गणेशदास साहूको परिवार बहुतै सीमित भए तापनि उनका आमदानीका स्रोत धेरै थिए । राणादरबार र महलहरूमा लत्ताकपडादेखिन् चामल, तेल, घ्यूसमेत ठेक्कामा पुऱ्याउने उनको व्यवसाय थियो । जरसाब, लाठसाबहरूकहाँ दिनको एक चोटि न एक चोटि हाजिर पुऱ्याएर भए पनि दर्शन गरी आउने गर्थे । बत्तीस कोठी महाजनमा उनी दरिएका थिए । सहरको मध्यभाग असनमा उनको सर्व रकमको पसल थियो, जहाँ उनका कारिन्दा कर्मचारीहरूले बेचबिखनका काम गर्थे । उनका सन्तान नभएको हैन, सन्तान भए । जेठो छोराको बिहे पनि गरिसिध्याएका थिए, बुहारी पनि सुन्दरी नै थिइन् ।

तर अभाग्य उनको घरको कामकारबाही समाल्न नपाउँदै जेठो छोराको देहान्त भयो । तरुनी बुहारी विधवा भइन् । यस चोटले उनको हृदय अत्यन्त दुखेको थियो ।

सबै कुरा पुगिआए पनि यही एउटा वेदना उनको हृदयमा सधैँ वर्तमान थियो । तरुनी बुहारीको वेदनाले भरिएको अनुहार देख्नेबित्तिकै उनको छाती फाटिएला जस्तो हुन्थ्यो । तर के गरून्- उनको अख्तियारभित्रको कुरा भएको भए काललाई समेत उनी आज्ञा दिन सक्थे आफ्ना नोकरचाकरलाई झैं र यसो गर् भनी अह्नाउन सक्थे । उनको जेठो छोराको अल्पायुमा नै मृत्यु हुन्थेन । र त्यति सुन्दरी बुहारीलाई तरुणावस्थामा यसरी विधवा भई रोईरोई दिन काट्नुपर्थेन । तर काल उनको वशमा थिएन र रहँदैन पनि । उनी यसरी नै चित्त बुझाउँथे र दैनिक कार्यमा व्यस्त रहन्थे ।

एक दिन जरसाबको ढोकामा उनी गएका थिए । भर्खर विदेशबाट घोडा, गाईहरू आइपुगेका रहेछन् । तबेला र गोठ नजर गर्न रानीसाहेब, सुसारेहरूसहित जरसाब त्यत्तै सवारी भएको रहेछ; उनलाई पनि त्यतै ‘आउन’ मर्जी भा’ हुनाले उनी पनि तबेला र गोठतिरै लागेका थिए ।

अकस्मात् जरसाबले “ए साहू; लौ तिमीलाई कुनचाहिँ गाई मन पर्यो, छान ।” मर्जी हुँदाखेरि उनी किंकर्तव्यविमूढ भएका थिए । लत्ता-कपडा, घ्यू-तेल; चामल-दाल आदिको विषयमा सोधनी भएको उनी हेर्नेबित्तिकै राम्रो-नराम्रो; असल-नअसल आदिको जबाफ तुरुन्तै दिन सक्थे, तर गाई-घोडाहरूको विषयमा उनी के जानुन् । कहिल्यै आफ्नो घरमा पाले-पोसेको भए पो । दूध चाहिए सापूंवा कसाई बन्दोबस्त छँदै थियो । यसैले हात जोडेरै उनी केही बोल्न नसकी ‘जो मर्जी, जो मर्जी’ भन्दै थिए । जरसाब आफैँले नै उनको अप्ठ्यारो सुल्झाइदिइबक्स्यो ।

“लौ साहू, तिमी ज्यादै बूढा पनि भइसक्यो, चाँडै दूध खान पाइने, यो बियाउनै लागेको गाई लैजाऊ । तिमीलाई बक्सिस भयो ।” जरसाबको मुखबाट यी वाक्यहरू झर्नेबित्तिकै गोठालाहरूले त्यस गाईको दाम्लो फुकाइहाले र केहीबेरपछि उनी गाई पछि लाएर घरतिर आइरहेका थिए ।

सहरका सबैजसो व्यक्तिहरूले त्यस्तो सुन्दर टल्किएको, डम्म जीउ भएको, विदेशी जर्सी गाईलाई आँखा च्यातीच्याती हेरे र खूबै प्रशंसा गरे । दूध कति माना हैन कति पाथी देला भन्ने कुराको पनि टोलटोलमा खूबै चर्चा भए । र यसरी उनी गाई लिएर घर पुग्दा टोलैभरि हल्लाखल्ला पनि मच्चियो र साथै उनको घरमा एउटा नयाँ समस्या पनि उत्पन्न हुन गयो ।

त्यति ठूलो गाईलाई पाल्नयोग्य उनको घरै थिएन । छिंडी या दलानमा राखौं भने पनि तला होचो भएकोले त्यसमा अटाइने कुरै थिएन, नराखौं भने बगैंचा भएको घरै थिएन । यस गाईको निमित्त जस्तो प्रकारको गोठको प्रबन्ध हुनुपर्थ्यो, त्यसो गर्नलाई केही समय जरुरै लाग्थ्यो । यसैले टोले छरछिमेकीहरूको सल्लाह र गोठालेहरूका रायबमोजिम दुई-तीन घण्टापछि धान-चामल भरिएको अलि अग्लो र फराकिलो छिँडीलाई रित्त्याइयो र गाईलाई त्यहीँ राखियो । खालि के भने त्यो छिंडी उत्तर फर्किएकोले घाम लाग्नेचाहिँ राम्रो ठाउँको प्रबन्ध हुन सकेन ।

त्यस दिन छरछिमेकका आइमाईलगायत टोलका बच्चाबच्चीहरूको हूलले त्यस गाईलाई हेर्न आउन छोडेनन् । त्यस दिन दर्शकहरूका ताँती नै लागेका थिए ।

उनको घरमा नयाँ गाई आएको कुरा केही दिनसम्म सहरभरि चर्चाको विषय बन्न पुगेको थियो र उनी पनि त्यस गाईको हेरचाहमा केही दिन व्यस्त हुन पुगेका थिए । गोठालोको व्यवस्थालगायत गाईलाई खुवाउने दाना आदिको प्रबन्धमा उनी जुटेका थिए । परिवारका अन्य सदस्यहरू पनि निक्कै रमाएका थिए र गाईलाई खुवाउने, सफा गर्ने, घाममा ल्याएर बाँध्ने आदि कार्यमा गोठालोलाई सघाउन पुग्थे । विधवा दुलही पनि यस कार्यमा अत्यन्त सक्रिय भएकी थिइन् । गाई स्वभावैले सुधी थिई । यसैले अन्य साना ठिटाठिटीहरूसमेत गाईको नजिकै आवतजावत गर्न डराउँदैनथे र गाईसँग खूबै रमाएका थिए ।

एक दिन गाईलाई व्यथा लाग्यो । तमाम घरभरि हल्लाखल्ला मच्चियो । गाई घरी घरी उठ्थ्यो, बस्थ्यो, स्वाँस्वाँ, फ्वाँक्वाँ गर्थ्यो । अत्यन्त हडबडीको समय थियो, गोठालो पनि रातभर जाग्राम बस्यो, गाईलाई हेरविचार गर्थ्यो । बिहानीपख गाईले बियायो- बाछी । बाछी आमाचाहिँ जस्तै । राम्री थिई, रङ्ग पनि करिबकरिब उस्तै थियो । जन्मनेबित्तिकै ढलपल गर्दै उठ्न र हिँड्न सक्थ्यो । त्यस घरका समस्त परिवार खुसीले प्रफुल्ल थिए ।

तर तीन-चार दिनपछि अकस्मात् के भयो के, गाईलाई ज्वरो आयो । आँखा टोलाएको टोलायै हुन थाल्यो, ढलमलायो, उठ्न सकेन । झारफुक गरे, ओखती खुवाए, बोक्सी लागेको हो कि भनी तन्त्रमन्त्र गरे, पूजा पठाए; तर केही सीप लागेन । त्यति राम्री गाई मरी । त्यस दिन घरभरि कोही आफन्त मरेझैँ रुवाबासी र उदासी छायो र कसैले पनि एक गाँस मुखमा हालेनन् । निराहार बसे ।

टोलभरिकाहरू त्यो मरेकी गाईलाई हेर्न आए र अफसोस मानी-मानी बाछीलाई मुसारेर गए । बिचरी त्यस बाछीलाई पो बचाउने कसरी ? सबैको रायसल्लाहले बाछीलाई कौसीमा लगी पाल्ने निर्णय भयो र गणेशदास साहूले पनि चुपचाप त्यसै निर्णयलाई स्वीकारेर बाछीलाई कौसीमा नै राखी पाल्ने बन्दोबस्त मिलाए ।

तुरुन्तै कौसीमा टिनको छाना लगाइदिए र बाछीलाई चाहिने बन्दोबस्त मिलाए । त्यस दिनदेखि बाछी माथि कौसीमा नै पालिन थाल्यो । तर आमा नभएकी बाछी बाँच्ने हो कि होइन भन्ने शङ्का रहँदारहँदै पनि हेरचाह र राम्रो बन्दोबस्तले गर्दा मरिन, बाँची र केही महिनामै आमाजस्तै भएर हलक्क बढी ।

अब बाछीले सब जनालाई चिन्न थाली । सागको हरियो मुठा लिएर गणेशदास साहू कौसीमा आउँदा दाम्लो नै चुँडाल्ला जस्तो गरी उफ्रन्थी र मुठै खोसेर खान्थी । दाना दिन आउँदा विधवा दुलहीलाई, आफ्नो जीउलाई नमुसारुन्जेल दानै छुन्नथी । केटाकेटीहरू चल्न आउँदा उनीहरूलाई हानुँलाझैँ तर्साउँथी । बूढी आमा सूर्यलाई पूजा गर्न कौसीमा पस्दा उनलाई टीका लगाई हातको पीठो गुलियो चटाउने गर्थिन् । त्यति नगरुन्जेल बाछी बुढियालाई ताकि नै रहन्थी ।

यस क्रमले त्यो बाछीको दिनचर्या कौसीमाथि नै बित्थ्यो र कौसीमाथि नै हुर्किंदै बढ्यो । कौसी नै उसको घर याने गोठजस्तो भयो । ऊबिना त्यो कौसी कौसीजस्तो नै नरहने हो कि जस्तो सब जनालाई लागिसकेको थियो ।

नौ-दश महिनामा त्यो बाछी यति ठूली भई कि सबै जनालाई झन्डैझन्डै आमा चाहिनेकै झलक आएजस्तो लाग्यो । यसैले उसकी आमा मरेर गएको कुरा सबले बिर्सिदिइसकेका थिए ।

तर एक दिन अकस्मात् यो बाछी जोड-जोडले कराउन थाली, फौंज काढ्न थाली र आँखा घुमाई-घुमाई उफ्रन थाली, नाच्न थाली । यिनको आवाज यति साह्रो र घन्किँदो थियो कि सारा टोलै थर्कन्थ्यो ।

विधवा दुलहीले यिनलाई यस्तो अवस्थामा देख्नेबित्तिकै तर्सेर दौडेर सासूलाई भन्न पुगी । गणेशदास साहूले गोठालो र अरू जान्नेहरूलाई तुरुन्तै बोलाउन पठाइहाले । एक प्रकारले घर र टोलभरि हल्लाखल्ला मच्चियो । कसैलाई थाहा भएन कि यो के रोग लागेको हो ।

बाछी कौसीमाथि उफ्रीउफ्री कराउँदै थिई, चीत्कार गर्दै थिई र चल्दाचल्दा दाम्लो पनि चुँडालिइसकेको थियो र कौसीभरि यताउता बौलाएर दौडँदै थिई । कसैको त्यहाँ पस्ने आँट पनि पुगेन । तर गोठालो आइपुग्यो, कौसीमा गयो र बाछीलाई फकाईफकाई समाएर बाँध्न त बाँध्यो, तर बाछी किन मान्थी, उफ्रन, कराउन, चिच्च्याउन छोडिन ।

गोठालोले बिस्तारै आश्चर्य मानेर गणेशदास साहूलाई भन्यो कि बाछीलाई अरू क्यै रोग लागेको हैन ठूलो भइसक्यो, सावा जाने बेला भएको हो । चाँडै यसलाई तल ओराल्नुपर्यो नत्र यो बहुलाएर कौसीबाट उफ्रन पनि सक्छ, हाम्फाल्न पनि सक्छ । यति ठूलो भइसकेसम्म कौसीमा पाल्न हुन्थेन ।

गणेशदासलाई यो के थाहा हुनु कि बाछी दश-एघारै महिनामा ठूलो हुन्छ र साँढे चाहिन्छ । मानिसको भए कम से कम १६ वर्ष त लाग्थ्यो नत्र उनी के मूर्ख थिए र बाछीलाई कौसीमा नै पालिराख्थे ।

अब तल ओराल्ने कसरी, यो समस्या थियो । टोलभरिका सारा व्यक्तिहरू जम्मा भए । भर्याङबाट ओरालूँ भने, भर्याङ यति सानो र साङ्ग्रो थियो कि बाछी अटाउँदै-अटाउने थिएन र यसरी मात्तिएकीलाई त्यहाँबाट ओराल्न अप्ठ्यारै थियो । भर्याङै झिकेर खसालूँ भने यो कसरी सम्भव ।

आखिर एउटा उपाय निस्क्यो- काठको खटजस्तो बनाउने र रथ तान्ने मोटो डोरीले बाछीको चारै खुट्टा बाँधी त्यही खटमा राखी ओराल्ने । यसैबमोजिम खट बन्यो । डोरीले त्यस खटलाई मजबुतसँग बाँधियो । बाछी उफ्रँदै, कराउँदै थियो । तल चोकभरि मानिसहरू हल्लाखल्ला मच्चाउँदै थिए । बाछीलाई साँढे चाहिएको रहेछ, यो कुरा एक-एक गरी सब जनाले थाहा पाए, घरघरका झ्यालहरूमा खचाखच स्वास्नीमान्छेहरू, मानिसहरू भरिए, दर्शकहरूको भीडै लाग्यो । जात्राजस्तो हूल जम्मा भयो, सहरभरिका मानिसहरू आइपुगे ।

आखिर उन्मत्त बाछीको चारै खुट्टा बाँधी काठको खटमा राखियो । कौसीबाट डोरीले बाँधी बिस्तारैबिस्तारै तल झारियो, तमासा हेर्ने भीडहरू कोलाहल मच्चाउँदै थिए । झ्यालमा आइमाईहरू लजाएर, सरमाएर हेरिरहेका थिए । त्यस्तो बाछीलाई कसरी यति चाँडै साँढे चाहिएको होला; साँढे चाहिनेबित्तिकै फेरि यसरी पशुहरू मात्तिँदा रहेछन्, कराउँदा रहेछन्, नभए कौसीबाटै हाम्फालेर आत्महत्यासम्मन् पनि गर्न सक्दा रहेछन्, यो सबलाई कौतूहल र आश्चर्यको विषय भएको थियो । यसै बखत टोलको हट्टाकट्टा ठूलो साँढे त्यस दर्शकको भीडमा आएर खुट्टाले माटो खोस्रिँदै डुक्रिँदै थियो ।

गणेशदास साहूकी विधवा बुहारी पनि झ्यालको एक कुनाबाट तर्सीतर्सी हेरिरहेकी थिई । बाछी बिस्तारैबिस्तारै जमिनतिर ओराल्दै गयो । विधवा बुहारीको मुटु जोडजोडले हानिँदै गइरहेको थियो । उनमा एक प्रकारको सरमजस्तो र उत्तेजनाजस्तो आवेश थियो र कुनै परपुरुषहरूको आँखासँग आँखा जुध्नेबित्तिकै भयमिश्रित उत्तेजनाको लहर आफूभित्र छुटेको उनी अनुभव गर्दै थिइन् ।

बाछी जमिनमा पुग्यो । भीडमा सबै जना हर्षोल्लासले चिच्च्याए । गणेशदास साहू ‘गोहत्या’ को डरलाग्दो पापबाट मुक्त भएकोमा प्रसन्न भए । आफ्नो खुट्टाको डोरी फुक्नेबित्तिकै बाछी अकस्मात् उठेर दौडेर साँढेनिर दौडिहाल्यो । हेर्दाहेर्दै बाछीलाई साँढेले सुँघिरहेको थियो, बाछी शान्त र अलमस्त परेकी थिई । त्यसमा कुनै प्रकारको पागलपन र उन्माद थिएन । साँढेलाई मस्तसँग आफूलाई चाट्न दिइरहेकी थिई ।

भीड छक्क पर्दै आपसमा कुरा गर्दै पातलिँदै थियो । साँढे कसरी त्यति चाँडो बाछीको गन्ध पाएर त्यहाँ आइपुग्यो, बाछी कति चाँडो साँढे पाएर सन्तुष्ट भई यो कुरा विशेष चर्चाको विषय हुन थाल्यो ।

तर गणेशदासको र कसैको मस्तिष्कमा त्यही घरकी विधवा तरुनी बुहारी झ्यालको एक कुनाबाट त्यो दृश्य हेरिरहेर अकस्मात् त्यहीँ ढलेकी र केहीबेर मूर्छा परेकी यादै हुन सकेन ।

(विजय मल्लको कवितासंग्रह ‘परेवा र कैदी’बाट)