म गोरखा जिल्लाको पूर्वोत्तर भागमा रहेको एउटा सुन्दर र रमणीय गाउँ तान्द्राङमा जन्मिएको हुँ । तान्द्राङलाई, मेरो जन्मभूमि मात्र हो भनेर म पन्छिन सक्दिन । धेरै तान्द्राङी जोडीका बालबालिकाहरू अन्यत्र पनि जन्मिए होलान् । तर पनि मैले त्यो महत्त्वपूर्ण अवसर गुमाउनु परेन । म तान्द्राङको मलिलो र सुगन्धित माटो स्पर्श गर्दै जन्मिन पाएँ । जहाँ मेरा निकै पुस्ता अघिका बाजे र जिजुबाजेहरू पनि जन्मिएका थिए । वर्तमानमा भने यस प्रकारको महत्त्वपूर्ण अवसर गुमाउनेहरू प्रशस्त देखिन थालेका छन् । पराइ भूमिमा नाति र नातिनी जन्मिएको खबर सुनेर पनि काख रित्तै हुने हजुरबाहरूले मात्र यसको मर्म बुझ्न सक्दछन् ।

हाम्रो पुस्ता भने हजुरबा हजुरआमाको न्यानो काखमा खेलेर हुर्किएको पुस्ता हो । मैले उहाँहरूबाट अनगिन्ती पौराणिक नीति कथाहरू श्रवण गरेको थिएँ । लोककथा र दन्त्यकथाहरू सुन्ने अवसर प्राप्त गरेको थिएँ । अनगिन्ती उखान टुक्काहरू सुनेको थिएँ । गाउँखाने कथा सुनेको थिएँ । मलाई लाग्छ बढ्दो उमेरका बालबालिकाका लागि त्यो एउटा महत्त्वपूर्ण अवसर हुन्थ्यो । जुन अवसर पढ्ने विद्यालयमा हतपती पाइँदैन थियो । घरमा पाइने यस प्रकारको शिक्षा दिने क्रम आजभोलि बिरलै मात्र होइन, लगभग शून्यको अवस्थामा पुगेको हुनुपर्छ ।

उता राष्ट्र निर्माता पृथ्वीनारायण शाह जन्मिएको माटोमा मेरो जन्म भएकोले म निकै गौरवान्वित हुन्छु । कामको सिलसिलामा अन्यत्र कतै जाँदा मैलै निकै फुर्ती साथ भन्ने गरेको छु, “म असली गोरखाली हुँ । मेरो जन्म पृथ्वी नारायण शाह जन्मिएकै माटोमा भएको हो ।’

त्यसो भनिरहँदा, म पनि नेपाल एकीकरण गर्न कमर कसेर युद्धमा निस्किएको पृथ्वी नारायण शाहको सैनिक हुँ भने जस्तै अनुभूति हुने गर्छ ।

“यति मात्र होइन, तत्कालीन राजा महाराजाका कुल ज्योतिष दुर्लभ जैसीले पानी खाने गरेको तान्द्राङको पँधेरो र मैले पानी खाएर हुर्किएको पँधेरो एउटै हो ।” जब म कसैलाई यो कुरा सुनाउँछु, मेरो नाक गर्वले एक बित्ता भन्दा बढी ठाडो भए जस्तो लाग्छ ।

त्यतिले मात्र पनि गोरखा र मसँग जोडिएका गौरवमय प्रसङ्गहरू पूर्ण भएजस्तो लाग्दैन । म अझै थप गोरखाली भूमिपुत्रहरूको नाम प्रस्तुत गर्न लाग्छु ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा त्यसताका मेरो छिमेकी गाउँका थिए । देशमा गणतन्त्र स्थापनापछि त छिमेकी मात्र होइनन् उनको र मेरो गाउँपालिका समेत एउटै भएको छ । हाम्रो गाउँपालिका एउटै भन्दा पनि भीमसेन थापा मेरो मावलीहरूको त साँध सँधियार नै हुन् । मेरो मावली र भीमसेन थापाको घर भएको ठाउँ गोरखाको बोर्लाङ हो भन्दा मलाई कम्ती खुशी लाग्दैन । नेपालका पूर्व प्रधानमन्त्रीहरू कृतिनिधि विष्टको पुर्ख्यौली घर गोरखा थियो ।

यस्तै अर्का पूर्व प्रधानमन्त्री सन्तनेता किसुनजीका पुर्खा पनि गोरखाकै थिए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको घर गोरखा हो । अझै शारीरिक कद होचो तर साहित्यिक र बौद्धिक उचाइ मनासलु हिमाल भन्दा अग्लो भएका कुशल राजनीतिज्ञ राजेश्वर देवकोटाको नाम लिँदा मेरो मन खुशीले गद्गद हुन्छ । बेलायती सेनामा उच्च सम्मानका साथ भिक्टोरिया क्रस विजेता गजे घले पनि मेरो छिमेकी गाउँका हुन् ।

तत्कालीन शाह वंशीय गोरखाली राजाका कुलगुरु कुलानन्द ढकाल त मेरो मावली खलकका पुर्खा नै हुन् । नेपालका प्रथम शहीद लखन थापा हाम्रो गोरखाका गौरव हुन् । गोरखाका साहित्यकार एवं कथाकार पूर्णप्रसाद बाह्मणका कथाले मन नछुने पाठक सायदै कोही छैन होला ।

यी र यस्तै अनेकौं नाम छन् , जसको नाम लिँदा पनि गोरखालीहरूको छाती गर्वले फुल्ने गर्छ ।

यो वास्तविकता हो, जन्मिएर खेतीपाती गर्दै परिवारको भरणपोषण गर्दागर्दै इहलीला समाप्त गर्नेहरूलाई इतिहासले सम्झँदैन । सम्झने भए यसरी गौरव गर्न लायक गोरखालीहरूको सूची निकै लामो हुन सक्थ्यो । किनकि गोरखालीहरू बहादुर र सुरवीर थिए । इमानदार र न्यायप्रेमी थिए । गोरखाको उर्वर माटोमा पसिना सिँचेर गोरखाका डाँडाकाँडा र भिरपाखामा सुगन्धित फूल फुलाउनेहरू गोरखामा अनगिन्ती जन्मिए । जन्मिने सबैको इतिहास बन्दैन । इतिहासमा नाम लेखाउन कि त कुनै अभूतपूर्व कार्य गर्नुपर्छ कि आम मान्छेको मन मस्तिष्कमा बस्न सक्नुपर्छ । अन्यथा सबैले महत्त्वपूर्ण ठान्ने गरेको राजनीतिको उच्च ओहोदासम्म पुग्न सक्नुपर्छ । इतिहासले यिनै नामलाई स्वर्णाक्षरले अङ्कित गरेर राख्ने गरेको छ । यो तिनै नामहरूको सूची हो । उल्लेखित नामहरूको सूचीलाई सानो सूची मान्न सकिंदैन त्यसैले पनि मेरो जन्मभूमि गोरखाले यो सूची बनाउनु चानचुने कुरा हुँदै होइन ।

आशा गरौं, कुनै कालखण्डमा अझै केही नामहरू इतिहासमा थप दर्ज हुनेछ र गोरखाको गौरव वृद्धि गर्ने सिलसिलामा पुनः केही थान इँटा अवश्य पनि थप हुनेछन् ।

देशले गौरव गर्न लायक केही ख्यातिप्राप्त व्यक्तित्वहरूसँग प्रत्यक्ष रूपमा नाम जोडिएको गोरखा प्रख्यात र ऐतिहासिक भूमि हो । नेपाल राज्यको निर्माणमा गोरखा र पृथ्वी नारायण शाहको योगदानका बारेमा विशेष रूपले वर्णन गरिरहनु पर्ला जस्तो लाग्दैन । सबैले प्रस्टसँग बुझेकै कुरा हो । त्यसैले गोरखा वर्तमान सिङ्गो नेपालको अर्ग्यानिक बीज हो । जसका कारण नेपाल नामको विशाल वटवृक्षको शीतल छहारीमा करौडौं नेपालीहरूले आश्रय लिइरहेका छन् ।

मैले गैर गोरखालीसँगको भेटमा यिनै कुरा प्रस्तुत गरिरहँदा कसैले पनि धाक लगाएको भन्न सक्दैन । किनकि वास्तविकता हो नै यही । यसैले उपरोक्त सूचीमा समेटिएका र गोरखाली माटोमा सुवास छरिरहेका यिनै व्यक्तित्वको नाम लिएर छाती फुलाउन पाउँदा म निकै खुशी हुने गरेको छु, उत्साहित हुने गरेको छु ।

एउटा साधारण व्यक्तिलाई उसका पुर्खाहरू जन्मिएको माटोमा जन्म लिन पाउनु सामान्य कुरा हुँदै होइन । यसमाथि पनि इतिहासमा नाम दर्ज गरिसकेका महान् व्यक्तित्वहरूले खेलेको धुलो माटोमा लुटपुटिन पाउनु ठूलो सौभाग्य मानिन्छ, मलाई यस्तै लाग्छ ।

गोरखाको तान्द्राङमा जन्म लिन पाउनु मेरो लागि अहोभाग्य थियो । वास्तवमा मान्छे जन्मनु मात्र ठूलो उपलब्धि होइन । तिनले उचित मार्गदर्शन पाउनु महत्त्वपूर्ण कुरा हुन्छ । हुन त मैले मात्र होइन सबै मान्छेहरूले आफू हुर्किरहेको स्थानबाट बिस्तारै सबै कुरा ग्रहण गर्ने अवसर प्राप्त गर्छन् । यसर्थ सबैका लागि जन्मभूमि स्वर्गभन्दा पनि प्यारो लाग्छ र लाग्नुपर्छ ।‌

तर अरू मान्छेले के भन्छन्, म त्यसको जिम्मा लिन त सक्दिन । मलाई भने मेरो जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो र सुन्दर लाग्छ ।

म तान्द्राङलाई जन्मभूमि मात्र भनेर यस कारण उम्किने प्रयास गर्दिन किनकि तान्द्राङ मेरो जीवनको पहिलो आवाज निस्किएको ठाउँ पनि हो । तान्द्राङ मेरो बाह्रखरी हो किनकि मैले जीवनमा पहिलो पटक अक्षर चिनेको स्थान यही हो । मैले जीवनमा पहिलो पटक अन्न, फलफूल र तरकारी सेवन गर्न अभ्यास गरेको स्थान हो । त्यसैले गोरखा र तान्द्राङ मेरो जन्मभूमि मात्र भन्नु अन्याय हुनसक्छ ।

गोरखा एवं तान्द्राङ मेरो गुरु हो । शिक्षक हो । आमा र दक्ष तालिम प्रशिक्षक पनि हो । मेरो मिल्ने दौंतरी हो तान्द्राङ । मैले जीवनका करिब अट्ठाइस तीस हिउँद र वर्षा त्यही तान्द्राङमा बिताएँ । यो उमेर जीवनको सबैभन्दा उर्वर र महत्त्वपूर्ण उमेर हो । मेरो शरीरको उचाइ, शब्द भण्डार, बोल्ने तौर तरिका, जीवनशैली, रूपरङ्ग र अनुहार जति पनि छन्, सबै तान्द्राङमा विकसित भएका हुन् । यसपछि मैले थप प्राप्त गरेको त केवल बाँकी उमेर र शारीरिक जीर्णता मात्र हो ।

छरछिमेक, गाउँघर, नाता कुटुम्ब, समाज र देश भनेको के हो ? यी सबै प्रश्नको उत्तर लगायतका यावत् कुराहरू पहिलोपल्ट मलाई गोरखाको तान्द्राङले सिकाइदिएको हो । मैले सबैभन्दा पहिले बोट बिरुवा, धर्ती, धर्तीको माटो र ढुङ्गा देखेको त्यही पवित्र भूमिमा हो । मैले जीवनमा पहिलो पटक चन्द्र, सूर्य, तारा र आकाश देखेको तान्द्राङमा हो । मैले खोलानाला, नदी र तालतलैयाको बारेमा विस्तृत जानकारी पाएको पनि तान्द्राङमा हो । यी सम्पूर्ण विषयमा मैले अन्यत्र गएर बुझ्नु र सिक्नु परेन । धर्म, संस्कार, कुल परम्परा, र पूर्वीय दर्शनका विषयमा थोरै मात्र भए पनि जानकारी पाएको पनि त्यहीँ हो । त्यसैले तान्द्राङलाई कुल गुरु सम्झने गरेको छु ।

मलाई लाग्छ, कपीका पन्नामा अक्षर चिन्नेहरू र जन्मभूमिको माटोमा अक्षर चिन्नेहरू बीच निकै ठूलो अन्तर हुने रहेछ । किनभने धुलौटोमा पोखिएको माटो कोरेर अक्षर चिन्नेहरू आज पनि गाउँमै छन् । कपीका पन्नामा अक्षर चिन्नेहरू जहाज चढेर लाहुर गए ।

मैले सम्पूर्ण बाल्यकाल तान्द्राङको धुलो माटोमा लडिबुडी गरेर बिताएँ । कुनै कालखण्डमा मेरो हात खुट्टाका नङमा भरिएको माटोको बास्ना आज पर्यन्त आइरहे झैँ लाग्छ । त्यसैले मलाई लाग्छ, गोरखाको माटोले मलाई राम्रोसँग बुझेको छ । मैले गोरखाको माटोलाई बुझेको छु । गोरखाली माटो र मेरो पारस्परिक सम्बन्ध छ ।  जागिरको र भ्रमणको सिलसिलामा म विभिन्न स्थानको माटो र बाटोसँग परिचित भएपनि मलाई संसारमा सबैभन्दा आत्मीय र सुगन्धित माटो, तान्द्राङ गोरखाको लाग्ने गरेको छ ।

तान्द्राङलाई मैले एउटा जीवन बुझ्ने विश्वविद्यालयको रूपमा लिएको छु । जहाँ मैले संसारको कुनैपनि विश्वविद्यालयमा पढाइ नहुने अनगिन्ती पाठ पढेको छु । मैले जति पनि मानवीय मूल्य र मान्यताहरू बारे जानकारी पाएँ सबै त्यहीँबाट पाएको थिएँ । पवित्र बुढीगण्डकी नदी, स्तूलखोला, मोती खोला, तान्द्राङ खोला र बुर्लुङ खोलाको सानिध्यमा रहेर मैले खोला र नदीनालाका विषयमा प्रयोगात्मक ज्ञान आर्जन गर्ने मौका पाएँ । तान्द्राङ कोटको पहरेदार बनेर बसेको सल्लाघारी, सजुवाको सालको जङ्गल र यस वरपरका हरियाली जङ्गलहरूबाट जैविक विविधता बारे बुझ्ने अवसर प्राप्त गरें । गोरखकाली, मनकामना, तान्द्राङकोट, आरुकोट, ताकुकोट, बुङ्कोट जस्ता ऐतिहासिक कोटहरूमा रहेका सुन्दर स्थलहरूमा रहेका देवी देवता र कालिका मन्दिरबाट मभित्र धार्मिक भावनाको विकास भएको हो भन्दा खुशीले दङ्ग हुने गरेको छ मेरो मन ।

मैले मनासलु, हिमचुली र गणेश हिमालको फेदीबाट हिमश्रृङ्खलाहरूको रसास्वादन गर्ने मौका निःशुल्क रूपमा पाएँ । जसलाई अवलोकन गर्नकै लागि संसारका विभिन्न मुलुकका नागरिकहरू हजारौं डलर खर्चिएर मेरो जन्मभूमिको बाटो प्रयोग गरेर हिँडेको देखेको छु । घरबाट यी दृश्यावलोकन गर्न पाउनुलाई सामान्य कुरा मानेको छैन । यो अवसर संसारका निकै कम भाग्यमानी मान्छेहरूले मात्र प्राप्त गर्छन् ।

जन्मभूमि महत्त्वपूर्ण र मूल्यवान् हुन्छ । यसैले होला जन्मभूमिको माया र महत्वका बारेमा कयौंले अनेकन् शब्दहरू खर्चिने गरेका छन् । जन्मभूमिको विषयमा अनगिन्ती कविताहरू लेखिएका छन्, चलचित्रहरू बनेका छन् र अविस्मरणीय महाकाव्यहरू लेखिएका छन् । यसरी प्रस्तुत गरिएका भावनाहरूमा देखावटीपन पटक्कै हुँदैन । यस्ता सामग्रीहरूमा मान्छेको अन्तरात्मा बोलिरहेको हुन्छ । त्यसैले पनि होला, मैले आफ्ना सिर्जनामा गोरखा बोल्ने गरेको छु, तान्द्राङ बोल्ने गरेको छु । मेरो यो सम्झना म सचेत रहँदा मात्र होइन, हरेक रात निन्द्रामा देख्ने गरेका सपनीमा समेत तान्द्राङ र गोरखाकै सेरोफेरोमा घुमिरहेको पाउँछु । गोरखासँग बात मारिरहेको हुन्छु । तान्द्राङलाई देखिरहेको हुन्छु ।

जन्मभूमिबारे दुईचार अक्षर लेखेर माया बाँड्दा पनि मलाई देशभक्ति र जन्मभूमि प्रतिको भावना बलियो भएजस्तो लाग्छ । एउटै धर्तीमा जन्मेका र हुर्केका मानिसहरू एउटै समाजमा एकताबद्ध भएर जन्मभूमिको मायालाई हृदयमा जीवित राख्न सक्नुपर्छ । जन्म भूमिप्रतिको मान्छेको चाहना र त्यससँग पुनः मिलन हुने इच्छा व्यक्त गरिएका गीतका शब्दहरू निकै प्रभावशाली हुन्छन् । धराको उर्वर र सुगन्धित माटोलाई तपाईँ हामी सामान्य मान्छेले अन्य मूल्यवान् वस्तु के नै पो दिन सकिन्छ र ? यहाँका जति पनि भौतिक वस्तुहरू छन्, ती सबै यही धराका हुन् । हामीले त यस भूमिलाई मात्र माया, स्नेह र सम्झना गरिदिए पुग्छ, सम्मान गरिदिए पुग्छ, इज्जत गरिदिए पुग्छ ।

गोरखा बजार अर्थात् पोखरीथोक बजारबाट लगभग ७ कोष पूर्वोत्तर केही उकालो र ओरालो पार गर्दै ६/७ सात घण्टाको यात्रापछि पुगिने तान्द्राङ गाउँमा अचेल भने डेढ दुई घण्टामा नै पुग्ने गरिएको छ । पक्की मोटरबाटो बनेपछि सायद अहिलेको पुस्ताले गोरखा दरबार हुँदै पँदेलथोक, पिपलथोक, आहाले भञ्ज्याङ, ताप्ले , वगुवाको डाँडाबाट खान्चोक बजार निस्किएर कुवा भञ्ज्याङ् हुँदै तारा खसे र जोगीगाडे हुँदै तान्द्राङ मझिन्थोक पुगिने दक्षिण पश्चिमको पैदल यात्रा गर्ने मूलबाटो बिर्सिसकेको हुनुपर्छ । किनकि गोरखा आरुघाट जोड्ने पक्की मोटरबाटो तान्द्राङको उत्तर दिशा स्थित आरुपाखा हुँदै गएको छ ।

संसारमा कयौं परिवर्तनहरू भइरहन्छन् । यिनै मध्येको एउटा महत्त्वपूर्ण परिवर्तन हो यो । हामीले केही वर्ष अघिसम्म हाम्रा पुर्खाको पदचाप पछ्याउँदै त्यही बाटोबाट यात्रा गर्ने गरेका थियौं । परिवर्तनको स्वाद अहिले मेरो जन्मभूमि तान्द्राङले मजैसँग लिएको छ । उहिले बा, काकाहरूले सल्लाको दियालो बालेर अक्षर चिन्दा हामीले टुकी र लालटिन बाल्यौँ । वर्तमानमा तान्द्राङका बालबालिकाहरू बिजुली बत्तीको उज्यालो प्रकाशमा अक्षरका दाना केलाइरहेका छन् ।

हामीले डोकोमा खेपेर पानी खायौँ, अहिले तान्द्राङका हरेक घरका आँगनमा पानीका धारा गाडिएका छन् । खुशी लाग्छ, मेरो जन्मभूमि, जुग जमानासँग कुनै दिन पनि पछि परेको छैन । आफ्नै चालमा वामे सरिरहेको छ, जसरी समय आफ्नै रफ्तारमा बगिरहेको हुन्छ ।

यही क्रममा केही वर्ष अघिसम्म पोखरीथोक बजारका नामले चर्चित गोरखा सदरमुकामलाई कसैले र कतैतिर पनि पोखरीथोक भनेको सुनिँदैन । पोखरीथोक मात्र होइन, मेरो जन्मभूमि तान्द्राङको औपचारिक पहिचान पनि बिस्तारै हराउँदै जाने क्रममा छ । तान्द्राङ गाउँ पञ्चायत, तान्द्राङ गा.वि. स हुँदासम्म अस्तित्वमा रहिरहेको तान्द्राङ अचेल भीमसेन थापा गाउँपालिका बनेपछि उहिले जस्तो सरकारी अड्डाका ढड्डाहरूमा तान्द्राङ पाइन र लेख्न छोडिएको छ । तान्द्राङ बिस्तारै इतिहास बन्ने क्रममा छ । केही वर्षपछि एउटा साँच्चिकै इतिहास मात्र रहन सक्छ । हामी त्यही इतिहास भित्रको एउटा अदृश्य पात्र बनिरहेका हुनेछौं ।

धन्न अझैसम्म केही व्यक्तिहरूमा तान्द्राङ पहिचान गर्न सक्ने आँखाहरू अझै शक्तिशाली छन् । आशा छ तान्द्राङको नाम हराए पनि तान्द्राङ गाम हराउने छैन । भन्नेले त नाममा केही छैन भनिदेलान्, मलाई लाग्छ – तान्द्राङ नाममा के छैन ? माया छ, सम्झना छ, विश्वास पनि छ र सबैभन्दा महत्त्वपूर्ण कुरा तान्द्राङ नामसँग मेरो जीवनका पुराना यादहरू छन् ।