‘के यो सम्भव छ ?’ उसको कुरा सुनेपछि सबैभन्दा पहिले मेरो मनमा उठेको प्रश्न यही थियो । उसको त्यस भनाइलाई मैले सम्भावित सत्यको रूपमा ग्रहण गर्ने सकेको हुन्न । अझ यसो भनौं, उसले त्यस्तो निर्णय लेला भन्ने मेरो मनबुद्धिको कुनै पनि भागले स्विकार्नै सक्तैन । उसलाई शुरूमा भेटेर साथै बस्दा, मित्रताको बन्धनमा कसिंदै जाँदा क्रमशः मेरो मनमा बलियोसँग बन्दै गएको ऊप्रतिको धारणाले मलाई यस कुरामा विश्वास गर्ने कुनै आधार नै दिएको थिएन ।

‘सुनिस्, म रीतासँग सम्बन्ध विच्छेद गर्दै छु ।’ एक्कासि उसको मुखबाट त्यो कुरा सुन्दा म आश्चर्यचकित हुन पुगेको थिएँ । आश्चर्य र अविश्वासपूर्ण दृष्टि ऊतर्फ फ्याँकेर म त्यति बेला निकै बेर अन्यमनस्क हुन पुगेको थिएँ । उनीहरूका अगाडिको व्यवहारसँग पूर्णतः परिचित हुनाले पनि उसको त्यस कुरामा हत्तपत्त विश्वास गरिहाल्न सक्ने स्थितिमा म थिइनँ शायद ! त्यसैले म जिल्ल परेको र अविश्वस्त अनुहार लगाएर निकै बेर ट्वाल्ल उसको अनुहार हेरिरहेको थिएँ, त्यति बेला । मेरो स्थिति देखेर उसले निकै गम्भीर भएर आफ्नो अठोट फेरि दोहोऱ्याएको थियो ।

रीता, सबिन र म कलेज र महाविद्यालयको पूरा अध्ययनकालभर नै साथै पढेका र अति मिल्ने आत्मीय साथी थियौं । कलेजमा होस्, पिकनिकमा होस् वा कुनै अरू बेलाको भ्रमणमा होस् हामी तीन जना प्रायः सँगै बस्थ्यौं र कल्पनाका विभिन्न बुट्टा-चित्र कोर्दै एकअर्कालाई सुनाउँदै हामी साथै समय बिताउँथ्यौं । धनी परिवारकी रीता कक्षाभित्र मात्र होइन महाविद्यालयभरका सबै केटाहरूको आकर्षण थिई । ऊप्रतिको आकर्षणको कारण उसको धन मात्र निश्चय थिएन । त्योभन्दा पनि अझ बढी उसको सौन्दर्य र खुला व्यवहारको प्रदर्शन सबैका लागि आकर्षणको विषय थियो । एउटा उच्चवर्गीय पश्चिमी सभ्यतासँग बढी परिचित परिवारकी रीताको खुला व्यवहार र केटाहरूसँग निस्सङ्कोच हुने बोलचाल, सम्बन्ध र व्यवहारले गर्दा ऊसँग आत्मीय र घनिष्ट सम्बन्ध बनाउन प्रायः केटाहरू लालायित रहन्थे नै । उनीहरूको त्यो प्रयत्न सफल नभएर म र सबिन रीताको विश्वास जित्न सफल भएकामा हामी सबै केटाहरूको ईर्ष्याको पात्र बन्न पुगेका थियौं । उनीहरूबाट समयसमयमा व्यक्त गरिएका व्यङ्ग्योक्ति र छेडपेच पनि हामीले सुन्थ्यौं । सबिन र म एकै ठाउँका भएकाले पनि शुरूदेखि नै हाम्रो बीचमा नजिकको मित्रता थियो । गाउँको मध्यमवर्गीय परिवारमा जन्मेको सबिन फुर्तिलो थियो, प्रायः बहिर्मुखी भनिने ऊ आफ्नो मीठो कुराले जोसुकैलाई पनि चाँडै नै प्रभावित गर्न सक्तथ्यो । ममा त्यो गुण थिएन, अन्तर्मुखी प्रवृत्ति र सङ्कोची स्वभावले पनि म हम्मेसी कसैसँग बोलचाल गर्न र सम्बन्ध राख्न सक्तैनथें ।

बाहिरबाट पढेर स्नातकोत्तर तहमा भर्ना हुन आएकी रीतालाई सबिनले सजिलै आकर्षित गरेको थियो । अरू कति धनी र राम्रा केटाहरू छँदाहुँदै सबिनले त्यसरी रीतालाई आफूप्रति आकर्षित गरेर गाढा मित्रता कायम गर्न सकेकोमा शुरूशुरूमा म आफै छक्क परेको थिएँ । सबिनको सारै मिल्ने साथी भएको नाताले मेरो र रीताको पनि मित्रता बढ्दै गएको थियो । उसको खुला र आत्मीय व्यवहारबाट म पनि ऊसँग सारै प्रभावित थिएँ, मेरा अगाडिका सङ्कोच र हिचकिचाहट खुला हावामा राखेको कपूर झैं उडिसकेका थिए । रीताको हामी दुई जनासँग रहेको समान र खुला मित्रता हामी दुई जनाको बीचमा पनि व्यवधानपूर्ण थिएन । हामी तीनै जना अन्तरङ्ग मित्रताको बन्धनमा बाँधिइसकेका थियौं । सबिनको बहिर्मुखी तर ‘स्मार्ट’ व्यक्तित्व रीताका लागि जति प्यारो थियो मेरो केही सङ्कोचशील र अन्तर्मुखी व्यक्तित्व पनि उसलाई त्यत्तिकै प्यारो लाग्थ्यो ।

त्यसैले कुनै बेला हामीबीच कुरा उठ्ने गर्थ्यो, अध्ययन सकिएपछि निश्चय नै हामी तीनै जना एकै ठाउँमा रहँदैनौं । त्यति बेला हामी एकआपसमा छुट्टिएर बस्न सकौंला ? जवाफमा हामी निकै बेर घोरिन्थ्यौं र रीता भन्थी, “तिमी सबिन त भोलि अरूसँगै मित्रताको गाँठो कस्न सक्छौ । शायद म पनि अभ्यस्त हुँला, मन मिल्ने अरू साथी खोज्न सकुँला, तर यो शङ्कर, मलाई थाहा छ त्यसो गर्न पक्कै सक्तैन !”

उसको त्यो कुरा सुनेर शायद कुनै बेला मेरो मुखबाट एउटा केटाकेटीको जस्तै कुरा फुत्किएको थियो, “हामी तीनै जना नछुट्टिने कुनै उपाय गर्न सकिन्न ?”

मेरो केटाकेटी कुरा सुनेर शुरूमा दुवै जना पेट मिचीमिची हाँसेका थिए । निकै बेरको हाँसोपछि रीताले भनेकी थिई, “हो, त्यसो पनि गर्न सकिन्छ । त्यसका लागि मैले तिमीहरू दुवैसँग संयुक्त बिहे गर्नुपर्छ र तिमीहरू मेरो घरज्वाइँ भएर बस्नुपर्छ ! भन तिमीहरूलाई मन्जुर छ ?”

आफ्नो केटाकेटी कुरा र त्यसको जवाफमा रीताले खुला रूपमा भनेकी त्यो जवाफबाट म लाज र सङ्कोच अनि आफ्नो प्रश्नको सङ्कुचितताभित्र गड्न पुगेको थिएँ ।

ती थिए हाम्रा अति भावनात्कमक क्षणका कुरा र व्यवहार । महाविद्यालयमा पढ्दा त्यति बेला देखेका सबै सपना विपनामा प्राप्त हुन सक्तैनथे, त्यति बेला चाहेका-सोचेका कुरा जीवनको व्यावहारिक महासागरमा लागू हुन सक्तैनथे । त्यसैले पनि पढाइ सकेपछि हामी तीनै जना साथसाथै बसेर तिनै अगाडिका भावुक कल्पनाका बुट्टाकुँदाइ र महल सजाउने काम सम्भव थिएन । त्यसमाथि पनि कहिले पढ्नेलेख्ने काम सक्ला र छोराले जागिर खाएर घर चलाउन मद्दत गर्ला भन्ने आशापूर्ण दृष्टि ओच्छ्याइरहेका बाबुआमाको भार थाम्नुपर्ने मजस्ताबाट त्यो सम्भव छँदै थिएन । त्यसैले पनि अध्ययन सकिएपछि रीता र मेरो बीचमा भेटघाटको अनुपात घट्दै गएको थियो । म कुनै एउटा निजी व्यावसायिक फर्ममा नोकरी गरेर बाबुआमाको सपना पूरा गर्ने क्रममा लागिपर्ने सपना साकार बनाउने प्रयत्नमा थिएँ । शायद रीता पनि बढी समय घरमै बिताउँथी होली ! सबिन र म एउटै डेरामा थियौं, त्यसैले पनि हाम्रो सम्बन्धमा कुनै अन्तर आएको थिएन । उसैबाट म धेरैजसो रीताको खबर पाउने गर्थे । सबिन कहिले कुन ठाउँमा रीतासँग पिकनिक मनाउन जाने खबर सुनाउँथ्यो र रीताको मलाई पनि त्यसमा सहभागी बन्नुपर्ने इच्छा सुनाउँथ्यो । यस्ता कुराकानीबाट सबिन र रीताको भेटघाट र आत्मीय सम्बन्धमा कुनै प्रभाव नपरेको र उनीहरू अध्ययनकालकै इन्द्रधनुषी रङ्गमा रङ्गिएका अनुमान म लगाउन पुग्थें । अनि त्यति बेला ठट्टैठट्टामा म उसलाई भन्ने गर्थें, “पिकनिकमा म पनि सहभागी हुने इच्छा तेरो त निश्चय पनि होइन होला ! भो बाबा भो, तिमीहरूको एकान्त क्षणलाई म बिथोल्न चाहन्नँ ।” मेरो ठट्टा सुनेर ऊ मज्जासँग खुलेर हाँस्थ्यो । उसको मज्जासँग खुलेर बेसरी हाँस्न सक्ने बानी देखेर कहिलेकाहीं मलाई ईर्ष्या पनि लाग्थ्यो, कसरी हाँस्न सक्छ ऊ ! बूढा बाबुआमा पाल्नेदेखि आफू बाँच्नेसम्मका चिन्ता र समस्याले हो कि आफू जति कोशिश गरे पनि कहिल्यै त्यसरी हाँस्न सकिएको होइन । जे होस्, आफ्नो खुला हाँसो थामिएपछि भन्थ्यो, “मलाई थाहा छ, तँ जाँदैनस् । तर तेरो उपस्थिति म चाहन्नँ भन्ने चाहिं तेरो गलत सोचाइ हो ।”

यस्तैयस्तै समय बित्दै गयो । कहिलेकाहीं रीतासँग अकस्मात् भेट हुन्थ्यो, त्यति बेला ऊ ममाथि अनेकौं गुनासो पोख्थी । अगाडिको मित्रता बिर्सने स्वार्थी र ढुङ्गा जस्तो दिल भएको कठोर भन्थी । म उसका सबै आरोप निरुत्तर सुनिदिन्थें, जवाफमा मात्र म आफ्नो बाध्यता तेर्स्याइदिन्थें । जागीरको क्रममा कहिले कता, कहिले कता गर्दागर्दै क्रमशः उसको र मेरो भेटघाटको क्रम पनि पातलिंदै गयो । बाध्यतावश सबिन र मेरो डेरा पनि छुट्टियो । फलस्वरूप ऊसँगको भेटघाट पनि घट्दै गयो । सबिन कहाँ छ, रीता कहाँ छे र के गर्दै छन् त्यसको कुनै खबर म पाउन सक्तिनँ ।

त्यस्तैमा एक दिन मेरो अफिसको ठेगानामा एउटा निमन्त्रणापत्र पाएर म अलि आश्चर्य र खुशी पनि मान्न पुग्छु । त्यो निम्ता पढेपछि थाहा पाउँछु, धेरै समयसम्म खबरसम्म पनि नपाइएका सबिन र रीता वैवाहिक सूत्रमा बाँधिने भएछन्, त्यसैको निम्ता त्यसभित्र थियो र साथै त्यसैमा खामिएको उनीहरू दुवैको विवाहमा मलाई जसरी भए पनि भाग लिन गरिएको अनुरोधपत्र पढेर मैले थाहा पाएको थिएँ । पछि उनीहरूका बारेमा मैले अरू थप जानकारी पाएको थिएँ । रीतालाई विवाह गर्ने आर्थिक क्षमता प्राप्त गर्न सबिनले निकै सङ्घर्ष र कठिन परिश्रम गर्नुपरेछ । त्यसकै फलस्वरूप एउटा राम्रो जागीर भेटेपछि रिनसिन गरेर एउटा सानो चिटिक्क परेको घर पनि जोडेछ । सामर्थ्यले भ्याएसम्म आफ्नो त्यो सानो घरलाई सुविधासम्पन्न पार्ने अथक प्रयासको अनुमान उसको घरमा पुगेपछि जोकोही पनि सजिलै गर्न सक्थ्यो । पछि सबिनबाटै थाहा पाएको थिएँ, रीताले पनि उसलाई त्यस काममा सहयोग गरेकी रहिछ । त्यति मात्रै होइन, आमाबाबुको इच्छाविरुद्ध सबिनसँग बिहा गर्न रीताले निकै सङ्घर्ष गर्नुपरेछ । अझै त्यो बिहामा उनीहरू खुशी रहेनछन् । रीताको जिद्दी र अपहत्तेमा आफ्नी एउटी मात्र छोरीको इच्छामा उनीहरूले आफ्नो इच्छा र चाहनालाई होमिदिएका रहेछन् ।

विवाह बडो रमाइलोसँग सम्पन्न भएको थियो । महाविद्यालयमा पढ्दाको भावुक क्षण त्यसरी व्यावहारिक क्षणमा बदलिएकोमा सबिन र रीता अत्यन्तै खुशी र सन्तुष्ट थिए र उनीहरूको सन्तुष्टि र खुशी स्पष्ट झल्किन्थ्यो पनि । त्यो सम्बन्धमा म पनि वास्तवमा हृदयदेखि नै खुशी थिएँ, सन्तुष्ट थिएँ र आफ्नो खुशी र दीर्घ वैवाहिक जीवनको हार्दिक कामना गरेको थिएँ ।

विवाह सकियो । सबिन र रीता आजीवन एकअर्काबाट नछुट्टिने प्रण गरेर संयुक्त भए । म आफ्नो व्यावहारिक समस्यामा छोपिएर उनीहरूबाट टाढाटाढा हुन पुगें । समय आफ्नो क्रममा सर्दै गयो । उनीहरूसँगको भेटघाट पनि हुन सकेन । उनीहरू आफ्नै संसारमा मस्त थिए होलान् । म मेरै समस्यामा आकण्ठ डुबेको थिएँ । तर हाम्रो जस्तो सामाजिक स्थिति र सबिन तथा रीताको बीचमा रहेको एकदमै विपरीत आर्थिक, सामाजिक स्थितिमा पनि उनीहरूको प्रेम सफल वैवाहिक सम्बन्धमा परिणत हुन पुगेकोमा म सन्तुष्ट थिएँ । विवाहपछिको प्रेममा विश्वास गर्ने हामीमा पनि कमसेकम प्रेमपछिको विवाह यसरी सफल भएको र त्यो पनि आफ्नै मित्रहरूका बीच भएको देखेर म उनीहरूको सुखद र संयुक्त भविष्यप्रति विश्वस्त थिएँ । धेरै वर्षको मित्रताबाट एकअर्कालाई राम्ररी नै बुझेका लोग्नेस्वास्नीमा जति आपसी समझदारी हुन्छ, त्यति अरूमा हुने कुरै थिएन । त्यसैले पनि म उनीहरूको जीवनमा फेरि अर्को अप्रिय मोड आउनेछ भन्ने कुरा सोच्नै सक्तिनथें ।

तर त्यस्तैमा, सबिन र रीतासँग भेट नभएको झन्डै चौथो वर्षमा एक दिन अकस्मात् सबिनलाई भेट्दा एकातिर म जति खुशी र आनन्दित भएको थिएँ, उसको त्यो निर्णय अकस्मात् सुन्न पुग्दा म शुरूमा एकदमै चिच्च्याएर पछि जडवत् हुन पुगेको थिएँ, “के भन्दै छस्, सबिन, तँ ?”

“हो, म रीतासँग सम्बन्ध विच्छेद गर्दै छु । हामी दुवै यसमा राजी भइसकेका छौं । यौवनको उत्साह र क्षणिक जोसमा आएर सुखसयलमा हुर्किएकी धनी परिवारकी केटीसँग विवाह गर्ने म गरीब केटाको निर्णय आफैमा गलत रहेछ !” मेरो त्यो आश्चर्य र केही जडता देखेर उसले बडो व्यथित स्वरमा मलाई भनेको थियो । उसको स्वरको पीडा अनुभव गरेर पनि मैले ऊ आफ्नो निर्णय गलत भएकोमा पीडित छ कि रीतासँगको बिछोडको कल्पनाले ऊ व्यथित छ भन्ने खुट्याउन सकेको थिइनँ । त्यो अनिर्णयभन्दा पनि उनीहरूको एकआपसमा छुट्टिनुपर्दाको त्यो स्थिति र त्यत्रो समझदारी हुँदाहुँदै पनि छुट्टिनुपर्दाको बाध्यता अनुभव गरेर म कताकता हराउन पुगेको थिएँ । समझदारी र प्रेमभन्दा पनि बलियो आर्थिक र सामाजिक विषमता हुँदो रहेछ भन्ने तथ्य बोध गरेर म झन् छक्क परेको थिएँ ।

(‘प्रज्ञा नेपाली आधुनिक कथा भाग-दुई’ बाट)