मेरी आमा सानै उमेरमा आफ्नो घर छाडेर अर्काको घरमा काम गरेर बस्नु हुन्थ्यो रे । अर्काको घरमा काम गर्न बसेकै समयमा मेरो बुबासँग चिनजान भएर बिहे भएको रहेछ । यो कुरा आमाले हामी सानो हुँदा खाना खाएर बेलुका बस्ने क्रममा कहिलेकाहीं सुनाउने गर्नुहुन्थ्यो । ती पिडाहरू सुन्दा उनको जीवन कहानी धेरै पीडादायक लाग्थ्यो । त्यो समयमा म सानै थिएँ । तर पनि उहाँले भोग्नुभएको दुःख, पीडा र प्रताडनाले मलाई साह्रै द्रवीभूत बनाउँथ्यो ।

म पनि उहाँकै छोरी । आमाबाट छोरा भएनन् । हामी पाँच दिदीबहिनी । छोरीहरू मध्ये म कान्छी । मलाई आमाले छोरा नभएकाले भाकल गरेर जन्मिएकी  रे । चार वर्षकी हुँदा लामो समय (करीब सात महीना) बिरामी भएँ । त्यतिवेला कुनै डाक्टरी उपचार गर्ने चालनै थिएन । गाउँघरमा जानेको झारपात जडिबुटी खुवाएर र  धामीझाँक्रीले फुकफाक गरेर बाँचेकी रहेछु !

मेरा बुबा कृषक हुनुहुन्थ्यो । उहाँ हरेक दिन खेतबारीको काम गर्नुहुन्थ्यो । काम नगरी दस-बाह्र जनाको पालनपोषण हुन गाह्रो थियो ।  बुबा बिहानै उठेर आफ्नो नित्यकर्म सकेर खाना खाई बेंसीमा कोदालो खन्ने, घाँस काट्ने, खेत गोड्ने, मकै भाँच्ने आदि गर्नुहुन्थ्यो । बुबा सदैव कृषिकर्मीमा नै व्यस्त हुनुहुन्थ्यो । त्यसैले उहाँ प्रायः रात परेपछि मात्र घर फर्कनुहुन्थ्यो ।

आमाले जस्तै बुबाले पनि गोठका कुरा सुनाउनुहुन्थ्यो । कहिले आफूले बेसीमा के के काम गरें भन्ने पनि आउँथ्यो । बुबाले कहिलेकाहीं गोठमा गाईभैंसी दुहेर दूध, घिउ र मही बनाउनु हुन्थ्यो । दूधको कुराउनी कोरेर हामीहरूलाई ल्याइदिनुहुन्थ्यो । कहिल्यै मीठोमसिनो खान नपाएका हामीहरू कुराउनी खोसाखोस गरेर खान्थ्यौं । त्यो दिन हामी सबै जना अत्यन्तै खुसी हुन्थ्यौं ।

पहाडमा जति नै दुःख गरे पनि हातमुख जोर्न धेरै कठिन थियो । यहाँ भएको जमीनजेथा बेचेर परिवारको खुशीयालीका लागि चितवन बसाइँ  जाने कुरा बाआमाले सल्लाह गरिरहनु हुन्थ्यो ।  म त्यो समयमा चौध-पन्ध्र वर्ष, जान्ने-बुझ्ने भइसकेको थिएँ ।

बाआमाको कुरा सुनेर साह्रै नै दुःखी हुन पुगें, किनकि आफू जन्मे-हुर्केको ठाउँ, साथीभाइ, आफूले डुलेको-खेलेको डाँडापाखा, वनजङ्गल, त्यो प्यार्दी खोला, मर्स्यांदी नदीको सुसाहट, गाउँबेसी आदिलाई छोड्नुपर्ने थियो । बाआमाको कुरा सुनेपछि प्रायः म स्कूल जाँदाका साथीहरूका साथै मेरो हितैषी साथी सूर्यलाई पनि छाड्नपर्ने कुरा मनमा आइरहन्थ्यो, यसले पनि ममा एकप्रकारको दुःखले सताइरहेको थियो । सूर्य मेरो सारै मिल्ने साथी थिइन् । बिहान उठेदेखि राती नसुतेसम्म प्रायः हामी सँगै हुन्थ्यौं । चाहे घाँसदाउरा गर्दा होस् चाहे स्कूल जाँदा होस् ।

एक दिन आमाबाको चितवन बसाइँ सर्ने कुराले सार्थक रूप लियो । आफ्नो प्यारो जन्मभूमि छाड्ने दिन आउन लाग्यो ।  त्यसैले सूर्यसँग पुनः भेट हुन्छ हुँदैन भन्ने आशंकाले गर्दा मैले सूर्यलाई “सम्झनाको लागि दुई जनाको एउटा फोटो खिचौं है” भनें । उनले पनि मेरो प्रस्तावलाई सहर्ष स्वीकार गरिन् ।

हामीले घरबाट करीब २ घण्टाको बाटो टाढा सुन्दरबजारमा गएर फोटा खिच्यौं । फोटो खिच्ने मानिसले पर्सिपल्ट लिन आउनू भन्यो । पर्सिपल्ट अर्थात् चितवन जाने अघिल्लो दिन । आमासँग, “चितवन जानुभन्दा पहिले एकपटक चोक चिसापानी गएर दिदीलाई भेट्छु है” भनें । किनकि दिदीको घर जाने बाटो फोटो लिने ठाउँ सुन्दरबजार भएर नै जानु पर्दथ्यो ।  उहाँले सहर्ष स्वीकृति दिनुभयो ।

आमाको स्वीकृति पाएपछि चितवन झर्ने अघिल्लो दिन सूर्य र म चोक चिसापानी दिदीको घरतर्फ लाग्यौं । राती दिदीको घरमा नै बस्यौं । भोलिपल्ट बिहानै दिदीले “म छिटोछिटो भात पकाउँछु, चाँडै भात खाएर जानू” भन्नुभयो । केटाकेटी मन न हो आज चितवन जाने कुरा मन-मस्तिष्कबाट गएछ र छिट्टै घर फर्किनुको साटो खाना खान तयार भयौं ।

आमाले पनि त हामीलाई भन्नुभएको थिएन, “चितवन जानु पर्छ बिहान छिटो आउनू !”

मैले पनि सोधेकी थिइनँ, “कतिवेला जाने हो ?

दिदीको घरबाट आठ बजे खाना खाएर हामी सुन्दर बजारमा रहेको सम्झना फोटो स्टुडियोमा पुग्यौं । त्यस बेलासम्म पनि त्यहाँ फोटो तयार भएको रहेनछ । त्यतिवेला फोटोको नेगेटिभबाट खै के के गरेर, पानीमा धोएर सुकाएर बल्ल फोटो पेपरमा फोटो दिन्थे । त्यसैले त्यहाँ पनि केही समय अलमलिनुपर्ने भयो ।

साथीको सम्झनाको चिनो त्यो फोटो छाडेर जाने कुरा पनि भएन । केही समय पर्खेपछि फोटो तयार भयो । त्यसपछि लिएर  आत्तिंदै हस्याङ-फस्याङ गर्दै घरतर्फ लाग्यौं । बाआमाले पक्का पनि गाली गर्नेछन् भन्ने सोचेर पानी पनि नपिई दौडिरह्यौं । करीब साढे दश बजेतिर बल्ल घर  पुगियो । त्यहाँ त बाहिरै  तगारो लगाइएको रहेछ । हस्याङफस्याङ गर्दै तगारो खोलेर भित्र गएको त ढोकामा ताल्चा मारेको छ ।  उहाँहरू  खाना खाएर बिहान आठै बजे एउटा भरियालाई सामान बोकाएर चितवन जाने भनेर  हिंड्नु भएछ ।

घरको अवस्था देखेर शरीर जिरिङ्ग भयो, हातखुट्टा काँप्न लागे, मन ढुकढुक गर्न थाल्यो । मन अत्तालियो । बाबाआमाले मलाई छाडेर चितवन जानुभएछ । अब के गर्ने ? एक दुई दिनमा फर्कने होइन गाउँ नै छोडेर चितवन बसाइँ जानु भएको हो ।

यो घटना विसं २०३५ सालको हो । त्यतिवेला न फोन छ, कहाँ पुग्नु भयो भनेर सोध्न । न सवारी साधन छ, पछ्याउँदै उहाँहरूसँग पुग्न । जाने कहाँ हो ? केही थाहा छैन । आमाबुवा कुन बाटो जानु भएको छ ? त्यो पनि थाहा छैन । कसैलाई कुनै खबर पनि छाड्नु भएको छैन ।   मलाई दिउँसै रात परे जस्तो भयो । संसार नै अन्धकार भएर आयो । के गर्ने, के नगर्ने मेरो मानसपटलले केही ठम्याउन सकेन । दिदीकोमा जाने दिनमा बाआमा कुरा गरेको सुनेको थिएँ, पालुङटारबाट   हवाईजहाजमा चितवन जाने भनेर । अब पालुङटार जाने बाटो जान्छु भनेर साथी सूर्यलाई साथ मागें ।

आत्तिएको समयमा सूर्यलाई “मसँगै जाऊँ” भने । बिचरी सूर्यले पनि केही नसोची आफ्नी सानी बहिनीलाई घरमा एक्लै छाडी मेरो साथ दिन पछि लागिन् । म रुँदै बाआमा कुन बाटो जानुभयो भनी बाटोमा भेटिएका मानिसहरूलाई सोध्न थालें । हामी दुई नचिनेको बाटो कसरी जानु ।

तै पनि आत्तिएको बेला अरू केही सोचिएन । बाटो हिंड्नेहरूले देखाएको बाटोमा अगाडि बढ्दै गयौं । अगाडि बढ्दै जाँदा भुत्याहा भन्ने ठाउँमा वसन्त (फुपू दिदी)को छोरासँग भेट भयो । उनलाई मैले मेरो सबै कुरा सुनाएँ । उनले पनि मेरो साथ दिने भए । अनि हामी तीन जना अगाडि बढ्यौं । उनले लामास्वाँरासम्म पुर्‍याएर घर फर्किए । हामी दुई जना चौध-पन्ध्र वर्षका केटीहरू जङ्गलको बाटो रुँदै-कराउँदै गन्तव्य विहीन दौडिरह्यौं । हामीले पानी समेत पिएका थिएनौं, त्यसैले हाम्रो मुख प्याकप्याक भइरहेको थियो  । थाकेको शरीर लिएर डराउँदै-डराउँदै अघि बढिरहेका थियौं ।

जङ्गलमा कतै बहुला भेटिन्थे भने कतै जोगीहरू भेटिन्थे । उनीहरूलाई देख्दा पनि हामीहरू थरथर काँप्दै दौडिरहेका थियौं । चोक चिसापानीदेखि झण्डै ३ घण्टा घर आइपुगेको, फेरि त्यहाँबाट गोर्खाको पालुङटार विमानस्थलसम्म पुग्नु पर्ने  थियो । त्यहाँ पुग्न कति समय लाग्छ ? त्यो पनि थाहा थिएन ।  भोक, तिर्खा र थकाइले लखतरान भएका हामीले आफूसँग भएको पैसाबाट अलिकति चिउरा र चिनी किन्यौं र बसेर खायौं ।

केही समय खाएर सुस्ताएपछि हामीहरू पुनः अगाडि बढ्यौं । बाटोमा विपरीतबाट भेटिएका मानिसहरूसँग “दुई जना बूढाबूढी र एक जना भरिया यो बाटो गएको देख्नुभयो ?” भन्दै सोध्दै गयौं । उनीहरूमध्ये कुनैले “देखें, यही बाटो गएका छन्” भनेको सुनेपछि हामी सही बाटो आएका रहेछौं भनेर खुसी हुन्थ्यौं ।

हिंड्दाहिंड्दै साँझ परिसकेको थियो । हामी नदीको किनारैकिनार बगरमा गइरहेका थियौं । त्यसैवेला हामी भन्दा  केही अगाडि तीन जना  हिंडिरहेको देख्यौं । शायद हाम्रो लक्ष्य उहाँहरू नै हुनुहुन्थ्यो भनेर खुशी भयौं । त्यै खुशीले हामीलाई छिटोछिटो अगाडि बढ्न उत्साह दियो । उनीहरूको नजिकै पुगेपछि सूर्यले “हजुरआमा !” भनेर बोलाइन् । उहाँहरू हाम्रो आवाज सुनेर पछाडि फर्किए । साँच्चै उहाँहरू त मेरै बाआमा नै हुनुहुँदो रहेछ ।

हामी आएको देखेर बाआमा छक्क पर्नुभयो । उहाँहरूले हामी आउँछौं भनेर सोच्नुभएको नै रहेनछ । आमाले हामी आएको देखेर खुशीले हो वा रीसले कुन्नि केले हो गालीको वर्षा नै शुरू भयो । तर बाले भने खासै गाली गर्नुभएन । हामीहरू चूपचाप उहाँहरूको गाली सुन्दै पछिपछि लाग्यौं । केही समय गाली गरेपछि आमाले एउटा ठूलो ढुङ्गा उठाएर मेरो टाउकोमा लाग्नेगरी झटारो हान्नुभयो, धन्न मेरो भाग्य त्यो ढुङ्गा नजिकैबाट गयो र बाँचें । शायद त्यो ढुङ्गाले लागेको भए त्यही नदी किनार मेरो चिहान हुन्थ्यो होला ! अहिले सोच्दा पनि आङ सिरिङ्ग हुन्छ ।

हामी बाआमाको गाली सुन्दै, अँध्यारो मन गर्दै पछिपछि लाग्यौं । साँझ झमक्कै भएपछि हामी त्यही पालुङटारमा भएका बाको काकाको छोराको घरमा पुग्यौं । ठुस्स अनुहार बनाएकी आमाले खाना पकाउनु भयो । खाना तयार भएपछि बा, आमा, , सूर्य र भरिया रैते घर्ती सबैले खाना खायौं । रातभरि सूर्य र म सँगै सुत्यौं । भोलिपल्ट बिहान सूर्यलाई भरिया दाइसँग पठाएर हामीहरू जहाजको पर्खाइमा बस्यौं ।  सानै देखिको साथी आजसम्म कहिल्यै छुट्टिएका थिएनौं । जहाँ जाँदा पनि सँगै हुन्थ्यौँ । चाहे खाना खाँदा होस्, चाहे खेल्दा, यसरी सँगै हिँडेका साथी आजबाट छुट्टिनु पर्दा दुवैको आँखाभरि आँसु भरिएका थिए ।

त्यसवेला पालुङटारबाट चितवन जानको लागि या त पैदलयात्रा गर्नुपर्थ्यो या त जहाजबाट जानुपर्थ्यो । बाआमाले जहाजबाट चितवन जाने निर्णय गर्नुभएको रहेछ । जहाज दुई दिन ढिला हुने भएकाले हामीहरू त्यहीँ दुई दिन बस्नुपर्ने भयो । त्यहाँ म पूरै एक्लो भएको थिएँ । मसँग आमाबा पनि बोल्दैनन् । बाआमाको मायाममता त पाइएन-पाइएन उहाँहरूसँग बोलें भने गालीको वर्षा हुन्थ्यो । न साथीहरूको साथ थियो न त कोही आफन्तको साथ । म सबैबाट अलग्गिएको थिएँ । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ मानिसहरू, कोही चिनेको छैन । त्यसैले कोसँग बोल्ने, जता गए पनि एक्लैएक्लै भएको थिएँ । दुई दिनसम्म कोहीकसैसँग नबोली चूपचाप बसें । तेस्रो दिन जहाज आउने पक्का भयो । हामी चितवन जाने पक्का भयो । हामी चितवन गयौं ।

आज पनि ममाथि घटित संसारै अँध्यारो बनाउने, सोचाइहीन अवस्थामा पुर्‍याउने त्यो कहाली लाग्दो घटनालाई सम्झिरहन्छु । साँच्चै त्यो घटनामा दोषी को होला भनेर धेरै पटक सोचें, यसको दोषी को होला चितवन जाने अघिल्लो दिनमा दिदीको घरमा जान स्वीकृति दिने र मलाई जाने समयको जानकारी नगराई मलाई एक्लै छाडेर जाने मेरा आमाबा कि ?, बिहानै हिंड्छु भन्दा खाना खाएर जा भन्ने मेरी दिदी  ? ढिलो गरी फोटो दिने सुन्दरबजारको फोटोग्राफर कि ? चितवन जाने भने पछि ढिलो आउने म आफै दोषी ? बुबाआमाको दृष्टिमा म दोषी हुँ । तर के म मात्रै दोषी हो त ? अब पाठकको जिम्मा यसमा दोषी को ?

(मिनाको डायरीको आधारमा वास्तविक घटेको घटना संस्मरण)