नियात्रा समाज नेपालद्वारा बुधबार आयोजित एक समारोहमा ‘पवन आलोक नियात्रा पुरस्कार’को स्थापना भएको छ । संस्थाका अध्यक्ष प्रतीक ढकाल र पुरस्कार कोषकी संस्थापक रेखा कँडेलले हिजो एक समझदारीमा हस्ताक्षर गरी पुरस्कारको विधिवत् स्थापना गर्नुभएको हो ।
वर्षभरिमा छापिएका विशुद्ध नियात्रा कृतिहरुमध्ये सर्वोत्कृष्ट एक कृतिलाई पुरस्कृत गर्ने गरी पवन आलोक नियात्रा पुरस्कारको स्थापना गरिएको कुरा पवन आलोक नियात्रा पुरस्कारकी संस्थापक रेखा कँडेलले बताउनु भयो ।
तीन लाख पचास हजार रुपियाँको अक्षयकोष राखी त्यसैको ब्याजबाट आर्जित रकमबाट प्रत्येक वर्ष पच्चीस हजार रूपैयाँको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने व्यहोरा समझदारीपत्रमा उल्लेख छ ।
दुवै पक्षको सहमतिमा हस्ताक्षरित सम्झौताका अनुसार नियात्रा समाज नेपालले हरेक वर्ष कृति मूल्याङ्कनका लागि तीन सदस्यीय पुरस्कार सिफारिस समिति गठन गर्नेछ ।
यस समितिले अघिल्लो वर्ष प्रकाशित नियात्रा कृतिहरुको निरन्तर र सूक्ष्म मल्याङकन गरिरहनेछ तर यसका लागि स्रष्टासँग निवेदन र प्रकाशित कृतिको माग गरिने छैन । सिफारिस समितिको सिफारिसकै आधारमा नियात्रा समाज नेपालको कार्यसमितिको बैठकले पुरस्कृत हुने कृतिको घोषणा गरी प्रत्येक वर्षको वसन्त पञ्चमीका दिन एक विशेष समारोहको आयोजना गरी पुरस्कार अर्पण गरिनेछ ।
पवन आलोक नियात्रा पुरस्कारको सम्झौतापत्रको हस्ताक्षर समारोहमा नियात्रा समाज नेपालका उपाध्यक्ष मोहन चापागाईं, महासचिव प्रभा बराल, कोषाध्यक्ष गीता रेग्मी, नियात्राकार पवन आलोक र संस्था अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो । नियात्रा समाज नेपाललाई विश्वास गरी पुरस्कार स्थापना गर्नुभएकोमा संस्थापक रेखा कँडेललाई नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले साधुवाद टक्रयाउनुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।