विश्वप्रसिद्ध पत्रिकाहरुले हरेक साता बेस्ट सेलर बुकको सूची सार्वजनिक गर्दै आएका छन् । नेपालमा त्यस किसिमको प्रयास गोरखापत्रले गरेको थियो । वरिष्ठ कवि तुलसी दिवसका अनुसार २०४१ सालतिर गोरखापत्रले प्रत्येक साता शनिवार साताभरि बिक्री भएका पुस्तकमध्ये उत्कृष्ट १० को सूची सार्वजनिक गर्दथ्यो । गोरखापत्रको कार्यालय नजिकै रहेको न्युरोडको पिपलबोटमा बिक्री भएको पुस्तकको आधारमा त्यो सूची सार्वजनिक हुने गर्दथ्यो । त्योबेला किताब पसल थोरै भएकाले र किताब बिक्री हुने मुख्य थलो पिपलबोट हुनेभएका कारण पनि त्यो सूची करिब करिब सत्यको नजिक थियो । तर विस्तारै त्यो सूचीमा लेखक कविले आफ्नो किताबको नाम उत्कृष्ट १० को सूचीमा राख्न सम्पादकलाई प्रभाव पार्न थालेपछि त्यसको प्रभावकारिता कम भएर केही महिनामै त्यो बन्द हुन पुग्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको प्रयास नै गरेन । धेरैपछि द काठमाडौँ पोस्ट अंग्रेजी दैनिकले यस किसिमको सूची सार्वजनिक गर्न थालेको थियो । त्योबेला पनि नेपालमा पुस्तक बिक्रीको संख्यामा ठूलो परिवर्तन नआएको कारण हरेक साता एउटै नाम दोहोरिन थाल्यो । यो प्रयास पनि अन्ततः प्रभावहीन हुन पुग्यो ।

तर विदेशमा यस किसिमको सूचीको ठूलो महत्व छ ।

यही मेसोमा साहित्यपोस्टले केही व्यवस्थित ढंगले ‘साहित्यपोस्ट बेस्टसेलर‘ नामक सूची सार्वजनिक गर्ने प्रयास गरेको छ । यसलाई सत्यको नजिक बनाउन र लेखक प्रकाशकको प्रभावबाट मुक्त गर्न हामीले देशभरिका पुस्तक पसलमा दैनिक सम्पर्क गरेर त्यसको रिपोर्ट लिने र त्यसलाई वैज्ञानिक विधिले विश्लेषण गरेर सूची सार्वजनिक गर्ने निर्णय गरेका छौँ । यसका लागि काठमाडौँ उपत्यकाका १० पुस्तक पसलहरु छनोट गरेका छौँ । त्यसैगरी उपत्यकाका बाहिरका हरेक मुख्य सहरका दुई र सानो सहरका एक–एक पसल गरी थप २० पुस्तक पसलको छनोट गरेका छौँ ।

यी तीसवटा पसलबाट प्राप्त बिक्री संख्या र पुस्तकको नामहरुलाई हामीले जम्मा गरेर त्यसमध्ये सबैभन्दा माथिल्लो तहमा बिक्री भएका १० पुस्तकको नाम सार्वजनिक गर्ने निर्णय गरेका छौँ । हामीले पुस्तक पसलको नाम र रिपोर्ट लिने व्यक्तिहरुको नाम गोप्य राखेका छौँ । सकेसम्म पुस्तक पसलहरुलाई पनि आफूले कुनै साथी भाइलाई दिएको रिपोर्टका आधारमा साहित्यपोस्टले बेस्ट सेलरको सूची सार्वजनिक गर्छ भन्ने थाहा नहोस् । यसका लागि हामीले साहित्यपोस्टका स्थानीय गम्भीर पाठकहरुलाई आफ्नो सहरको सबैभन्दा ठूला पुस्तक पसलमा गएर त्यसको रिपोर्ट लिन आग्रह गरेका छौँ । त्यही पसलबाट एक जना पाठकले पठाएको रिपोर्ट र अर्को जनाले पठाएको रिपोर्टमा समेत हामीले छानविन गर्नेछौँ र त्यसमा शंका लागे तेस्रो पाठकलाई पुनः त्यसको छानविन गर्न आग्रह गरेका छौँ ।

हामीलाई यो रिपोर्ट बनाउन स्थानीय पाठकको हौसला र केही साहित्यप्रेमी पुस्तक पसलहरुको साथ छ । साथै पठन संस्कृतिको विकास हुनुपर्छ भन्ने सोच भएका प्रकाशकहरुबाट पनि हामीले सहयोग लिएका छौँ । यसरी तीन तहबाट प्राप्त सूचनालाई आधार मानेर हामी यो सूची सार्वजनिक गर्दैछौँ । आगामी दिनमा यो सूचीलाई अझ विश्वसनीय बनाउन तपाईंहरुको सुझाव, सल्लाह र आलोचनाले पनि मद्दत गर्नेछ । यो सूचीलाई विश्वसनीय बनाउन सकियो भने पाठकहरुले बजारमा कुन पुस्तक बिक्री भइरहेका छन्, सजिलै जान्न पाउने छन् ।
यो पाठकहरुको अधिकार पनि हो ।

यो सूची असोज १५ यताको हो । हामीले बिक्रीको आधारमा पहिलोदेखि उपल्लो १० सम्मको सूची प्रकाशन गरेका छौँ । त्यो पुस्तक बिक्री हुनुको कारण पनि हामीले खोज्ने प्रयास गरेका छौँ ।

१) महारानी– चन्द्रप्रकाश बानियाँ

मदन पुरस्कार सूची सार्वजनिक भएयता नै महारानीको चर्चा चुलिएको थियो । यो पुस्तकको प्रकाशक शिखा बुक्सका अनुसार यो पुस्तक प्रकाशन भएदेखि मदन पुरस्कार सार्वजनिक भएयता एक हजार पनि बिक्री भएको थिएन । तर जसै सूची सार्वजनिक भयो, यो पुस्तकको माग अचानाक बढ्यो ।

देशभरिका पुस्तक व्यापारीहरुका अनुसार अन्तिम नाम घोषणा हुनुअघिसम्म मदन पुरस्कारको सूचीमा रहेका ७ मध्ये ६ वटा पुस्तकले राम्रै बजार लिएका थिए । मदन पुरस्कारको सूचीमा परेका विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्सोको चक्रव्युह, ललित विष्ठको मोहपथ, शारदा शर्माको यात्रामा, भुवन ढुंगानाको परित्यक्त पनि बिक्रीका हिसाबले महारानीसरह नै प्रतिस्पर्धामा थिए । महारस निघुण्ट नामक आयुर्वेदिक पुस्तक भने केही पुस्तक पसलबाट फाट्टफुट्ट मात्र बिक्री भएका थिए । तर जसै महारानीले मदन पुरस्कार पाएको घोषणा भयो, अचानक ती पुस्तकको बिक्रीमा कमि आयो र महारानीको ग्राफ बढ्यो । त्यो अहिलेसम्म जारी छ ।

२) सम्बन्धहरू– विजयकुमार

यो स्तम्भको प्रारम्भ गर्न हामीले सर्वेक्षण सुरु गर्नु र विजयकुमारको सम्बन्धहरु पुस्तक प्रकाशन हुनु एकैपटक पर्यो । यही कारण बजारमा जताततै सम्बन्धको चर्चा थियो ।

यद्यपि जुन स्तरमा महारानी बिक्री भइरहेको छ, त्यो स्तरमा सम्बन्धहरु बिक्री नभएको देशभरिबाट आएको रिपोर्टले देखाएको छ । विशेषगरी उपत्यका र मुख्य सहरी क्षेत्रमा विजयकुमारको पुस्तक खोज्नेहरु बढी देखिए पनि स–साना सहर र पसलहरुमा महारानीको बिक्री सम्बन्धहरुको भन्दा बढी देखिएको छ । यस अर्थमा सम्बन्धहरु यो सर्वेक्षणमा महारानीपछि दोस्रो स्थानमा रहेको देखिन्छ ।

३) मुसा मानुष – गनेस पौडेल

हामीले बजारमा मौलिक कृतिहरु मात्रै बजारमा बिक्री हुन्छन् भन्ने सोचेका थियौँ । तर सर्वेक्षणले अनुदित पुस्तकहरुको बजारमा पनि राम्रै देखायो । हाम्रो पहिलो सर्वेक्षणले जोन स्टेनबेकद्वारा लिखित नेपाली अनुवादले सबै जसो पुस्तक पसलमा प्रभुत्व जमाएको देखियो । विशेषगरी पोखरा, काठमाडौँ र इटहरीमा यो पुस्तकको बिक्री बढी भएको देखिएको छ ।

४) वनको वैभव– दधि सापकोटा

दधि सापकोटमा मुलधारका साहित्यिक लेखक होइनन् । उनी नेपालमा पनि बस्दैनन् । उनको पुस्तकको प्रचारप्रसार पनि उतिसारो देखिँदैन । तैपनि उनको पुस्तक काठमाडौँ र चितवनका पसलहरुबाट राम्रो बिक्री भइरहेको देखिएको छ ।

५) न्यायपालिकामा चार दशक मेरा सम्झना– मीनबहादुर रायमाझी

मीनबहादुर रायमाझी पेशेवर लेखक होइनन् । उनी बौद्धिक वर्गबाहेक अन्य क्षेत्रमा चिनिएका पनि होइनन् । यति हुँदाहुँदै पनि हाम्रो सर्वेक्षणमा पूर्व–प्रधानन्यायधीश मीनबहादुर रायमाझीको आत्मकथाले गएको १५ दिनमा निकै राम्रो बजार लिएको देखाएको छ । न्याय क्षेत्रमा रुचि हुनेहरु र पेशेवर वकालत गर्नेहरु सबैजसोले यो पुस्तक किनिरहेको देशभरिका पुस्तक पसलेहरुले जनाएका छन् । दसैँका अवसरमा आत्मकथात्मक पुस्तकहरुमध्ये एउटा पुस्तक सधैँ चल्छ भन्ने मान्यता छ । यसपटक पूर्वप्रधानन्यायधीश रायमाझीको यो पुस्तक चलेको देखिन्छ ।

६) सत्ता र सत्य– खगेन्द्र संग्रौला

यो सर्वेक्षणमा केही अनुदित पुस्तकले बजार लिएको देखिन्छ । त्यसमध्ये विश्वप्रशिद्ध दार्शनिक एवं राजनीतिशास्त्रीहरुको आलेखहरुको संग्रह सत्ता र सत्यले पनि पाठकहरु कमाइरहेको छ । यो पुस्तक राजनीतिक कार्यकर्ताहरुले किनिरहेको पुस्तक पसलेहरुले जनाएका छन् ।

७) नेपालका नखुलेका पाटाहरु– तीर्थबहादुर श्रेष्ठ
केही समययता तीर्थबहादुर श्रेष्ठका पुस्तकहरुप्रति पाठकको आकर्षण बढिरहेको छ । यही मेसोमा श्रेष्ठको यो पुस्तकले बजार लिएको देखिन्छ ।

८) वैशालीकी नगरबधु – चाचार्य चतुरसेन
हाम्रो सर्वेक्षणमा परेको अर्को अनूदित पुस्तक हो– वैशालीकी नगरवधु । यो पुस्तकलाई भारतको चर्चित उपन्यासका रुपमा गणना गरिन्छ । सायद यही कारण नेपालीमा अनुवाद भएको यो पुस्तकलाई पाठकहरुले खोजेका हुन सक्छन् ।

९) याम्बुनेर– बिना थिङ
दसैँको अवसर पारेर बढी बिक्री भइरहेको एक मात्र कथा संग्रह हो, बिना थिङको ‘याम्बुनेर’ । थिङ २०७६ सालको बाह्रखरी कथा प्रतियोगितामा प्रथम भएकी थिइन् । २०७७ सालको बाह्रखरी कथा प्रतियोगितामा भने उनी निर्णायक मण्डलमा थिइन् । मिथक र आधुनिकता मिश्रित कथाहरू नयाँ स्वाद बनेकाले पनि पाठकले रूचाएका हुन सक्छन् । एक नारी कथाकारका रूपमा उनको पुस्तक रूचाइनु सुखद् पक्ष बन्न पुगेको छ ।

१०) मोक्षभूमि– केशव दाहाल
दासहरुको कथा बोकेको उपन्यास ‘मोक्षभूमि’ यो सर्वेक्षणको दसौँ स्थानमा परेको छ । पत्रपत्रिकाहरुमा राजनीतिक टिप्पणी लेख्न रुचाउने केशव दाहालले लेखेको यो उपन्यास प्राचीन समयमा दासहरुले गरेको विद्रोहको कथा भन्छ । तर कताकती यसलाई नेपाली राजनीतिसँग पनि जोडेर हेर्न सकिन्छ । उपन्यासको विषय र राजनीतिक कार्यकर्ताका रुचिका कारण यो उपन्यासको बिक्री बढेको अनुमान पसलेहरुले लगाएका छन् ।

यी बाहेक ‘क्रान्ति र प्रतिक्रान्ति’, ‘विचार विज्ञान’, ‘नेपालको इतिहासमा जंगबहादुर’, ‘युवाले देखेको नेपाल’, ‘युगान्त’, ‘कान्छा महारानी’, ‘भोल्गादेखि गंगासम्म’ जस्ता पुस्तकहरु टप टेनको लिस्टमा पर्न नसके पनि राम्रै बिक्री भइरहेको देखिन्छ ।