विषय प्रवेश:

‘पानीको घाम’ अमर न्यौपानेद्वारा रचित नेपाली समाजमा रहेका विभिन्न कथाहरू जोडिएर बनेको एक आख्यान हो । यस आख्यानमा नेपालको मध्यपश्चिम क्षेत्रकाे नेपालगन्ज सहरमा रहेका घर घरका कथाहरू रहेका छन् । न्यौपानेले किताब लेख्नकै लागि नेपालगन्ज जाने निधो गरे तर नेपालगन्जमा रहेका मानिसहरूको कथा लेख्ने क्रममा उनको किताब एक कथा सङ्ग्रह वा उपन्यास हैन, कथा र उपन्यासकाे दाेसाँधमा रहेर एक आख्यान बन्न गयो । यस आख्यानमा रहेका कथाहरूले नेपालगन्ज सहरका मानिसहरूको सामाजिक तथा आर्थिक जीवन शैलीलाई प्रतिनिधित्व गर्दछन् । लेखकले पुस्तकमा नेपालगन्जका कुना कुनामा थुनिएर बसेका र मौनतामा दबिएर बसेका कथाहरूलाई कवितात्मक भाषा शैलीमा प्रस्तुत गर्न खोजेका छन् र उक्त आख्यानात्मक कृति लेखकको पहिलो पुस्तकका रूपमा प्रकाशित भएकाे हाे ।

 कथावस्तु: 

लेखक नेपालगन्जमा एउटा किताब लेख्ने भनेर जान्छन् र कथाको खोजीमा यता उता भौतारिन्छन् । पहिलो कथा ‘कथान्त’ मा उनले आफ्नो पुस्तकका लागि पात्रहरू खोजिरहेका हुन्छन् र एउटा पनि राम्रो पात्र भेट्दैनन् । उनले भेटेका मानिसहरूमध्ये केही आफ्नो कथा भन्न चाहँदैनथे भने केहीको दैनिक रूपमा लेखकसँग भेट नभएकाले कथा अपुरो रहन्थ्यो । त्यसैगरी अन्त्यमा उनले एक समाजसेवी भेट्छन्, जसले लेखकलाई एक लेखकको दृष्टिकोणबाट होइन, एक पात्रको दृष्टिकोणबाट हेर्ने सुझाव दिन्छन् र त्यसपछि लेखक पात्र खोज्न सफल हुन्छन् । त्यसैगरी ‘सालिक’ भन्ने कथामा नेपालगन्जमा तीन सरकारले राज गर्थे र तीन सरकारलाई जनताले एकदमै मन पराएकाले तीन सरकारको कालो सालिक नेपालगन्जको चोकमा बनाइएको थियो तर समय बित्दै गएपछि पाँच सरकारको शासन सहरमा आउन थाल्यो र तीन सरकारको सालिक चोकबाट हट्यो अनि त्यहाँ पाँच सरकारको सेतो र लुगा लगाइएको सालिक राखियो । केही समयपछि पाँच सरकारको पनि सालिक हट्यो र ती दुवैका सालिक त्यो सहर कसको हो भनेर झगडा गर्न थाले तर उनीहरू दुवैका सालिक समयले हटाएको रहेछ । त्यसपछि नेपालगन्ज चोकमा कसैको सालिक नभएपछि मानिसहरू त्यही ठाउँमा कुन पार्टीको सालिक राख्ने भनेर झगडा र दङ्गा गर्न थाले ।

‘ऊ असुरक्षा माग्छे’ कथा एक टुहुरी बालिका सुन्दरीका बारेमा लेखिएकाे हो, जसकी आमाको निधन भएको हुन्छ । सुन्दरी आफ्नी आमाजस्तै मन्दिरमा आफ्नो जीवन बिताउन थाल्छे र ऊ आफूलाई असुन्दर ठान्दछे । आफ्ना साथीहरू पुरुषहरूबाट बलात्कृत भएको कथा सुन्दा उसलाई आफ्नो कुरूपताले सुरक्षा प्रदान गरेजस्तो लाग्थ्यो तर ऊ किशोर अवस्थामा पुगेपछि उसलाई पनि पुरुषको स्नेह र माया चाहिन्छ र ऊ आफ्नो कुरूपतालाई घृणा गरेर असुरक्षा माग्छे । ‘चुकुल’ भन्ने कथामा मन्नुराम र सुन्वतीको सानो छँदा नै विवाह भइसकेको हुन्छ तर मन्नुरामलाई विवाह र श्रीमतीको अर्थ थाहा हुँदैन तर बिस्तारै उनीहरूले सँगै समय बिताएपछि मन्नुरामले सुन्वतीलाई मन पराउँछ र श्रीमतीको अर्थ बुझ्छ त्यसैले उसले आफ्नो जीवनमा पहिलो पटक आफ्नो कोठाको ढोकाको चुकुल लगाउँछ र यही कथाको दोस्राे भाग ‘ईश्वरसँग मुद्दा’ मा सुन्वती गर्भवती हुन सक्दिन र बिरामी हुन्छे तर मन्नुरामले हेरचाह गरेपछि ऊ गर्भवती हुन्छे र रोग पनि निको हुन्छ तर बच्चा जन्मिएपछि बच्चाको निधन हुन्छ र केही समयपछि सुन्वतीको पनि मृत्यु हुन्छ । मन्नुराम आफ्ना श्रीमती र बच्चालाई मारेकामा ईश्वरसँग मुद्दा हाल्ने कुरा गर्छ र आफ्नो बुढेसकालमा एक्लै बाँच्छ ।

निहारीका चापागाईँ

‘हिँडिरहेको बाटो र कुरिरहेको रुख’ कथामा प्रेमपता विरथलाई कुरिरहेकी हुन्छे । विरथ प्रेमपताको श्रीमान् हुन्छ, जो अर्कै महिलासँग भागेर भारत गएको हुन्छ । विरथ रामलिलामा राम बनेर फर्कन्छ भन्ने आशामा प्रेमपता रामलिला हेर्न जान्छे र त्यहाँ उसलाई नभेटेपछि ऊ घर पुगेर पनि कुरिबस्छे तर विरथ कहिल्यै फर्केर आउँदैन । त्यसैगरी ‘साटिएको फूल’ कथामा सबनम र शीतल दुई घरका बुहारी हुन्छन् तर ती दुवै भिन्न परिवारबाट हुन्छन् । दुवैको घर नजिकै हुन्छ र सबनम बुर्का लगाएर हिँड्छे । घरमा कोही नभएको बेला सबनम बुर्का नलगाई शीतलको लुगा लगाएर मेला जान्छे भने शीतल बुर्का लगाएर हिँड्छे । सबनम स्वतन्त्र महसुस गर्छे भने शीतल सुरक्षित महसुस गर्छे तर मुस्लिम जाति भनेर मानिसहरूले हेला गरेपछि शीतललाई साह्रै डर लाग्छ ।

“तेसो भए म आउँदिनँ” कथामा एक श्रीमान्‌ले आफ्नी स्वास्नी चढेको हवाइजहाज दुर्घटनामा परेको थाहा पाउँछ र उसकी स्वास्नीको निधन भयो भन्ने लागेर आत्तिन थाल्छ । डरले स्वास्नीको अवस्था बुझ्न अथवा लास लिन जान लाग्दा उसको सालाले अस्पतालबाट दिदी ठिकै छे भनेर फोन गरेपछि श्रीमान्‌ले ‘तेसो भए म आउँदिनँ’ भन्छन् । अन्त्यमा ‘कथारम्भ’ भन्ने कथामा लेखकले यस पुस्तकमा रहेका कथाहरूका पात्रहरू भिन्न भए पनि यिनीहरू एक आपसमा जोडिएका भएर यस पुस्तकलाई आख्यान भनिएको भनेर बुझाएका छन् ।

मूलभाव: 

हामीले नेपाली पुस्तक अथवा लेख रचनाहरूमा धेरैजसो पहाडी र हिमाली भेगका समस्याहरूको बारेमा चर्चा बढी भएको देख्छौँ तर तराई क्षेत्रका धेरै ठाउँहरूमा रहेका समस्याहरू दबेर बसेका हुन्छन्, जसलाई आवाज दिएर लेखकले ठुलो काम गरेका छन् । लेखकले विशेष गरी नेपालगन्जमा रहेका कथाहरूलाई ध्यान दिएर तिनीहरूको चित्रण गरेका छन् । नेपालगन्जमा रहेका मानिसहरूको जीवनशैली यो किताब पढेर हामीले स्पष्टसँग कल्पना गर्न सक्छौँ । लेखकले यस पुस्तकमा लेखेका हरेक कथामा विभिन्न पक्ष र अर्थहरू लुकेर बसेका छन्, जस्तैः ‘सालिक’ कथाबाट उनले नेपालमा विगतदेखि चलिआएको राजतिनीलाई चित्रण गरेका छन् । राणाकाे, राजाको शासनदेखि लिएर गणतन्त्रसम्मको लडाइँ र यसबिच भएका झगडा र दङ्गाहरू । उनले नेपालगन्जमा हुने जातीय दङ्गाहरूको बारेमा पनि ठुलो मुद्दा उठाएका छन् । मेरो विचारमा जातीय दङ्गा पनि राजनीतिक फाइदाका लागि प्रयोग गरिन्छ । बिना केही कारण साना साना कुरामा दङ्गा गराएर फाइदा लुट्नेहरू पनि यो समाजमा हामीले धेरै देख्न सक्छौँ तर फेरि यही दङ्गा हटाउन र रोक्न आफ्नो ज्यान र परिवारको पर्वाह नगरी भिडेका नागरिक र युवाहरू पनि हामीले देख्न सक्छौँ ।

यस कृतिमा भएका कथाहरूमध्ये ‘साटिएको फूल’ कथा मलाई एकदमै मन पर्यो । त्यस कथामा लेखकले सबैले अर्काको खुसी मात्र देख्छन् र कसैको पनि जीवनमा सुख मात्र हुँदैन भनेर भन्न खोजेका छन्, जस्तैः शीतललाई हिँडिरहेको बेला पुरुषहरूले आँखा लगाएर उसको शरीर हेरेको, जिस्काएको मन पर्दैनथ्यो त्यसैले उसलाई सबनमको बुर्का लगाउँदा सुरक्षित महसुस भयो तर जब उसलाई मुस्लिम भनेर हेला गरियो तब उसले बुर्का लगाउनुको पीडा बुझी । त्यसै गरी सबनमले पनि साडी लगाएर, आफ्नो शरीर बुर्काभन्दा बाहिर देखाएर राम्रो महसुस गरी तर खुसीको समयमा पुरुषहरूको घिनलाग्दो नजर उसमाथि परेकाे उसले चाल नै पाइन ।

निष्कर्ष: 

याे पुस्तक निकै नै राम्रो भाषाशैलीका साथ प्रयाेगात्मक तरिकाले लेखिएको छ र यो पुस्तक अमर न्यौपानेको पहिलो कृति भए पनि साह्रै नै रोचक छ तर सुरुदेखि पढ्दै जाँदा कति ठाउँमा धेरै कवितात्मक भएकाले कतिपय मानिसलाई पढ्न अल्छी पनि लाग्न सक्दछ तर पनि म यो किताब सबैलाई पढ्न सिफारिस गर्दछु किनभने यसले नेपालगन्ज मात्र नभएर नेपालका धेरैजसो ठाउँहरूको समस्यापूर्ण परिवेशकाे पनि चित्रण गरेको छ । यो पुस्तक यति उत्कृष्ट रहेको छ कि यस पुस्तकले सन् २०६६ मा पद्मश्री साहित्य सम्मान पनि प्राप्त गरेको थियो ।

पुस्तक: पानीको घाम 

विधा: आख्यान 

लेखक: अमर न्यौपाने 

प्रकाशक: पैरवी प्रकाशन 

संस्करण: वि. सं. २०६६ 

निहारिका चापागाईं, कक्षा १०, क्रमाङ्कः २५००६

डियरवाक सिफल स्कुल