काठमाडौं । नियात्राकार इल्या भट्टराईलाई उनको नियात्राकृति ‘मिसर’का लागि ‘पवन आलोक नियात्रा’ पुरस्कार समर्पण गरिएको छ ।
नियात्रा समाज नेपालद्वारा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, प्रतीक ढकाल लगायतले नगद राशि २५ हजारसहित उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको स्थापना रेखा कँडेलले गरेकी हुन् ।
कार्यक्रममा भागीरथी श्रेष्ठले इल्याका नियात्रामा कला पक्ष सुन्दर रहेको चर्चा गरिन् । पुरस्कार छनौट समितिका सदस्य श्रीओम श्रेष्ठ रोदनले भट्टराईको ‘मिसर’ नियात्राको सिद्धान्त र मापदण्डभित्र रहेको उल्लेख गरे । पुरस्कृत व्यक्तित्व भट्टराईले आफूले पाठकको माया पाएको बताइन् ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई र अध्यक्ष प्रतीक ढकालले २०७१ सालको सरस्वती पूजाकै दिन समाजको स्थापना गरेको प्रसंग उठाउँदै संस्थाका कामहरूको चर्चा गरे ।
यो पुरस्कार यसअघि नियात्राकारहरू दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेतीलाई प्रदान गरिसकिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।