उसले पहिलोपटक हार्यो
जब आमाको कोखबाट जन्म लिएको थियो
फाइनल हारेको
फुटबल टिमको
कप्तानजस्तै
ऊ निकै बेर रोयो
उसैको हारका कारण
विजेता अरु नै बने
बाउ, आमा, दाजु, दिदीले
उसकै अघि अबिर जात्रा समेत गरे
लाग्थ्यो उसको चित्त निकै फाटेको छ

ऊ एघार दिनको भयो
पण्डितजी खोक्दै आए र भने‑
बच्चालाई पवित्र बनाउनु पर्छ
स्नान गराउनू, सफा तुल्याउनू
मानौँ ऊ निकै अपवित्र छ
उसलाई झनक्क रिस उठ्यो
उसले के अपराध गरेको छ ?
र ऊ अपवित्र बन्यो ?
उसको सुनुवाई भएन
ऊ फेरि रोयो

जब ऊ छ वर्षमा टेक्यो
पुनः खाटो बसेको घाउ
कोट्याउने काम गरियो
थाङ्नो झोलामा वर्णमाला किताब भिराएर
बलजफ्ती उसलाई लखेटियो
जहाँ ऊ जान चाहँदैन थियो
पढ्न र लेख्न चाहँदैन थियो
तेस्रो पटकको हारमा ऊ पुनः रोयो
यस पटक मन फुकाएर रोयो
जति पटक हार्दै जान्थ्यो
ऊ रुँदै जान्थ्यो
उसको हारको सिलसिला
कायम रहिरह्यो

जन्मसँगै भित्रिएको हार र आँसु
सायद ऊ बाँचुन्जेल साथै रहनेछ
कहिले पूर्णविराम नलाग्ने गरी
समयसँगै रुवाउने पात्र फेरिँदै गए
कहिले शिक्षकले, कहिले सहपाठीले
स्वास्नी, छोराछोरी, छरछिमेक
समाज, सरकार सबै पालै पालो
उसलाई रुवाउँदै गए

निकै वर्षपछि उसको रुवाईमा
एकाएक परिवर्तन आयो
अचेल ऊ भित्रभित्रै रुन्छ
तर आँसु भने बगाउँदैन
एक दिन म उसैको रिक्सामा
कतै जाँदै थिएँ
कुनै निर्जन स्थानमा पुगेर
उसले एक्कासि रिक्सा रोक्यो र
चिच्याई चिच्याई रुन लाग्यो
मैले सोधें‑ आज फेरि कसले रुवायो ?
उसले आँसु पुछ्दै भन्यो
समयले ।

कालिका ६, चितवन