उसो त मैले लेख्न आरम्भ गरेदेखि नै चिनेजानेका सबै साथीभाइले मेरो लेखन शैलीलाई मखण्डी लेखाइ भन्ने गरेका छन् । मखण्डी अर्थात् सिप नभएको, ढङ्ग नभएको । उनीहरूले मलाई मखण्डी भने, पाखण्डी भने तर मैले लेख्न भने कहिल्यै पनि छोडिन।

लेख्ने बेला मनमा जस्तो विचार आउँछ म त्यस्तै लेख्छु । आखिर जसले जस्तो जानेको छ त्यस्तै न लेख्ने हो । आफूसँग जति सिप छ, त्यो भन्दा बढी कसले पो लेख्छ र !

प्रायः मेरा लेखहरूमा साहित्यिक शब्दहरू भन्दा गाउँले बोलीचालीका शब्दहरूको बाहुल्यता हुन्छ। भन्नेले जेसुकै भनुन्, म भने मेरो आफ्नो लेखन शैलीलाई बोधगम्य लेखन शैली भन्न रुचाउँछु तर मैले मात्र बोधगम्य लेखाइ हो भनेर नहुने रहेछ । यो कुरा त पाठक र समीक्षकले भनिदिनु पर्छ, लेखको चर्चा साहित्यिक बजारमा मजैले हुनुपर्छ । एकदिन मलाई एकजना साथीले प्वाक्कै भनिदियो, “ बोधगम्य लेखाइ भनेको त बोलीचालीको भाषामा, सलल बगेको हिउँदमासको नदी जस्तो हुनुपर्छ । कतै अल्झाउने गौँडा र गल्छेडा हुनुहुँदैन । यस्तो काइते लेखाइ पनि कतै बोधगम्य लेखाइ हुन्छ ?”

त्यसपछि म सोच्न बाध्य भएँ । मैले आजसम्म जति लेखेँ, ती सबै काइते नै थिए ? के म मखण्डी लेखक हुँ ? अहँ यस्तो हुनै सक्दैन, म काइते लेखक हुँदै होइन । म अब्बल लेखक नभए पनि सामान्य श्रेणीको कामचलाउ लेखक पक्कै हुँ !

हुन पनि उनीहरूले भनेजस्तै, मलाई रसिला र खँदिला शब्द प्रयोग गर्न त्यति आउँदैन । वाक्य निर्माणका क्रममा सुन्दर र सुगन्धित फूलका थुँगाले आकर्षक माला गाँसे जस्तो सुन्दर एवं आकर्षक शब्दहरू चयन गरेर लोभलाग्दो वाक्य निर्माण गर्ने सिप मसँग छैन ।

त्यसैले अधिकांश पाठकलाई मेरो लेखन कला, साहित्य जस्तै नलाग्न सक्छ ।

आकर्षक शब्दहरू चयन गरेर लेखिएका साहित्यिक सिर्जनाहरू अवश्य पनि लोकप्रिय र लोकमान्य हुन्छन् । पाठकहरूले यसमा छुट्टै मिठासपूर्ण खुराक प्राप्त गरिरहेका हुन्छन् । फरक यति मात्र हो, मेरो लेखाइमा यस प्रकारको मिठासपूर्ण अभिव्यक्ति नपाइन सक्छ ।

तर पनि लेखनकला उत्कृष्ट नहुनेसँग मनमा भावनाहरू नै हुँदैनन् भन्न पनि त सकिँदैन नि ! जीवनका आरोह, अवरोह, सुख, दुःख, पीडा र प्रेम प्रदर्शन गर्ने मन हरेक मान्छेसँग हुन्छ । यी सबै कुरा मसँग पनि यथेष्ट मात्रामा छन् । यसैले म लेख्ने प्रयास गरिरहेको हुन्छु । अझ महत्त्वपूर्ण कुरा दोस्रो व्यक्तिलाई मन भित्रको खुसी सुनाउँदा खुसीको आयतन झनै बढ्छ । दुःख सुनाए दुःखको आयतन खुम्चिन्छ, मन प्रसन्न हुन्छ र हल्का पनि हुन्छ । कसैले नसुने कपीका पन्नाहरूमा पोखे पनि, सुनाए जत्तिकै सन्तुष्टि पाइन्छ । यो मेरो नितान्त निजी अनुभव हो । त्यसैले मलाई निर्धक्क भएर लेख्न मन पर्छ ।

दुःखको कुरा बोधगम्य लेखन शैलीमा लेख्न खोज्दा मेरा लेखका अधिकांश हरफहरूमा व्याकरण चिप्लिएको हुन्छ । यदि त्यस बेला मेरो लेखभित्र व्याकरणले घुसपैठ गर्यो भने प्रस्फुटित विचारमा खडेरी पर्छ, भावना बरालिन थाल्छ, शब्दहरू टुट्ने कोसिस गर्छन् । अन्त्यमा मैले लेख्न खोजेको विषयको उपस्थिति लेखमा देखिँदैन । त्यसले पूर्ण आकार लिन सक्दैन । मुस्किलले लेख बनिहाल्यो भने पनि त्यो सिङ न पुच्छरको हुन्छ । नढाँटी भन्ने हो भने मैले लेख लेख्दा, व्याकरणलाई साक्षी राखेर लेख्न पटक्कै सक्दिन, व्याकरणसँग खासै उठबस नभएकोले व्याकरणसँग असाध्यै डर लागेको हुनसक्ने मेरो अनुमान छ ।

मेरा साथीहरूले नबुझेको देखेर मलाई दया लाग्छ। तिनीहरूले सजिलै बुझिदिनु पर्थ्यो, गतिलो लेख्न सक्ने भए त मैले पनि केही चर्चित र स्वनाम धन्य लेखकहरूले जस्तै व्याकरण मिलाएर, भाषाको समुचित प्रयोग गरेर सुन्दर र सानदार लेख रचनाहरू तयार गर्ने थिएँ । व्याकरणको मामलामा म निकै कमजोर छु । मैले पटकपटक स्वीकार गरेको छु ।

अब प्रश्न उठ्छ, व्याकरणको ज्ञान कमजोर भएकाहरूले लेख्दै नलेख्नु त ! मैले भनिसकेँ नि, मेरो लेखन शैलीमा बोलीचालीको भाषा मात्र प्रयोग हुन्छ । विद्वान साहित्यकारहरूले जस्तो साहित्यिक र क्लिष्ट भाषाको प्रयोग गर्न म जान्दिन । मिलाएर शुद्ध लेख्नलाई त सिप पनि हुनुपर्यो नि ! त्यसैले साथीहरूले मखण्डी लेखक भनिरहँदा मलाई कत्ति पनि चित्त दुख्दैन न त आत्मग्लानि नै हुन्छ । बरु खुसी लाग्छ । किनकि उनीहरूले मलाई मखण्डी, पाखण्डी जे भने पनि लेखक मानिदिएका छन्, सजिलैसँग लेखक स्वीकार गरिदिएका छन् ।

ठूला कुरा गर्छस् । मखण्डी मान्छेले किन लेख्न तम्सनु पर्यो ? भन्नुभयो भने, मेरो रेडिमेड उत्तर हुनेछ । “कसैले भन्दैमा म लेख्न भने छोड्दिन । अभिमानी भन्नुस् या घमण्डी, बरु सहिदिन्छु सहन नसके रोइदिन्छु । लेख्ने मेरो नैसर्गिक अधिकार हो । लेख्न मन लाग्यो लेखेँ ।”

उसो त मलाई डाक्टरले समेत लेख्ने सल्लाह दिएका छन् । “केही न केही लेख्ने गर, तिमीले अवसादबाट छिट्टै छुटकारा पाउने छौ, जति लेख्यो त्यति डिप्रेसन कम हुँदै जान्छ । लेखिरहने हो भने मानसिक स्वास्थ्य गडबड हुन पाउँदैन।”

फेरि लेख्नलाई मालपोत, अदालत, जिल्ला प्रशासनको गेटतिर टेबल राखेर लेखिरहने लेखनदासलाई जस्तो कठिन पनि छैन । किनकि उनीहरूलाई लेख्नलाई लाइसेन्स चाहिन्छ । यता फेसबुक, ट्वीटर, अनलाइन र छापाका सञ्चार माध्यममा लेख लेख्न लाइसेन्स चाहिँदैन । कर कार्यालय, गाउँपालिका र नगरपालिकाको अड्डामा लेखन नवीकरण बापत राजस्व तिर्नु पनि पर्दैन ।

मैले एउटा लेख लेख्न खोजेको हजुर, यसो भनसुन गरिदिनु पर्यो भनेर कुनै मन्त्री सांसद र नेताको पछि लाग्दै घर दैलो चहार्नु पनि पर्दैन । यसरी भनसुनमा लेखक बन्नुपर्ने नियम भएको भए नेपालमा लेख्ने मान्छेहरू कति नै पो हुन्थे होलान् र ? पहुँचवालाहरू मात्र लेखक हुने थिए, बाँकी अरू हेरेको हेर्यै । त्यसैले यो बिना झन्झटको काम पाएपछि किन नलेख्नु, मजाले लेखिन्छ । बरु लेखेको लेख छाप्न भने भनसुन गर्नुपर्ने प्रथा कायमै छ । लेखहरू नछापियोस् तर भनसुन त मरिगए पनि गर्दिन ।

साथीहरू भन्छन्, “क्लिष्ट शैलीमा नलेखेको लेख साहित्य बन्दैन। कमसेकम एउटा लेख, निबन्ध पढ्दा १०/२० पटक शब्दकोशको ठेली पल्टाउन नपरे त्यसलाई कसरी साहित्य मान्न सकिन्छ ?”

ए बाबा, क्लिष्ट भाषामा लेख्न त सिप पनि त चाहियो, लेख्ने ढङ्ग चाहियो, नेपाली र संस्कृत व्याकरणमा पोख्त हुनुपर्यो ! हरेक प्रकारको ज्ञान हुनुपर्यो । फेरि बिचबिचमा अङ्ग्रेजी, संस्कृत र एकदुई वटा हिन्दी र उर्दू शब्द मिसाउन परे पनि ती भाषामा समेत पोख्त हुनै पर्यो । अन्यथा अर्थको अनर्थ लाग्ला भन्ने डर हुन्छ । यसरी कतै कतै अन्य भाषा घुसाउने अक्कल भएको भए मैले उहिल्यै डाक्टरको उपाधि लिइसकेको हुने थिएँ, नभए कुनै युनिभर्सिटीमा प्रोफेसर हुने थिएँ, त्यो पनि नभए कुनै एक साहित्यिक पत्रिकाको सम्पादक हुने थिएँ । उल्लेखित कुरा मसँग छैनन् । भइदिएको भए यसरी साँझ बिहान गाईभैँसीको भकारो सोहरेर, फाट्टफुट्ट लेख रचना लेखेर बस्ने थिइन । सिप भैदिएको भए बजारमा मैले लेखेका अनगिन्ती कृतिहरू छ्यापछ्याप्ती हुने थिए । मैले मदनपुरस्कार, पद्मश्री पुरस्कार लगायत अनगिन्ती पुरस्कार समेत पाइसकेको हुने थिएँ ।

लेख भनेको साहित्यकारले मात्र पढ्ने कुरा पनि होइन । यो त आम मान्छेहरूले पढ्ने गर्छन् । कहिलेकाहीँ सोच्ने गर्छु, क्लिष्ट भाषाशैली बुझ्ने पाठक कति हुन्छन् ? राजनीतिमा जस्तै साहित्यमा पनि बहुमतको आधारमा निर्णय गर्ने हो भने साहित्यमा क्लिष्ट भाषाशैली र बोधगम्य भाषाशैली बिच मतदान गर्दा बोधगम्य भाषा शैलीले बाजी मार्न सक्छ। निर्णयार्थ प्रस्तुत नगरी यसै ठोकुवा गर्न त नहुने हो तर मैले भने यस्तै अड्कल गरेको छु ।

कुरै गर्ने हो भने मैले लेखेका लेखहरू क्लिष्ट भाषा नबुझ्ने र नपढेका मान्छेहरूका लागि निकै गतिलो खुराक बन्न‌ सक्छन् । तर मूल कुरो यहीँनेर गडबड भएको छ । साहित्यको सङ्गत नगर्नेले मेरो लेख पढ्न र देख्न पाउने कुरै भएन । साहित्यको सङ्गत गर्नेले मेरो लेख हेर्दै हेर्दैन ।

त्यसैले मैले जति लेखेँ, पाठकको अभावमा केही थान कपीका पन्नाहरूमा बन्द गरेर राखेको छु । पढ्ने इच्छा हुनेले सम्पर्क राख्न सक्नुहुनेछ ।