तपाईं यदि संयुक्त राज्य अमेरिकाको नागरिक वा बासिन्दा वा शुभचिन्तक वा अन्य जो कोही हुनुहुन्छ भने बधाई छ,  सम्पूर्ण दाजुभाइ लगायत दिदी बहिनीहरूमा एकमुष्ट तरिकाले ! तपाईंलाई शङ्का लाग्नेछ – के को बधाई होला यो ?

तर चिन्ता नलिनु होला एउटा थप प्रदेश वा राज्य पाएर अब सित्तैमा भरिने भयो तपाईंको खाली झोला त्यो । अलमलमा पनि नपर्नु होला कुरा खास के हो भनी । यस्तो सुखद समाचारले यो संसारमा कसको मन खुशी हुँदैन । हामी त सपनाको देशमा केवल  सपनामै पुगिन्छ होला ।

यता क्यानडातिर बस्ने सबै हामी एकाएक फेरि प्रदेश नं एकाउन्नमा पो परिने भइयो । अब बिस्तारै दक्षिणतिरै झरिने सङ्केत देखिंदैछ । पहिले क्यानडा भनेर खूबै फाल हालेर आइयो । अहिले खै के के नै पाइयो । अब त यतै बसीबसी अमेरिकन पो हुने भइयो ।

यो कुरा मैले कुनै ख्याल ठट्टाको रूपमा भनेको हुँदै होइन । होइन भन्नको लागि आधार पनि खासै छैन । सुन्दा त यही हुने हो जस्तो लाग्छ – क्यानडामा बसेर मनले त  फेरि अमेरिकाको भजनकीर्तन गाउन पो थालेको छ ।

यो मुन्छेले फेरि केको आधारमा यो कुरा बोलेको नभन्नू होला । अब मैले कुरोको चुरो मात्र हैन, जुरो नै समातेर हेर्छु – बडेमानको झोला । त्यसपछि त तपाईंको हित्तचित्त बुझ्छ नै होला । मैले कुनै झूट बोलेको वा खोलेको छैन । खास कुरा बुझ्न अलि मद्दत मिल्यो कि !

हेर्नुस्, कुरा यसरी शुरू गरूँ ? गर्छु, त्यसपछि म त पुरै गहिराइसम्म नै झर्छु । तपाईं पनि मसँगै आउॅंनुस् अनि ‘हो मा हो’ मिलाउनुस् है त । मिलाएको खै त ? अब फेरि अमेरिकन हुने पालो तपाईंको र मेरो है त !

यो कुरा म जस्तो बबुराबाट आएको हैन, ठूला, बडा र धेरै नै कडा मान्छे कै मुखबाट फुत्त भुइँमा खसेको हो । खसेको मात्र होइन जनजनको मनमनमा बसेको पनि हो ।

को हुन् त यिनी, यस्तो कुराको एकाएक दनक दिन भन्ने पनि लाग्न सक्छ । यदि पूरै कुरा सुनेमा तपाईंको निद्रा समेत एकाएक भाग्न सक्छ । तपाईं, हामी सबैले चिनेका र जानेका मनुवा परे उनी । यति वेला उनी आफू संसारकै ठूलो भन्दा ठूलो कुर्चीमा बसेर कटाउने सुर कसेका छन् अरू जुनी । हुन त उमेर छिप्पेपछि मानिसहरू खै के के बोल्छन् ! आफू के बोलेको हो भनेर ज्यादै मेसो पाउँदैनन् र त नानाभाँती बोलेर दुनियाँको मन पोल्छन् । जे होस् यिनीहरूले वेला न कुवेला नयाँनौलो रहस्यको पोको त अवश्य खोल्छन् ।

शुरू गर्छु भनेको कुरा अझै शुरू नहुँदा तपाईंलाई पट्यार लाग्यो होला है, यसका क्षमा माग्नु बाहे अरू उपायै छैन । अब चाहिं पक्का शुरू गरें, यता क्यानडाको उत्तरी भेगको चिसो छलेर बरु दक्षिणतिर अमेरिका नै झरौं । त्यसपछि अलिबेर रनभुल्ल नै परौं । यो विषय कसलाई पो थाहा नहोला र, अमेरिकामा फेरी ट्रम्प काका फर्केर कुर्चीमा आएका छन् । उनले त एउटा मीठो भजन नमज्जाले गाएका छन् गाएका छन् । तर थाहा छैन उनले यो कुरा गरेर खै के पाएका छन् । कि त उनले सपना मात्र देखेको हुनुपर्छ । कि त उनको खप्परमा दह्रोसँग लेखेको हुनुपर्छ । मेरो बिचारमा यो दिवा सपनाबाट एक दिन उनले पक्कै नराम्ररी हात धुनुपर्छ ।

जबजब उनी चुनाव जित्दै थिए उसै दिनदेखि एकाउन्नौं प्रदेशको फोटो मनमा खिच्दै थिए । काकाको यो नौलो भाकाले सारा संसारै हल्लियो होला बरु कोरोनाले के पो थल्लियो र ? कुर्चीमा पुग्न पाएकै छैन पूरै अर्को देश नै निलेर राज्य बनाउने भन्दा को खुशी हुँदैन । तर यता यस्तो गम्भीर कुराले पनि किन किन खै क्यानडियनहरूलाई छुँदै छुँदैन ?  तर जे भए पनि अब अमेरिकन त पक्कै भइयो । सके साँच्चै नसकेमा सपनीमै भए पनि अमेरिका घुम्न त पक्कै गइयो । यो कुरा सबैको मनमा लागेकै हो त, के अब फेरि नौलो आश र भरोसा जागेकै हो त ?

उनले कुरा बारबार दोहोर्‍याएर भने झैं लाग्छ । धेरै जसो क्यानडियनहरू अमेरिकन नै हुन चाहन्छन् । उनीहरूकै कारणले गर्दा ट्रम्प काकाको नाका हुँदै समान र व्यापार घाटामा पो गयो । एकाउन्नौं राज्य भैदिएमा करको दर नै तिर्न नपर्ने पो भयो । आहा, क्या गजब ! के अब यति कुरा गरेर पूरै देश नै अमेरिकाले बोकेर गयो । खास बुझ्नै सकिएन यो कुरा के भयो भयो । तर सपना देखेरै त होला मानिस भन्छन् – काकाले त हामीलाई उतै पो लग्यो । तपाईंले भन्नसक्नु हुनेछ – भो अब कुरा नगरौं, यै टुंग्यादिऔं । होइन, आउनुस् अझै कुरा गरौं, गर्दैमा कसको के जान्छ । कसैको केही गयो भने पनि कसलाई के नै फरक पर्छ र ?

क्यानडा लिन यति धेरै हतारो ट्रम्पलाई किन परेको होला ! अहिलेसम्म उनी कहाँ बसेका रहेछन्, खै के हेरी ! बल्ल थाहा भयो – बेपार त घाटामा पो गयो रे, त्यसैले क्यानडालाई पूरै अमेरिका लिनुपर्ने भयो रे । हुन पनि, के-के ठूला सपना देखे है यिनले ! क्यानडालाई अमेरिकाको ऋणले थिचेको हो कि घिनले ? कि क्यानडालाई कुदिन लागेको या सुदिन ? कुरा बुझ्नै गाह्रो छ- क्यानडा होस् या अमेरिका, चिसो त सहनै सारो छ ।

यी काकाले त यत्रो देशलाई खर्लप्पै सानो पारेर प्रदेश बनाउन लागेछन् ! अनि ह्वाइट हाउसमा बसेर लुतो कनाउने रे, क्यानेडियनहरूको शरीरमा चिसो पानी खन्याउने रे । फुले काकाले त अरूको घर भत्काएर आफ्नै दरबार बनाउने रे ! सुन्दा कहिले हाँसो छुट्छ, कहिले रीस उठ्छ ।

क्यानेडियनहरूले सोचेका होलान् – हामी किन छिमेकीसँगै जुट्ने ? ट्रम्प काकाले आशा गरून्, तर भरोसा हामीबाट नजाऊन् । अलि धेरै जमीन चाहिएको भए तल मेक्सिकोतिर झरून् ।

खासमा क्यानडाका जनताले ट्रम्प काकाको यो प्रस्तावै मानेका छैनन् ।  उनीहरूले क्यानडा बाहेक अर्को नाम जानेका पनि छैनन् । केही दुई-चार जना होलान् अमेरिकन हुन चाहने तर पछि सम्झेर रोलान् ।  कोही दोधारमा छन् । काकाको यो कुरा सुनेर कोही त आगो झैं झन् झन् दन्किए – ट्रम्प काकाले यो के कुरा बोलेका !

क्यानडा सरकारले त यो कुरा खारेज नै गर्‍यो । शायद यो सुनेर ट्रम्प काकाको मन रोएर आँसु नै झर्‍यो । लौ न तपाईं हामी पुगेर सम्झाइ दिनुपर्‍यो । कुरा अलि धेरै नै गम्भीर न पर्‍यो ।

आफू बराबरको अर्को देशलाई एकैचोटमा  राज्य बनाउने उनको कत्रो हिम्मत ! कुरै सुनेर भएँ म त आहत । यस्तो देशै निल्ने कुरा भएको भए हाम्रोतिर हुन्छ चक्का जाम, आगो र टायर बालेर देशै जलाम अनि मञ्चमा चढेर लाल सलाम । साम्राज्यवाद र  विस्तारवादका कुरा पनि हुन्छन् । कतै जल्लाद र कतै शंखनादका कुरा पनि खूबै हुन्छन् । हाम्रोतिर भए आगो बल्छ कि त सरकारी गाडी बाटैमा जल्छ । किन होइन  हो ? होइन भन्ने त हाम्रो खास दम नै छैन भो ।

हामी भएमा मोदी दाइका यस्ता हेपाइका कुरा किन सुनेर बसिन्थ्यो । हामी त सिधै हनुमान ढोकाको अनुमान लाएरै भित्र पसिन्थ्यो । कुरा यही नै साँचो हो । होइन भन्ने मान्छेको कि त बुद्धि नै काँचो हो । तर यता अलि  फरक हुने रहेछ । कहीं केही छैन भागाभाग  केही ठूलो छैन माग । कमायो, खायो सधैं कामतिर लाग्यो । ट्रम्पको विरोधमा नारा लगाउँदै खै कहाँ को जाग्यो । आन्दोलनमा पुलिसले लखेटेर खै को, कता भाग्यो ? खासमा केही भएन, कोही कतै गएन । न त कोही भाग्यो न त कोही कतै लाग्यो । तर केही नभए पनि अब आत्मनिर्भर हुने कुरामा मानिसको मनमा एउटा चाहना जाग्यो ।

अझ गहिरोगरी हेरौं त यता आन्दोलनको लागि सडकमा कोही गएन । पूरै  सुनसान सडक कर्फ्यु लगाए झैं भयो ।  बाहिर चिसो हुनाले  घरभित्रै पसेका छन् । तर मानिसहरू काकाले देश कहिले लिने हुन् भनेर हेरेर चैं बसेका छन् । कतै अमेरिकन हुनुपर्ने हो वा सेतो दरबारले अरू केही कडा निर्णय पो गर्ने हो कि । आदि इत्यादि कुरा तर हेर्नु होला यी सबै हुनेछन् अधूरा अपूरा ।

कागले कान लग्यो भनेको यहि हो । हामी कान हेरेर बस्ने हो तर काग लखेट्दै कहाँ पस्ने हो । कानडाको कत्रो ठूलो सान र मान छ, उसको कति धेरै पहिचान छ । तर छिमेकीले खै आफूलाई के के नै ठान्छ । यसको दादागिरी अब चल्दैन के उनी नहुँदा हाम्रो चुलै बल्दै न कि कसो । होइन यी बाजेलाई अर्काको देशमा किन नजर बस्यो । अब हिरो हुन छोडे पनि हुने बरु कामको कीरो बनेर सम्पत्ति जोडे पनि हुने ।

यिनीहरूले आफूले दिंदै गरेको अनुदान रोक्ने रे । अरूबाट लिएर आफैले मात्र धोक्ने रे । कति सारो बाठो हुन परेको होला । संसारकै बुद्धि भुटेर भरेकै त हुन् नि त्यो झोला । जे भए पनि यिनीहरूले संसारमा गुन पनि लाएकै छन् । आफ्नो औकात बडा ठूलो छ भनेर भजन पनि त गाएकै छन् । अरू जे जसो होस् तर क्यानडा अमेरिकाको एकाउन्नौं प्रदेश कदापि नहोस् । होस् भनेर पनि हुने हो र यो त खास नलागेको कुरा पो हो त । शायद ट्रम्प काकाले कुरैकुरामा मुखमा आयो बोलिहाले । मनमा गुम्सेको कुरा बाहिर फालिहाले ।

तेल त जति चाहिए पनि उनीसँगै छ । यो कुरा  खेल ठट्टामा पनि भनेका होलान् । तर यसरी नबोलेको भए हुने । तर हावादारी बाजेका गफ सुनेर को नै छ  रुने । तर के थाहा खै बसेका पो छन् कि मनमनै ठूलै जाल बुने ।  बोलेर केही हुन्न । तातो पानीले घर जल्दैन । हाम्रो चूलो बल्छ, उनीहरूको मन कति हो कति जल्छ । अमेरिकनहरू मनपरी बोलून् तर हामी क्यानडा बासीको मन नपोलून् । हामी उता पनि यता पनि स्वतन्त्र राज्य हौं । साथै हामी अविभाज्य पनि हौं । तर अन्तमा बरु क्यानडामै बसौं । गाभिन गएर अमेरिकाको टाङमुनि नपसौं । सबैको जय होस् । अब निकालौं आउनुहोस् नयाँ जाँगर र जोश । ट्रम्प काका अब बन्न छोडौं आफू मात्र बोस् । बरु बोल्ने गरौं पुर्‍याएर होस् !

अमेरिका र क्यानडाको जीवन शैलीमा खासै अन्तर छैन । मेरो बिचारमा अमेरिकाले क्यानडालाई लिंदा केही आपत्ति नै हुँदैन तर लिएपछि नयाँ नाम क्यानडा नै राख्नुपर्छ । यो कुरा त छुटाउनै हुँदैन । तपाईं हामी सबैले यो कुरा डोनाल्ड ट्रम्प काकालाई मनाउनै पर्छ यदि मानेनन् भने उतै बसेर उनलाई कन्याउनु पर्छ । तपाईंले नठान्नुहोला यो के कुरा गर्छ । साँचो कुरा गर्छ । सपनाको देशमा म त सपना मै भए पनि बसाइँ सर्दैछु ।  आउनुहोस् मसँगै घुम्न जाऔं । दुईचार दिन भए पनि मनको रहर मेटाऔं । धरो धर्म मैले ढाँटेको होइन खासमा मलाई अमेरिकासँग एक नभई बस्न मनै छैन ।

शुरू गरेको कुराले अन्त्यको माग गर्‍यो । टुंग्याइदिएँ मेरो कुरा तर ट्रम्पको विचार कहिले र कहाँ अन्त्य हुने हो, अब हेरिबसौं ।

क्यानडा