काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले प्रख्यात निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्ती आगामी २०८१ चैत ५ गते भव्यताका साथ मनाउने भएको छ। यही अवसर पारेर प्रतिष्ठानले दुई प्रतिष्ठित निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

पत्रकार तथा लेखक विजय चालिसेलाई ५० हजार रुपैयाँ राशिसहितको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ प्रदान गर्ने भएको छ। चालिसेका ‘डोटेली लोकसंस्कृति (लोकसाहित्य)’, ‘अप्रिलको बेलायत (नियात्रा)’, ‘मनका तूलिकामा स्मृतिका बिम्बहरू (नियात्रा)’, ‘ओह् !!! नेपारु (नियात्रा)’, ‘मरुभूमिको फूल (निबन्ध)’, ‘सर्पदंशित मेरो वर्तमान (संस्मरण)’, ‘परिशीलन (निबन्ध)’, र ‘जीवनका वक्ररेखा (आत्मसंस्मरण)’ लगायतका कृतिहरू प्रकाशित छन्।

यसैगरी, निबन्धकार पवन आलोकलाई २५ हजार रुपैयाँ राशिसहितको ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ प्रदान गरिनेछ। आलोकका ‘युरोपको झझल्को (नियात्रा)’, ‘अरुण एक्स्प्रेस (यात्राउपन्यास)’, र ‘केही सम्झना: केही सिर्जना (निबन्धसङ्ग्रह)’ लगायतका कृतिहरू प्रकाशित छन्।

प्रतिष्ठानले यसअघि पनि शङ्कर लामिछाने निबन्ध पुरस्कार निबन्धकारहरू कृष्णचन्द्रसिंह प्रधान, प्रा.डा दुर्गाप्रसाद भण्डारी, डा. तारानाथ शर्मा, श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार, गणेश रसिक र प्राडा माधवप्रसाद पोखरेललाई प्रदान गरिसकेको छ भने युवा निबन्ध पुरस्कार श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमककुमारी घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, मोमिला जोशी, प्रतीक ढकाल र ज्ञानेन्द्र विवशलाई प्रदान गरिसकेको छ।

शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीका अनुसार शङ्कर लामिछाने सम्मानबाट मदनमणि दीक्षित, लोकेन्द्रबहादुर चन्द, भैरव रिसाल, भैरवबहादुर थापा र तेजेश्वरबाबु ग्वंग: लगायतका सर्जकहरू अभिनन्दित भइसक्नुभएको छ।