काठमाडौं । नियात्राकार विजय चालिसेको ७५ औं जन्मजयन्तीको अवसरमा हिजो नियात्राकार समाज नेपालले विशेष परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

गत जेठ १६ गते दिवंगत भएका चालिसेको व्यक्तित्व र कृतित्वमाथि आयोजित कार्यक्रममा विभिन्न साहित्यकार र समीक्षकहरूले विचार व्यक्त गर्नुभएकाे थियाे  ।

कार्यक्रममा तेजप्रकाश श्रेष्ठले चालिसेसँगको आफ्नो मित्रता र साहित्यिक सहकार्यको स्मरण गर्नुभएकाे थियाे भने प्रतीक ढकालले चालिसेलाई आत्मनिष्ठ र अनुभूतिको साहित्यकारको रूपमा चित्रित गर्नुभएकाे थियाे । समालोचक प्रमोद प्रधानले चालिसेका तीन नियात्रा कृति प्रकाशित भइसकेको र अन्य फुटकर नियात्रा सङ्कलन गरेर प्रकाशन गर्नुपर्ने बताउनुभयाे  ।

चालिसेका भाइ महेन्द्र चालिसेले विजय चालिसेको बहुआयामिक व्यक्तित्व र युवासर्जकलाई प्रोत्साहित गर्ने स्वभावबारे चर्चा गर्नुभएकाे थियाे  । सुपुत्र आलोक चालिसेले आफ्नो पिताको योगदानलाई चिरस्थायी बनाउन भविष्यमा थप प्रयास गर्ने बताउनुभयाे भने सुपुत्री अञ्जु चालिसेले सबैप्रति आभार व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा विजय चालिसेको अङ्ग्रेजी बालकथा सङ्ग्रह The Toy and Other Stories को पनि विमोचन गरिएको थियो । मोहन चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीमा साहित्यिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।