । छोइरहेका हुन्छन् । घरी चिसो भएर छुन्छन् । घरी तातो भएर छुन्छन् । यी पवनका जन्जालमा विचारहरू हौसिँदै खेल्न रुचाउँछन् । खेलिरहेका हुन्छन् । रमाउँदै, उफ्रँदै । विचारहरू पनि पवन झैँ विचरण गर्दछन् । विचरण गरेर वाद र सिद्धान्तको सृजना गर्दछन् । विचारहरू सधैँ सिद्धान्त प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
निलो आकाशको वृत्तकारभित्र रङ्ग–बिरङ्गका ऋतुहरू कति मनोहर । ऋतुहरू हिउँद हिँडाइदिन, बर्खा बहाइदिन, वसन्त बहार बगाइदिन, हेमन्त हेराइदिन, शरद देखाइदिन, ग्रीष्म ल्याइदिन अनि घमाइलोपनका पोशाक ओढाइदिन कति सिपालु हुन्छन् । भावनाहरू यसै ऋतुहरूका परिवर्तनशील जादुमय जमिनमा बग्न चाहन्छन् । बगिरहेका हुन्छन् । भावना चाहना प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
निलो आकाश मुनिको गहिराइमा जहाँ सतह छ । त्यहाँ चञ्चलतामा समाविष्ट भएका ज्वालामुखी पहाडहरू पनि पाइन्छन् । यसले विनाश निम्त्याए पनि हेर्नमा यो कति मनोहर हुन्छन् । मनहरू यसैका छेउ–छाउ रहनमा गौरवान्वित हुन्छन् । मनहरू ज्वालामुखी झैँ तातिन अनि चिसिन चाहन्छन् । बहलाउन चाहन्छन्, कहलाउन, महलाउन चाहन्छन् । सायद कुनै बेला बौलाउन पनि चाहन्छन् । मनहरू मदहोस मनोरञ्जन प्राप्तिको निम्ति सधैँ भोकाइरहेका हुन्छन् ।
सतहमा भूमि बाँचिरहेको हुन्छ । जहाँ सबथोक अडिएका छन् । सबथोक भासिएका हुन्छन् । जसले सबथोक कब्जामा लिएर बसेका हुन्छन् । शरीरहरू पनि भूमिभित्रका न्यानोपनसँगै आलिङ्गनमा बाँधिन्छन् । शरीरहरूले सबथोक लिन चाहन्छन् । सबैकुरा भोग्न चाहन्छन् । शरीरहरू भोग प्राप्तिको निम्ति भोकाइरहेका हुन्छन् ।
एकदिन (यो एक दिन सम्भवतः जुनै पनि दिन हुनसक्छ)
किन हो ?
ताराहरूका प्रकाशमान सहरसँग डिभोर्स गरेर आत्माहरू एक्लिएछन् ।
किन हो ?
हिमालका स्वच्छ प्रेमसँग डिभोर्स गरेर हृदयहरू एक्लिएछन् ।
किन हो ?
नदीका सुसाहटसँग डिभोर्स गरेर प्राणहरू एक्लिएछन् ।
किन हो ?
पवनका पदचापहरूसँग डिभोर्स गरेर विचारहरू एक्लिएछन् ।
किन हो ?
रङ्गविरङ्गका ऋतुहरूसँग डिभोर्स गरेर भावनाहरू एक्लिएछन् ।
किन हो ?
ज्वालामुखीका चञ्चलतासँग डिभोर्स गरेर मनहरू एक्लिएछन् ।
किन हो ?
भूमिको न्यानोपनसँग डिभोर्स गरेर शरीरहरू पनि एक्लिएछन् ।
अनि एक्लिएका यी सब अजीव जीवहरू कसरी कसरी एकै स्थानमा भेला भएछन् । र उनीहरूकै शान्ति वार्ता अनि सम्झौता र सहमतिमा : संसर्ग, समागम र सम्भोगद्वारा उनीहरू अनेकतामा बाँडिएका एक डिक्का भएछन् । र म्युटेसन भएर थुप्रै थुप्रै अजङका प्राणीहरूमा रूपान्तरित भएछन् ।
ती अजङका प्राणीहरूभित्र रहेका….
आत्माले ईश्वरको तृष्णा गर्छ ।
हृदयले प्रेमको तृष्णा गर्छ ।
प्राणले आनन्दको तृष्णा गर्छ ।
विचारले सिद्धान्तको तृष्णा गर्छ ।
भावनाले चाहनाको तृष्णा गर्छ ।
मनले मनोरञ्जनको तृष्णा गर्छ ।
शरीरले भोगको तृष्णा गर्छ ।
तृष्णा पनि अचाक्ली नै गर्छन् कि सबै सबै थोकहरू पाउन एकै साथ झन् तृषित हुन्छन् । अन्तमा केही पनि पाउँदैनन् । किनकि सबै थोक एकै पटक पाउन कहिल्यै पनि सकिन्न । पहिला सब थोक होइन । तर एक थोक पाउने प्रयासमा रमाउनु पर्ने हुन्छ । त्यो एक थोकको नाम सन्तुष्ट हो । यसैप्रति पहिला तृषित बन्नुपर्छ । खोज्नुपर्छ र हात पार्नुपर्छ । अनि मात्र सब थोक पाउन योग्यको जीव हुन सकिन्छ । त्यसपछि केही नपाए पनि सब थोक पाउनमा सन्तुष्टले नै सन्तुष्टि दिलाउने छ ।
ती थुप्रै–थुप्रै अजङका म्यूटेट प्राणीहरू आवश्यकता र चाहनामा रुमल्लिएर कहिल्यै तृप्त हुन नजान्ने र नहुने अनौठो जीव हामी मानिसहरू, हामी मानवहरू, हामी मनुवाहरू, हामी मान्छेहरू नै हौं । अब हामी फेरि शान्ति वार्ता र सम्झौता भङ्ग गरेर आ–आफ्नै वासस्थानतर्फ फर्केर आ–आफ्नै अस्तित्वमा जिउने क्षण नजिकिँदै छ । त्यो क्षण आए पनि नो प्रब्लम् नआए पनि नो प्रब्लम् ।
किनकि सन्तुष्टले नै सन्तुष्टि दिलाउने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

