
२०७७ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’बाट कुनै एक उत्कृष्ट नियात्राकारलाई सम्मानित गर्ने प्रयोजनका लागि पुरस्कार सिफारिस समितिले अन्तिम पाँच नियात्राकृतिहरूको सूची सार्वजनिक गरेको छ । समितिले अन्तिम पाँच कृतिहरूमा उप्रेतीको कालापानी यात्रा, जीवा लामिछानेको देश देशावर, खेमराज पोखरेलको यायावर पाइला, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यती तथा सरस्वती अर्यालको हिमाल हेर्ने पाइलाहरूलाई सिफारिस गरेका हो ।
‘पवन आलोक नियात्रा पुरस्कार’ कोषकी संस्थापक रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्षका बिच २०७७ फागुन १९ गते भएको लिखित सम्झौता भएको थियो । सोहीअनुसार नियात्रा समाज नेपालका अध्यक्षको संयोजकत्वमा कोष संस्थापकका आधिकारिक एक प्रतिनिधि र नियात्रा विधाका एक मर्मज्ञ/स्रष्टासमेत गरी तीन सदस्यीय सिफारिस समिति गठन गरी अघिल्लो वर्ष प्रकाशित भएका नियात्राकृतिहरूको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने प्रबन्ध मिलाइएको थियो ।
कोष संस्थापकले अक्षयकोषमा रू. ३,५०,०००/- राखी २०७७ सालदेखि नै लागू हुनेगरी यो पुरस्कारको स्थापना गर्नुभएको हो । निसनेका अध्यक्ष प्रतीक ढकाल, नियात्राका मर्मज्ञ/स्रष्टा श्रीओम् श्रेष्ठ ‘रोदन’र संस्थापकका प्रतिनिधि एवं स्रष्टा पवन आलोक सम्मिलित तीन सदस्यीय मूल्यांकन समितिले २०७७ सालभरि प्रकाशित भएका र अध्ययनका लागि फेला पार्न सकिएका दुई दर्जनभन्दा बढी नियात्राकृतिहरूको सूक्ष्म अध्ययन गरी पाँच नियात्रा कृतिको संक्षिप्त सूची प्रकाशित गरेको हो ।
सम्झौतापत्रको आशयअनुसार छनौट समितिले पाँच कृतिहरूको थप गम्भीर अध्ययन गर्नेछ, र सर्वोत्कृष्ट ठहरिएको एक कृतिलाई त्यसको स्पष्ट कारणसहित २०७७ सालको पवन आलोक नियात्रा पुरस्कार प्रदान गर्नका लागि नियात्रा समाज नेपालमा सिफारिस गर्नेछ। नियात्रा समाज नेपालको कार्यसमितिले यही सिफारिसका आधारमा विजयी-कृतिको नाम घोषणा गरी आगामी श्रीपञ्चमी (माघ २३ गते) का दिन रू. २५,०००/- नगद राशिसहित स्रष्टालाई सम्मान गर्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

