नेपालको पहिलो दैनिक साहित्यिक (इ) पत्रिका साहित्यपोस्टले “साहित्यपोस्ट वर्ष पुस्तक – २०७८” घोषणा गरेको छ । साहित्यपोस्टले मासिक रुपमा सर्वेक्षण गर्दै आएको “साहित्यपोस्ट बेस्ट सेलर सूची”को आधारमा ११ वटा पुस्तकलाई वर्ष पुस्तकका रुपमा घोषणा गरिएको हो ।
२०७८ सालमा कोभिड-१९ का कारणले पहिलो पाँच महिना लकडानमा बित्यो । यो समयमा “बेस्ट सेलर सूची”को सर्वेक्षण सम्भव थिएन । अनुकुल भएको असोजदेखि चैतसम्म (७ महिना) को “बेस्ट सेलर सूची” सार्वजनिक गरेका थियौँ । ती सात महिनामा प्राप्त रिपोर्टका आधारमा वर्ष पुस्तक छानिएको प्रधानसम्पादक अश्विनी कोइरालाले बताए । कोइरालाले भने, “हामी वर्ष पुस्तकमा परेका ११ पुस्तकहरुलाई ७८ सालभरिमा प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट भएको घोषणा गर्दैनौँ । तर सर्वेक्षणका आधारमा भन्न सक्छौँ – वर्षभरिमा सर्वाधिक बिक्री भएका पुस्तक यिनै ११ हुन् । यहाँ अटाएका पुस्तकका लेखकहरुले लेखेरै जीवनलाई अगाडि बढाउन सक्ने आधार भेटेको हाम्रो अनुभव छ ।”
वर्ष पुस्तकलाई विश्वासनीय र वैज्ञानिक बनाउन प्रत्येक महिना “साहित्यपोस्ट बेस्ट सेलर सूची”मा अटाएका १० पुस्तकलाई स्थानका आधारमा अङ्क छुट्याएको छ । बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहेको पुस्तकको अङ्कभार १०, दोस्रोको ९, तेस्रोको ८, चौथोको ७ र पाँचौँको ६ रहेको छ । त्यस्तै छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेको पुस्तकको अङ्कभार क्रमशः ५, ४, ३, २ र १ रहेको छ । यसरी सूचीमा समावेश कुनै पनि पुस्तकले असोजदेखि चैतसम्म स्थानको आधारमा प्राप्त अङ्कलाई जोडेर वर्ष पुस्तकको छनोट गरिएको हो । यसलाई तलको तालिकाबाट थप प्रस्ट पारिएको छ ।
पुस्तक | असोज | कात्तिक | मङ्सिर | पुस | माघ | फागुन | चैत | प्राप्त अङ्क |
अपरिचित अनुहार | १ = १० | १ = १० | ३ = ०८ | … | … | … | … | २८ |
सतीः इतिहास र मीमांसा | २ = ०९ | ५ = ०६ | ८ = ०३ | ३ =०८ | … | ५ =०६ | ५ =०६ | ३८ |
द्रौपदी अवशेष | ३ = ०८ | २ = ०८ | … | … | … | … | … | १६ |
मोक्षभूमि | ४ = ०७ | ४ = ०७ | … | … | … | … | … | १४ |
त्यो उज्यालो कर्णाली | ५ = ०६ | ६ = ०५ | … | … | … | … | … | ११ |
मोचन | ६ = ०५ | … | … | … | … | … | … | ०५ |
लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह | ७ = ०४ | … | … | … | … | … | … | ०४ |
इन्द्रमाया | ८ = ०३ | … | … | … | … | … | … | ०३ |
कखरा | ९ = ०२ | … | … | … | … | ७ =०४ | … | ०६ |
मिथ्या | १०=०१ | … | … | … | … | … | … | ०१ |
जीवनको पाठशाला, सम्झना र सम्बन्ध | … | ३ = ०८ | १ = १० | … | … | … | … | १८ |
जिउनुको मज्जा | … | ७ = ०४ | … | … | ५ =०६ | … | … | १० |
राज्याभिषेक | … | ८ = ०३ | … | … | … | … | … | ०३ |
पहेँलपुर | … | ९ = ०२ | ४ = ०७ | … | … | … | … | ०९ |
पथेर | … | १०=०१ | … | … | … | … | … | ०१ |
ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन | … | … | २ = ०९ | ४ =०७ | … | … | ७ =०४ | २० |
उज्यालोतिर | … | … | ५ = ०६ | ५ =०६ | ३ =०८ | २ =०९ | ४ =०७ | ३६ |
हिप्पी | … | … | ६ = ०५ | … | … | … | … | ०५ |
कसले सुधार्छ काङ्ग्रेस ? | … | … | ७ = ०४ | … | … | … | … | ०४ |
बीपी कोइरालाको डायरी | … | … | ९ = ०२ | … | … | … | … | ०२ |
मोम्चो | … | … | १०=०१ | ९ =०२ | १०=०१ | … | … | ०४ |
महाभारा | … | … | … | १ = १० | १ =१० | १ =१० | २ =०९ | ३९ |
राणाकालीन शिक्षा | … | … | … | २ =०९ | ४ =०७ | ३ =०८ | ९ =०२ | २६ |
पारिवारिक षड्यन्त्र | … | … | … | ६ =०५ | … | … | … | ०५ |
त्यस बखतको नेपाल | … | … | … | ७ =०४ | ८ =०३ | … | … | ०७ |
युद्धका ती दिनः एक पत्रकारको भोगाइ | … | … | … | ८ =०३ | … | … | १०=०१ | ०४ |
ग्रीष्मको नीलो बतास | … | … | … | १०=०१ | … | … | … | ०१ |
कर्णाली ब्लुज (अङ्ग्रेजी) | … | … | … | … | २ =०९ | ४ =०७ | … | १६ |
नेपालमा मेरो खोजयात्रा | … | … | … | … | ६ =०५ | … | … | ०५ |
प्रश्न | … | … | … | … | ७ =०४ | ६ =०५ | ६ =०५ | १४ |
लेखन शिल्प | … | … | … | … | १०=०१ | … | … | ०१ |
आकाशमुखी | … | … | … | … | … | ८ =०३ | … | ०३ |
लुकेको वासना | … | … | … | … | … | ९ =०२ | … | ०२ |
अर्को भोर | … | … | … | … | … | १०=०१ | … | ०१ |
सत्यमोहन | … | … | … | … | … | … | १ =१० | १० |
एक्लै एक्लै | … | … | … | … | … | … | ३ =०८ | ०८ |
मलिलो माटो | … | … | … | … | … | … | ८ =०३ | ०३ |
१. महाभारा (अङ्क = ३९)
मधुर पूर्वेली लबज र सशक्त संवादको मीठो समिश्रण हो, महाभारा । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।
महाभारा पत्रकार बसन्त बस्नेतको पहिलो उपन्यास हो । शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतको यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ ।
२. सतीः इतिहास र मीमांसा (अङ्क = ३८)
यो पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।
लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए ।
३. उज्यालोतिर (अङ्क = ३६)
जीवनको उर्जावान् समय शिक्षणमा बिताएका टीकाराम रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने सफल प्रयास गरेका छन् । यो कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ ।
४. अपरिचित अनुहार (अङ्क = २८)
महेश पौड्यालको यो कथासङ्ग्रहमा सङ्ग्रहित प्रत्येक कथाहरू पाठकको अनुमानभन्दा भिन्न मोडमा अन्त्य हुन्छन् । कथानकसहित पाठकलाई समेत कथाहरूले भिन्नै मोडमा पुर्याएर छोडिदिन्छन् । कथा टुङ्गिन्छन्, तर कौतुहलता मेटिदैनन्, र असीमित संवेदना उर्लिन्छन् ।
यस कथासङ्ग्रहमा १८ वटा कथाहरु सङ्ग्रहित छन् । त्रिविमा अङ्ग्रेजी साहित्यको प्राध्यापकसमेत रहेका कथाकार पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरुमध्ये पर्छन् । नेपाली साहित्यमा उनलाई पछ्याउने तथा पथप्रदर्शकका रुपमा लिने युवा जमात ठूलो छ ।
५. राणाकालीन शिक्षा (अङ्क = २६)
राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ ।
श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि बिस्तार हुन सक्यो । तर त्यसका लागि लामो समय लाग्यो । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बिउ रोपे, त्यसको प्रभाव नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद् दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने स्वार्थ थियो । यिनै घटनाक्रमका बिच शिक्षाले हुर्किने अवसर पायो । सरकारी लिखितम् नै पुस्तकमा समावेश गरिएकाले राणाकालीन शिक्षाका बारेमा जानकारी लिन यो पुस्तक विश्वासनीय बनेको छ ।
६. ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन (अङ्क = २०)
भारतका नेपालीभाषी र उनीहरूले माग गर्दैआएको गोर्खाल्याण्डका मुद्दाहरूमा केन्द्रित यो पुस्तकमा प्राध्यापक महेन्द्र पी. लामाले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेका छन् ।
पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ । पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् ।
७. जीवनको पाठशाला, सम्झना र सम्बन्ध (अङ्क = १८)
विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रको मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको राजनीतिक विश्वास, विचार र कार्यक्रम राजनीतिज्ञ नरहरि आचार्यको यस आत्मकथाकाे विषयवस्तु रहेका छन् ।
आर्चायले आफू आबद्ध पार्टी नेपाली काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा ल्याउन मात्र नभएर संविधान निमाणर्मा पनि सकरात्मक भूमिका खेलेका थिए । त्यही सम्झनालाई शब्दमार्फत उनका बाल्यकालदेखि विविध राजनीतिक घटनाक्रमको विकासक्रमका साथै मष्तिस्कघातपतिको जीवनलाई लयमा फर्काउने प्रयत्नसम्मका कुराहरुलाई आचार्यले आफ्नो आत्मकथामा समेटेका छन् ।
८. द्रौपदी अवशेष (अङ्क = १६)
नीलम कार्की निहारिकाको उपन्यास द्रौपदी अवशेष हुम्लाको परिवेशलाई अँगालेर सिर्जित फरक किसिमको उपन्यास हो । उपन्यासमा हुम्लाको कथालाई एउटा गैरहुम्ली, मात्र छ महिना सुधारिएको धुवाँरहित चुल्हो वितरण गर्ने एनजिओमा काम गरेको दिग्विजयका आँखाबाट नियालिएको छ ।
साहित्यमा निकै कम चित्रण भएको कर्णालीको परिवेश, त्यहाँको भाषा, संस्कृति, प्रकृति, यात्रा वर्णन आदिले पाठकलाई हुम्लाको विकट गाउँको मनोरम भ्रमण गराउँछ । अझ यसमा प्रेम छ र द्रौपदी अवशेष उपन्यास सफल भएको छ । प्रेमको जितमा उपन्यास मज्जाले हाँसेको छ ।
९. कर्णाली ब्लुज अङ्ग्रेजी संस्करण (अङ्क = १६)
कर्णाली ब्लुज नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको मध्ये एक उपन्यास हो । लेखक बुद्धिसागरको चर्चित उपन्यास ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद माइकल हाटले गरेका हुन् भने प्रतिष्ठित प्रकाशन गृह पेन्गुइन (इण्डिया) ले प्रकाशनमा ल्याएको हो ।
फाइनप्रिन्टबाट प्रकाशित बुद्धिसागरको पहिलो उपन्यास कर्णाली ब्लुज एघार खण्डमा विभाजित छ । दैनिकी मनोवाद शैलीमा प्रस्तुत पुस्तक पहिलो, दोसो दिन गर्दै एघारौँ खण्डमा टुङ्गिएको छ । कर्णाली क्षेत्रको जीवनशैली, त्यहाँको रहनसहन, परिवेश, भाषाशैली, संस्कृतिको सजीव चित्र उतार्ने सफल प्रयास उपन्यासले गरेको छ । भाषा झर्रो तर सरल छ ।
१०. मोक्षभूमि (अङ्क = १४)
केशव दाहालको इतिहासमा आधारित भएर लेखिएको उपन्यास हो मोक्षभूमि । यस कृतिले ०७७ सालका लागि पद्मश्री पुरस्कार पाइसकेको छ । मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ । ‘खस साम्राज्यका चक्रवर्ती सम्राट् क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको’ यसले औँल्याएको छ ।
११. प्रश्न (अङ्क = १४)
‘प्रश्न’ उदय अधिकारीले विभिन्न समयमा विभिन्न स्रष्टाहरूसँग लिइएको अन्तर्वार्ताहरूको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरू तथा स्रष्टाहरूले राखेका आफ्नो विचार र चिन्तन समावेश छन् । अधिकारीले सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुभएका उत्तरहरू उहीमात्रमा विचारउत्तेजक छन् । नेपाली साहित्यको आयतन बुझ्न यो पुस्तक उपयोगी रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।