यो मैझारोतिर लम्कँदै गरेको २०७७ सालको चैत्र महिना । उराठलाग्दो तुँवालो र कुहिरोले ढाकेको छ आकाश । जाडो गएको छैन । हो, यही चैत्र महिनामा ८५ वर्ष अगाडि काठमाडौं देवपतनमा जन्मिएका थिए साहित्यकार वासु शशी । उनको जीवन रहेको भए पक्कै पनि नेवारी परम्परा अनुसार अघिल्लो वर्ष जङ्कु चौरासी पूजा गरिने थियो । सयौं आफन्त, नर—नाता, शुभचिन्तक माझ सय वर्ष पुगेका संस्कृतिविद् सत्यमान जोशी र राष्ट्रकवि माधव घिमिरेबाट आशीर्वाद थाप्ने थिए । हामीले पनि आशीर्वाद थाप्ने थियौं शशीको । तर ५७ वर्षको उमेरमै धर्ती छोडेर गए, भनौं छोटो आयु बाँचे, जति बाँचे उनले भाषा, साहित्य, शिक्षा, समाजसेवा र देशका निम्ति बाँचे । उनले जीवनभर गरेका सुकर्मको गाथा आज हामी उनकै २८ औं पुण्यतिथिमा स्मरण गरिरहेका छौं ।
म, वासु शशीको सम्पूर्ण लेखनको ज्ञाता होइन यसैले अरु कुरा नलेखीकन उनीसँग गाँसिएका केही निजि प्रसङ्ग र त्यही कालखण्डमा भएका केही गतिविधिहरु छोटकरीमा यहाँ उल्लेख गर्न चाहन्छु ।
४० को दशकमा मैले साँस्कृतिक संस्थानको जिम्मेवारी सम्हाल्न पुगें । त्यसताका प्रज्ञा प्रतिष्ठानमा विजय मल्ल, सत्यमोहन जोशीका नाटकहरु प्रदर्शनहरु हुने गर्दथ्यो भने बाहिर अशेष मल्ल, प्रचण्ड मल्ल, जितेन्द्रमहत अभिलाषी लगायत प्रवासबाट मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक चर्चित थियो । भनौं कि त्यो भन्दा अगाडि प्रज्ञा प्रतिष्ठानबाट आयोजना गरिने नाटक महोत्सव मात्र प्रायः हुने गर्दथ्यो । त्यहीताका ‘मुनामदन’, ‘मालती मंगले’ आदि जस्ता गीतिनाटक र ‘बन्दिनोस् न’, ‘रातको प्रथम प्रहर’ र ‘के सक्कली, के नक्कली’ नाटकहरु पनि प्रशस्त चलेका थिए । नाटक विकासका लागि त्यति मात्र पर्याप्त थिएन । थप नाटक गर्न नाटक लेख्ने नाटककारको निक्कै अभाव थियो ।
अहिले त विदेशी नाटकहरुको अनुवाद र नेपाली कथाहरुको नाट्यक्रम गरिने अभियान चलेको छ । त्यति बेला मैले वासु शशीले लेखेको ‘इरा’ नाटक २०२८ सालतिर त्रि.वि.को सभाकक्षमा प्रदर्शन भएको सम्झिएँ । नाटकमा एक मानसिक रोगी विक्षिप्त पात्र जो हरियो झिंगाबाट आतंकित छन् । हरियो झिंगाको भुनभुनमा उनी शंख फुकेको आवाज सुन्छन् र सधैं मृत्युको भयबाट त्रसित हुन्छन् । हरियो झिंगा र मृत्युको विम्बमा समेटिएको पात्रबाट म असाध्यै प्रभावित भएको थिएँ । त्यही सम्मोहनले मलाई नाटककार वासु शशीको घरमा नाटक माग्न पुर्यायो ।
प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित तीन नाटकको पुस्तक उनले मलाई दिएर भने— ‘भाइ मैले नयाँ लेख्न सकेको छैन, पछि लेख्छु तर अहिलेलाई यही नाटकलाई छानेर प्रदर्शन गर्नुहोस् ।’ मैले तीन नाटकबाट ‘अपमानित आत्मा’ छानें । जुन नाटक हाम्रो सामाजिक जीवनमा एउटा आमाले भोग्नु परेको सामाजिक कथा मार्मिक ढंगले प्रस्तुत गरिएको थियो । नाटकलाई हरिप्रसाद रिमालको निर्देशन, भुवन चन्द, सुशीला रायमाझी आदिका अभिनयमा नाटक प्रदर्शन भयो । जुन अत्यन्तै सफल रह्यो । पछि ‘वाँसुरीमा नअटाएको धुन’ प्रदर्शन गर्ने सोच थियो तर त्यसमा भने सुहाउँदो चरित्र निभाउने कलाकारको अभावमा प्रदर्शन गर्न सकिएन ।
वासु शशीको साहित्य लेखनसँगै संगीतमा पनि गहिरो लगाव थियो । यसको स्पष्ट छाप उनको लेखनमा पनि देखिन्छ । यसो हुनुमा आफ्नो ममतामयी माता हितकुमारी बैद्य त्यसताकाका कुशल सितारवादक भएको नाताले उनको वाल मस्तिष्कमा संगीतको गहिरो प्रभाव परेको हुन सक्छ । कलेज पढ्दा बच्चु कैलाश, जगतमर्दन थापापछि नारायण गोपाल, फत्तेमान आदि नेपाली संगीतका नक्षत्रहरुसँग घनिष्ठ हुने अवसर जुर्यो ।
शायद उनीभित्र यही संगीतको नाताले म पनि पच्चिस-छब्बिस सालतिर वासु शशीसँग जोडिन पुगें । जुन सम्बन्धका कारण मैले ‘मसँग एउटा तारा छ मायाको’ जस्ता गीत संगीत भरेर रेडियो नेपालमा गायिका कमला श्रेष्ठसँग गाउने अवसर जुर्यो । शायद उनको जीवनकालमा संगीत गरेर गायिएको रेडियो नेपालमा प्रसारण भएको यो नै उनको पहिलो गीत थियो भन्ने लाग्छ । उनको शेषपछि त्यही गीतसहित थप सात गीत मैले संगीत गरेर गायक फत्तेमान, योगेश बैद्य, किरण प्रधान, लोचन भटराई, जगदीश समाल, रिमा गुरुङ्ग होडा, श्वेता केसी र मेरो स्वरमा रेकर्ड गरी बजारमा आयो । जसको शीर्षक थियो ‘तिम्रा सपनाहरु’ ।
वासु शशीसँग गाँसिएका थुप्रै प्रसङ्गहरु मैले यसभन्दा अगाडि नै लेखिसकेकाले थप लेख्न मनासिव ठानिनँ । तर समय परिस्थितिले भनौं वासु शशीको सुनाममा स्थापना भएको वासु शशी स्मृति परिषद्मा यो समय म गाँसिन पुगेको छु । परिषद्लाई यो स्थानसम्म पुर्याउन अघिल्ला कार्यसमिति तथा थुप्रै अग्रजहरुको योगदानका साथै खास गरी मेरुदण्डको रुपमा रहेका सचिव कवि प्रधुम्न जोशीको दिनरातको खटाइलाई स्याबासी भन्नै पर्छ । उहाँ नभइदिनु भए सायद धेरै अग्रजहरुको सुनाममा खोलेको संस्था जस्तै यो संस्थाको नाम २,४ वर्षमै गुमनाम भइसक्ने थियो ।
वासु शशीको २८ औं वार्षिक पुण्यतिथि मनाइरहेका छौं । यहाँसम्म आइपुग्दा परिषद्ले मुलुकका साहित्य, संगीत र समाजसेवामा योगदान गर्ने अग्रज व्यक्तित्वहरुलाई हालसम्म सत्र जना स्रष्टाहरुलाई वासु शशी साहित्य सम्मान र अठार जना स्रष्टालाई वासु शशी साहित्य पुरस्कारद्वारा सम्मान गरिएको छ । यसबाहेक शशिका थुप्रै प्रकाशित, अप्रकाशित कृतिहरु परिषद्कै पहलमा पुनः मुद्रण र थप प्रकाशन भएका छन् । अरु साहित्यकारहरुको पनि कृतिहरु प्रकाशन गरिसकेको छ ।
दश वर्षभन्दा अगाडिदेखि परिषद्का सचिव प्रधुम्न जोशीकै सकृयतामा वासु शशीकै जन्मथलो देवपतनको सेरोफेरोमा उनको शालिक राख्न लागिपरेका थिए । तर त्यो क्षेत्र पशुपतिक्षेत्र धार्मिक र पुरातात्विक क्षेत्र भएकोले शालिक राख्न सकिएन । नारायण गोपाल जस्तै कुनै चोक अथवा सडकहरुको छेउकुनामा पनि ठडिने अवसर पाएन र प्रज्ञा प्रतिष्ठानको बगैंचामा कतै ठाउँ पाउँछ कि भन्ने आशा थियो त्यो पनि सफल हुन सकेन । कारण वासु शशी प्रज्ञा प्रतिष्ठान स्थापनाकालदेखि आवद्ध रहेका नाताले सहायक सचिव कर्मचारी मात्र थिए । साहित्यकार भएर पनि निजामती प्राज्ञ नभएको कारण त्यो स्थान पाउन सकेनन् ।
जे होस्, खुशीको कुरा यस वर्ष निरन्तर लागि पर्ने प्रधुम्न जोशीको प्रयासले अन्त्यमा साहित्य चौतारी, कपिलधाम, कपिलवस्तुस्थित भानुभक्त, लेखनाथ, युगकवि सिद्धिचरण श्रेष्ठ, रुद्रराज पाण्डे, लीलध्वज थापा, लोकप्रियादेवीजीकै लस्करमा उनको शालिक स्थापना हुने अवसर मिल्यो । उनी एक्लै थिएनन् साथमा अनन्य मित्र डा.कुमारबहादुर जोशीको शालिक पनि रहेको छ । यतिका वर्षसम्म हुन नसकेको काम हुन सकेकोमा म आफूलाई भाग्यमानी ठान्छु । अघिल्ला कार्य समितिहरुकै पहलमा भएको यो शुभकार्यमा आज यो जसको पगरी भने मलाई मिलेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।