कौसीमा पुग्न कहाँ सजिलो छ र ?
धर्खराउँदै गरेका पैताला
छाती फुटाल्ने धड्कन
धान्दै धान्दै चढ्नु पर्छ
चिप्लो लिस्नोका एक एक खुट्किला ।
मुखिया लिस्नो चढ्न थालेपछि
हरेक पटक
सजिलो लिफ्ट पैँचो लिएर आउँछ छिमेकी
कौसीमा पुगेर तर मार्ने हतारमा
हस्ताक्षर धज्काएपछि
सोमरसको प्यालासँगै
देखिन्छ मुखियानृत्य कौसीमा ।
कौसीको राहत सकिएपछि
चिप्लो लिस्नोबाट डङ्ग्रङ्ग
भुइँमा पछारिन्छन् मुखिया ।
मुखिया पछारिँदा
फेरि
एक टुक्रा जमिन
एक शिखर स्वाधीनता
र एक छाक आत्मनिर्भरता
उछिट्टिन्छ भूमिबाट ।
हामी चाहन्छौँ
हाम्रो मुखिया आफ्नै लिस्नोबाट कौसीमा चढोस्
एक्लै मेजमानी नखाओस्
जनताका लागि पकाओस् चौरासी व्यञ्जन
र
सकुशल ओर्लोस् भुइँतलामा
अनि पहरा दिइरहोस्
लिपुलेक, लिम्पियाधुरा, सुस्ता र महाकालीमा
चन्द्र र सूर्यअङ्कित झण्डामुनि
आमाका काखमा निर्धक्क निदाएका
नेपालीहरूलाई ब्युँझाएर
एक मुठी माटो लिएको हात
छातीमा टाँसेर गाओस् स्वाभिमानको गीत
गाउँछ गीत नेपाली ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।