त्यस दिन उसले
एउटा पीडादायी कविता लेख्यो
कविताको शीर्षक थियो “मुमूर्षा”
जब केहीले उसका कविता पढे
तिनको मुहारमा
चम्किलो आभा देखियो
लाग्थ्यो
तिनका विलुप्त खुशीहरू
अनायास प्रकट हुँदैछन्
हराएको सन्तोष
पुनः भेट्टिएको छ
तिनीहरूका मुखाकृतिमा उब्जिएका
रङ्गीन तरङ्गहरूले
यस्तै सङ्केत गरिरहेका थिए
तर अर्को दिन
उसले जन्माएको कविता
“जिजीविषा” शीर्षकमा थियो
त्यस दिन पनि तिनीहरूले कविता पढे
तिनीहरू पढ्दै थिए ऊ नियालिरहेको थियो
जुन पन्नामा कविता थियो
तिनीहरूले त्यही पन्नाले मुख ढाके
त्यस दिन उनीहरूको मुखाकृति होइन
वाचन गरिएको अस्पष्ट आवाज मात्र सुनियो
तिनीहरूको आवाजमा कम्पन थियो
स्वरयन्त्र बिग्रेको जस्तो
रुघाले ग्रस्त भएर नाक थुनिएको जस्तो
चुनावमा पराजित नेताको भाषण जस्तो
स्वर लर्बरिएको, केही काँप्दै गरेको
थोरै शब्दहरू मात्र बुझिन्थ्यो
अधिकांश हरफहरू स्पष्ट सुनिएनन्
समग्रमा तिनीहरू निकै पीडामा देखिन्थे
तर उसको
कविता लेख्ने सिलसिला भने जारी थियो
अचेल तिनीहरू फेसबुक भित्रका
कविताहरू पढ्छन्
जहाँ उसले पनि पीडाको खेती गर्ने गरेको छ
त्यहाँ
पीडाहरू लटरम्म फुलिरहेका हुन्छन्
सायद फूल झर्छ भन्ने भयले
कोपिला झर्नसक्छ भन्ने डरले
उनीहरूले कुनै पनि फूल छुँदैनन्
यथार्थमा
तिनीहरू दायाँबायाँ हेर्दै
फूलको रसास्वादन भने गर्छन्
केही थान सेल्फी लिन्छन्
निकै होसियारीपूर्वक
तर ऊ बुझिरहेको हुन्छ
यो उनीहरूको मात्र स्वभाव होइन
यही त मानवीय स्वभाव हो
उनीहरूले तिनै फूलहरूबाट
सुगन्ध लिइरहँदा
बेचैन मन शान्त बनाउँछन्
ऊ फुरुङ्ग पर्छ
सेवा गर्न पाएकोमा
एक दिन तिनीहरू भन्दै थिए
अचेल किन हामीलाई समयमा निद्रा पर्छ ?
मैले वास्तविकता बताइदिएँ
अचेल ऊ जिजीविषा होइन
मुमूर्षा शीर्षकमा कविताहरू लेख्छ ।

चितवन