मेरा रुची र क्षमतामाथि साँचो अँठ्याएर
बन्ध्याकरण गरिदियो
मेरा बाटोहरूमा काँढेतार लगाएर
निलिदियो मेरो एक चौथाइ उमेर ।
राहदानी र प्रवेशाज्ञामा आफ्नो फोटो टास्न
घरखेत बन्धकी राखुञ्जेल
जीवनको आधा उमेर
बगाइदियो गरिबीको भेलबाढीले ।
करमाथि करको तातो भुङ्ग्रोमा
सेकुवा झैँ सेक्यो मेरो कमाइको रेमिट्यान्स
आफ्नै पसिना पुत्ताएको धुवाँ रोक्न
स्वदेश फर्केको मलाई
कोरोनाका नाममा
तारे होटलका क्वारेन्टाइनमा कोचेर
दुई तिहाईको सरकारले
मेरो सर्वस्वहरण गरिरहँदा
सकिँदैछन् मेरो जिन्दगीका तीन चौथाइ दिनहरू ।
अरू के लुट्छस् मसँग ?
ओ सरकार ! तैँ भनिदे
मेरा जिन्दगीका बाँकी दिन बिताउन
अब म मेरो कलेजो बेचूँ कि
तेरै क्वारेन्टाइनमा आत्मदाह गरूँ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला