२०७९, वैशाख महिनाको “साहित्यपोस्ट बेस्ट सेलर सूची” प्रकाशन नहुने भएको छ । साहित्यपोस्ट (इ दैनिक) ले विगत डेढ वर्षदेखि मासिक रूपमा “साहित्यपोस्ट बेस्ट सेलर सूची”को सर्वेक्षण गर्दै आएकोमा वैशाख महिनाको सूची प्रकाशन नहुने भएको हो ।

साहित्यपोस्टले काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दै सर्वेक्षण प्रकाशन गर्दै आएको छ । गएको महिना, वैशाखमा समग्र देश स्थानीय चुनावमा केन्द्रित भएको हुँदा पुस्तक बिक्री न्यून रहेको सर्वेक्षणले देखाएको छ । पुस्तक बिक्री न्यून हुँदा डाटा सङ्कलनमा समेत समस्या आएका कारण सर्वेक्षण सूची प्रकाशन गर्न नसकिएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् ।

कोइराला भन्छन्, “साहित्यपोस्टको सर्वेक्षणमा सहभागी बिक्रेताहरुबाट स्थानीय चुवानका कारण पुस्तक बिक्री न्यून रहेको रिपोर्ट प्राप्त गरेका छौँ । यस्तो अवस्थामा रिर्पोट तयार पार्दा विश्वसनीयतामा कमी आउने निष्कर्षसहित वैशाख महिनाको सूची प्रकाशन रोकिएको हो ।”

साहित्यपोस्ट बेस्ट सेलर सूची सर्वेक्षणलाई पुनः जेठ महिनाबाट निरन्तरता दिइने साहित्यपोस्टका केन्द्रीय संयोजक कृष्ण ढुङ्गेलले जनाएका छन् ।

किन सुरू गरियो सर्वेक्षण ?

विश्वप्रसिद्ध पत्रिकाहरुले हरेक साता बेस्ट सेलर बुकको सूची सार्वजनिक गर्दै आएका छन् । नेपालमा त्यस किसिमको प्रयास गोरखापत्रले गरेको थियो । वरिष्ठ कवि तुलसी दिवसका अनुसार २०४१ सालतिर गोरखापत्रले प्रत्येक साता शनिवार साताभरि बिक्री भएका पुस्तकमध्ये उत्कृष्ट १० को सूची सार्वजनिक गर्दथ्यो । गोरखापत्रको कार्यालय नजिकै रहेको न्युरोडको पिपलबोटमा बिक्री भएको पुस्तकको आधारमा त्यो सूची सार्वजनिक हुने गर्दथ्यो । त्योबेला किताब पसल थोरै भएकाले र किताब बिक्री हुने मुख्य थलो पिपलबोट हुनेभएका कारण पनि त्यो सूची करिब करिब सत्यको नजिक थियो । तर विस्तारै त्यो सूचीमा लेखक कविले आफ्नो किताबको नाम उत्कृष्ट १० को सूचीमा राख्न सम्पादकलाई प्रभाव पार्न थालेपछि त्यसको प्रभावकारिता कम भएर केही महिनामै त्यो बन्द हुन पुग्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको प्रयास नै गरेन । धेरैपछि द काठमाडौँ पोस्ट अंग्रेजी दैनिकले यस किसिमको सूची सार्वजनिक गर्न थालेको थियो । त्योबेला पनि नेपालमा पुस्तक बिक्रीको संख्यामा ठूलो परिवर्तन नआएको कारण हरेक साता एउटै नाम दोहोरिन थाल्यो । यो प्रयास पनि अन्ततः प्रभावहीन हुन पुग्यो । तर विदेशमा यस किसिमको सूचीको ठूलो महत्त्व छ ।

साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रूपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार विगत डेढ वर्षदेखि साहित्यपोस्टले ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’ प्रकाशित गर्दै आएको छ ।

साहित्यपोस्ट पहिलोपटक २०७७, कात्तिक ५ गते ‘साहित्यपोस्ट सर्वेक्षणः असोज महिनामा कुन किताब बढी बिक्री भयो ?‘ शीर्षकमा पहिलो सर्वेक्षण प्रकाशन गरेको थियो । काेरोनाको दोस्रो लहरका बेला पुस्तक बिक्री अत्यन्तै न्यून भएका कारण केही महिना सर्वेक्षणको प्रकाशन रोकिएको थियो । साहित्यपोस्टले गत महिना, २०७८ सालको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’लाई आधार बनाई ‘साहित्यपोस्ट वर्ष पुस्तक – २०७८‘समेत प्रकाशन गरिसकेको छ ।