छोटु’ लेखकको इमानदारी, इच्छाशक्ति र स्वाभिमानको प्रतिबिम्ब हो । यो उनको बाल्यकालका अतृप्त इच्छाहरू मथेर निक्लिएको नौनी हो जसलाई सानदार ढङ्गले प्रस्तुत गरिएको मात्र छैन, स्वादिलो र पथ्य समेत बनाइएको छ ।

===

हरेक मान्छेका जीवनमा अनेकौँ घट्ना र दुर्घटनाहरू घटिरहेका हुन्छन् । तिनै घटनाका कारण  जीवनमा कि सकारात्मक परिवर्तन आउँछ कि त नकारात्मक परिवर्तन आउनसक्छ । घटनाहरू त्यस्ता पनि हुन्छन् जसलाई जति बिर्सन कोशिश गरे पनि घाउका डोबहरू मनबाट मेटिएर जाँदैनन् । मान्छेका मनभित्र कोरिएर रहेका  तिनै डोबहरूलाई  मनका भावना मार्फत उद्भूत गर्ने तीव्रतम् इच्छा हुन्छ ।

           लेखनकलाको सीप हुनेहरूले त्यसलाई पुस्तकाकारमा ढाल्छन् । लेख्न मेसो नपाउनेहरूले मौखिक रूपमा सुनाउने गर्छन् । निरक्षर बा, हजुरबा पुस्ताका वृद्धवृद्धाहरूले पनि युवावस्थामा घाँस काट्न जाँदा, गाई गोठालो जाँदा र जीवनमा आफूले भोगेका सुखदु:खका संस्मरणहरू सुनाउने कारण यही हो । लाग्छ, यसरी मनभित्र गुम्सिएर रहेका आफ्ना मनका कथा र व्यथा सुनाएपछि मन हलुका हुन्छ  । गह्रौं भारी बिसाए जस्तो अनूभूति हुन्छ । बोझ पन्छाए झैं लाग्दछ ।

             प्रस्तुत कृति छोटुका लेखक सञ्जीव पौडेलले पनि यस कृतिमार्फत मनमा गुम्सिएका दु:ख, पीडा, पीर र व्यथा मात्र होइन सुख, सन्तोषहरू समेत मन हलुका बनाउने उपक्रममा साहित्यिक रङले रङ्गाएर सिङ्गो कृतिका माध्यमबाट भारी बिसाएका छन्  ।

         सामान्य विषयमा त्यो पनि उत्कृष्ट सीप र कला बिना गरिएको वर्णनले उत्कृष्ट साहित्य बन्दैन । त्यसका लागि वर्णन गर्न लायक केही सामाग्री र सीप हुनुपर्दछ । जुन सामाग्री पौडेलले बाल्यावस्थादेखि साँचेर राखेका थिए । उनीसँग यथेष्ट सीप थियो । जब उनले त्यो बोझ पन्छाए, उनी हलुका मात्र  बनेनन्, नेपाली साहित्य भण्डारमा छोटु नामको उत्कृष्ट संस्मरण साहित्य थपिन पुग्यो ।

      जीवनमा आएको विकट त्रासदीबाट सिक्दै  जीवनलाई  कलाको ऐेनासँग दाँजेर जागिरमा आफ्नो इच्छाशक्तिद्वारा मध्यम तहदेखि उच्च तहसम्म पुग्ने इमानदार, लगनशील, मेहनती र स्वाभिमानी व्यक्ति हुन् छोटुका सर्जक सञ्जीव पौडेल । एउटा नेपाली उखानटुक्का “सख्त खडेरीपछि मस्त बर्सात हुन्छ” भनेझैँ जीवनमा लिएको लक्षले उनलाई अनगिन्ती दु:ख र कष्टका खडेरी पारगरी अमृत वर्षासम्म पुर्याएको छ ।

          सञ्जीव पौडेल  र मेरो भौतिक रूपमा भेटघाट भएको छैन । व्यक्तिगत रूपमा सञ्जीव पौडेल र मेरो चिनजान पनि छैन । हामी नजिकका नातेदार पनि होइनौं तर उनको आत्मसंस्मरण मसँग छ  । म सोही छोटु पढिरहेको छु र मनमा लागेका केही कुरा लेख्ने जमर्को समेत गरिरहेको छु । उनको यही कृतिसँग भने एकदमै नजिक हुने अवसर पाएको छु । अनुमान गरिरहेको छु, शिक्षा आर्जनका लागि मरिहत्ते गर्ने पौडेलको सङ्गत पाउनेहरू  समेत उनी जस्तै शिक्षित बने होलान् । कसरी हुन्छ, घर गृहस्थी र जागिरसँगै पनि उनले मनग्य अध्ययन गर्ने समय निकाले । उनीसँग सिको गर्नुपर्ने अन्य धेरै कुरा रहेछन् । खानपानमा समेत उनी त्यतिकै सचेत देखिन्छन् ।‌ यसमा स्वास्थ्य सचेतना र धर्म संस्कृति दुवैको योगदान हुनसक्छ । जे होस्, उनले अभक्ष र अपेय मानिएका वस्तुको सेवन गरेनन्  । जीवनमा सफल हुन चाहने प्रत्येक व्यक्तिले यसलाई मूल मन्त्रका रूपमा लिनुपर्छ ।

       मलाई उनको कृति छोटु अध्ययन गर्ने अवसर जुटाइदिएका हुन् प्रसिद्ध समालोचक प्रा. कपिल अज्ञातले । कपिल अज्ञात त्यस्ता समालोचक हुन् जसले मन छोएका कृतिहरूको खुलेर प्रशंसा गर्छन् । लेखकहरूलाई अध्ययन  गरिरहने र लेखिरहने सरसल्लाह दिन्छन् । कपिल अज्ञातका विचारमा मेरो आत्मकथा “मुमूर्षा” र पौडेलको यो आत्मसंस्मरण “छोटु” त्यस्ता कृति हुन् जसमा लेखकले भोगेका कुराहरू मन छुनेगरी पोखिएका मात्र छैनन्, विचार प्रधान पनि छन् । यी कृतिहरूमा लेखकहरूले इमानदारीपूर्वक आफ्नो अतीत वर्णन गरेका छन् । जुन आत्मकथा वा संस्मरणको सिद्धान्त हो ।

संस्मरणको आरम्भमा जन्मभूमिको वर्णनबाट शुरु गरिएको छोटु लेखक पौडेलकै अथक् प्रयास र मेहनतबाट प्राप्त भएको खुशीमा पुगेर अन्त्य गरिएको छ । बीच भागमा उनका जीवनका अनेकौं आरोह अवरोहरूको सटीक वर्णन छ । जसले पाठकको मन र मस्तिष्कलाई एक पटक भुइँचालोले हल्लाएको घर जस्तै हल्लाइदिन्छ ।

      जीवनका अँध्यारा पाटाहरूलाई ओझेलमा पार्दै उज्याला पक्षहरूलाई मात्र उजागर गरेर लेखिएको आत्मवृत्तान्तलाई  वास्तविक आत्मवृत्तान्त मान्न सकिँदैन । यो आत्मवृतान्तको सिद्धान्त भित्र पर्दैन । त्यस्तो आत्मकथा/आत्मसंस्मरण कौवालाई मयूरको प्वाँखले सिंगारेर राखेको पुत्ला जस्तो बन्छ । तर छोटु यसबाट पूर्णरूपमा मुक्त देखिन्छ । ढाँटेको भए काटे पनि मिल्दैन थियो । यहाँ सबै कुरा नढाँटी उल्लेख गरिएको जोसुकैले पनि अनुमान गर्न सक्छ । आत्मसंस्मरणको वास्तविक मान्यता यही हो । त्यसैले छोटु सिँगारिएको मयूर होइन वास्तवमै साहित्यिक मयूर बनेको छ । जसले मनोरञ्जन पनि दिएको छ, सुन्दर छ, जीवन जिउने सूत्रहरू समेत सिकाइदिएको छ । जीवनसँगको युद्धमा एकदुई पटक हार हुँदैमा  युद्धभूमि छोडेर भाग्नु हुँदैन भन्ने महत्त्वपूर्ण मन्त्र सिकाएको छ ।

       पारिवारको कमजोर आर्थिक स्थिति, परिवार एवं सिङ्गो समाज नै अशिक्षित भएको अवस्था, सौताने माम्लो, एक वर्षको कलिलो उमेरमा टुहुरो बन्नुपर्दाको पीडा कति भयावह हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । जुन, छोटुका लेखकले बाल्यकालदेखि किशोरावस्थासम्म  निकै पीडा पिएर भोगेका छन्, मजाले अनुभव गरेका छन् । आफैँ अभावको भुमरीमा परेको समयमा अचानक दिदीको मृत्यु हुँदा भान्जाभान्जीको रेखदेखको जिम्मेवारी वहन गर्ने आँट र शक्तिलाई  कम आँक्न सकिदैंन । छोटुमा लेखकका विचारहरू निकै मसिनोसँग, सिलसिला मिलाएर र पाठकले पनि सजिलोसँग बुझ्न सक्नेगरी वर्णन गरिएका छन् ।

      यसैगरि वैवाहिक स्थिति शीर्षकमा उनले गरीबीका कारण दाजुहरूको सहजसँग विवाह हुन नसेकेको कारुणिक कहानीदेखि हालको  सम्पन्न आर्थिक अवस्थाको विश्लेषण पनि गरेका छन् । दु:ख, पीडा र अभावसँग भागेर होइन, जागेर अघि बढ्नुपर्छ भन्ने पाठ छोटुले दिएको छ ।

     मेरी आमा शीर्षकमा तत्कालीन समाजले गर्ने गरेको ल्याइतेब्याइते प्रथाको उल्लेख मात्र होइन त्यसको चिरफार  गर्न समेत लेखकले बाँकी राखेका छैनन् । आफ्ना टुहुरा सन्तान हुर्काउन आमाले गरेको सङ्घर्षको नालीबेलीले पाठकको मन कटक्क काटिन्छ । जसको वर्णन उनले आम मान्छेको मन छुने गरी गरेका छन् ।

       हुन त समाजले गरीबलाई हेर्ने नजर आजसम्म पनि पूर्णरूपमा परिवर्तन भइसकेको छैन ।  गरीबीका कारण साहुका घरमा बाँधा बस्नु, उच्चतम अङ्क ल्याउने विद्यार्थीको अङ्क घटाएर आफन्त विद्यार्थीलाई प्रथम स्थानमा लैजानु जस्ता घृणित कार्यको फेहरिस्त पढिरहँदा हामी कस्तो समाजमा हुर्किएका रहेछौं छर्लङ्ग थाहा हुन्छ । यसका लागि समाजमा व्यापक परिवर्तन ल्याउनुपर्छ । छोटुमा यो र यस्तै प्रकारका अनगिन्ती सन्देशहरू समेटिएको छ ।

       दिल्लीको कोठीमा मासिक बीस रुपियाँमा रातोदिन खट्नु परेको कुरा  र  मालिकले राखिदिएको नाम ”छोटु” नै प्रस्तुत कृतिको शीर्षक हुनुले लेखकलाई त्यसले निकै छोएको मात्र होइन, मनभित्र इख पलाएर जीवनमा केही गरौं भन्ने हुटहुटी रहेको देखिन्छ । प्रस्तुत  कृति पढिरहँदा यस घटनापछि भने उनको जीवनको बाटो मोडिएको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । यसपछि लेखकले जीवन जिउन मात्र होइन जीवनमा केही गरेर देखाउने उत्साह बोकेर अघि बढेको महसूस गर्न सकिन्छ ।

       कृतिमा जागिर गर्दाका कठीनाइ, धम्की र दबाब सबैको एक एक फेहरिस्त प्रस्तुत गरिएको छ । यस प्रकारको भोगाइ मध्यम स्तरका आ‌म कर्मचारीमा हुन्छ । मध्यम स्तरको कर्मचारी तल्लो र माथिल्लो दुवै स्तरका  कर्मचारीको चेपुवामा परेका हुन्छन् । जीवनमा ३२ वर्षको लामो अवधिसम्म निजामती सेवाको मध्यम स्तरको कर्मचारी हुँदा मैले पनि यस प्रकारका चेपाइहरूबाट पटकपटक चेपिएको अनुभव गरेको छु ।

         यसरी नै गरीबीले ग्रस्त भएका बैङ्कका ऋणीहरूकोमा बास बस्दा र बास बस्ने घरको कारूणिक कहानीहरू  पढिरहँदा मनभित्र उथलपुथल  भएजस्तो लाग्छ । वृत्तिविकासका लागि र पायक पर्ने स्थानमा सरुवा हुन उनले गरेका प्रयासहरू चानचुने खालका छैनन् । यही जागिरबाट जिन्दगीमा केही गर्ने र केही बन्ने उनको धोको निकै कडा मिहिनेत र परिश्रमले पूरा भएको देखिन्छ । कृतिमा समावेश गरिएका सबै निबन्धहरू बेजोडका छन्  । पढिरहँदा अब के भयो होला, भन्ने कुतुहलताले पुस्तक थन्क्याउन मनले मान्दैन । उनका जीवनमा घटेका अनेकौँ घटनाहरूको स्मरण पाठकको मन खिच्नेगरी  गरिएका छन् ।‌ कति डरलाग्दा दुर्घटना छन् भने केही तिलस्मी लाग्ने घटनाहरू पनि छन् । तिनको वर्णन निकै मिहीन तरिकाले गरिएको छ ।

     छोटुले जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्छ, बिना लक्ष्यको मान्छेले उन्नति गर्न सक्दैन भन्ने पाठ पढाएको छ । लेखकले पनि जीवनको स्पष्ट लक्ष्य बनाएका छन् र उनी सहजै लक्ष्यमा पुग्न पनि सफल भएका छन् ।

       सबैले आत्मसंस्मरण लेख्न सक्दैनन् वा लेख्दैनन् । आत्मसंस्मरण लेख्नलाई आम मान्छेको भन्दा जीवनका केही पृथक् भोगाइहरू चाहिन्छ । विगतका प्रसङ्गहरूले प्रथमतः लेखक स्वयंको मन छुनुपर्छ । आत्मसंस्मरण जीवनमा भोगेको सुख, दुःख बिसाउने चौतारी हो । मनमा गुम्सिएर रहेको, कसैलाई सुनाउन नसकेको, सुनाउने इच्छा जागेको अवस्थामा  आत्मकथा लेख्ने गरिन्छ । जिन्दगी  डोर्याउने सिलसिलामा कतिपय यस्ता घटनाहरूसँग साक्षत्कार गर्नुपर्छ जसले जीवनको दौडमा दिशा परिवर्तन समेत गरिदिन्छ । प्रस्तुत आत्मसंस्मरणको अध्ययनबाट स्पष्ट हुन्छ, लेखकका जीवनमा घटेका केही घटनाहरूले उनको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिएको छ  जीवन डोर्याउने  मूल बाटो समेत परिवर्तन गरिदिएको छ ।

    मान्छेले उन्नति र प्रगतिका लागि अनेकौं सपना देख्नुपर्छ । आखिर कुनै न कुनै सपनाले अवश्य मुर्तरूप लिन्छ । समस्यासँग भागेर होइन जुधेर सामना गर्नुपर्छ । छोटुका सर्जक पौडेलले  सपनाहरू मात्र देखेनन् उनले स्वयं सपना सिर्जना गरेका छन् । साधारण भुइँमान्छेबाट उच्च श्रेणीसम्मको यात्रा  तयगर्न सफल भएका छन् । उत्कृष्ट साहित्य त्यसैलाई मानिन्छ जसले सजिलै पाठकको मन छुन्छ र जसको अनुकरण गर्न सके मात्र पनि जीवनमा सफलता चुम्न सकिने प्रेरणा प्राप्त हुन्छ । छोटुको सिको गर्न त्यति सहज भने छैन । उनीमा भएका केही मानवीय गुण र स्वभाव निकै स्वाभिमानी र इमानदार प्रकृतिको देखिन्छ । वर्तमान युगमा सबैभन्दा कठीन र असहज कार्य इमानदार बन्नु हो । सफलता चुम्न आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण तत्त्व इमानदारी हो । यिनले जीवनका बाल्यकालमा होस् वा जागिरे जीवनमा होस्, इमानदारी र इच्छा शक्तिको कारण सफलता हात पारेका हुन् भन्दा फरक पर्दैन ।

मलाई  लाग्छ, ‘छोटु’ लेखकको इमानदारी, इच्छाशक्ति र स्वाभिमानको प्रतिबिम्ब हो । यो उनको बाल्यकालका अतृप्त इच्छाहरू मथेर निक्लिएको नौनी हो जसलाई सानदार ढङ्गले प्रस्तुत गरिएको मात्र छैन, स्वादिलो र पथ्य समेत बनाइएको छ । समग्रमा छोटु उत्कृष्ट कृति बनेको छ । पुस्तक सङ्ग्रहणीय बनेको छ । आत्मसंस्मरणकार पौडेललाई हार्दिक बधाई दिन चाहन्छु ।