काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार २०८१ प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गर्ने घोषणा गरेको छ। भाषा, साहित्य, कला र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको दुई स्रष्टालाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

साहित्यकारद्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ र बाजुराम पौडेल रहेको चयन समितिको सिफारिस अनुसार पुरस्कृत व्यक्तित्वहरूको घोषणा गरिएको हो। पुरस्कार तथा सम्मान कार्यक्रम चैत्र २२ गते (शुक्रबार) अपराह्न १ बजे त्रिवेणी ब्याङ्क्वेट, गोकर्णेश्वर–८, बेँसीगाउँ, काठमाडौँमा आयोजना हुनेछ। समारोहमा पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र र फूलमाला अर्पण गरिनेछ।

यस वर्षको समारोहमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पण पनि गरिनेछ। गत वर्ष प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं कवि कञ्चन पुडासैनीलाई यस पुरस्कारबाट सम्मानित गरिएको थियो।

गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, पूर्वाधार विकास तथा खेलकुदजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ र यसका लागि देश–विदेशबाट प्रशंसा प्राप्त गर्दै आएको छ। नगर प्रमुख दिपक कुमार रिसालले नगरवासी तथा साहित्यप्रेमी सबैलाई पुरस्कार अर्पण तथा ग्रन्थ लोकार्पण समारोहमा उपस्थित हुन अनुरोध गर्नुभएको छ।