पूर्णप्रसाद अधिकारीको ‘अनुभूति आफ्नै परिधिभित्र’ नामक पुस्तक चितवन साहित्य परिषद्ले प्रकाशन गरेको छ । करीब एक दर्जन पुस्तक प्रकाशन गरिसकेका अधिकारीको यो पछिल्लो पुस्तक पढ्न मलाई पनि हतारो थियो । विदेशमा भएका कारण लेखकको सहयोगले मलाई पुस्तकको पीडीएफ प्रति पढ्ने अवसर मिल्यो ।

पुस्तकको नाम ‘अनुभूति आफ्नै परिधिभित्र’ भए पनि यसमा रहेका १५ वटा शीर्षकहरूमा अनुभूति मात्र नभएर नियात्रा, संस्मरण, विचार र व्यक्ति–व्यक्तित्वबारे पनि लेखिएको छ । यस पुस्तकभित्रको “स्मृतिमा फरुको जीवनयात्रा“ शीर्षकको संस्मरणले मलाई केही लेख्न बाध्य बनायो । यो संस्मरण कुनै कल्पना नभई वास्तविक घटनामा आधारित छ । फडिन्द्र (फरु) नामक एक सामान्य व्यक्ति जो विद्यालयमा कमजोर विद्यार्थी थिए । पढाइमा निरन्तर असफल भएपछि, एसएलसीमा फेल भएर उनी रोजगारीका लागि भारतको टाटा कम्पनीमा गए, तर त्यहाँ पनि ठगी र निराशा मात्र हात लाग्यो ।

घर फर्किएपछि परिवारले “दुनियाँका छोराहरू विदेश गएर रुपियाँका बिटा कमाएर ल्याउँछन्, तिमीचाहिँ ऋण लगाएर आयौ । आफूले लगाएको ऋण आफैँ तिर्नुपर्छ ।“ भन्दै अविश्वास, हेला र अपमानको श्रृंखला शुरु गरे । अन्ततः उनी यस्तो मानसिक अवस्थामा पुग्छन् जहाँ मृत्यु नै एक मात्र शान्तिको बाटो लाग्छ, त्यो पनि एक्लै नभई श्रीमतीलाई पनि साथमा लिएर ।

लेखक अधिकारीले फडिन्द्र र उनकी श्रीमतीको अन्तिम यात्राको मार्मिक वर्णन गरेका छन्, जुन कुनै उपन्यासको कल्पनाभन्दा कम छैन । “२०३८ साल चैत्र अष्टमीको दिन रुक्मिणी (रुका) र फडिन्द्र ससुराली गए, त्यो बेला दिनको छ भइसकेको थियो । पानी पर्न नसके पनि आकाशमा कालो बादल मडारिएको थियो । मानौँ युगल जोडीलाई मौन प्रकृतिले अन्ध समर्थन गरिरहेको थियो ।” यो दृश्य कुनै फिल्मको कल्पना नभई मृत्युको पूर्वघोषणा हो । रुका र फरुले नारायणीको काखमा सधैँका लागि विश्राम खोजे । यो केवल मौसमको चित्रण नभई फरुको अन्तर्मनको अशान्ति, असहायता र भयावह नियतिको पूर्वसंकेत थियो ।

यो घटना अचम्मलाग्दो र पीडादायी मात्र नभई नेपाली समाजको मानसिक स्वास्थ्यप्रति गम्भीर उदासीनता, परिवारजनको असहिष्णुता, पुरुषमाथिको चुपचाप पीडा र स्त्रीको मौन सहमतिको चित्रण हो । यो केवल एक जोडीको आत्महत्याको कथा नभई हाम्रो समाजले आजसम्म पनि आत्महत्या गर्नेलाई “कमजोर” भन्ने दृष्टिकोणमाथि प्रश्न हो । श्रीमतीले माइतीबाट बिदा लिँदा भनेको “अब यो घरमा अन्तिम खाना हो” भन्ने संवादले युगौँ पुरानो सतीप्रथाको मनोविज्ञान सम्झाउँछ, जहाँ महिलाहरू स्वेच्छाले नभई संस्कारले प्रेरित भएर पतिको मृत्युपछि चितामा जान्थे । यहाँ फरक के छ भने, फडिन्द्र मरेका थिएनन्, तर समाजले उनीभित्रको व्यक्तित्व, सम्मान र आत्मसम्मानलाई मारिसकेको थियो ।

आज पनि ‘मानसिक रोग’ भन्नुलाई ‘पागल’ को पर्यायजस्तै मानिन्छ । फडिन्द्र पढाइमा मात्र कमजोर थिएनन्, उनी मानसिक रूपमा पनि अस्थिर थिए । तर, न त घरले यो बुझ्ने कोशिश गर्यो, न त समाजले नै । मानसिक स्वास्थ्यको समस्या हुँदा अस्पतालको सट्टा झारफुक, मौनता र सामाजिक कटाक्षमा फसाइन्छ । यस्तो अवस्थामा कसैको जीवन मृत्युको दोसाँधमा पुग्न धेरै बेर लाग्दैन ।

यो घटनामा श्रीमती पनि सँगै आत्महत्या गर्छिन् । लेखकले संस्मरणमा लेख्छन्, “अब म यो दुनियाँमा बाँच्नु भनेको धर्तीको बोझ हुनु हो । म मर्छु वा आत्महत्या गर्छु । तिमी मलाई साथ दिने वा सम्पूर्ण जीवन वैधव्यतापूर्वक व्यतीत गर्ने ?” । यस्तो कठोर वाणीको प्रहारपछि दृढतापूर्वक रुकाले भनिन्, “हेर्नुहोस्, मेरा पिताजीले तपाईँलाई दिनुभएको हो । यदि यो संसारमा तपाईँ नरहने हो भने मेरो बाँच्नुको कुनै अर्थ छैन । वैधव्य जीवन बिताउनुभन्दा म तपाईंकै साथमा जान्छु । तर कसैले थाहा नपाउने गरी आत्महत्या गरौँ ।” यो संवादले श्रीमतीलाई आत्महत्याको योजना पहिल्यै बताइएको थियो भन्ने थाहा हुन्छ । उनले ससुरालीमा अन्तिमपटक खाना खाएर बिदा लिएको, अनि अन्तिम घडीमा रुकाको पटुका समातेर एकसाथ नदीमा हामफालेको दृश्यले गम्भीर प्रश्न उब्जाउँछ । ती महिला आत्महत्यामा किन सहमत भइन् ? कि फरुको पीडामा प्रेम देखेर सहनुको विकल्प नै देखिनन् ? महिला पनि सामाजिक श्रृंखलाले जकडिएको पात्र थिइन् ? श्रीमती हुनुको नाताले पतिसँग सहानुभूति वा कर्तव्य ? प्रेम वा विवशता ? स्त्रीको मौनता–सहमतिमै सतीगमन ? आजको समाजले खोज्नुपर्ने प्रश्न बनेको छ ।

फडिन्द्रको आत्महत्या कुनै युगान्तकारी घटना थिएन— न समाचारमा आयो, न समाजले चेत लियो । तर साहित्यले त्यो घटनालाई जीवित राख्यो । आज पनि हाम्रा युवाहरू वैदेशिक रोजगारीमा जाँदा धोका खेपिरहेका छन् । घर फर्किंदा समाजले उनीहरूलाई स्वागत गर्दैन, किनभने हाम्रो ‘प्राप्ति–केन्द्रित’ संस्कृतिमा प्रयासभन्दा परिणामलाई महत्त्व दिइन्छ । आज पनि हजारौँ नेपाली युवा आत्महत्या गर्छन् । त्यो आर्थिक समस्या होस्, प्रेमको विफलता होस्, वा पारिवारिक दबाब ।

‘फरुको जीवनयात्रा’ जस्ता संस्मरणहरू केवल पीडाको बयान नभई समाजको चश्मा उल्ट्याउने ऐना हुन् । यो संस्मरण पढ्दा एकजना मरेका पात्रको आत्मा साहित्यको माध्यमबाट जीवित भएको अनुभव हुन्छ । साहित्यले जोगाएको त्यस्तो आवाजलाई हामीले सुन्नु पर्छ, बुझ्नुपर्छ र प्रश्न उठाउनुपर्छ ।

के आजको समाज फरुहरूलाई बचाउने संवेदना राख्छ ? कि अझै पनि आत्महत्या गर्नेहरूलाई “कमजोर” भन्ने मूल्यांकनमै सीमित छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वभर ३० करोडभन्दा बढी मानिसहरू कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रसित छन् । प्रत्येक वर्ष झण्डै आठ लाख मानिसहरू आत्महत्या गर्दछन् । आत्महत्या सम्बन्धी करीब ८० सदस्य राष्ट्रहरूसँग मात्र उच्च गुणस्तरको जीवित दर्ता तथ्याङ्क उपलब्ध छन्, जसलाई आत्महत्याको दर अनुमान गर्न प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिन्छ । बाँकी १९४ देशमध्ये ११४ देशको आत्महत्यासम्बन्धी तथ्याङ्क सही नभएको र कम गुणस्तरको मृत्यु तथ्याङ्कको समस्या रहेको डब्लुएचओले जनाएको छ । आत्महत्यालाई कलङ्कको संज्ञा दिइने तथा केही देशहरूमा आत्महत्या प्रवृत्ति गैरकानुनी मानिने अवस्थाले गर्दा अन्य कारणहरूको तुलनामा आत्महत्या सम्बन्धी तथ्याङ्क कम रिपोर्ट हुने गरेको कुरा जनाइएको छ । यसले के देखाउँछ भने आत्महत्या गर्ने संख्या निकै ठूलो हुन सक्छ ।

धेरैजसो आत्महत्याको कारण उदासीनता (डिप्रेसन) हो । त्यस्तै मद्यपान तथा लागुऔषधको प्रयोग, कडा किसिमको मानसिक रोग, चिन्ता र अनियन्त्रित बानी व्यवहारको कारणबाट पनि आत्महत्या गर्ने गर्दछन् । कतिपयलाई कडा रोग लागि उपचार सम्भव छैन भन्ने लागेर, परिवारमा चरम आर्थिक संकटबाट उम्कन नसकेर तथा मानिसहरू आफ्ना जीवनमा आइपर्ने सानातिना समस्यासँग लड्न नसक्ने र भविष्यलाई अन्धकार देख्ने गर्नाले आत्महत्याको बाटो रोज्ने गर्छन् ।

धार्मिक रूपमा आत्महत्यालाई गलत मानिन्छ । हिन्दू धर्ममा आत्महत्या कर्मको विरुद्धमा जाने कार्य हो र यसले आत्मालाई शुद्धिको सट्टा अझ बढी दुःख र नरकको बाटोमा लैजान सक्छ भन्ने मान्यता छ । धर्मशास्त्रहरूमा आत्महत्यालाई महापाप मानिन्छ । बौद्ध धर्ममा पनि आत्महत्या निषेध गरिएको छ । जीवन बोधि प्राप्त गर्नका लागि एक अवसर हो, र आत्महत्या गर्दा त्यो अवसर गुम्ने मात्र होइन, पुनर्जन्ममा अझ गम्भीर पीडाको सामना गर्नुपर्ने विश्वास गरिन्छ । अहिंसा र करुणाको मूल सिद्धान्त अनुसार, आत्महानी पनि हिंसा नै हो । इस्लाममा आत्महत्या कडासाथ हराम (निषेध) मानिन्छ । जीवन अल्लाहको उपहार हो र केवल उहाँले नै त्यसको अन्त्य गर्ने अधिकार राख्नुहुन्छ । आत्महत्या गर्ने व्यक्ति परलोकमा कठोर सजायको भागी बन्ने कुरालाई कुरानले स्पष्ट पारेको कुरा गर्छन् । खासगरी क्याथोलिक इसाई धर्ममा आत्महत्यालाई गम्भीर पाप मानिन्छ । जीवन परमेश्वरले दिएको उपहार हो, र त्यसलाई अन्त्य गर्नु उसको इच्छाको विरुद्ध जाने कार्य हो ।

सामाजिक तथा धार्मिक रूपले खराब हो भन्नु मात्र समाधान होइन । हामी बिरामी हुँदा शारीरिक अस्पताल जान्छौँ तर मानसिक रूपमा थकित हुँदा हामी कहाँ जान्छौँ ? नेपालमा अहिले पनि मानसिक समस्यालाई “पागलपन” भनेर हेपिन्छ । घरभित्र समस्या हुँदा चुपचाप बस्ने, अरूको पीडा नबुझ्ने, लाजका नाममा मौन रहने यी संस्कृति आजसम्म उस्तै छन् । नेपाली समाजमा मनोचिकित्सक भेट्न अझै लाज, हिचकिचाहट र भ्रम छ । तर, अब समय आएको छ— जहाँ हामीलाई संवेदनाका उपचारको आवश्यकता छ । हाम्रो समाज अझै पनि प्रयास होइन, उपलब्धि हेर्छ । हारेको मान्छेलाई साथ दिनुको सट्टा, ’किन हारेको ?’ भनेर दोष थोपर्छ । अनि यिनै दोषहरूको भारीले थिचेर फडिन्द्रहरू हराउँदै जान्छन् । यो प्रश्न हामी सबैको हो । आज पनि समयमै सहानुभूति, सहायता र समझदारी नपाए अनेकौँ फडिन्द्रहरू जीवनको किनारमा उभिइरहेका छन् । उनीहरूलाई सम्हाल्ने जिम्मा समाज, परिवार र हामी सबैको हो ।

फरु बाँचेनन्, तर उनको कथा पूर्णप्रसाद अधिकारीको कलममा बाँचेको छ । यस्ता साहित्यिक रेखाचित्रहरूले समाजलाई केवल मनोरञ्जन होइन, आत्मपरीक्षणको ऐना दिन्छ । आजको दिनमा, जब आत्महत्या गर्नेहरूको संख्या बढ्दैछ, तब यस्तो संस्मरणले हाम्रो सामूहिक चेतनामा ठोक्किनुपर्छ । अहिलेको युगमा, संवेदनाको सुनुवाइ, भावनात्मक समर्थन र “तिमी मात्र होइन, म पनि छु” भन्ने अनुभूति नै औषधि बन्न सक्छ । अब हामीलाई चक्की मात्र होइन, “कुरा गरौँ” भन्ने अस्पताल पनि चाहिन्छ । जहाँ बिरामीको रगत मात्र होइन, आँखामा भरिएको पीडा पनि परीक्षण होस् । यो नयाँ अवधारणा होस् — “संवेदनाको अस्पताल” ।