साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

माघ महिनाको बेस्ट सेलर सूचीः पुस्तकमा पनि सेयर बजार हावी

Chovar Blues Mobile Size

हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा यस महिना ‘सेयर मन्त्र’ले बाजी मारेको छ । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे यस पुस्तक मागकाे सुरूदेखि नै बजारमा आएकाे थियो । देशमा सेयर बजारमा चासाे राख्नेकाे लहर चलेका बेला बजारमा आएकाले याे पुस्तक देशभरबाट सबैभन्दा बढी बिक्री हुनेमा पर्न सफल भएकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएका छ । त्यस्तै, गत महिना याे सूचीकाे एक नम्बरमा रहेकाे अभिनेत्री मनीषा काेइरालाकाे पुस्तक जिजीविषा भने यो महिनाकाे बेस्ट सेलर सूचीकाे आठाैँ स्थानमा पुगेकाे छ ।

साहित्यपोस्टले गएको असोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दै आएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्ट सेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।

याे महिनाकाे सूचीमा फाइन प्रिन्टबाट बजारमा आएकाे इमन बटलरकाे अनुदित पुस्तक पुँजीवाद दाेस्राे स्थानमा रहेकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । यस पुस्तकमा विश्लेषक चैतन्य मिश्रकाे भूमिका भएका कारण पनि व्यापारमा फाइदा पुगेकाे देखिन्छन । त्यस्तै, अघिल्लाे महिना सूचीकाे दाेस्राे स्थानमा रहेकाे बाबुराम भट्टराईकाे अर्थ राजनीतिक विमर्श याे महिना सूचीबाट बाहिरिएकाे छ भने देवेन्द्रराज पाण्डेकाे पुस्तक एक ज्यान दुई जुनी सूचीकाे तेस्राे स्थानमा छ ।

विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले पाँचाैँ महिनाको सूची प्रकाशन गरेको हो ।

sagarmani mobile size

पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः

१. सेयर मन्त्रः

सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे पुस्तक सेयर मन्त्र माघकाे पहिलाे हप्तादेखि बजारमा आएकाे थियो । नेपालमा सेयर बजारमाथि लगानी गर्नुपर्ने कुरामा जागरण नै चलेकाे तथा लेखक स्वयम् सेयर बजारमा ज्ञाता भएका कारण यस पुस्तककाे बिक्री अध्याधिक रहेकाे बिक्रेताहरू बताउँछन् । लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

२. पुँजीवादः

फाइन प्रिन्टले बजारमा ल्याएकाे, इमन बटलरकाे नेपाली अनुदित पुस्तक पुँजीवाद सूचीकाे दाेस्राे स्थानमा रहेकाे छ । पुँजीवाद शब्दको निमार्ण नै गाली गर्न भएको थियो । हालकाे विश्व पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरूले पनि यो असलमा के हो भन्ने बुझन सकेका छैनन् । त्यसैले उनीहरू वास्तविकता बताउनभन्दा बरु त्यही बिद्रुपताको प्रतिरक्षा गर्न पुगेका छन् । यो पुस्तकले पुँजीवादका बारेमा रहेका भ्रम तथा सत्यहरूकाे बारेमा प्रकाश पार्छ । विश्लेषक चैतन्य मिश्रकाे भूमिकाका कारण पनि पुस्तककाे बिक्री राम्राे भएकाे बिक्रेताहरू बताउँछन् ।

 

३. एक ज्यान दुइ जुनीः

देवेन्द्रराज पाण्डेकाे पुस्तक एक ज्यान दुई जुनी सूचीकाे तेस्राे स्थानमा पर्न सफल भएकाे छ । काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मे-हुर्केका र २०१७ सालमा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका देवेन्द्रराज पाण्डे अर्थ-सचिवसम्म भए । जागिर सुरु गरेको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि उनले आफ्नो बाहुबलले भ्याएका सुधारका काम गर्न खोजे । तर, राजनीतिक परिवेशको जटिलताले अनि देशप्रतिको निष्ठा जोगाउने कर्तव्यले जनमत सङ्ग्रहका बेला उनले राजीनामा दिए । ८१ वर्षीय पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरखण्डलाई मानेका छन् । पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम, तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्‍याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेका छन् ।

४. जातवार्ताः

गएको महिना सूचीको पाँचाैँ स्थानमा रहेको आहुतिको पुस्तक जातवार्ता यस महिना चाैथाे स्थानमा उक्लिएकाे छ । विश्वभक्त दुलालबाट समाजमा अपहेलित भएका ‘आहुति’ राजनीतिकर्मी र लेखक हुँदै गर्दा प्रसिद्धि कमाएका छन् । उनको ‘गहुँगोरो अफ्रिका’ प्रसिद्ध पुस्तकमध्ये पर्दछ । इन्जिनियरिङ् पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा लागेका आहुति माओवादी शान्तिवार्तामा आएपछि सार्वजनिकरुपमा चिनिन थालेका हुन् । उनका कविता र राजनीतिक लेख निकै रुचाइन्छन् । यसैबीचमा आएको ‘जातवार्ता’मार्फत् उनी लगतार बेस्टसेलरमा पनि उक्लिएका छन् ।

 

 

५. महाभारतमा के छ ?

साहित्यपाेस्टमा भाषिक शुद्धिकरण अभियान चलाएका डा. मतिप्रसाद ढकालकाे पुस्तक महाभारतमा के छ ? माघ महिनाकाे बेस्टसेलर सूचीकाे पाँचाै स्थानमा रहेकाे छ । याे पुस्तकमा महाभारतमा भएका कुराहरू सरल भाषामा बुझाइएका छन् । महाभारत हिन्दूहरूकाे महान् ग्रन्थ भएकाे र यो पुस्तकले महाभारतमाथि नै प्रकाश पारेका हुनाले पनि बिक्री राम्रो भएकाे बिक्रेताहरू जनाउँछन् ।

६. महारानीः

गएको असोज र कार्तिकमा निरन्तर सूचीको पहिलो स्थानमा रहेको चन्द्रप्रकाश बानियाँको मदन पुस्कार विजेता उपन्यास महारानी गएको पुस महिनामा सूचीको साताैँ स्थानमा पुगेको थियो । जुन यो महिना एक स्थान माथि उक्लिदै छैटाैँ स्थानमा रहेको छ । सुरूका दुई महिनासम्म बिक्रीको मानक खडा गरेको थियो यस उपन्यासको बिक्री तेस्रो महिनादेखि केही सुस्तताको देखिन्छ । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको छ ।

 

७. देश देशावरः

सफल व्यवसायी एवं लेखक जीवा लामिछानेको पुस्तक ‘देश देशावर’ गएको मंसिरमा साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम स्थानमा रहेको थियो । पुस महिनामा भने यो पुस्तक दुई स्थान तल झरेर सूचीको तेस्रो स्थानमा पुगेको यो पुस्तक माघमा आइपुग्दा साताैँ स्थानमा पुगेकाे छ ।

यसअघि लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ बजारमा आएको थियो । उक्त पुस्तक पनि दुई वर्षअघि त्यस वर्षको बेस्टसेलर पुस्तक मध्येको एक बनेको थियो । नेपालमा ५ हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलरको उपाधि दिने गरिन्छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रसिद्ध व्यवसायी भएका कारण पनि लामिछानेलाई त्यसको लाभ प्राप्त भएको देखिन्छ । नियात्रामा फरक भूगोलको यात्रा भित्रका ज्ञान सरल भाषामा दिएका कारण उनको पुस्तक पाठकहरुले रुचाएको देखिन्छ ।

८. जिजीविषाः
नेपाली मूलकी बलिहुडकी सफल अभिनेत्री मनीषा कोइरालाको पुस्तक जिजीविषा गएकाे पुस महिनाकाे साहित्यपोस्टको बेस्ट सेलर सूचीको पहिलो स्थानमा परेको थियो । यो पुस्तक माघमा भने सूचीकाे आठाैँ स्थानमा झरेकाे छ ।

अभिनेत्री कोइरालाको किताबको चर्चा धेरै अघिदेखि भए पनि बजारमा यसै महिनाको सुरूमा आएको हो । मनिषा कोइरालालाई क्यान्सर रोग लागेपछिका अनुभूति यस पुस्तकमा समेटिएका हुनाले पनि यस पुस्तकमा पाठकको विशेष रूची रहेको छ ।

 

९. सेयरबाट कराेडपतिः

रविन्द्र भट्टराईको सेयर बजारसम्बन्धी पुस्तक सेयरबाट कराेडपति पुस महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेकाे थियो । यो महिना भट्टराई नयाँ पुस्तक सेयर मन्त्र बजारमा आएपछि यसकाे बिक्री केही सुस्ताए पनि बेस्ट सेलर सूचीकाे नवाैँ स्थानमा पर्न सफल भएकाे छ ।  सेयर बजारमा आएको उछाल तथा युवा पुस्तामा बढ्दो सेयर बजारसम्बन्धी चासोको कारण यो महिना यस पुस्तकको बिक्री सुखद् रहेको अनुमान गरिएको छ ।

 

१०. करियाः

रक्तकुण्ड जस्ताे सनसनीपूर्ण उपन्यास लेखेर चर्चामा आएकाे कृष्ण अविरलकाे पुस्तक करिया यस महिनाकाे बेस्ट सेलर सूचीकाे दशाैँ स्थानमा पर्न सफल भएकाे छ । अविरलले यस पुस्तकलाइ करिब १०० वर्षअघिकाे राणाकालीन समाज र करिया प्रथाकाे खाेज तथा अनुसन्धान गरेर औपन्यासिक रूप दिएका छन् । बजारमा आएकाे साताभित्र सूचीमा अट्नुले करियाकाे बिक्री आगामी महिनामा सुखद् रहने अनुमान गर्न सकिन्छ ।

 

प्रतिक्रिया
Loading...