चक्रसिङको जीवन कठीन संघर्षहरूले भरिएको थियो । उनले आफ्नो बाल्यकालमा नै जीवनका अनेकौं चुनौतीहरूको सामना गरे । अभाव र गरीबीमा हुर्किंदै गर्दा, समाजप्रतिको उनको जिम्मेवारीबोध झन् बलियो हुँदै गयो । आफ्नो अध्ययन पूरा गरेपछि उनले जग्गा कारोबार, पसल, र ठेक्कापट्टा जस्ता विभिन्न व्यवसायहरूमा संलग्न भए । उनले जुनसुकै काम गरे पनि इमानदारी र निष्ठालाई सधैं पहिलो प्राथमिकतामा राखे । उनको एउटा प्रसिद्ध भनाइ थियो, “धेरै कमाऊ, तर सधैं स्वच्छ तरिकाले कमाऊ ।”
चक्रसिङले केवल आर्थिक सफलता मात्र हासिल गरेनन्, आफ्नो सामाजिक जीवनमा पनि गहिरो प्रभाव पारे । गाउँमा कुनै पनि विकासको योजना बनाउनुपर्दा चक्रसिङको उपस्थिति अनिवार्य मानिन्थ्यो । विद्यालयको पर्खाल निर्माण गर्नेदेखि लिएर टोलमा पानीको ट्याङ्की स्थापना गर्ने । टोल सरसफाईदेखि स्थानीय विकास निर्माण कार्यहरूमा उनको योगदान अतुलनीय थियो । कुनै पनि संघसंस्थामा उनी नभएको सायदै संस्था थिए होलान् । उनी उपस्थित हुने कार्यक्रमहरूमा मानिसहरूको ठूलो जमघट हुन्थ्यो । उनी समाजमा एक हँसिलो, सहयोगी, र आत्मीय व्यक्तिको रूपमा परिचित थिए । उनको घर एउटा खुला चौतारी जस्तै थियो । हरेक बिहान चिया पिउँदै समाजका विभिन्न विषयहरूमा छलफल गर्न आउने मानिसहरूको घुइँचो लाग्थ्यो । जोकोही समस्यामा पर्दा चक्रसिङलाई सम्झिन्थ्यो । कहिलेकाहीँ त गाउँको कुनै काममा आर्थिक अभाव भएमा उनी कसैलाई थाहा नदिई आफ्नो खल्तीबाट पैसा हाल्थे । उनको परिवार पनि सुखी थियो। उनका छोराछोरीहरू शिक्षित र आत्मनिर्भर थिए । उनकी पत्नीले जीवनको हरेक मोडमा उनको साथ दिइन् चाहे त्यो सुख होस् वा दुःख । यस्तो लाग्थ्यो, भाग्यले उनलाई बुझेर हरेक पाइलामा पुरस्कृत गरिरहेको छ ।
तर जीवन सधैं एउटै लयमा अगाडि बढ्दैन । एउटा प्रसिद्ध भनाई छः Life is what happens to you while you are busy making other plans. अर्थात् हामी भविष्यको योजना बनाउन व्यस्त भइरहँदा जीवनमा आफ्नै तरिकाले घटना घटिरहेको हुन्छ । हामीले थाहा नपाई जीवनले अर्कै मोड लिइसकेको हुन्छ ।
त्यस्तै भयो एकदिन । स्वस्थ्य परीक्षणका क्रममा चक्रसिङलाई एउटा गम्भीर र असाध्य रोग लागेको कुरा चिकित्सकले बताए । शुरुका दिनहरूमा केही चिनजानका व्यक्ति, साथीभाइ, र विभिन्न संस्थाका प्रतिनिधिहरू उनलाई भेट्न आए । केहीले उनको उपचार खर्चमा सानो सहयोग पनि गरे । तर समय बित्दै जाँदा भेटघाटमा आउने मानिसहरूको संख्या घट्दै गयो । अस्पतालबाट घर फर्किएपछि त उनी झनै एक्लो भए ।
आज चक्रसिङको अवस्था यस्तो छ कि उनको प्रिय घर जहाँ सधैं मानिसहरूको चहलपहल हुन्थ्यो, अहिले सुनसान छ । न त उनलाई कसैको फोन आउँछ, न त कसैले उनको ढोका ढकढक्याउँछ । कुनै समय जुन संस्थाहरूको बैठक उनी बिना असम्भव मानिन्थ्यो आज तिनीहरूले उनलाई सम्झनसमेत आवश्यक ठानेनन् । चक्रसिङको दैनिक जीवन अहिले रात र दिनको पर्खाइमा सीमित भएको छ । उनलाई न त झ्यालबाहिर के भइरहेको छ भन्ने थाहा छ, न त ढोका किन खुल्दैन भन्ने नै । उनी भित्रभित्रै सोच्दछन्, “केही त होलान् नि मेरा ! मैले त कसैको मन दुखाएको थिइनँ, आज किन म एक्लो भएँ ? कहाँ गए ती भोजभतेरका साथीहरू, अलिकति फुर्सद हुँदा तास खेलेर रमाइलो गर्ने मित्रहरू ? संघसंस्थामा तपाईं नभई हुँदैन भन्नेहरू ?”
चक्रसिङका छोरा अमेरिका बस्छन् । छोरी बेलायत । अस्पलात भर्ना हुँदा चार हप्ताका लागि बिदा लिएर आएका थिए । उनीहरूको पनि छोराछोरी छन् । उनीहरूको घरसंसार उतै छ । कति दिन पो बुबालाई कुरेर बस्छन र ? संसारको नियम नै हो, पानी र माया तल तल बग्दछ । भिडियो कल गर्छन्, कस्तो छ भन्छन् । कस्तो भन्नु ? सन्चो हुने बिमार भए पो ? बरु कहिले हो भन्ने मात्रै हो ? धन्न, श्रीमती औषधीपानी दिन सक्नेसम्म छिन् । नत्र खै के हुने थियो थाहा छैन ?
पशुलाई त असाध्य रोग लाग्दा ‘अब सञ्चो हुँदैन, यसलाई सहज मृत्यु दिने’ भनिन्छ । मानिसलाई किन त्यसो गरिँदैन होला ? ‘यदि भगवान् भन्ने केही शक्ति छ भने मेरो इच्छा पूरा गरिदेउ । मलाई संसारबाट मुक्त गरिदेउ’ भनेर चक्रसिङ बरबराउँछन् कुनै बेला । उनले आफ्नो छोरालाई साह्रै आत्तिएको आवाजमा भन्छन्, “बाबु, तिमीले त धेरै देश–विदेश घुमेका छौ, के हाम्रो देशमा यस्तो अवस्थामा पुगेका मानिसहरूलाई इच्छा–मृत्युको अधिकार हुँदैन ? लौन, मलाई मुक्ति दे यो जीवनबाट ।”
आज औषधीहरू, बन्द कोठाभित्रका सामानहरू मात्रै उनको संसार छ । तीनै साथी भएका छन् । कुनै समय कुन सुट लगाउँदा राम्रो देखिन्छ भनेर कोठाभरि भएका सुटहरू एक–एक गरी परीक्षण गर्ने चक्रसिङले अहिले डाक्टरको सल्लाह अनुसार एउटै लुगा लगाउनु परेको छ । न त उनले पाइन्ट लगाएर चेन तान्न सक्छन्, न त सर्टको टाँक खोलेर लगाउन नै । उनले प्रयोग गर्ने गरेका महँगा अत्तरहरू दराजमा थन्किएका छन् । अहिले उनलाई औषधिको गन्ध नै पर्याप्त छ । कुनै समय कुन हेयर कट गर्दा राम्रो देखिन्छ भनेर हेयर ड्रेसर खोज्दै हिँड्ने चक्रसिङको कपाल रोगले झारिदिएको छ । घरमा अहिले पनि महङ्गो कार पार्किङ्ग गरिराखेको छ, तर अस्पताल जान अक्सिजनसहितको एम्बुलेन्स चाहिन्छ । धेरै महीना भयो ऐना उनले नहेरेको। किन हेर्नु ? ऐनाले त हाम्रो बाहिरी रूप मात्र देखाउँछ, भित्र दुखेको मन देखाउँदैन । संसारमा आउनु एउटा खेल हो भन्ने सुनेको थिएँ, तर यो खेल त धेरै पीडादायी हुँदो रहेछ ।
आजकल चक्रसिङ आफ्नो कोठाको छतलाई हेरेर विगतका दिनहरू सम्झन्छन् । माथि हेर्दा आँशुहरू बग्छन् र गालामा अडिन नसकेर ओछ्यानलाई चिसो बनाउँछन् । “आँशु पनि कति धेरै हुँदो रहेछ, सकिँदैन कि क्या हो !” उनी आफैं भन्छन् । आँशु सकियो भने आँखाबाट के बग्छ होला ? चक्रसिङ भन्ने गर्छन्, “जसलाई म आफ्ना मान्छे ठान्थें, ती सबै मेरो क्षमतासँग थिए, मसँग होइन रहेछन् ।” आज यही वाक्य हजारौं वृद्ध, बिरामी, र असहाय मानिसहरूको वास्तविकता बनेको छ । हामी यस्तो समाजमा बाँचिरहेका छौं जहाँ योगदानको सम्मानभन्दा क्षणिक स्वार्थको खोजी बढी हुन्छ । जबसम्म तपाईं काम गर्न सक्नुहुन्छ तबसम्म तपाईंको मूल्य हुन्छ । एकपटक थलिएपछि तपाईंलाई सबैले बिर्सन्छन् ।
चक्रसिङको एक्लो जीवन आजको समाजको एउटा प्रतिबिम्ब हो । हामीले आफैंलाई सोध्नुपर्छ, हामी कस्तो समाज निर्माण गर्दैछौं ? के हामी केवल सफल र सक्षम व्यक्तिहरूलाई मात्र आदर गर्छौं ? के हाम्रो माया र साथ केवल स्वार्थमा आधारित छ ? जीवनको उत्तरार्धमा चक्रसिङ जस्ता व्यक्तिहरूको पीडा बुझ्नु, उनीहरूलाई साथ दिनु, र आफ्नो व्यवहारमा मानवतालाई प्राथमिकता दिनु आजको प्रमुख आवश्यकता हो । किनभने, भोलि हामी जो कोही पनि चक्रसिङको ठाउँमा हुन सक्छौं ।
मानिस प्रायः यो विश्वासमा बाँच्दछ कि इमानदारी, परिश्रम र सेवाभाव जस्ता उदात्त गुणहरूलाई समाजले सदैव उच्च सम्मान गर्दछ । तर वास्तविकतामा यी गुणहरूले कहिलेसम्म सामाजिक मान–सम्मान पाइरहन्छन् भन्ने प्रश्न एउटा गम्भीर चुनौतीको रूपमा खडा भएको देखिन्छ । चक्रसिङ जो एक समय समाजको आधारस्तम्भ मानिन्थे, आज एक्लोपनको पीडादायी मार्गमा हिँडिरहेका छन् । अझै पनि समय छ, हामीले बिर्सिएका मानिसहरूलाई सम्झनु आवश्यक छ । हामीले योगदानलाई केवल इतिहासमा मात्र नभएर वर्तमानमा पनि सम्मान गर्न सिक्नुपर्छ । समाज तब सुन्दर हुन्छ जब त्यो संवेदनशील हुन्छ । जब त्यो दुःखमा पनि साथ दिन्छ, केवल सुखमा मात्र होइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










