“त श्रीमान् ! हामीले यहाँको आदेशअनुसार एउटा नयाँ पुस्ताको मानिस तयार गरेका छौं ।”
“के यो मानिसले मैले भनेजस्तै काम गर्न सक्छ ?”
“निश्चय नै सक्छ । तर तपाईं कस्तो काम गराउन चाहनुहुन्छ, यो त्यसमा भर पर्दछ । तपाईंले चाहेको मानिसमा हुनुपर्ने विशेष गुण यस पुस्ताको मानिसमा प्रत्यारोपण गर्नुपर्छ । त्यही जीन, रक्ताणु र मस्तिष्क कोषलाई विशेष रूपमा प्रत्यारोपण गर्नुपर्छ । एउटा गुण भएको यी चीजहरू एक समूहलाई प्रत्यारोपण गरेर हामी नयाँ पुस्ताको आज्ञाकारी मानव तयार गर्न सक्छौं ।”
“त्यसो भए तपाईंहरू मेरा लागि यस्तो मानिस तयार गर्नुहोस् जसको हात कुशल होस्, मस्तिष्क आज्ञाकारी होस्, मुटु संवेदना, ममता र चेतनाशून्य होस् ।”
“तर श्रीमान् यी सबै गुण एउटै मानिसमा प्रत्यारोपण गर्न सकिन्न । बरु मस्तिष्क र मुटु चाहिं एकै मानिसमा पनि तपाईंले भने जस्तै सबै गुण विकसित गर्न सक्छौं ।”
“ठीक छ, त्यही गर्नोस् । सबैभन्दा पहिला यी सबै प्रकारका विद्रोही र हाम्रो सबै कुराको समर्थन नगर्ने बुद्धिजीवीहरूका ठाउँमा तपाईंहरूको प्रयोग मानव प्रतिस्थापन गर्न चाहन्छु ।”
“हुन्छ श्रीमान्, हामीलाई तपाईंको विचारमा आज्ञाकारी, मानवीय संवेदनाशून्य, स्वामीभक्त र तपाईंको सबै काममा समर्थन गर्ने कुनै कार्यकर्ता र अरू केही विद्रोही व्यक्ति दिनुहोस् । हामी तिनको मुटु र मस्तिष्क विद्रोहीमा प्रत्यारोपण गरेर नयाँ पुस्ताको प्रयोग मानव तयार गर्नेछौं ।”
“यस्तो मानिस त मसँग एकैजना मात्र छ । त्यसको मुटु र मस्तिष्क अर्कोमा प्रत्यारोपण गर्दा के त्यो भएको एउटै इमान्दार मानिस पनि नगुम्ला ? त्यो स्थितिमा मेरो समर्थक त एउटै पनि रहनेछैन । अँ, विद्रोही चाहिं त जति पनि दिन सकिन्छ ।”
“हामीमाथि विश्वास गर्नोस् श्रीमान् ! तपाईंको त्यो विश्वास पात्र व्यक्ति मर्ने छैन । उसको मुटु र मस्तिष्कका केही गुणग्राही जीन मात्र हामी लिने छौं, विरोधीको त्यो जीन नष्ट गरी त्यसको ठाउँमा आज्ञाकारी जीन प्रत्यारोपण गर्नेछौं । प्रारम्भिक प्रयोगका लागि हामी ती विरोधीलाई माध्यम बनाउने छौं । मरे भने तिनै मर्लान्, यसबाट तपाईंलाई कुनै नोक्सान पर्ने छैन होला ।
“ठीक छ, बरु आज्ञाकारी समूह तयार गर्ने काममा तपाईंहरू युद्धस्तरमा काम गर्नोस् । चाहिंदो सहयोगका लागि ढुकुटी खुल्ला छ ।”
००००
“के म भित्र आउन सक्छु ?”
“तपाईं को हुनुहुन्छ ? किन आउनुभएको ?”
“म विश्वास पात्र र आज्ञाकारी कार्यकर्ता । प्रमुखको आदेशमा म यहाँ आएको हुँ ।”
“के तपाईं आफ्नो मन, मस्तिष्क र सम्पूर्ण गुण दिन सक्नुहुन्छ ?”
“सक्छु । ज्यान नजाने हो भने म आफूलाई विश्वास गर्नेलाई जे पनि दिन तयार छु ।”
“निश्चिन्त हुनुहोस्, हामी तपाईंको ज्यान लिंदैनौं । हामीलाई तपाईंजस्तो स्वामीभक्तको स्वामीभक्ति र संवेदनारहित मन-मस्तिष्कको केही गुणात्मक सारको मात्रै आवश्यकता छ । त्यो निकाल्ने हामीसँग यति विकसित प्रविधि छ, जसबाट तपाईंलाई कुनै कष्ट हुने छैन ।”
“त्यसो हो भने म तयार छु । तपाईंको प्रयोग र अभियान सफल होस् ।”
“के हामी भित्र आउन सक्छौं ?”
“किन दुई-दुईजना ? को हुनुहुन्छ तपाईंहरू ?”
“हामी विशेष अधिकार सम्पन्न अधिकारी हौं । प्रमुखको आदेशमा हामीले विद्रोही बन्दीहरूलाई ल्याएका छौं ।”
“ल्याउनुहोस्, उनीहरूलाई भित्र छाडेर तपाईंहरू बाहिरको सुरक्षाको प्रबन्ध मिलाउनुहोस् ।”
“त महाशय, तपाईं आफ्नो परिचय बताउनुहोस् ।”
“के तपाईंले मेरो स्थितिबाट थाहा पाउनु भएन – म कैदी हुँ ।”
“त्यो त हो, तर मेरो आशय तपाईं कुन क्षेत्रमा काम गर्नुहुन्थ्यो भन्ने जान्न चाहनु हो । भन्नुहोस् त तपाईं किन बन्दी बन्नुभयो ?”
“म शिक्षक हुँ र मैले अरू सरह बाँच्ने अधिकार खोजें । सबै सरह पेसा र मानवीय हकको माग गरें । त्यसैले म विद्रोही भनिएँ, बन्दी परें । भन्नुहोस्, अरू कस्तो परिचय चाहियो ?”
“ठीक छ, यति भए पुग्यो । तपाईंको हृदय र मस्तिष्कमा केही विकार छ त्यो ठीक भएपछि तपाईंमा त्यस्तो कुनै अनुभूति र अधिकारबोध नै बाँकी रहने छैन । यस्तै प्रयोगका लागि हामीले यो ‘स्टेट ल्याब’ खडा गरेका हौं । यसैका लागि हाम्रो प्रयोग र प्रयोगशालामा अरबौं विदेशी मुद्रा खर्च भएको छ ।”
“तर डाक्टर, यसरी मानवीय चेतनाको हत्या गर्न अरबौं खर्च गर्नुभन्दा हाम्रो आधारभूत आवश्यकता पूरा गर्न त्यसको केही अंश छुट्याएको भए पर्याप्त थिएन र ? आखिर हामीले जे मागेका थियौं, त्यो पनि त नाजायज थिएन ।”
“हो, तर तपाईं यसलाई अर्को दृष्टिले किन सोच्नुहुन्न ? यो पल्ट मागेको पाएपछि फेरि पनि त केही समयपश्चात् अर्को थप सुविधा खोज्नुहोला । यसरी तपाईंभित्रको असन्तुष्ट कीरा झन्झन् बढ्दै नजाला र ? मागको पूर्ति यस पटकको मात्रै त समस्या होइन । यो त जहिले पनि र जुनसुकैका लागि पनि उत्तिकै आइरहने समस्या हो । अर्को कुरा, जब तपाईंहरूमा मानवीय अनुभूति, असन्तुष्टि र अधिकारबोध रहिरहन्छ, तपाईं ती गुण आफ्ना हजारौं छात्र-छात्रामा पनि त प्रसार गर्दै जानुहुन्छ । होइन र ? त्यसर्थ सम्पूर्ण विरोधी नियन्त्रण गर्न स्थायी उपाय त पत्ता लगाउनै पर्यो । त भन्नुहोस्, के तपाईं यो प्रयोगमा सहयोग गर्नुहुन्छ ?”
“कुनै पनि हालतमा गर्ने थिइनँ, यदि सम्भव थियो भने । तर यसरी हात-खुट्टा बाँधिएको स्थितिमा म के पो विरोध गर्न स्क्छु र ? साहस छ भने खुलाउनुहोस् मेरा हातगोडा । अनि देख्नुहोला मेरो प्रतिरोध । यो नसोच्नुहोस् म एउटाको मस्तिष्क परिवर्तन गरेर तपाईं आफ्नो उद्देश्यमा सफल हुनसक्नु हुन्छ । मानवीय संवेदना र अधिकार बोधलाई तपाईं सम्पूर्णमा हत्या गर्न सक्नुहुन्न ।”
“ठीक छ, तपाईं कराउनु होस्, विरोध गर्नुहोस्, जतिञ्जेलसम्म तपाईंको व्यक्तित्व परिवर्तन हुँदैन ।”
“अँ, महाशय ! तपाईंको चाहिं परिचय के हो नि ?”
“बलिको बोकाको पनि कुनै परिचय आवश्यक छ र डाक्टर ? आफ्नो मालिकलाई बलि चढाउन तपाईं जस्ता मानवताहीन पुजारीलाई बलिको बोको भए पुगेन र ? र पनि किन चाहियो परिचय ?”
“ठीक छ, नबताउनुहोस् । म आफै तपाईंहरूको परिचय जान्न समर्थ छु, जसबाट तपाईंहरूको व्यक्तित्व उचित तरिकाले परिवर्तन गर्न सकियोस् ।”
000
“त श्रीमान् ! हामीले हाम्रो प्रयोग सफलताका साथ पूरा गर्यौं । मन, मस्तिष्क र सम्पूर्ण संवेदनशील तन्तुहरू परिशोधन गरेर एउटा इमान्दार आज्ञाकारी कुकुरको जातिभन्दा पनि बढी स्वामीभक्त मानव पुस्ताको आविष्कार गर्यौं । अब यिनीहरूलाई बाँच्न र बोल्नसम्म मात्र पुग्ने चारा छरेर तपाईं पूरा काम लिनसक्नु हुन्छ । तपाईं यही नै उनीहरूसँग अन्तर्वार्ता लिन सक्नुहुन्छ ।”
“ठीक छ, बोलाउनुहोस् । म आफैं सन्तुष्ट बनूँ ।”
“मिस्टर टि वान । तपाईं यहाँ आउनुहोस् ।”
“किन उसको नाम छैन र ? के हो यो टि वान भनेको ?”
“यो समूहको नाम हो श्रीमान् । टिचर समूहको पहिलो व्यक्ति टि वान । त्यसैगरी जति तपाईं शिक्षकहरू चाहनुहुन्छ त्यसरी नै नाम वा सङ्ख्या टि टु, टि थ्रीको क्रममा बढ्दै जान्छ । त्यस्तै हामी इन्जिनियरको समूहका मानिसलाई ई वान, ई टुको नाम दिन्छौं, पुलिसलाई पी वान, पी टु, आदि ।”
“ए राम्रो ! अँ त मिस्टर टि वान । तपाईको पेशा के हो ?”
“शिक्षक श्रीमान् !”
“भन्नोस् त तपाईंलाई तलब बढाउनु आवश्यक छ ?”
“छैन श्रीमान्, त्यो त केही विरोधीहरूको काम हो । जे जति छ त्यो नै हाम्रा लागि पर्याप्त छ ।”
“ठीक छ, महान् वैज्ञानिक ! म तपाईंसँग सन्तुष्ट छु । चाँडै नै यस्ता शिक्षक, कर्मचारी र राजनीतिक कार्यकर्ताहरूको भीड तयार गर्नुहोस् जसलाई आजका विरोधीसँग प्रतिस्थापन गर्न सकियोस् । अँ, बरु अरू वैज्ञानिकहरूमै पनि हाम्रो समर्थनमा प्रयोग नगर्ने छन्, सहयोग नगर्ने छन् । तिनीहरूलाई पनि तपाईं आफूजस्तै समर्पित बनाउनुहोस् । खर्चका लागि कुनै चिन्ता नगर्नुहोस् । हामी जति पनि खर्च उपलब्ध गराउन तयार छौं । तपाईंको सेवादेखि हामी सन्तुष्ट छौं आजदेखि तपाईंलाई सर्वोच्च विज्ञान संस्थाको प्रमुख बनाइनेछ र विशिष्ट पदक र पुरस्कारद्वारा विभूषित गरिनेछ ।”
“सेवक कृतज्ञ छ, महोदय । प्रणप्रणले आज्ञा पालन गर्नेछ ।”
(विजय चालिसेको कथासंग्रहको ‘प्रयोग प्रत्यारोपण’ बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










