वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।
चालिसे केही समय यता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हाल घरमै आराम गरिरहनुभएका उहाँलाई अचनाक छाती दुख्ने समस्याले सताएपछि आज बिहानै अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । अस्पतालमै बिहान १० बजेर १५ मिनेट जाँदा उहाँको निधन भएको हो ।
गोकर्णेश्वर निवासी चालिसेको आजै गोकर्णेश्व घाटमा मृत्युसंस्कार सम्पन्न गरिँदैछ ।
चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गैरखापत्र दैनिकका पूर्व सम्पादक समेत हुनुभएको थियो । साथै, उहाँले साहित्यिक पत्रिका मधुपर्क र युवामञ्चको सम्पादकका रुपमा समेत काम गर्नुभएको थियो । प्रेस स्वतन्त्रताका अग्रणी चालिसे प्रेस चौतारी नेपालको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।
चालिसे लामो समयबाट नेपाली साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । बालकथा लेखनमा उहाँको उल्लेखनीय योगदान रहेको छ । उहाँले पत्रकारिता, आख्यान तथा बालसाहित्य विधामा दर्जनौं पुस्तक लेख्नुभएको छ । केही समयअघि उहाँको उपन्यास ‘युगसन्धि’ प्रकाशनमा आएको थियो ।
चालिसे वरिष्ठ साहित्यकार रमेश विकलका छोरा हुनुहुन्छ । उहाँ विकल जीवितै रहँदा रोचक घिमिरेको अध्यक्षतामा स्थापित रमेश विकल प्रतिष्ठानको महासचिव हुनुहुन्थ्यो । घिमिरे भन्नुहुन्छ, ‘‘म अध्यक्ष रहे पनि विजयकै अग्रसरतामा प्रतिष्ठान समृद्ध भयो । आफ्नै भवन, सभाहलदेखि पुस्तकालयसम्मको विकास उहाँकै निरन्तर प्रयासमा सफल भएको हो ।’
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उहाँको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गर्नुभएका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गर्नुभएको छ । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उहाँलाई ५० हजार राशिको ‘रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको थियो ।
वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिनुभएका चालिसे लामो समयदेखि कथाहरू, उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










