
सृष्टिको उत्पत्तिसँगै प्रश्नहरू जन्मे । प्रश्नहरूलाई कसैले जन्माउनु परेन । आफै जन्मे समयको प्रवाहसँगै । समयको गतिशीलताका बियाडमा क्रियाप्रतिक्रिया स्वरूप स्वतःस्फूर्त अंकुरित हुने प्रश्नहरूले नै यो ब्रह्माण्डलाई हराभरा तुल्याइरहेछन् । प्रश्नहरू सिर्जना हुन् । प्रश्नहरू स्रष्टा हुन् । प्रश्नहरू द्रष्टा हुन् प्रश्नहरू खोज, अन्वेषण र अनुसन्धानका बीज हुन् । प्रश्नहरूको अभाव हुनु सिर्जनामा खडेरी पर्नु हो । गतिशीलता अवरुद्ध हुनु हो । प्रगतिमा बिराम लाग्नु हो । सिकाइमा गतिरोध उत्पन्न हुनु हो ।
प्रश्नै-प्रश्नहरूको विशाल पुञ्जबाटै सभ्यताको निर्माण हुने हुँदा प्रश्नहरू अविरल बहन्छन् नील सरिता जस्तै समयको अनित्य, अनन्त प्रवाहमा । यही प्रवाहको वेगमा वेगवान् भई मानिस पछ्याइरहेछ प्रश्नहरूलाई अनि सोधिरहेछ प्रश्नहरू । राखिरहेछ जिज्ञासाहरू । सानो दूधमुखे बालकजस्तै । बालक प्रश्न गर्दागर्दै वृद्ध हुन्छ । अनुत्तरित प्रश्नको बीचबाटै अस्ताउँछ । प्रश्नहरूको अटुट शृङ्खलाहरूबाटै इतिहासदेखि वर्तमान बन्छ । वर्तमानले नवीन प्रश्नहरू फ्याँकिदिन्छ । हल हुन नपाउँदै फेरि जन्मन्छन् थुप्रै प्रश्नहरू । आज हामी पुर्खाले सल्ट्याएका प्रश्नहरूमाथि उभिएर नै फेरि प्रश्न गरिरहेछौं, “खोइ प्रश्नको अन्त्य ?’’
प्रश्न हुन्थेन भने न दार्शनिक जन्मन्थे न कुनै वैज्ञानिक नै । न खुल्थे शिक्षण संस्थाहरू वा विश्वविद्यालयहरू । प्रश्नैप्रश्नका बियाडमा अंकुरित छन् खोज र सोधहरू । जसरी अण्डा पहिला कि चल्ला ? भन्ने प्रश्नमा सहज उत्तर नआएर प्रश्नले आफै स्याउँस्याउँती प्रश्नका कीराहरू जन्माएझैं प्रश्न-प्रतिप्रश्नका खातहरू छन् हाम्रो माझ ।
सभ्यताको उषाकालदेखि आजसम्म हेर्ने हो भने प्रश्नहरू जन्मँदै मर्दै गरिरहेछन् जसै चराचरजगतमा मृत्युको शृङ्खला चलिरहेको छ । पृथ्वी जुन चक्रमा घुम्दो छ त्यही चक्रमा प्रश्नहरू घुमिरहेछन् । डार्विनको विकासवादले उत्पत्तिका शृङ्खलाहरूका प्रश्नहरू समाधान गरे पनि सँगसँगै शङ्काका प्रश्नहरू पनि उब्जिरहेछन् । आइन्स्टाइनको सापेक्षतावादले प्रश्नहरू जन्माउने प्रचुर ढोका खोलिदिएको छ । बुद्ध ,जिसस्, मोहम्मद जोसुकै भन्नू प्रश्नहरूले जन्माएका बलिया प्रश्नहरू हुन् । युनानी दार्शनिक प्लेटो, सुकरात, अरस्तु पनि तमाम प्रश्नहरूको बीचबाटै माथि उठेका थिए । आर्कमिडिज होस् वा पायथागोरस , जेम्स वाट होस् वा एडिसिन प्रश्नहरूकै सबल उपज हुन् ।
त्यसो त कन्फ्युशियस, मार्क्स र पैगम्बरका उपस्थितिले जन्माएका प्रश्नहरू पनि प्रश्नहरूले खोजेका प्रश्नहरू थिए । जुकर बर्ग, ल्यारी पेच र एलन मस्क पनि प्रश्नहरूका थुप्राहरूबाट टुसाएका नूतन प्रश्नहरू नै हुन् । समयसमयमा उपस्थित भएका ऐतिहासिक पुरुषहरू प्रश्नहरूकै उत्तरले जन्माएका प्रश्नहरू हुन् । सिद्धार्थ गौतम मानवीय मूल्यकै प्रश्नहरूबाट बुद्ध बने । गुरु ननाक, रामकृष्ण, रजनिस, विवेकानन्द यी पनि प्रश्नहरूले जन्माएका योद्धा हुन् । प्रश्नहरूबाटै चिन्तक, दार्शनिक र अन्वेषक जन्मन्छन् । भूगोल भन्नू वा खगोल प्रश्न नभएको कहाँ छ र ?
कक्षाकोठामा पृथ्वीको उत्पत्तिका प्रश्नहरू पढाउँदै गर्दा एक जना विद्यार्थीले प्रश्न उठाउँछ ,“हरेक वस्तुको उपस्थिति वा जन्मसँगै त्यसको अन्त्य वा अनुपस्थित अपरिहार्य छ भन्दैगर्दा यो सुन्दर सृष्टिको पनि त अन्त्य होला नि सर ?’’ एउटा मामुली ठानेको विद्यार्थीको यो प्रश्नले हजारौं प्रश्नहरू खडा गरिदिन्छ । प्रश्नहरू जन्माउने भनेकै सृजनशीलता हो । मानवको मस्तिष्क अत्यन्त उर्वर छ । यही उर्वरताको स्वर्णिम भूमिबाटै उच्चतम चेतना र त्यसबाट सिर्जित प्रश्नहरू जन्मने हुन् । मलाई एक जना शिक्षकले भन्नुभयो, “सर त्यो कक्षाका विद्यार्थीले प्रश्न गरेर हैरान पार्छन् । मलाई त्यो कक्षामा नपठाउनु है । “यो मैले भोगेको प्रतिनिधिमूलक चरित्र हो । यस्ता चरित्रहरू दुनियाँमा प्रायः छन् तर हामी लुकाउँछौं ।
शिक्षामा गुणस्तरका कुरा युनिभर्सल कुरा हो । प्रश्नहरूसँग डराउने सहजकर्ताले अर्को प्रश्न जन्माउन सक्दैन ।प्रश्नहरू जन्माउन नसक्नेहरू योग्यताको सिढीमा उक्लन सक्दैनन् । हामी कागजी गुणस्तरमा रमाउँछौं । मान्छेलाई मान्छे बनाउने भनेको आखिर प्रश्नले नै हो । रूखबाट स्याउ खस्नु सामान्य मानिन्छ । तर न्युटनले असामान्य ठानेर प्रश्न उठाए तब त गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन भयो । असंख्य प्रश्नहरूको आविर्भाव भयो ।
एउटा दुधे बालकले आमासँग कति धेरै प्रश्नहरू गर्छ । आमा आजित हुन्छिन् ,झिझिझ्न्छिन् । अनि त बच्चामा प्रश्न गर्ने जाँगर मरेर जान्छ, सँगसँगै बच्चाको सृजनशीलता नष्ट हुँदै जान्छ अनि तिनै आमा भन्छिन्, “हाम्रो बाबू कति ज्ञानी छ चूप लागेर बस्छ ।“ यो हो हाम्रा अभिभावकको चेतनाको स्तर ।
तिनै अभिभावक आएर गुनासो गर्छन्, “मेरो बाबुको पढाइ भएन सर, अलि राम्रो पढाउनु पर्यो ।“ कुरा त मनासिब हो तर राम्रो पढाउने कसरी ? प्रश्नसँग डराउने शिक्षक प्रश्नैसँग डराउने अभिभावक यहीनेर छ गज्जबको कुरा । प्रश्नहरूसँगै डराउने राज्य र नीतिनिर्माताहरू । जिम्मेवार शून्य तालुकदार अड्डाहरू । हामी सकेसम्म प्रश्नहरू नउठुन् । प्रश्नहरूले प्रतिप्रश्न नगरुन् भन्ने चाहन्छौं । वास्तवमा यो नै हाम्रो मूल कमजोरी हो । सानो बीजभित्र विशाल वृक्ष लुकेको हुन्छ भन्ने कुरा सँगसँगै सोचिएन भने हाम्रो शिक्षण अर्थहीन हुन्छ । साथमा गुणस्तरका कुरा पनि लुप्त भएर जान्छन् ।
सिकाइका दुनियाँमा सानासाना बालकहरू भनेकै सूक्ष्म बीजहरू हुन् । ती बीजहरूलाई समुचित ढङ्गले हुर्कन , बढ्न र उत्पादन दिन ती बीजकै सापेक्षतामा उपर्युक्त वातावरण चाहिन्छ । तत्कालको वातावरण सिर्जना गर्नु नै आखिर शिक्षण हो । हामी शिक्षणलाई पाठ्यपुस्तक घोकाउने रूपमा लिन्छौं । यसरी गरिएको शिक्षणमा प्रश्नहरू लुप्त हुन्छन् । पाठ्यपुस्तककै डाइभित्र खाँदिएर तैयारी उत्तरमा रमाउने बालकले कहिल्यै नवनव प्रश्नहरू सिर्जना गर्न सक्दैन । अनि त सिकाइको पाटो पूर्णतया: बन्द हुन्छ । हामी बालकहरूको प्रश्न गर्ने बाटो बन्द गरिदिएर, बालकहरूलाई अनुशासनको नाममा लाटो बनाएर पुरस्कृत गरिरहेछौँ । हाम्रो ठूलो भुल यहीनेर छ ।
आठ जना विद्यार्थी भएको एउटा कक्षामा पसेँ । विद्यार्थीहरू अभ्यासमै व्यस्त देखिन्थे । मेरो उपस्थितिले खुशी हुँदै हात मिलाउन आए । यी बच्चाहरू कक्षा दुईमा पढ्थे । कक्षाकोठामा शिक्षकको उपस्थिति आफैमा ओजपूर्ण हुनुपर्छ ताकि बच्चाहरूले उत्सुकताका साथ व्यवहार प्रदर्शन गरून् । परिचयका माध्यमबाट कक्षा शुरू गर्ने सोचले पालैपालो परिचय मागेँ । परिचय दिएँ । त्यसपछि उनीहरूलाई पालैपालो तपाईं भोलि के बन्ने प्रश्न राखेँ । विद्यार्थीले शिक्षक, लाहुरे,ड्राइभर र व्यापारीभन्दा अरू पेशा रोज्न जानेनन् । यो दूर गाउँको सोच हो ।
उनीहरू आफ्नै पारिवारिक पृष्ठभूमिभन्दा बाहिर सोच्न सकेनन् । मैले अरूअरू थुप्रै पेशाहरू भन्दै गएँ । डाक्टर, इन्जिनियर, नर्स, वकिल, नेता, पाइलट यस्तै यस्तै । उनीहरू पुनः आफूलाई सच्चाउँदै गए । लक्ष्य फेर्दै गए । यसबाट के तथ्य पुष्टि भयो भने आफ्नो आँखाले देखेको मात्र संसार होइन । दृष्टिगोचरभन्दा पर निकै पर पनि संसार रहेछ भन्ने उनीहरू बुझ्न सके ।
शिक्षकको काम अथाह सम्भावना र फराकिलो दुनियाँमा बच्चाहरूलाई विचरण गराउनु हो । प्रश्नैप्रश्नहरूको माध्यमबाट चिन्तन, मनन र विश्लेषण गर्ने क्षमता उजागर गर्नु हो । घरपरिवार ,समाजभन्दा बाहिर ठूलो दुनियाँ छ भनी त्यसतर्फ उन्मुख गराउनु हो । यहीँबाट प्रश्नहरू उठ्छन् बालकहरूका । हामी तिनका जिज्ञासाहरू मेटाउने प्रयत्न गर्दै गयौँ भने सँगसँगै प्रश्न-प्रतिप्रश्नहरू अंकुरित हुँदै जान्छन् । सिकाइका शृङ्खलाहरू पनि चुलिंदै जान्छन् । प्रश्नहरूले नै उनीहरूलाई सार्थक जीवन बाँच्न प्रेरित गरेको हुन्छ । आजीवन चल्ने सिकाइ शृङ्खलाहरू प्रश्न कै नागबेली यात्रामा यात्रारत हुन्छन् ।
“बच्चाहरू मोबाइलले बिग्रिए । हामीले यही सुन्ने गरेका छौं । के मोबाइल बच्चाहरूको लागि अभिशाप हो त ? साँच्चिकै मोबाइलकै कारण आजका बच्चाहरू बिग्रेकै हुन् त ? होइन मोबाइलले बच्चा बिग्रने हैन । बच्चा बिग्रेका पनि छैनन् । बरु हाम्रो रूढ चिन्तनले मोबाइलको योगदान बारे ठम्याउन सकेनौँ क्यारे । मोबाइलले आजको प्रविधिको दुनियाँमा हाम्रा बालबच्चाहरूलाई सँगसँगै डोर्याउने काम गरेको छ । एक पछि अर्को प्रश्नहरू थप्दै अनेक प्रश्नहरू हल गर्ने र फेरि प्रश्नहरू जन्माउने काममा सघाउ पुर्याउँदै आएको प्रतीत हुन्छ ।
सानो बच्चाको दिमाग कति तेज भएर आएको छ, मोबाइलबाटै परीक्षण गर्न सकिन्छ । उमेरले वयस्क मान्छे र पाँचसात वर्षको बच्चालाई मोबाइल खेलाउन दिएर परीक्षण गरी हेर्यो भने बच्चाको प्रगति धेरैमाथि देखिन्छ । बच्चाले फुकाएका गाँठाहरू वयस्कले फुकाउन सक्दैन । हो हरेक कुराको सीमा हुन्छ । सीमा बाहिर गएर गरिने हरेक क्रियाकलाप प्रत्युत्पादक हुन्छ । चौबीसै घण्टा मोबाइलमा अभ्यस्त रह्यो भने जरुर हानी पुग्छ नै ।
त्यसैले केही हदको सीमामा बच्चालाई मोबाइल दिनु राम्रो हुन्छ । मोबाइल एक किसिमले प्रश्नैप्रश्नको यन्त्र हो । सयपत्री फूलका पत्र झैं पत्रैपत्र भएर एकपछि अर्को गरी आउने प्रश्नहरू हातका औलाहरू खेलाएरै बच्चाले हल गरिरहेको हुन्छ । स्किनर प्याब्लो, थर्नडाइक र ब्लुमका सिद्धान्तहरू अज्ञातमै प्रयोग भएका हुन्छन्, बच्चाका औलाहरूमा । सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै जाने हो । व्यवहार र सिद्धान्त बीच तालमेल खोज्ने क्रममा अटुट शृङ्खला बनेर प्रश्नहरू जन्मिरहेका हुन्छन् । त्यसको हल पनि खोजिरहेको हुन्छ मानव मस्तिष्कले । सिद्धान्तलाई जीवनसँग साधारणीकृत गर्न पनि आखिर प्रश्नहरू नै जन्मन्छन् । त्यसैले प्रश्नहरू चेतनालाई परिष्कृत, उर्वर, विकसित र सुन्दर बनाउने बुटी हुन् । सभ्यताको बगैंचामा सुन्दर फूलहरू फुलाउन उपयुक्त वातावरण तयार पार्ने संवाहक शक्ति हुन् ।
सृष्टिसँगै प्रश्नहरू जन्मे । भाषाको विकासपूर्व प्रकृतिले प्रकृतिलाई प्रश्न ग¥यो । तमाम प्रश्नहरू खडा भए । प्रकृतिबाटै प्रश्नहरू उठाइए । प्रकृतिले नै तिनको समाधान खोज्दै गयो । जब चेतना प्रस्फुटन भयो त्यही चैतन्यबाटै प्रश्नहरूका प्रवाहित भइरहेछन् अखण्डित । आजका प्रश्नहरू नवीन चेतले जन्माएका सन्दिग्ध जिज्ञासा हुन् । उन्नत चैतन्यबाटउम्रिएका उत्तरोत्तर आधुनिकताका मुनाहरू हुन् । हामी भनिरहेछौं, जिज्ञासा उठाइरहेछौं दिन दोगुना, रात चौगुना भएर परिवर्तन हुँदै गएको यस दुनियाँ भोलि कहाँ गएर रोकिने हो ? अझै कुन रूपमा रूपान्तरण हुने हो ? मानव सभ्यताले कुन रूप लिने हो ? यस प्रश्नको हल प्रश्नबाटै जन्मिने नयाँ चेतको अवतारले गर्ने छ । जय प्रश्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

