मानिस अनेकौँ संवेदना बोकेर बाँचेको हुन्छ । संवेदना सन्तुष्टि वा असन्तुष्टि दुवैका कारक हुन् । स्वभावमा मानिस आफ्नो सन्तुष्टिलाई अगि राखेर मात्र अरूको खुसी खोज्ने हुन्छ तर व्यवहार यसभन्दा भिन्न हुन्छ । मानवीय संवेगले मानव व्यवहारको यात्रा तय गर्छ ।
म जन्मिँदा निर्वस्त्र थिएँ । समाजले मलाई सर्वोत्कृष्ट प्राणी ठानेर वस्त्र लगाइदियो । त्यही दिन मेरो घरमा जन्मेको सानो पाठालाई मानिसले अविकसित ठान्यो र सोतर ओछ्याइदियो । वस्त्र लाएर मैले धेरै कुरा छोप्न सिकेँ । लाजलाई मखमलले र सत्यलाई खद्दरले छोप्न सिकेँ ।
वस्त्रको छोपाइले ममा आफूलाई सुशोभित देखाउने लोभ जन्मायो । अरूभन्दा राम्रो खाने र लाउने स्वार्थ जन्मायो । वस्त्रमै छोपिएर विचार, सोच र वाद जन्मिए । मैले तोते बोली बोल्दैदेखि पढ्न सिकेँ । वाद सिकेँ र आफ्नो सर्वोत्कृष्ट विचार प्रयोग गरेर अर्काको वस्त्र तानेर आफ्नो शरीर सजाउन सिकेँ ।
मसँगै जन्मेको पाठाले यो केही सिकेन । उसले त आफ्नै मालिकको टाट्नामा हुर्केर मालिकलाई आफ्नो सर्वस्व सुम्पन सिक्यो । उसकी आमाले पनि आफ्ना सन्तानको श्वासले मालिकका सन्तानको प्रश्वास भर्न मात्र सिकाई । मेरो संवेदना स्वार्थमा रूपान्तरण भयो, उसको संवेदना परार्थमा घुलित भयो । घुलनको यो पाठ मेरो विश्वविद्यालयले मलाई कहिल्यै सिकाएन ।
मेरो यौवन फक्रेर बिहेबारी गर्दा केही पाठाले मेरो खुसीयाली सजाए । मेरो दाम्पत्यको खुसीमा केही जवान पाठा र अन्य जीवले दाम्पत्य गुमाए । यो कुन संवेदना थियो, मेरो सर्वोत्कृष्ट कोशमा त्यसको अर्थ भेटिएन ।
ममा मानिस हुनुको घमन्ड छँदै थियो र अझ छ । मैले घमन्ड मेरो पतन र विनाशको कारक हो भन्ने बुझ्न नचाहेर अरूको विनाश गरिरहेँ । अरू नरहे म रहन्न भन्ने पाठ मलाई कसैले पढाएन ।
पुस्तकको पढाइ शरीरको आँखा मात्र हो, दृष्टिको संसार यसभन्दा पर छ भन्ने पुस्तक मैले पढ्नै पाइनँ । अहम्को खुकुरीलाई गर्धनको अचानो सुम्पने पाठाको नम्रता जीवनको विजय हो, पराजय हो वा सम्मानको सिँढी हो भन्ने पनि कुनै गुरुले सम्झाएनन् । जीवनको यौवनमा समेत मेरो सोचाइ युवा भएन भन्ने मेरो संवेदना अझ तीव्र बन्यो ।
मलाई थाहा छ, अरूको बदनाम गर्नु आफू एक्लिनु हो । समाजमा एक्लो भएर बाँच्न सकिँदैन । कसैको बदनाम गर्नु मानवता होइन । मानिसले त अरूको सम्मान पो गर्नुपर्छ । प्राणी र वनस्पतिको सम्मान गर्दा पो मानिसको सर्वोत्कृष्टताको मर्यादा रहन्छ । अरूलाई आदर गर्नु भनेको आफैँले आदर कमाउनु हो । आदर कमाउन अरूको मुहार हँसाउनुपर्छ ।
आफ्ना ओठको मुस्कानमा त वस्त्रले लाज छोपिएझैँ असत्यले सत्य लुकाएको हुन सक्छ । ओठको मुस्कान खुसी र सन्तुष्टिको प्रतीक मात्र होइन, धोकाको प्रतिकृति पनि हुन सक्छ । धर्म, संस्कार, नीति र शास्त्रले धोका दिन सिकाउँदैन । धोका ईर्ष्या, असन्तुष्टि र तनावको कारक हो । धोका दिन झुटको खेती गर्नुपर्छ । झुट बोल्नु त अग्निमा ताप छैन भन्नु हो । अरूलाई धोका दिनु बर्से भेलमा पुल भत्काउनुजस्तै हो ।
जँघारलाई धोका दिन खोज्नेले त अस्तित्व जोखिममा राख्नुपर्छ । सायद धोका दिन नजान्ने भएकाले पशुले मानिससँग नबोली अस्तित्व जोखिममा राखेका होलान् । यो अनुत्तरित खोजको विषय हो ।
मैले जीवन सङ्घर्ष हो भन्ने पढेँ र धेरै ठाउँ, परिवेश र समयमा विफल भएँ । सङ्घर्ष गर्नेले फलको आशा गर्दो रहेछ । फल नपाउँदा निराशा बढ्दो रहेछ । निराशालाई नकारात्मक संवेदनाका रूपमा लिनुपर्छ भनेर समाजले मलाई सिकायो । मैले सङ्घर्ष अनुभव बटुल्ने र आफ्ना गल्ती कमजोरीलाई आफैँतिर फर्केर पहिल्याउने अवसर हो भन्ने बुझिनँ, बुझ्नै दिइएन ।
गरिखानुपर्छ भन्ने सोचले निराशाको विपरीत चेतना आशा हो भन्ने बुझ्न नपाउँदै हात र मस्तिष्क गल्न लागे । विफलतालाई माथिल्लो सिँढी चढ्ने वा मनको सन्तुष्टिमा एक तह थप्ने अवसरका रूपमा बुझेको भए मेरो सर्वोत्कृष्ट पहिचानले गौरव पाउँथ्यो ।
मैले माथमा सिन्दूर सजाउन कसैको विचार खोसेँ । कसैको रगत र श्वास खोसेँ । विफलता गरिखाने दोस्रो बाटो हो भन्ने नबुझेर म दमित बने । मलाई नबुझेको संवेदनाले दण्डित ग¥यो । दण्डित जीवनभित्र सन्तुष्टि खोजिरहेँ ।
म देखिरहेको छु, मानिस पद, ओहदा, जागिर, प्रतिष्ठाका पछि दौडिरहेछन् । वायुरूपी यस दौडाइले मानिसलाई विलासको शिखर चढाएको छ तर उसले पहाडमा लुकेको वृष्टि छायालाई चिन्नै सकेन । पद र ओहदा भाँचिने कुर्सी सरह हुन्, खुट्टो भाँचिएका दिन लडिन्छ र अरू हाँस्छन् । परार्थ नवीकरणीय सम्पदा हो, स्रोत नासिँदा मानिस रुन्छन् । जागिर बलको खेती हो । हात नचलेका दिन बुद्धिमा बिर्को लाग्न सक्छ र हिजोका नमस्ते आज क्रमशः चोर औँलामा परिणत हुन्छन् ।
धन सम्पत्तिको आशा पनि वैयक्तिक साधन मात्र हो, साध्य होइन । धनले वैरी कमाउँछ र वैरीले चिन्ता जन्माउँछ । सायद पशुले यो बुझेको छ र उसलाई पद, प्रतिष्ठा, धन केही चाहिएन । ऊ त धनको स्रोत बनेर बाँच्यो । आफूलाई सर्वोत्कृष्ट प्राणी ठान्ने मानवको मस्तिष्क लोकमा यो सम्पदा किन भण्डार भएन ? मेरो कल्पना संयन्त्रले पनि कहिल्यै यो सिकाएन ।
कहिलेकाहीँ वरपर डुल्दा म इष्टमित्र, सौन्दर्य, परिवार आदिका बारेमा चौतारीका चिया गफ सुन्छु । मानिस सौन्दर्यको कुरा गर्छन् । यो स्वाभाविक जैविक प्रक्रिया हो । फूल ओइलिएर झरेझैँ सौन्दर्य परिवर्तनशील छ । चाउरिएको छाला र फुलेको कपालमा यौवन भर्न सायद गारो छ । शरीरको वर्णनभन्दा विचारको गहिराइ मूल्यवान् हुन्छ । इष्टमित्र घाम लाग्दाका शैत्य र पानी पर्दाका ओतन मात्र हुन् । परिवार पौवाको सामूहिक वास हो । अँध्यारामा सँगै हुन्छ, उज्यालो भएपछि बिछोडिन्छ । जन्म जन्मको जीवनयात्राको बन्धन चिता नपुगी टुङ्गिन्छ । जीवनयात्राका कठिन क्षणमा मानव यात्रा एक्लो हुन्छ, जुन पशुले आदिम कालदेखि गर्दै आएको छ ।
कठिनलाई सहन जानेकाले नै पशुले पशुलाई अपमान गर्दैन । अरूको मन नबुझेर वा सोचलाई पैतालाले कुल्चिएर मानवले मानवको अपमान गर्छ । विभेद सिर्जना गर्छ अनि वैमनस्य र हिंसा निम्त्याउँछ । युद्ध मानिसको व्यवहार होइन, उसले शान्तिको सिर्जना गर्नै सकेन । अपमानलाई कोसिस र साहसको रूपमा उपयोग गरे मानिसले शान्ति सिर्जना गर्न सक्थ्यो, बगरेले बनेलको मुटु पढ्नै सकेन । पशुले वर्ग बिर्सेन तर मानवले वर्ग नचिनेरै आफूलाई सर्वोत्कृष्ट प्राणी घोषणा गर्यो ।
जीवन बग्दो छ नदीको प्रवाह झैँ । मानिस आफ्ना लागि, सन्तानका लागि, परिवारका लागि भन्दै सोच र पसिना खर्च गर्छ तर पसिना माटामा पोख्न बिर्सन्छ । शरीरमा पोखिएको पसिना बाफ बन्छ तर माटो भिजाउने पसिना सिर्जना बन्छ । मेरो मस्तिष्कले सिर्जनाको पाठ पढ्न नपाउँदै शरीरको पसिना बिदेसियो । सोच फक्रेर बास्नादार बन्न नपाउँदै विमानको ढोकाले पारपत्र दियो । मानिसलाई उताको मृगतृष्णाले तान्यो । ऊ यताको बन्न सकेन । मानिसको पराजित संवेगले आफ्नो अस्तित्वलाई बिर्सियो ।
मानिसको जन्म उसको बसमा थिएन तर मानिसले मर्न जानेन । मृत्यलाई जन्माउन सकेन । नामले बाँच्यो कामले बाँचेन । कामले नाम कमाउन सकेन । वृक्ष बन्यो, ढल्यो, शीतलता दिन सकेन । बाँच्न सिक्यो, बचाउन सिकेन । उज्यालो खोज्यो तर उज्यालो जन्माउने अँध्यारालाई कहिल्यै चिनेन । जीवनको तीन चौथाइ बिसौनीमा पुग्दा मानिसको चेतनामा निराशा र पछुतोबाहेक केही फलेन । निराशा त दमित संवेग हो जसले नयाँ क्षितिजको संसार चिन्नै सक्दैन । कर्मको वीज नरोपी फलको स्वाद चाख्ने मानसिकता बढिरह्यो, फल कहिल्यै फल्दै फलेन ।
म फलको वृक्ष रोज्न होइन, वृक्षमा फल फलाउन सोच खर्चन्छु । मिर्मिरेको जाँगरलाई गोधूलिमा पलाउन चाहन्छु । नयाँ किरणका रङ चिनेर इन्द्रेनी संसार सजाउन चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।