ग्रीष्मजा (२०७९), साहित्यकार श्री चिरञ्जीवी दाहालद्वारा लिखित दोस्रो एकल कृति तथा पहिलो उपन्यास हो । यस अघि उनको आत्मकथा “मुमूर्षा” प्रकाशित छ । यस उपन्यासमा लेखकले प्रमुख पात्र ग्रीष्मजाको माध्यमबाट स्त्री शक्तिको विभिन्न आयामहरूको वर्णन गरेका छन् । नारी स्वरूपलाई एउटा मांसपिण्डको थुप्रो भन्दा निकै पर गएर आन्तरिक सौन्दर्य र उच्च चेतको रूपमा बुझाउन यो उपन्यास सफल भएको  छ ।

मुख्य पात्रको रूपमा देखिएकी ग्रीष्मजा, अन्दाजी पच्चीस छब्बीस वर्ष र आकर्षक जीउडालकी एक सशक्त नारी हुन् जो आफ्नै भावचेतमा आफ्नो जीवनमा आइपरेका सबै खाले परिस्थितिमा समुचित निर्णय गर्न सक्षम छिन् । उपन्यासमा वर्णित एउटा प्रमुख घटनामा बाहेक, जसमा उनलाई आफ्नो पतिको मार्गनिर्देश रहेको छ । स्नातक तह सम्मको अध्ययन गरेकी ग्रीष्मजा, एक सुपठित नारी हुन् ।

सबै नारीहरूमा मातृत्वको चाहना भए जस्तै ग्रीष्मजालाई पनि छ । तर उनलाई यो सहज प्राप्य छैन । किन ? यसको लागि चैँ उपन्यास नै पढ्नु भनेर अनुरोध गर्दछु । के त्यसो भए उनी त्यो सौभाग्यबाट वञ्चित हुन्छिन् त ? त्यो चैँ हुन्नन् । तर कसरी ? यो पनि उपन्यासमै पढ्नु उपयुक्त हुन्छ । तर सबै प्राप्तिहरूका खुसीहरू एक्लै नआउँदा रहेछन् र त्यो खुसीको उज्यालोसँगै आउन सक्ने अँध्यारोलाई पुरुष मनोविज्ञानको रूपमा पनि देखाइएको छ ।

यस उपन्यासका दुई मुख्य पुरुष पात्रहरू तीर्थकुमार र लालप्रसाद हुन् । ग्रीष्मजाकी पति तीर्थकुमार, एक यातायात मजदूर हुन् । उनी बसपार्कमा सामान लोड अनलोड गर्ने काम गरेर जीविकोपार्जन गर्छन् । ग्रीष्मजाको पति तीर्थकुमार, विवाहपुर्व ग्रीष्मजाकै घरमा काम गर्ने परिचय समेत नखुलेको पात्र हो शुरुमा । तर ग्रीष्मजाको लागि यो विषय गौण थियो । यसरी तत्कालीन समाजमा र परिवेशबाट माथि उठेर आफ्नो खुसीको लागि आफै निर्णय गर्ने ग्रीष्मजा फेरी एक पल्ट एउटा अकल्पनीय तर आवश्यक कदम चाल्न तयार हुन्छिन् दुवै जोइपोइको मिलेमतोमा । र सुरु हुन्छ कथामा रोमाञ्चकता, कौतुहलता, र अन्य भावहरू ।

अर्को महत्त्वपूर्ण पुरुष पात्र लालप्रसाद भने एक सरकारी कर्मचारी हुन् जो घरबाट टाढाको कार्यालयको आवासमा एक्लै बस्छन् । यसरी घरबाट टाढा रहनु परेपछि उनलाई नित्य घरधन्दाको झमेलाबाट मुक्त हुनु परेको छ । यस्तैमा ग्रीष्मजाको प्रवेश लालप्रसादको भान्सामा हुन्छ घरेलु कामदारको रूपमा । यी तीनजना र त्यसपछिका घटनाक्रमकै वरिपरि उपन्यास घुमेको छ र उनीहरूसँग सम्बन्धित अन्य जनहरूको भूत र वर्तमानको वरिपरिमा ।

यी दुई पुरुष पात्रहरूको दैनन्दिन व्यवहार र खानपिन भने, उपन्यासमा वर्णन गरे अनुसार,  ग्रीष्मजाकै निर्णयको कारणले असामान्य देखिँदै आएको हुन्छ । र कुनै बेला एक ठाउँमा रहेका पात्रहरू तीनतिर रहेका हुन्छन् । सरकारी जागिरे लालप्रसाद त झन् मादक पदार्थको अति सेवनले कलेजोको रोगी बनेको हुन्छ । संयोगले भएको ग्रीष्मजासँगको भेटले लालप्रसादले मृत्युको नजिकबाट मुक्ति पाएको हुन्छ ।  रोग लागेपछि उसलाई आफ्नै श्रीमतीले छोडेर गइसकेकी हुन्छ तर ग्रीष्मजाले आफ्नो कलेजोबाट  दान गरेर अल्पायुबाट लालप्रसादलाई बचाउँछे । तैपनि लालप्रसाद कलेजोको क्यान्सर लागेर प्राण त्याग्छ । उता तीर्थकुमार पनि घुम्दै फिर्दै परिवारसँगै जोडिन आई पुग्छ । साथै पारिवारिक पुनर्मिलनको समय पनि आउँछ ।

यस उपन्यासमा नेपाली समाजको बदलिँदो चरित्र चित्रण समेत गरिएको छ । नेपाली समाज अब परम्परागत रूपमा वर्णन गरिएको जात व्यवस्थाको साँघुरो परिधिमा मात्र सीमित रहेको छैन । परिवर्तनशील नेपाली समाजमा पारिवारिक संरचना मात्र होइन विवाहको स्वरूप पनि फेरिँदै गएको यस कृतिमा पाइन्छ । र सँगसँगै पाइन्छ, अन्तरजातीय विवाहमा हुने पारिवारिक र सामाजिक सहिष्णुता र सम्बन्ध । यस्तो हुनुमा नयाँ पुराना दुवै पुस्ताले गर्ने सुझबुझपूर्ण र सकारात्मक निर्णयको प्रभाव छ ।

उपन्यास भनेर प्रकाशित भए पनि मेरो नजरमा यो अर्ध आख्यान हुन सक्छ । केही तथ्य अनि कल्पनाशीलताको बेजोड सङ्गम भएको यस उपन्यासमा तथ्यको झल्को मुख्यतया प्रथम परिच्छेदमा पाइन्छ । कल्पनाशीलता भने त्यस पछिका सबै परिच्छेदहरूमा यथेष्ट पाइन्छ । लेखक, यस आख्यानमा प्रयुक्त रहस्यपूर्ण कल्पनाशीलताको लागि बधाईका पात्र बनेका छन् ।

दाहालको कृतिमा पाइने अर्को विशेषता भनेको यसमा अन्तर्निहित लेखकीय दर्शन पनि हो जुन पात्रहरूको संवादमा देख्न सकिन्छ । पात्रहरूको संवादहरूमा सुख, प्रेम, यौवन, यौन, प्रसन्नता आदि र समय परिवेशअनुसार गर्नुपर्ने भूमिकाको बारेमा लेखकले आफ्नो विचार स्पष्टसँग प्रस्तुत गरेका छन् ।

ग्रीष्मजानै उपन्यासको प्रमुख पात्र भएकोले शीर्षक चयन उपयुक्त छ । मिठासपूर्ण लेखन शैलीले उपन्यासलाई पढौँ पढौँ लाग्ने बनाएको छ ।  एक बसाइँमा पढेर सकिने जम्मा दश परिच्छेदहरू रहेका यो उपन्यास नेपाली साहित्य जगतलाई नौलो उपहार हो । पहिलो कृति पढ्नेलाई  यो कृति त्यसैको भाग २ पनि लाग्न सक्छ तर नपढ्नेलाई पनि छुट्टै पढ्न कुनै अप्ठ्यारो हुने छैन किनकि विषयवस्तु अलग छ । चलचित्रको मध्यान्तरपछिको कथा जस्तै फ्लाशब्याकसँगै पात्रहरूले आफ्नो विगत सुनाउँदै गर्दा केही समय एक अर्कासँग छुटिएका परिवारजनहरू भेटिँदै गर्छन् र पारिवारिक मिलनमा कथा टुङ्गिन्छ ।

पल्लव साहित्य प्रतिष्ठान, चितवनको लागि श्रीमती कमला दाहालद्वारा २०७९ सालमा प्रकाशित उपन्यासको मूल्य रु. ३२५ रहेको छ जसको वितरक नारायणघाट, चितवन  स्थित सम्पूर्ण किताब रहेको छ ।

चितवन