काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको बीसौं शृङ्खला काठमाडौंको डिल्लीबजारस्थित घट्टेकुलोमा साहित्यकार पुष्कर लोहनीको निवास सभाकक्षमा सम्पन्न गरिएको छ।
कार्यक्रमको प्रारम्भमा यसै महिनामा दिवंगत भएका कथाकार विजय चालिसे र गणेश रसिक को सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
हर शृङ्खलामा दिवंगत स्रष्टाको कथा वाचनबाट सुरु हुने परम्पराअनुसार यसपटक केशवराज पिंडालीको ‘परदेशी’ कथा शारदा पत्रिका वर्ष ८, अङ्क ८ (विसं १९९८) बाट शुकदेव उपाध्यायले वाचन गर्नुभएको थियो।
शैलेन्द्र साकारले मधुपर्क (२०३०) बाट ‘स्तर चेत’ वाचन गर्नुभएकाे थियाे । अमरकुमार प्रधानले सपना पत्रिका (२०३८) बाट ‘सूर्यमुखी र म’ , मधुसूदनप्रसाद घिमिरेले रत्नश्री (२०५५) बाट ‘नफक्रँदै झरेको फूल’ , सबिता श्रेष्ठ बेहोसीले ‘सेतो स्कार्फ’ कथासङ्ग्रह (२०७५) बाट ‘उपहार’, योगेन्द्र तिमिल्सिनाले ‘आश्मा र अरु कथाहरू’ (२०८१) बाट ‘प्रतिबिम्ब’ , पबित्रा अधिकारीले ‘देह उत्सव’ कथासङ्ग्रह (२०७७) बाट ‘अन्त्यपछि’ वाचन गर्नुभएकाे थियाे ।
चन्द्रप्रसाद भट्टराईले कार्यक्रमका उद्देश्यहरूमा प्रकाश पार्दै “कथा विधाप्रति पाठकको रुचि बढाउने र यसको कालखण्डगत विकासबारे चिन्तन, अनुसन्धान र बहसका लागि यो कार्यक्रम सुरु गरिएको हो।”
पुष्कर लोहनीले भन्नुभयाे “हाम्रो अभियानसँगै कथासाहित्यको इतिहासबारे परिचर्चा तीव्र हुँदै गएको छ। साहित्यिक पत्रिका ‘आरब्ध’ले कथामूलक विशेषाङ्कसमेत प्रकाशित गरिसकेको छ।”
कार्यक्रममा इन्दिरा प्रसाई, कात्यायन, दीपक लोहनी, प्राडा भरतकुमार भट्टराई र कथा साहित्यप्रति रुचि राख्ने गम्भीर श्रोताहरूको उपस्थिति थियो। २०७० को दशकभित्र प्रकाशित कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले
अग्रिम नाम दर्ता गरी सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










