साहित्यकार तथा पत्रकार विजय चालिसे गोरखापत्रका पूर्वसम्पादक हुन् । मुख्यतः कथा र उपन्यास विधामा कलम चलाएका चालिसेका बुबा सुप्रसिद्ध साहित्यकार रमेश विकल हुन् । चालिसेका कथा, उपन्यास, बालसाहित्य, पत्रकारितालगायत गैरआख्यान तथा अनुवाद आदि गरी विभिन्न विधाका ५५ पुस्तकहरू प्रकाशित छन् ।
प्रस्तुत छ, उनै विजय चालिसेसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश;
तपाईंले अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु हुन्छ ?
मनले चाहेका कुरा धेरै लेख्न सकेको छैन । यसको कारण तपाईंले भन्नुभएजस्तै अझै राम्ररी समय व्यवस्थापन गर्न नसक्नु नै हो । अनि केही समयले ल्याएका कमजोरीहरू नै प्रमुख हुन् । धेरै समय अध्ययन र लेखनमै बित्ने गरेको छ । लेखन-पठन दुवैमा पहिलेजति गति अहिले छैन । पहिलापहिला रातरातभर टुकीबत्तीको मलिन उज्यालोमा पनि मज्जाले लेख्न पढ्न सकिन्थ्यो । अहिले बिस्तारै आँखाको शक्ति कमजोर हुँदै जाँदा राती लेखपढ गर्न नसकिने हुँदै गएको छ । दिनमा पनि केही समय यताउता गर्दै बित्छ । केही समय बोलाएको नगई नहुने ठाउँमा निम्ता मान्न जाँदैमा सकिन्छ । त्यस बाहेकको समय प्रायः विहान र दिउँसो लेखेर नै बित्छ । बाँकी समय पढ्न र लेख्नमा बित्ने गरेको छ । प्रकाशन तर्फ आफू संलग्न छैन, त्यसैले अहिले पनि कतिपय पाण्डुलिपि अप्रकाशित नै थन्किएका छन् । घरमा समय दिन परेको छैन, पहिले श्रीमतीले सबै घरव्यवहार धानेकी थिइन्, उनको देहावसानपछि छोरी समान बुहारीले मलाई ती जिम्मेवारीबाट मुक्त राखेकी छन् । त्यसै भएर पूरा समय यिनै कामलाई दिन पाएको छु । मेरो समयको व्यवस्थापन यसरी ने भइरहेको छ ।
साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ?
मेरो विचारमा साहित्य सर्वजन हिताय अर्थात सिङ्गो मानव समाजको हितमा रहनुपर्छ । जीवन आडम्बर रहित सरल हुनुका साथै व्यवहार र कर्ममा समान हुनुपर्दछ । त्यसैले साहित्य मानिस अर्थात पाठकका निमित्त हुनुपर्छ र समाजलाई भ्रष्ट, निराश, अकर्मण्य बनाउन प्रेरित गर्ने नभई मानव समाजको उन्नतितर्फ दत्तचित्त हुनका लागि सघाउने हुनुपर्छ । यो मेरो मान्यता हो र यो नै मेरो जीवन दर्शन पनि ! अब रह्यो प्रकृति ।
यही प्रकृतिको अनवरत सङ्घर्ष, यसले आफू सकिएर पनि प्राणी जगतलाई उसले दिने उपहार, खुसी र जीवनदायी पदार्थहरू हेरै र मानिस जतिसुकै कष्टमा पनि नआत्तिई निरन्तर कठिनाइ झेलेर अघि बढ्छ । त्यसैले म प्रकृतिलाई साहित्यमा मात्र सौन्दर्यको दृष्टिले नहेरी मानवीय सभ्यता निर्माणमा प्ररणा स्रोतका रूपमा समेत हेर्ने गर्दछ । त्यसैले साहित्य कुनै अर्को ग्रहको कुरा होइन, मेरै समाजका यिनै जीवन सङ्घर्ष, सफलता-असफलता, दुःख-सुख आदि मानवीय समवेदनाका कथा हुन्, यही समाजका चरित्रहरूका चित्रण हुन् र समग्रमा जीवन दर्शन हो ।
तपाईंलाई जाँगरिलाे लेखक भन्छन् नि किन हो ?
धन्यवाद । म अवश्य नै चमत्कार विश्वास गर्ने चमत्कारी लेखक होइन । म प्रतिभा, निरन्तरको अभ्यास र समर्पण तथा अध्ययनबाट सिर्जनाले आकार र सफलता प्राप्त गर्छ भन्ने कुरामा विश्वास गर्छु । मेरो जाँगर पनि निरन्तर विगत पाँच दशकदेखि यिनै कुराहरूमा समर्पित रहँदै आएको छु । त्यसैले मलाई जाँगरिलो लेखक भन्दा खुसी नै लाग्छ, हो म जाँगरिलो लेखक नै हुँ !
साहत्यि लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानसिलाई उँचाइमा लान्छ भन्ने कुरामा कत्तिकाे विश्वास गर्नु हुन्छ ?
ठिक भन्नुभयो, सर्वज्ञजी ! अध्ययन, चिन्तन मननको आवयक सन्तुलनले नै मानिसको सिर्जनालाई उँचाइ प्रदान गर्दछ । लेखनमा मात्र नभएर अन्य क्षेत्रमा पनि उच्चतहको सफलता प्राप्त गर्न तत् विषयको गहिरो अध्ययन, गम्भीर चिन्तन र मननको आवश्यकता रहन्छ । त्यसमाथि साहित्य त आफैँमा मानवीय जीवनका अनुभव अनुभूतिहरूलाई भाषा, शैली र शब्दका आकर्षक, अर्थपूर्ण र सही तरिकाबाट संयोजन गरी भाव वा विचारको सम्प्रेषण गर्ने कला हो । यसो हुँदा साहित्य लेखनमा त अध्ययन, चिन्तन र मनन तीनै पक्षकाे सर्वाधिक महत्व रहन्छ नै । त्यसैले यस कुरामा विश्वास नगर्ने कुरै भएन । आफूलाई यिनै कुरामा अभ्यस्त तुल्याउने प्रयत्न गर्ने गर्दछु । त्यसमा के कति सफल वा असफल छु, त्यो त पाठकले छुट्याउने र भन्ने कुरा हो !
तपाईंलाई यात्रा, लेखन र अध्ययनमा कुन सबै भन्दा बढी मन पर्ने वषिय हो ?
यात्रा, लेखन रअध्ययन यी तीनैवटा मेरा प्रिय कुराहरू हुन । यात्राका क्रममा म लेखनका लागि कच्चा पदार्थ पाउने गर्दछु । अध्ययनबाट लेखनका लागि आवश्यक प्रेरणा र शिल्पको ज्ञान प्राप्त गर्दछु । त्यसैले यी तीनमध्ये कुनलाई बढी मन पराउँदछु, भन्न सक्दिन । भनिहालें, यात्राको क्रममा कतिपय चरित्रहरूसँग जम्काभेट हुन्छ, कतिपय नयाँ कुरा र यथार्थसँग परिचित होइन्छ जसको हामीले सामान्यतया सोचेको र मानेको आदर्श, व्यवहार र मान्यताभन्दा भिन्न हुन्छ । ती सबैको साक्षात्कारबाट साहित्य लेखनका विषय, चरित्र आदि ग्रहण गर्नु गरेको छु । त्यसरी नै आफूले यात्रा गर्न नसकेका ठाउँ, व्यवहार, चरित्र र अन्य पक्ष अध्ययनबाट पनि ग्रहण गर्ने गर्दछु । कुनै बेला ती पनि लेखनका सहयोगी हुने गर्दछन् । लेखनको निरन्तरता त सफलताको निमित्त अर्काे महत्वपूर्ण पक्ष हुँदै हो । तसर्थ मलाई यी तीनैवटा विषय उत्तिकै मन पर्ने विषय हुन् ।
तपाईं सानैदेखि लेखनमा तेज हुनुहुन्थ्यो हो ?
त्यसो पनि होइन । सानैदेखि लेख्न भने निरन्तर लेखिरहेँ । म आफूलाई लेखनमा तेजिलो छु भन्ने चहिँ ठान्दिन । माथि नै भनेको छु, लेखन तेज अर्थात् चमत्कारपूर्ण कार्य होइन । हो, साहित्यले आफ्ना पाठकमा चमत्कारपूर्ण प्रभाव पार्न सक्छ । सानैदेखि साहित्यमा अभ्यास चाहिँ निरन्तर गरिरहेँ । आफूलाई चित्त नबुझुन्जेल दोहोर्याइरहेँ । साथसाथै अग्रज साहित्यकारका देशी विदेशी साहित्यका स्तरीय कृतिहरू पनि अध्ययन गर्दै रहेँ । त्यसले भाषा, शैली र शब्दभण्डारका साथै विषयवस्तु टिप्नेजस्ता विविध क्षेत्रमा धेरै नयाँ कुराहरू सिकायो । यसैले म आफूलाई फेरि पनि चमत्कारी नभएर निरन्तर साधनारत लेखक र पाठक ठान्दछु ।
खाली समय कसरी बिताउनु हुन्छ ?
पहिला त समय खाली नै रहँदैनथ्यो । अब भने निरन्तर काम गर्न सकिन्न र खाली समय पनि निस्कने गरेको छ । त्यस्तो बेलामा कि त कतै घुम्न गइन्छ, कि पढेर बिताइन्छ ।
तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? तपाईले के के लेख्नु भएको छ ?
मलाई सबैभन्दा बढी मन पर्ने त कथा, नियात्रा र बालसाहित्य नै हो । लेख्न त केही कविता, केही ललित निबन्ध, केही उपन्यास, केही एकाङ्की नाटक र केही खोजपरक समालोचनात्मक रचनाहरू पनि लेखेको छु । यति भएर पनि मेरो प्रिय विधा कथा र कथापछि निबन्ध-नियात्रा नै हो । साहित्यको जुनसुकै निधा होस् तिनको लेखनमा रातारात प्रसिद्ध हुने अभीप्सा होइन । धैर्य, लेखनको निरन्तरता र स्तरीय साहित्यकै पठन अभ्यास हो । माथि पनि यही कुरा भनिसकेकोछु, त्यसैले थप व्याख्य गर्नु नपर्ला !
माथि नै भने मैले कविता बाहेक साहित्यका विविध विधामा लेखेको छु र कृति पनि प्रकाशित भएका छन् । कविता फुटकर छापिए पनि सङ्ग्रह निस्केको छैन । सङ्ख्यात्मक रूपमा भन्ने हो भने मेरा उपन्यास – २, कथासङ्ग्रह – ७, संस्कृति-निबन्ध – ४, नियात्रा – ४, आमसञ्चार – ६ र बालसाहित्यमा उपन्यास, कथा-चित्रकथा, निबन्ध, अनुवाद लगायत ४ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । चार पाँचवटा कृतिले प्रकाशक खोजिरहेको छ ।
नेपालको पत्रकारिता जगतलाई कसरी हेर्नु भएको छ ?
आजको नेपाली पत्रकारिता विशेष गरी ठूला मियिडयालाई म बाटो बिराएको माध्यम ठान्दछु । २०४६ सालसम्म नेपाली प्रजातन्त्र र साम्यवादको लडाईं सत्ताइतर पत्रकारिताले लड्यो, त्यो उद्देश्यपरक पत्रकारिता थियो । २०४६ सालपछि मिडियामा ठूलो लगानीका साथ साहु घरानाहरूका साथै परोक्ष रूपमा विदेशी लगानीको प्रवेश भयो । यसपछि यो उपयोगितावादी पत्रकारितामा परिणत हुँदै गयो । यस्तोमा केही साना प्रकाशन, प्रसारण र स्वतन्त्र रूपमा सञ्चालित अनलाईन मिडियाहरूले सही दिशामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् र ती उपयोगितावादी पत्रकारिलाई उदाङ्गो पार्ने काम समेत गरिरहेका देखिन्छन् । तर यो प्रयास कमजोर छ ।
साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
हाम्रो सन्दर्भमा साहित्य लेखेर बाँच्ने कुनै पनि सम्भावना म देख्दिनँ । हो, अखबारी लेखरचना र टिप्पणीहरू लेखेर बाँच्न सकिएला साहित्यमा भने यो अहिलेलाई सम्भव छैन । पहिले लेखकलाई प्रकाशनको समस्या थिएन, साझा प्रकाशन, नेपाल प्रज्ञा-प्रतिष्ठानजस्ता भरपर्दा संस्थाहरू थिए । आज ती दुवै राजनीतिका पण्डाहरूको व्यवस्थापनमा पुग्दा धराशायी बनिरहेका छन् । साझा त अस्तित्वमा पनि छ कि छैन सोध्नु पर्ने अवस्था छ । प्रज्ञाप्रतिष्ठानले आफ्ना वरिपरिकाको खोजखाज र शोधसाधका नाउँमा घाँफुस पनि छापेको देखिए पनि त्यहाँ अहिले साहित्य वर्जित नै छ ।
जहाँसम्म बाहिरका केही निजी प्रकाशनका कृति यति हजार बिक्यो, उति हजार बिक्यो र फलानोले यति लाख लेखकस्व पायो, तिलानोले यति भन्ने स्याल हुइयाँ सुनिन्छ । त्यसको विश्वसनीयताको कुनै आधार देखिन्न । त्यसो हो भने त्यस्तो अमुक पुस्तक छाप्दा ती प्रकाशकले कति कागज किने ? कति भ्याट वा अन्य कर बुझाए ? कुन कुन विक्रेताले कति कति सङ्ख्यामा पुस्तक बेचे, लेखकलाई के कति बुझाए तिनको सत्यप्रमाण सार्वजनिक गर्नुपर्छ अनि मात्र विश्वास गर्न सकिन्छ । नभए लेखक-प्रकाशक र समीक्षाका नाउँमा विज्ञापन छापेर हल्ला चलाइदिने व्यापारी प्रेसका त्रिपक्षीय मिलेमतोमा खेलिएको खेल मात्र हो । त्यसैले मुस्किलैले वर्षमा हजार प्रति बिक्री हुने नेपाली साहित्य बजारमा न त लेखेर बाँच्न सम्भव छ, न त ती हल्ला नै सत्य हुन् ।
पत्रकारिताको मापदण्ड के हो ?
पत्रकारिताको मूल मापदण्ड त सत्य, तथ्य र निष्पक्ष सूचना तथा विचारको प्रवाह गर्नु नै हो । त्यसका अतिरिक्त पत्रकार स्वतन्त्र हुने मान्यता भए पनि पत्रकार देश र मानवताको विरुद्ध हुन सक्तैन । आवश्यकताका बेला उसले पाठकको जान्न पाउने सूचनाको हकभन्दा माथि राष्ट्रिय तथा मानवीय हितलाई राख्नुपर्छ । यो मान्यता हाम्रो प्रेसले हेक्का राख्न सकेको देखिँदैन । उता आफूलाई प्रजातन्त्रका, वाकस्वतन्त्रताका मसिहा ठान्ने विकसित तथा विकासोन्मुख देशका स्वतन्त्र पत्रकारहरू त्यस्तो अवस्थाम कति कन्जरभेटिव बन्छन्, कति पक्षपाती बन्छन् भन्ने छिमेककै काश्मिर घटना, भारत-पाकिस्तान सम्बन्ध, अफगानिस्तान, इराक, भियतनामजस्ता युद्धका बेलामा ती देशका प्रेस अध्ययन गर्ने जो काेहीलाई थाहा छ ।
एउटा साहित्यकार तथा पत्रकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
नेपाली राजनीति दिशाहीन, गतिहीन र राष्ट्र तथा जनताप्रति समर्पित छ । यो व्यापारी मनोवृत्तिद्वारा ग्रसित छ । सबै दलका नयाँ पुस्ताले यसलाई सही दिशातर्फ निर्देश गर्नुपर्ने हो । नयाँपुस्ता भने स्वयम् दिग्भ्रमित देखिन्छ । उनीहरूको अभीष्ट पनि मात्र सत्ताप्राप्ति र जसरी तसरी सरकारमा पुग्ने नै देखियो ।
अहिलेको साहित्यमा विचार, युग चेतना, विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
साहित्य विचार विहीन त हुनै सक्तैन । त्यसैले अहिलेको साहित्यमा पनि विचार छ, पहिलेको जस्तो स्पष्टता भने अलि कम भेटिन्छ । त्यसैले साहित्यको यो युगलाई वैचारिक साहित्यको युग भन्नुभन्दा पनि विश्वपरिवेशका अनुभव-अनुभूतिको अभिव्यक्तिजन्य युगका रूपमा परिभाषित गर्नु पर्ने हो कि !
जहाँसम्म नेपाली सहित्यमा विश्वपरिवेशको अभिव्यक्तिको प्रश्न छ, नेपाली लेखकहरूले त्यो विश्वपरिवेशको परिचय पहिले पश्चिमा र अन्य महादेशीय साहित्यको माध्यमद्वारा पाउने गर्दथे । त्यसैले तिनमा पश्चिमा परिवेशको दार्शनिक पक्ष प्रबल रहेको अनुभव हुन्छ । अहिले साहित्यकारहरूको विश्वसँगको प्रत्यक्ष पहुँचका बढिरहेको छ । त्यसको प्रभाव पनि लेखनमा परिरहेको छ तर त्यो सतही रूपमा मात्र अनुभव गर्न पाइन्छ । यो मेरो नितान्त निजी धारणा हो, त्यसैले म गलत पनि हुनसक्छु ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
सङ्ख्याका दृष्टिले साहित्यिक पुरस्कार गन्न नसकिने सङ्ख्यामा स्थापना भएका छन् । पुरस्कार-सम्मान स्थापना हुनु र अर्पण गरिनुलाई नकारात्मक दृष्टिबाट हेरिनु हुन्न । पुरस्कारको मूल्याङ्कन गरिँदा पुरस्कार रकमको गहुँङ्गाे थैलीका आधारमा मात्र भने गरिनु हुन्न जस्तो लाग्छ । कतिपय पुरस्कार एक रुपियाँकै रहेछ भने पनि जनस्तरबाट पसिना बगाएर कमाएको धनबाट स्थापना गरिएकाे छ भने त्यसको पवित्रतामा गर्व गर्नुपर्छ ।
पुरस्कारका लागि व्यक्तित्व चयनमा भने विश्वसनीयता हुनु जरुरी छ । त्यो दाताले बगलीबाट निकालेर कुनै भिखारीलाई दिएको भीखझैं देखिनु हुन्न । त्यस्तो छैन भने पुरस्कार र सम्मानहरूको सङ्ख्या बढ्नु नराम्रो होइन । त्यसले सर्जकहरूलाई प्रेरणा नै मिल्नेछ । हो, प्रतिस्पर्धा गराएर निवेदन माग्ने, कृति पेश गर्ने, आदेश गर्ने र आएका केही सीमित पुस्तकहरूमध्ये छानेर दिइएको पुरस्कारलाई राष्ट्रकै ठूलो पुरस्कार, नेपालको नोबेल पुरस्कार भन्ने भनाउनेजस्ता प्रवृत्ति भने सच्चिनु पर्दछ ।
साहित्य लेखन र पत्रकारिता लेखनमा के फरक छ ?
पत्रकारितालाई पनि हतारमा लेखिएको साहित्य भन्ने गरिन्छ, तर त्यसमा साहित्यमाजस्तो गम्भीर्य र सार्वकालिकता रहँदैन । पत्रकारितामा समसामयिक सूचना, टिप्पणी, विश्लेषण र सन्दर्भहरूलाई केन्द्रमा राखिन्छ । साहित्यमा भने जीवन अर्थात् वृहत्तर मानवीय अनुभव-अनुभूति र पीडा-सङ्घर्षहरूको सूक्ष्म तथा प्रभावकारी अभिव्यक्ति पाइन्छ । मेरो दृष्टिमा यही नै पत्रकारिता र साहित्य बिचको भिन्नता हो ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
मातृभूमिबाट विस्थापित भई अन्य भूगोलमा छरिएर रहेकालाई प्रयोग गरिँदै आएको डायस्पोरा शब्द अहिले मूल भूमिबाट अन्य देशमा छरिएर रहेका जनसमूहका अर्थमा लिइने गरेको पाइन्छ । यस अर्थमा नेपालबाट विदेश वसोवास गर्ने नेपाली मूलका साहित्यकारहरूद्वारा लेखिएका साहित्यलाई नेपाली डायस्पोरिक साहित्य मान्ने गरेको देखिन्छ । यसमा केही समय विदेश पुगेकाको अनुभवबाट निस्किएका साहित्यलाई डायस्पोरिक मान्ने कि, आप्रवासित नै बनेर नेपाली पहिचान परित्याग गरेकाबाट सिर्जित साहित्यलाई मात्र डाइस्पोरिक मान्ने, यो चाहिँ प्रष्ट हुनुपर्ला कि !
अर्को कुरा डायोस्पोरिक साहित्यमा यसरी विदेशिएका जाति वा मासिको त्यहाँका भोगाइ र अनुभव अनुभूतिको साहित्यिक अभिलेखन हुनुपर्ने हो । म चाहिँ डायोस्पोरिक लेखनमा त्योभन्दा पनि आफ्नै मूलभूमिका अनुभव, अनुभूति र नोस्टाल्जिक पूर्वानुभूतिहरू मूल केन्द्रमा पाउने गर्छु । त्यसैले यसलाई नेपाल बाहिरको नेपाली साहित्य भन्दा उपयुक्त हुन्छ कि ? म योभन्दा थप जानकारी राख्दिन ।
तपाईंलाई सिर्जना र पत्रकारिता कुनमा बढी चाख लाग्छ ?
पत्रकारिता मेरो पेशा थियो, साहित्यमा पहिचान र जीवन छ र रहनेछ । त्यसैले निश्चय नै पत्रिकारिताभन्दा मेरो लागि साहित्य नै बढी अर्थपूर्ण छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
नेपाली साहित्य, भाषा र संस्कृतिलाई विश्वव्यापी रूपमा प्रसार गर्न र यिनको पहिचान स्थापित गर्नमा अन्तर्राष्ट्रिय साहित्य समाजले प्रशंसनीय काम गर्दै आएको छ । त्यसैले यसका गतिविधिहरू सकारात्मक नै छन् जस्तो लाग्छ । यस संस्थासँग मेरो अन्तरङ्ग सम्बन्ध नभएकोले अरु केही भन्न सक्दिन ।
तपाईं प्रसिद्ध आख्यानकार रमेश विकलको सुपुत्र हुनु हुन्छ । तपाईंको लेखनमा विकलको कत्तिकाे प्रभाव परेको छ ? साहित्यमा कुन पुस्तालाई मन पराउनु हुन्छ र किन ?
अवश्य नै प्रभाव त पर्ने नै भयो । लेख्ने प्रेरणा नै रमेश विकल, भैरव अर्याल, महाकवि देवकोटा आदिका रचना पढेर-देखरे नै प्राप्त गरेको हुँ । आफूभन्दा अग्रज, समकालीन र पछिल्ला सबै पुस्ताका साहित्यकार मलाई मन पर्दछन् ।
तपाईंंको बुवा समेत चार पुस्ता साहित्यमा हुनुहुन्छ । यसबारे तपाईंको राय के ?
हो, मेरो चारपुस्ता नै साहित्य लेखनमा आइरहेको छ । पहिलो पुस्ताका रमेश विकलको प्रेरणामा म स्वयम् साहित्यमा लागेँ । सुरुमा ललितकलामा रुचिराख्ने तेस्रो पुस्ताको मेरो छोरो पछि कम्प्युटर साइन्सतर्फ मोडियो । कुची छाडेर कलम समात्यो । चौथो पुस्ताका दुई नातिनीमध्ये जेठी पेन्टिङमा रुचि राख्दछिन् । कान्छी नातिनी कथा लेख्छिन् । उनको रुचि नेपाली भाषामा भन्दा बढी अङ्ग्रेजी भाषामा लेख्नमा छ ।
यो मेरो लागि निश्चय नै सुखद् अनुभूति हो । नेपाली साहित्यकाे इतिहासमा एकै परिवारका चार पुस्ता निरन्तर साहित्यमा लागेको अर्को परिवार मेरो जानकारीमा छैन । त्यसमाथि पनि ती चारै पुस्ताको रुचि कथा लेखनमा रहेको अनुभव आफ्नै खालको अनुभव हुनुपर्दछ । नेपाली सहित्यको इतिहासमा लगातर चार पुस्ता नै लेखनमा रमेको सायद अर्को परिवार भेटिँदैन । मेरो जानकारीमा नभएकोले, छ भने जानकारी पाइने नै छ । त्यसमाथि चारै पुस्ताको रुचि कथा लेखनमा रहनु र ती चारै पुस्ताका कथा समेटेर प्रकाशन गरिएको सङ्ग्रह पनि सम्भवतः अर्को नहोला । त्यसैले यो पनि एउटा नौलो प्रयोग हुनुपर्छ । यो पुस्तकमा रमेश विकलदेखि चार पुस्ताका पाँच पाँचवटा कथा र एउटी पनातिनीको आवरण चित्र समावेश गरिएका छन् । त्यसमा पनि सम्भव भएसम्म सबैका पहिलो र अन्तिम कथाका साथै अन्य समयमा लेखिएका कथाहरू छानिनु पनि नौलो प्रयोग हुनुपर्छ । अझ रोचक यस कृतिको सम्पादक पनि विकलकै तेस्रो पुस्ताको सर्जक हुन् ।
अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
सर्वज्ञजी, यहाँक प्रश्नले नै सबै कुरा समेटेकाले थप केही भन्नु आवश्यक ठान्दिन । बरु तपाईं, साहित्यपोष्ट परिवारलाई धेरै धेरै धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।