पहाडमा हुँदा सानोको केही कुरा सम्झन्छु । पहाडमा अल्लि पहिला मोबाइल थिएन, टेलिभिजन थिएन, मुस्किलले कुनै कुनै घरमा पानासोनिक रेडियो घन्किन्थ्यो । कुनै कुनै धनीका घरमा टेपरेकर्डर हुन्थ्यो । मनोरञ्जनका खासै साधनहरू थिएनन् । बेलुका खाना खाएपछि कुनै एउटा घरमा कुरा गर्न जाने चलन हुन्थ्यो । जाडोमा आगो तापेर र गर्मीमा बाहिर पिँडीमा बस्ने चलन हुन्थ्यो । त्यस्तो बसाइलाई आज फलानाको घरमा ‘बस्न जाने’ भन्ने भनिन्थ्यो । फलाना काका, फलाना मामा, फलानी आमा फलाना जेठो, माइलो, फलाना दाजु भनेर वास्तविक नामभन्दा गाउँलेले नै दिएका उपनाम वा नाताका आधारमा बोलाउने चलन हुन्थ्यो । त्यस्तो बसाइमा बूढापाकाहरूले गाउँखाने कथा, जन्त जाँदा गरेका रमाइला घटनाहरू गाउँघरमा चौथीमा काँक्रा चोरेका कथा, लोककथा आदि भनेर हँसाउँथे । भरपूर मनोरञ्जन पनि दिने गर्दथे । कतिपय लोक कथनहरू त्यस्तै बसाइमा सुनेर पुस्तान्तरण हुने गर्दथ्यो । गाउँघरका नाता कुटुम्ब सबै चिनिने पनि अवसर हुन्थ्यो । तर आजकल ती दिनहरू गए । जमाना अर्कै आयो । पुस्ता अर्कै भयो । सूचना र सञ्चारले यति धेरै फड्को मार्‍यो कि हातमा मोबाइल भएपछि कोही नचाहिने, केही नचाहिने अवस्था आयो ।

आजकल शहरका घरमा थरीथरीका गेट राखेका हुन्छन् । कसैका फलामे गेट, कसैको अटोमेटिक रिमोटले खोल्ने गेट । यस्ता बलिया गेटहरूबाट विशेष काम परेको बेलाबाहेक छिमेकीहरू पनि घरभित्र जाने कुरा त्यति हुँदैन । ती गेटहरू कि घरमा बसेका मानिसहरू बाहिर निस्कँदा खुल्छ कि भित्र पस्दा । बाहिरबाट हेर्दा मान्छे जाने आउने गर्छन् । घरधनी हो कि डेरावाल, खासै सोधनी हुँदैन। कसैले कसैको वास्ता पनि गर्दैनन् । अरुबेला छिमेकी घर गएर कुरा गर्ने भन्ने पनि हुँदैन । मानिसहरूलाई त्यति फुर्सद पनि हुँदैन । गाउँले जीवनको जस्तो आत्मीयता पनि हुँदैन । दुःख र साह्रोगाह्रो पर्दा मात्रै हो। त्यसैले छिमेकी चिन्न पनि उत्तिकै कठीन हुन्छ ।

एकदिन छिमेकी महेश भाइ मेरा घरमा हतारिँदै आए । मौकाले म घरबाहिर कम्पाउन्डमा उभिरहेको थिए । “दाजु उः त्यो घरको सापकोटा बुवा बित्नु भएछ, जाऊँ”

“हअँ ? जाऊँ भन्नाले सागर जाने ?” – उनले प्रस्ट पार्दै भने, “होइन, उहाँकै घरमा जाऊँ भनेको ।” मैले हुन्छ भनें । नजिकै रहेको सापकोटा बाको घरमा गयौँ । शहरको बसाइ अचम्म हुन्छ । त्यहाँ भएका मानिसहरू प्रायः नचिनेका देखिए । छिमेकी खासै थिएनन् । ती सबै उनीहरूका आफन्त रहेछन् । बाहिर घरको आँगनमा लास राखिएको थियो । हामी त अब लासलाई दाहसंस्कार गर्न लैजाने तयारी होला भनेर सोच्दै थियौँ । तर होइन रहेछ । छोराहरू दुई जना युरोपमा रहेछन् । ‘उनीहरूलाई बल्ल अहिले एकछिन अगाडि खबर पुगेको छ । अब टिकट काटेर आउन दुई दिन लाग्छ । उनीहरू आएपछि मात्रै लास जनाउने हो ।’ भनेर लासलाई कुर्ने सल्लाह भएको सुनियो । लासलाई कसरी राख्ने ? बरफ कहाँबाट ल्याउने ? नत्र गर्मीको बेला छ, गन्हाउँछ । कति दिन कुर्नु पर्ने हो ? कसरी कुर्ने ? आदि आदि छोराहरूको पर्खाइका बारेमा कुरा भएको सुनियो । सबै कुरा सुन्दा मेरा मनमा बग्रेल्ती कुराहरू खेले ।

मेरो टोलमा भएका करीब ५० घरमध्ये ४० घरका मानिसहरू बाहिर गएका छन् होला । घरमा कि डेरावाल मात्रै छन् कि बूढा भएका आमाबुवा छन्, कि त बालबच्चाहरू कसैको संरक्षणमा छन् । त्यसमध्ये हामी पनि पर्दछौँ । अधिकांशका अमेरिका, अस्ट्रेलिया, क्यानडा, युकेलगायत देशहरूमा गएका छन् । केही खाडीलगायतका मुलुकमा कामदारको रूपमा गएका छन् ।

‘देशमा रोजगारीको अवसर प्रशस्त छैन । उद्योग व्यापार ठप्प जस्तै छ । उत्पादन बढाउने सम्बन्धी कुनै कार्यक्रम छैन। स्वदेशमै उत्पादित भएका वस्तुको पनि बजारीकरणको कुनै ग्यारेन्टी छैन । अहिलेकै नीति रहेसम्म चाइना र भारतीय बजारमा उत्पादित वस्तुहरूसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने देखिँदैन । हरेक वस्तुहरू आयात गरेर किनेर खानु पर्छ । महँगी त्यत्तिकै छ । त्यसैले घर चलाउन घरै छाड्नु पर्ने बाध्यता छ । नेपालमा बसेर के कमाइ गर्ने ? कसरी घर चलाउने ? सानोतिनो कमाइले पुग्दैन । त्यसैले विदेशिनुको विकल्प देखिँदैन ।’ अहिले देशमा यस्तै प्रकारका कुराहरूको भाष्य बनिरहेको छ । बाह्र पास गरेपछि क्याम्पसकै कम्पाउन्डमा विदेश जाने तयारी कक्षाका साइनबोर्डहरू राखिएका छन् । समुद्र किनारमा खिचिएका सुन्दर तस्वीरहरू युवा पिँडीको मन लोभ्याउने गरी सजाएर राखिएका हुन्छन् । कहिले बाह्र कक्षा सकिएला र तयारी कक्षामा जाने भनेर पर्खिरहेका हुन्छन् । अहिलेको पिँडीमा नेपालमै केही उद्यम गरेर बस्छु भन्ने सोचाइ देखिँदैन ।

पहिला पहिला श्रमिकको रूपमा छोरा मान्छेहरू मात्रै विदेश जाने चलन थियो । आजकल स-साना दूधेबच्चा छोडेर आमाहरू पनि विदेश जान थालेका छन् । एयरपोर्टमा बच्चाहरूले आमाको काख छोड्न नमानेर जबरजस्ती छुटाइएको हृदयविदारक दृश्य देखिन्छ । आमा र बच्चाहरूको दोहोरो रोदनका कारुणिक दृश्यहरू दिनदिनै दोहोरिन्छ । खाडीको ५० डिग्री माथिको गर्मीमा काम गरेर घर फर्कँदा कसैका घरमा श्रीमान् अर्कै श्रीमती ल्याएर बसेको, कसैका श्रीमती सम्पत्तिसहित अन्तै गएको भनेर मिडियामा खबर देख्न र सुन्न परिरहेको छ । यसरी विदेशिंदा कति घरहरू र कति परिवार लथालिङ्ग भएको छ होला ।

अध्ययनका लागि भनेर सन्तानहरू भर्खर बाह्र पास गरेर आफ्नो काख छुटेर विदेश जाँदा आमाबुबाको पीडा छुट्टै छ । लाखौँ बैङ्क ऋण लिएर गएका सन्तानले राम्रोसँग पढ्ला कि नपढ्ला ? खान पाउलान् कि नपाउलान् भन्ने पीर छ । घरबारी बैङ्कमा धितोमा राखेर छोराछोरीहरू बाहिर पठाउँदा लिएको ऋण समयमा तिर्न सकिन्छ कि सकिँदैन भन्ने छुट्टै पीडा छ । आमाबुवालाई सन्तानको मायाका साथै आफ्नो बुढ्यौलीको सहारा होला कि नहोला ? भन्ने पीर फेरि अर्कै छ । यी सबै कुरा सम्झेर आमाहरू बाहिरै रुन्छन् तर बुबाहरू सबैका अगाडि रुँदैनन्, एकान्तमा मात्रै रुन्छन् । अधिकांशका आमाबुबा रुनचाहिँ रोएर विदेश पठाएका हुन्छन् । केहीका विदेश पठाउन पाएकोमा गर्व गर्ने पनि छन् ।

संसारकै धेरै रेमिटेन्स भित्रिने देशमा नेपाल परिसकेको छ । हरेक गाउँहरू खाली भएका छन् । खेतबारी बाँझो भएका छन् । बाहिर जाने गए, यहाँ भएकाहरू शहरमा डेरा गरेर बस्ने र किनेर खाने भएका छन् । अधिकांश जनसङ्ख्या कति बेला बाहिरबाट पैसा पठाउला र किनेर खाउँला भनेर पर्खाइमा छन् । धेरैको रेमिटेन्स आएको पनि छ । विडम्बना, कतिको जीवन बाकसमा फर्केको पनि छ ।

सन् २०२३ मा ८ लाख नेपाली कामदारको रूपमा मात्र देशबाहिर गएको तथ्याङ्क अध्यागमन विभागले देखाएको छ । यस वर्षमा पनि अवस्था उस्तै छ । अध्यागमनकै पछिल्लो तथ्याङ्क अनुसार दैनिक २ हजारभन्दा बढी नेपाली कामदारको रूपमा श्रम स्वीकृति लिएर गएको देखिन्छ । गैरकानुनी रूपमा जाने र भारतमा जानेहरूको त कुनै लेखाजोखा नै छैन । त्यसैले बाहिर श्रम गर्न जानेको सङ्ख्या अझ धेरै छ ।

माथि भनिए अनुसारका महाप्रस्थान गरेका सापकोटा बाका भएका दुई जना छोराहरू युरोपमा गएका रहेछन् । छोराहरूले यहाँ अग्लो ३ तले ठूलो घर बनाएका छन् । दुईवटा फ्ल्याट भाडामा रहेछन् । एउटा फ्ल्याटमा ९३ वर्षका सापकोटा बा र उसलाई हेर्ने एकजना हेरालु बस्ने गरेका रहेछन् । सापकोटा बा घरबाहिर नआउने । हामी पनि त्यो घरभित्र नजाने अनि खासै नजिकबाट चिनजान भएको थिएन । सापकोटा बा नौ दशकभन्दा बढी बाँचेर महाप्रस्थान गर्नुभयो । छोराहरूले बालाई हेर्न भनेर राखिएका हेरालुले कस्तो स्याहार गर्‍यो, थाहा छैन । जे गर्‍यो इमानदारीपूर्वक गर्‍यो होला । तीन दिनको पर्खाइपछि छोराहरू आए, चौथो दिनमा सड्न लागिसकेको पञ्चभौतिक शरीर पोको पारेर दाहसंस्कार गरियो ।

यो देशमा उत्पादन वृद्धि गर्ने नीति लिइएन, रोजगारीका अवसरको सृजना गरिएन, व्यवहारिक शैक्षिक वातावरण बनाइएन र सुशासन सहितको सार्वजनिक सेवा प्रदान गरिएन । यही अवस्था रहेमा नेपालको अबका दिनमा हरेक घर घरको कहानी यस्तै हुने देखिन्छ । यदि यस्तै अवस्था रहेमा “जीवन धान्नका लागि रेमिटेन्सको पखाइ र महाप्रस्थानपछि जल्नको लागि सन्तानको पर्खाइ” हुनेछ ।