नियात्रा समाज नेपालको छैटौँ साधारण सभा २०७७ पौष ४ गते प्रज्ञाप्रतिष्ठानको डबलीमा सम्पन्न भएको छ । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा प्रतीक ढकाल निर्वाचित भएका छन् ।

कोरोना कहरका बीच सीमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गरिएको साधारणसभाले उपाध्यक्षमा मोहन चापागाई, महासचिवमा प्रभा बराल र कोषाध्यक्षमा गीता रेग्मी चयन गरेको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा इल्या भट्टराई, तेजप्रकाश श्रेष्ठ, चन्द्रकान्त आचार्य, कन्हैया नासननी र सुशीला देउजा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपक बाबु अर्यालले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र र माला प्रदान गरेका थिए । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद भट्टराईले नवगठित कार्यसमितिलाई नियात्रा समाजको गतिविधि अझै सक्रिय पार्न र नियात्रा साहित्य प्रवर्धन गर्न शुभकामना दिएका थिए ।

सो कार्यक्रममा कार्यसमितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष चन्द्रप्रसाद भट्टराईले गत वर्ष सम्पन्न कार्यबारे सभालाई जानकारी गराएका थिए ।

कोषाध्यक्ष गीता रेग्मीले समाजको आयव्यय विवरण र लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस समाजका कामकारबाही र सदस्यहरूका साहित्यिक गतिविधिहरुलाई नेपाली स्रष्टा र साहित्यानुरागीहरु समक्ष पुर्याउने हेतुले सुरुदेखि प्रकाशित भइरहेको नियात्रा समाचार बुलेटिनको नयाँ अंक नियमित रूपमा चौमासिक अवधिमा प्रकाशित भए पनि यो अंक कोरोना कहरका कारण संयुक्तांक रहेको जानकारी दिइयो । प्रत्येक वर्ष कार्तिक ११ गतेका दिन समाजको वार्षिकोत्सव भएता पनि यो साल प्रतिकूल समयका कारण समयमै हुन सकेको थिएन ।

हरेक वर्ष नियात्रा साहित्यका विशिष्ट व्यक्तिलाई प्रदान गरिदैँ आएको ‘नियात्रा सम्मान — २०७७’ यस वर्ष वाङ्मय शताब्दी पुरुष तथा अग्रज नियात्राकार सत्यमोहन जोशीलाई प्रदान गरियो । जोशीको वि.सं २०१० (सन् १९५३) को न्युजिल्याण्ड भ्रमणमा आधारित यात्रासंस्मरण ‘न्युजिल्याण्डमा पहिलो नेपाली’ यात्रा संस्मरण कृति प्रकाशित छ । यस कृतिको पहिलो संस्करण २०४९, दोस्रो २०६४ र तेस्रो संस्करण २०७५ मा प्रकाशित भएको छ । कृतिमा न्युजिल्याण्ड भ्रमणसम्बन्धी २१ वटा रोचक र ज्ञानवर्द्धक रचनाहरु समाविष्ट छन् ।