पोखरा ।  कालिका चोकमा रहेको अल्फा एकेडेमीमा शुक्रबार विशेष कार्यक्रमअन्तर्गत नेपाली भाषाज्ञान प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

आधारभूत र माध्यमिक तहमा वर्गीकरण गरी गरिएको अन्तरसदनात्मक प्रतियोगितामा विद्यार्थीहरूले भाषिक सीपको विविध पक्षमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएकाे थियाे ।

आधारभूत तहमा हरियो सदनका सृष्टि बराल, आविष्का ढुङ्गाना र विविशा ढकालले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयाे भने माध्यमिक तहमा पहेँलो सदनका प्रशंसा शर्मा, किरण शर्मा र दिप्सन ढकालको समूह प्रथम स्थानमा घोषित हुनुभएकाे थियाे ।

प्रतियोगितामा हिज्जे, अक्षरमिश्रित, अक्षर छुट्याउने, पदवर्ग, पर्यायवाची/विपरीतार्थी, कोठेपद, शब्दार्थ, व्याकरण लगायतका चरणहरू समावेश गरिएको थियो । आधारभूत तहका लागि पार्वती पतानी, शकुन्तला लम्साल र शान्ति सोनार निर्णायक रहेकाे थियाे  भने माध्यमिक तहमा सञ्जीव पौडेल, लक्ष्मी त्रिपाठी र सुशीला रसाइली निर्णायक रहनुभएकाे थियाे ।

सो अवसरमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजु सुनारले विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनका लागि विद्यालयले निरन्तर विविध कार्यक्रम गर्दै आएको बताउनुभयाे। साथै, शैक्षिक प्रमुख सञ्जीव पौडेलले यसै शैक्षिक सत्रदेखि ‘पुस्तकविनाको शुक्रबार’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै यस अन्तर्गत संगीत, नृत्य, संस्कृत पठन, सुनाइ, बोलाइ, खेलकूद, सिर्जनात्मक लेखन, उद्घोषण कला, चित्रकला, अबाकसलगायतका गतिविधि गरिएको बताउनुभयाे ।

उहाँका अनुसार यस किसिमका शिक्षण–सिकाइका अभ्यासहरूले विद्यार्थीमा बहुआयामिक सक्रियता बढाएको छ भने यसको प्रत्यक्ष प्रभाव अध्ययनमा समेत देखिएको अनुभव गरिएको छ ।