साताकाे पुस्तककाे रूपमा साहित्यपाेस्टलाई विजय चालिसेकाे आत्मसंस्मणात्मक कृति “जीवनका वक्ररेखा” प्राप्त भएकाे छ ।
साहित्यकार विजय चालिसे गोरखापत्रका कार्यकारी अध्यक्ष भई वरिष्ठ र गहन जिम्मेवारी वहन गरेका छन् । उनले पाँच दर्जनभन्दा बढी पुस्तकाकारका कृति र सयौँको सङ्ख्यामा अनुसन्धानमूलक तथा समसामयिक लेख रचना प्रकाशित गरेका छन् ।
३ सय १२ पृष्ठमा बुनिएको चालिसेकाे यस कृतिमा ‘फैलँदो परिवेश : समाज, दाम्पत्य र प्रवेशिका (२०१७-२०२५)’, ‘गणतान्त्रिक नेपाल (२०६३-२०६७)’, ‘परिशिष्ट (बचेखुचेका विशेष सम्झनाहरू)’ लगायत ९ वटा खण्ड समावेश छन् भने ६३ वटा शीर्षकमा लेखकले आफ्नो जन्मदेखिका कालखण्ड र आफ्नो थातथलोका विविध अवस्थाहरू समेटेका छन् ।
“भनिन्छ, साँचो बोल्न अत्यन्त कठिन कार्य हो, त्यसमा पनि जीवनमा आफ्नो विषयमा साँचो र सत्य बोल्ने झनै कठिन हुन्छ । यस प्रकार साँचो र सत्य बोल्न नसक्नेले आत्मजीवनी लेख्न सक्दैन भन्ने धारणा सर्वथा चर्चामा आउने गरेको पाइन्छ ।” प्रकाशकीयमा बाबुराम पौडेल लेख्छन्, “विजय चालिसेको यस कृतिमा कहीँ कतै यस्तो खोट लगाउनो ठाउँ पाइँदैन । उनी यसतर्फ सत्यवादी र इमानदार छन् भन्ने प्रस्ट हुन्छ । उनले निर्विघ्न र निश्छल रूपमा आत्मप्रकाश गरिरहेको पाइन्छ । सङ्घर्षपूर्ण जीवनका उकाली-ओरालीका अनन्य विघ्नबाधासँग जुध्दै आएका विजयमा देखिने अठोट, दृढता, लगन, शुद्धता र निर्भीकताले उनको सर्जक व्यक्तित्वको उच्च मूल्याङ्कन गरिरहेको छ । जीवन भोगाइ सत्य हो, विजयले भोगेको सत्य नै यहाँ यसरी प्रकट भएको छ ।”
सुरभि साहित्य प्रतिष्ठानबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ५० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।