मङ्सिरले चुनाव मनाएर गयो । निर्वाचनमा देश होमिनुको अस्तव्यस्तता सबै क्षेत्रमा देखिएको । मङ्सिर महिनाको पहिलो साता ‘कात्तिक महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूची’ प्रकाशन गर्नुपर्ने थियो । तर चुनावी अस्तव्यस्तताले हामीलाई पनि छोयो । रिपोर्ट सङ्कलन गर्न सकिएन ।

लामो समयसम्म उजाड देखिएको नेपाली साहित्य बजारले गत असोजदेखि नयाँ पालुवाहरू हाल्न थालेको छ । रामलाल जोशीको बाआमा, सुबिन भट्टराईको इजोरिया तथा भगवान् कोइरालाको हृदयलगायत पुस्तकले पुस्तक बजारमा हरियाली ल्याएका छन् । अब त्यो सूचीमा बुद्धिसागरको बहुप्रतिक्षित पुस्तक ‘एक्लो’ पनि थपिएको छ ।

मङ्सिर महिनामा आइपुग्दा पनि सुबिनको इजोरिया, रामलालको बाआमा तथा भगवान् कोइरालाको हृदयले राम्रो व्यापार गरिगरेका छन् । तर, आक्रमक व्यापार गर्दै मङ्सिरको अन्तिमतिर मात्र प्रकाशनमा आएको बुद्धिसागरको ‘एक्लो’ साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ । प्राप्त रिपोर्टका अनुसार निकटतम् प्रतिद्वन्द्वी सुबिन भट्टराईको ‘इजोरिया’लाई बिक्रीमा उछिन्दै एक्लो पहिलो स्थानमा रहेको हो ।

बुद्धिसागरले सात वर्षपछि प्रकाशनमा ल्याएको पुस्तक हो, ‘एक्लो’ । ‘कर्णाली ब्लुज’मार्काका पाठकहरूका लागि ‘एक्लो’को प्रतीक्षा ठुलो थियो । त्यही बुद्धिसागरको पुस्तकलाई लिएर हुने गरेको प्रतीक्षा बिक्रीमा बदलिएको बिक्रेताहरू बताउँछन् । किताब किरोका रमेश लामिछाने भन्छन्, ‘बुद्धिसागरको एक्लोमात्र बिक्री भइरहेको छैन, सँगै कर्णाली ब्लुजको बिक्री पनि बढेको छ ।’

मङ्सिर महिनाको सूचीको दोस्रो स्थानमा सुविन भट्टराईको पाचौं उपन्यास ‘इजोरिया’ पर्न सफल भएको छ । यसअघि, भदौ र असोजको सूचीमा यो पुस्तक निरन्तर पहिलो स्थानमा रहेको थियो । नेपाली साहित्यमा सुविनका आफ्नै पाठक छन् । अन्य लेखकलाई नपढ्ने पाठकको सङ्ख्या ठुलो छ, जसले सुबिनलाई खोजीखोजी पढ्छन् । पुस्तकको बिक्री आक्रमकको हुनुको कारण पनि तिनै पाठक रहेको बिक्रेताहरू बुझाइ छ ।

त्यस्तै, सूचीको तेस्रो र चौथो स्थानमा क्रमशः भगवान् कोइरालाको हृदय र रामलाल जोशीको बाआमा रहेका छन् । यसअघि, असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा कोइरालाको हृदय दोस्रो र जोशीको बाआमा तेस्रो स्थानमा पर्न सफल भएका थिए । मङ्सिर महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा भने डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य : सास, साहस र स्नेहको कथा’ पर्न सफल भएको छ ।

यसअघि, असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’, पाँचौं स्थानमा रहेको डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’, छैटौं स्थानमा रहेको खगेन्द्र लामिछानेको ‘फुर्के’, सातौं स्थानमा रहेको प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, आठौं स्थानमा रहेको देवप्रकाश त्रिपाठीको कृति ‘तुषानल: नेपाली राजनीतिको अन्तर्य’, नवौं स्थानमा रहेको सत्यमोहन जोशीको आत्मकथा “सत्यमोहन” र दसौं स्थानमा रहेको केशव ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’ सूचीबाट बाहिरेका छन् ।

त्यस्तै, मङ्सिर महिनाको सूचीमा पहिलो स्थानमा रहेको एक्लोसँगै ‘शून्यको मूल्य : सास, साहस र स्नेहको कथा’, ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’, ‘खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’, Why Nepal, सुश्री पारिजात र कर्णाली ब्लुजले प्रवेश पाएका छन् ।

हेर्नुहोस्, बिक्रेताहरुको अनुभव तथा पुस्तकको छोटो परिचयसहित मङ्सिर महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरु:

१. एक्लो – बुद्धिसागर

मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा बुद्धिसागरको बहुप्रतिक्षित उपन्यास ‘एक्लो’ पर्न सफल भएको छ । मङ्सिर महिनामा अन्तिमतिर मात्रै प्रकाशनमा आएको यो पुस्तकमा देशभर उत्कृष्ट व्यापार गरिरहेको छ । प्राप्त रिपोर्टका अनुसार निकटतम् प्रतिद्वन्द्वी सुबिन भट्टराईको ‘इजोरिया’लाई बिक्रीमा उछिन्दै एक्लो पहिलो स्थानमा रहेको हो ।

यसअघिका आफ्ना दुई उपन्यासहरू ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’मा गाउँ लेखेका बुद्धिसागरले ‘एक्लो’मा भने सहर लेखेमा छन् । यसर्थ, एक्लो सहरको कथा हो । श्रीको कथा हो । श्री र श्रीसँगै जोडिएर आउने अन्य पात्रहरूको सपना र सङ्घर्षको कथा हो । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । यो सहरमा अनेक सपना बोकेर फनफनी घुमिरहने पात्रहरू छन् कथामा, जो होहल्लामा त छन् तर आफूभित्र विराट एक्लोपन बोकेर हिँडिरहेका छन् । एक्लो यस्तै पात्रहरूको कथा हो ।

बुद्धिसागरले सात वर्षपछि प्रकाशनमा ल्याएको पुस्तक हो, ‘एक्लो’ । ‘कर्णाली ब्लुज’मार्काका पाठकहरूका लागि ‘एक्लो’को प्रतीक्षा ठुलो थियो । त्यही बुद्धिसागरको पुस्तकलाई लिएर हुने गरेको प्रतीक्षा बिक्रीमा बदलिएको बिक्रेताहरू बताउँछन् । किताब किरोका रमेश लामिछाने भन्छन्, ‘बुद्धिसागरको एक्लोमात्र बिक्री भइरहेको छैन, सँगै कर्णाली ब्लुजको बिक्री पनि बढेको छ ।’

 

२. इजोरिया – सुबिन भट्टराई

किशोर तथा युवापुस्तामाझ बहुचर्चित लेखक सुविन भट्टराईको पाचौं उपन्यास ‘इजोरिया’ मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा दोस्रो स्थानमा रहेको छ । बिक्रेताबाट प्राप्त रिपोर्टलाई आधार मान्दा सुबिनको उपन्यास इजोरिया आक्रमक व्यापारलाई कायमै राख्दै दोस्रो स्थान रहन सफल भएको छ ।

यसअघि, भदौ र असोजको सूचीमा यो पुस्तक निरन्तर पहिलो स्थानमा रहेको थियो । प्रतिनिधि र प्रदेश सभाका चुनावका कारण कात्तिक महिनामा भने बेस्ट सेलर सूची सार्वजनिक गर्न सकिएको थिएन ।

इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । उपन्यासमा सुबिनले पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई कथाका रुपमा उतारेका छन् । यसअघिका उपन्यासहरूमा काठमाडौं केन्द्रित देखिएका सुविनले इजोरियामा मधेशको परिवेशमा समाएका छन् ।

नेपाली साहित्यमा सुविनका आफ्नै पाठक छन् । अन्य लेखकलाई नपढ्ने पाठकको सङ्ख्या ठुलो छ, जसले सुबिनलाई खोजीखोजी पढ्छन् । पुस्तकको बिक्री आक्रमकको हुनुको कारण पनि तिनै पाठक रहेको बिक्रेताहरू बुझाइ छ ।

पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

३. हृदय – डा. भगवान् कोइराला

असोज महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को दोस्रो स्थानमा रहेको वरिष्ठ डा. भगवान् कोइरालाको आत्मकथा ‘हृदय’ मङ्सिर महिनाको सूचीको तेस्रो स्थानमा पुगेको छ । प्रकाशकले ‘हृदय’को २५ हजार मूल्य अंकित २५ सय प्रति विशेष संस्करण र कम मूल्यमा नियमित संस्करण बजारमा ल्याएको थियो । प्राप्त रिपोर्टका अनुसार ‘नियमित संस्करण’को बिक्रीको आधारमा हृदय सूचीको तेस्रो स्थानमा पर्न सफल भएको हो । विशिष्टकृत संस्करणको बिक्रीलाई सूचीमा समावेश गरिएको छैन ।

बाह्र हजारभन्दा बढी मानिसको मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए । सातै प्रदेशमा अस्पताल निर्माणको खाका कोरेका कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरू गरिसकेको छ । विशिष्टकृति संस्करणको बिक्रीबाट कुनै पनि खर्च नकटाइ सम्पूर्ण रकम विशिष्टकृत बाल अस्पताललाई जाने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । साथै, नियमित संस्करणबाट डा. कोइरालालाई प्राप्त हुनआउने लेखस्वको ५० प्रतिशतसमेत अस्पताल निर्माण अभियानमा जानेछ ।

बैद्धिकदेखि युवा पुस्तासम्मका सबैखाले पाठकहरुको ध्यान ‘हृदय’ले खिचिरहेको बिक्रेताहरुले बताएका छन् । डा. कोइरालाको व्यक्तित्व तथा विशिष्टकृत बाल अस्पताल निर्माणको लोककल्याणकारी कार्यसमेत पुस्तकसँग जोडिएको हुनाले बिक्री उत्कृष्ट रहेको बिक्रीताहरूको अनुभव छ ।

 

४. बाआमा – रामलाल जोशी

कथासङ्ग्रह ‘ऐना’का लागि मदन पुरस्कार विजेता रामलाल जोशीको दोस्रो कथाकृति ‘बाआमा’ मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा पर्न सफल भएको छ । यसअघि यो पुस्तक असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा तेस्रो स्थानमा रहेको थियो ।

बाआमा विशेषतः सृष्टिको कथा हो । सम्बन्धको कथा हो । कथाकार जोशीले सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पले कथाका रूपमा प्रस्तुत गरेका छन् । कथा बुनिएका मात्र छैनन्, एकअर्कामा उनिएका पनि छन् । कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको भान हुन्छ, तर प्रत्येक कथाहरू आफैंमा पूर्ण छन् ।

प्रकाशक बुकहिलको आक्रमक मार्केटिङका कारण सुरूबाटै पुस्तकले उत्कृष्ट व्यापार गरेको थियो । दोस्रो महिनामा आइपुग्दा पाठकहरुबाट राम्रो प्रतिक्रिया पाएका कारणले पनि बाआमा निरन्तर रूपमा पाठकहरूको रोजाइमा परिरहेको बिक्रेताहरू बताउँछन् । साथै, जोशीको ‘मदन पुरस्कार’वाला व्यक्तित्वले समेत पुस्तक बिक्रीमा सकरात्मक प्रभाव रहेको उनीहरुको अनुभव छ ।

 

५. शून्यको मूल्य : सास, साहस र स्नेहको कथा

मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर पाँचौँ स्थानमा बालरोग विशेषज्ञ डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य : सास, साहस र स्नेहको कथा’ पर्न सफल भएको छ । देशभरबाट प्राप्त रिपोर्टलाई आधार मान्दा विशेषतः कर्णाली क्षेत्र वरिपरिका कथा समेटिएको शून्यको मूल्य सूचीको पाँचौँ स्थानमा रहेको देखाएको हो ।

‘एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?’, पुस्तकका बारेमा बुद्धिसागर लेख्छन्, ‘… पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् ।’

पुस्तकले समेटेको विषय र क्षेत्र तथा मानव संवेदनासँग सजिलै जोडिने नवीन कथाहरूका कारण पुस्तकको बिक्री राम्रो भएको बिक्रेताहरूको अनुभव छ । साँङ्ग्रीला प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो पुस्तकको बिक्रीलाई पछिल्लो समयमा पाठक प्रतिक्रियाले समेत साथ दिइरहेको छ ।

 

६. सत्ता सङ्घर्ष – रामकृष्ण भण्डारी

मङ्सिर महिनाको बेस्ट सेलर सूचीको छैटौं स्थानमा रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ रहेको छ । ०४६ सालपछिको नेपालको सत्ता राजनीतिलाई केन्द्रमा राखिएर तयार पारिएको यो पुस्तक छैटौं स्थानमा पर्न सफल रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको हो ।

२०४६ सालमा देशमा प्रजातन्त्रको पुनःस्थापना भयो । शासन व्यवस्था जनप्रतिनिधिका हातमा आयो । सँगै जनतामा विकास र समृद्धिको आश पलायो । तर देश भने दलीय दाउपेच र अन्तर्द्वन्द्वको दलदलमा फँस्यो । ०४८ सालदेखि ०७८ सालसम्मको ३० वर्षको समयमा २८ वटा सरकार बने । यही समयको तथ्यपरक फेहेरिस्त हो, सत्ता सङ्घर्ष । पुस्तकमा लेखिएको छ, ‘व्यवस्था सजिलै फेरिने तर शासक नफेरिने अचम्मको चक्रव्यूहमा देश कसरी फस्न पुग्यो भन्ने देखाइएको यस पुस्तकमा प्रजातन्त्र पुनःस्थापनादेखि हालसम्म बनेका सरकारहरूको नालीबेली प्रस्तुत गरिएको छ ।’

पुस्तक विशेषतः गृह राजनीतिमा चासो राख्ने पाठकहरूको रोजाइमा परिरहेको बिक्रेताहरूले बताएका छन् । पुस्तकलाई साँङ्ग्रीला प्रकाशन गृहले बजारमा ल्याएको हो ।

 

७. एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष

साहित्यपोस्ट बेस्ट सेलर सूचीको सातौं स्थानमा खगेन्द्र संग्रौलाको जीवनी ‘खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’ पर्न सफल भएको छ । प्राप्त रिपोर्टले उज्ज्वल प्रसाईंले लेखेको संग्रौलाको जीवनी सूचीको सातौँ स्थानमा रहेको देखाएको हो ।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनहरु, कम्युनिष्ट आन्दोलनहरु तथा अन्य सामाजिक आन्दोलनहरुमा खगेन्द्र संग्रौलाले सक्रिय भूमिका निर्वाह गरे । सधैं सत्ताको विपक्षमा उभिने गरेका संग्रौलालाई ‘सदावहार प्रतिपक्षी’का रूपमा समेत चिनिन्छ । उनै संग्रौलाको जीवनीलाई केन्द्रमा राखेर पुस्तकमा प्रसाईंले नेपाल र नेपाली राजनीतिको कथा कहेका छन् ।

नेपालका हरेक क्षेत्रमा संग्रौलालाई गुरू मान्नेहरूको कमी छैन । पुस्तकको बिक्रीमा मुख्यतः उनीको व्यक्तित्वको प्रभाव देखिएको छ । साथै, नेपाली राजनीति तथा आन्दोलनहरूमा चासो भएका पाठकहरूको रोजाइमा समेत यो पुस्तक परिरहेको बिक्रेताहरूको अनुभव छ ।

पुस्तकलाई बेला पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।

 

८. Why Nepal ? – उज्ज्वल थापा

युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल ?’ मङ्सिर महिनाको बेस्ट सेलर सूचीको आठौं स्थानमा पर्न सफल भएको छ । थापा वैकल्पिक राजनीतिको सुरूवात गर्ने फरक प्रकृतिको नेता थिए, र उनले देखेको नेपालको सपनाबारे किताबमा विस्तृत रूपमा अभिलेखन गरिएको छ ।

नेपालको उज्ज्वल भविष्यप्रति विश्वस्त थापाले विभिन्न आयामबाट आफ्नो आत्मविश्वासमाथि गरेको व्याख्या र विष्लेषण किताबमा पढ्न पाइने छ । किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपना, थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ । पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको छ ।

नेपाली राजनीतिक पछिल्लो परिदृश्य, वैकल्पिक राजनीतिप्रति देखिएको झुकाव तथा उज्ज्वलका बारेमा जान्न चाहने राजनीतिक रूपमा सचेत पाठकहरूका कारणले पुस्तकको बिक्री सुखद् रहेको बिक्रेताहरूको अनुभव छ ।

पुस्तकलाई यात्रा पब्लिसिङ हाउसले प्रकाशनमा ल्याएको हो ।

 

९. सुश्री पारिजात – गोविन्द गिरी प्रेरणा

पारिजातको जीवनी ‘सुश्री पारिजात’ बेस्ट सेलर सूचीको नवौं स्थानमा पर्न सफल भएको छ । मङ्सिर अन्तिम सातामात्र प्रकाशनमा आएको गोविन्द गिरी प्रेरणाकृत ‘सुश्री पारिजात’ सूचीको नवौं स्थानमा रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।

पुस्तकमा प्रेरणाले पारिजातको जीवनका विभिन्न पाटाहरुको चर्चा गरेका छन् । पुस्तकमा ‘दार्जीलिङ : छेकुडोल्मादेखि विष्णुकुमारी वाइबा’, ‘काठमाडौंका सुरुवाती दिन’, ‘जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर’, ‘राल्फा युग र पारिजात’, ‘कथायात्रा’, ‘आरोप’, ‘प्रगतिवादी लेखन’, ‘पारिजात र राजनीति’, ‘सम्पादन, अनुवाद र स्तम्भलेखन’, ‘आनीबानी’, ‘पारिजातको साहित्यिक दृष्टि’, ‘विविध संलग्नता’ र ‘चिरनिद्रा’ खण्डअन्तर्गत पारिजातको समग्र जीवनकथा समेटिएको छ ।

पारिजातका सिर्जनामात्र होइन, नेपाली साहित्यमा चासो राख्नेहरूका लागि उनको जीवनकथा पनि सर्वाधिक चासोको विषय हो । यसै कारणले पुस्तकप्रति पाठकहरूको झुकाव देखिएको बिक्रेताहरू बताउँछन् ।

पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

१०. कर्णाली ब्लुज – बुद्धिसागर

हाल बुद्धिसागको तेस्रो उपन्यास एक्लोले बजार तताइरहेको छ । एक्लोसँगै उनको पहिलो उपन्यास कर्णाली ब्लुजको बिक्रीसमेत बढेको प्राप्त रिपोर्टले देखाएको छ । अतः बुद्धिसागरको नवीनतम उपन्यास एक्लो सूचीको पहिलो स्थानमा रहँदा कर्णाली ब्लुज अन्तिम (दसौं) स्थानमा पर्न सफल भएको छ ।

कर्णाली ब्लुजलाई नेपाली साहित्यको सदावहार बिक्री हुने पुस्तक भएको बिक्रेताहरू बताउँछन् । एक्लोको विमोचनसँगै सदावहार बिक्रीमा थप सङ्ख्या थपिएको उनीहरूको अनुभव छ । उनीहरूका अनुसार, एक्लो किन्ने एकचौथाईले कर्णाली ब्लुज पनि खोज्ने गरेका छन् ।

कर्णाली ब्लुजलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको शीर्ष दसमा परेका बाहेक पूर्वीय दर्शन विमर्ष, पानीघट्ट, सत्यमोहन, जीवन एक सपना, एक अनि शून्य, सूर्यबहादुर थापा, पलपलको मृत्यु, तुषनाल, प्रश्न, कुलचन्द्र गौतम, अग्नि, मफलर, टुवरा, नोस्टालजिय, सन्तापको धूनलगायत पुस्तकहरूको बिक्रीसमेत सन्तोषजन रहेको रिपोर्ट प्राप्त भएको छ ।